मोहन दुवाल
न्यायकर्मीहरुमा मैले मन पराएर संसर्गमा राख्न पाइएका मित्रहरुमा सिन्धुनाथ प्याकुरेल र दमननाथ ढुंगानाहरु नै हुन् । २०३९ माघदेखि प्रजिअ कार्यालय काभ्रेबाट दर्ता भएर निस्केको जनमत पाक्षिकको पहिलो अङ्कमा यिनै दुई न्यायमूर्ति (वरिष्ठ अधिवक्ता) हरुको अन्तर्वार्ता लिने क्रममा २०३९ पुसतिर नै दमनजीको पुतलीसडकको निवासघरमा पुगेको सम्झना छ । त्यसैबेला भुवन ढुङ्गाना भाउजूसँग साहित्यिक आत्मियता साट्न पाएको हुँ । २०५५ वैशाखको जनमत मासिकमा भुवन भाउजूसँग भएको सम्वाद ‘मनोभावना’ का रुपमा जनमतमा छाप्न पाएको र उहाँसँग सम्बन्धमा गाढापन चुलिंदै गएको मलाई याद आइरहन्छ ।
पञ्चायती कालरात्रीमा प्रकाशित जनमत पाक्षिकको २०३९ माघ १५ को अङ्कमा दमनदाजुले पोख्नुभएको सही सत्यपूर्ण भनाइहरु स्मरणका लागि यहाँ जस्ताको तस्तै उल्लेख गरेको छु — “… राज्यव्यवस्था जनताप्रति जिम्मेवार वा जवाफदेही नहुँदा आज हाम्रो राष्ट्रको समग्र वातावरण नै अस्वस्थ वा विषाक्त भएको छ । बिरलै कुनै क्षेत्र यस्तो होला – जनमानसले हिजोभन्दा आज राम्रो भएको र आजभन्दा भोलि राम्रो हुने विश्वास गर्न सकेको होस् । यसप्रकार अनास्था वा आस्थाहीनता (Faithlessness) नै आजको हाम्रो राष्ट्रिय जीवनको सबभन्दा गम्भीर रोग भएको छ । जहाँसुकै विश्वासको संकट छ । कुनै जिम्मेदार क्षेत्र वा व्यक्ति यसबाट मुक्त छैन । … राष्ट्रिय सिर्जनशीलता र प्रतिभा जहाँसुकै कुण्ठित भएको छ । यस्तो अनित्य तथा शिथिल जगमा के निर्माण हुन सक्दछ ?” यसरी सही सटिक तर्क राख्दै प्रजातान्त्रिक आन्दोलनमा पनि सरिक हुँदै आफूलाई चिनाउँदै आउन सफल व्यक्तित्व दमननाथ ढुङ्गाना युगकै लागि आफूलाई चिनाएर गएका व्यक्तित्व हुन् । राष्ट्रिय जीवनको रोग ‘अनास्था’ भनेर आफ्नो दृष्टि राख्दै आएका यिनले त्यसबेलाको कहरलाग्दो निरङ्कुश राजनीतिक व्यवस्थामा आफूलाई कसरी समर्पित तुल्याउने भन्ने सोचकै परिणामले कानुनी पेशा रोजेर आफूलाई समन्वयकारी यात्रीका रुपमा प्रस्तुत गरेको देखिन्छ ।
मानवअधिकार प्राप्ति गर्ने सङ्घर्षमा लाग्दै आएका यिनले पद्मरत्न तुलाधरकै कोटीमा आफूलाई समर्पित तुल्याएर २०६२÷०६३ को शान्ति सम्झौता गराउने राजनीतिक परिदृश्यमा समर्पित तुल्याएको देखिन्छ । नेकपा माओवादीलाई शान्तिसम्झौता गराउन मध्यस्तकर्ताका रुपमा सक्रिय रहेका यिनी संविधानसभाका सभामुख पनि भएर राजनीतिमा आफूलाई समन्वयकर्ताका रुपमा चिनाए । यिनले आफ्नो जीवनकै क्रममा पनि उक्त जनमतमा आफूलाई यसरी पोखेका थिए — “पढेलेखेको एउटै समर्थ छोरा सक्रिय राजनीतिमा चुर्लुम्म हुँदा आयस्ताविहीन निम्न मध्यमवर्गीय परिवारको धैर्य टुट्न लागिसकेको थियो । मेरो समक्ष कडा खालको चयन गर्नुपर्ने बेला थियो — रोजीरोटीको सवालमा बन्धनमा पर्ने कि स्वतन्त्रताका निम्ति सपरिवार भोकभोकै बस्ने ? मैले सम्झौता गरें । मेरा लागि यसै सम्झौताको नाम वकालत अथवा कानुनी व्यवसाय हो । यसरी एउटा मध्यमार्गको खोजीमा म यस पेशामा आइपुगेको हुँ । … यो नै ‘जीवनमार्ग’ भइसकेको अनुभव हुन्छ । यसले मलाई आत्म–रोजगारीमात्र होइन जनसम्पर्क र सार्वजनिक सेवाको माध्यम एवं स्वाधीनता सम्बन्धी गर्व र चरित्रबल पनि प्रदान गरेको छ ।” मध्यमार्गका रुपमा वकिल पेशामा लागेर पनि संसद्को चुनावमा पछि विद्या भण्डारी र महेश बस्नेतसँग चुनावमा हार खाए पनि दमननाथ ढुंगानाले आफ्नो राजनीतिक अर्थ र गरिमाको उच्चता देखाउनुका साथै पहिलोचोटी संसद्को सभामुख भएर सभामुखको गरिमामय उच्च मुहार देखाएर जान सफल भएको देखिन्छ ।
अध्ययनशील, दार्शनिक दृष्टि बोकेर कर्तव्यपथमा लाग्दै गरेका यिनी स्पष्ट वक्ताका रुपमा पनि चिरपरिचित छन् । ढुङ्गानाले त्यसैताका विभिन्न खालको अख्तियार दुरुपयोग आयोगलगायत त्यस्तै खालका सरकारी निकायबारे जनमतको प्रश्नमा यिनले स्पष्ट शब्दमा भनेका कुराहरु यहाँ उल्लेख गरें — “अख्तियार दुरुपयोग निवारण आयोग न्याय अधिकार सम्पन्न अर्थात् मुद्दा किनारा गर्ने निकाय हुनुहुन्न भन्ने मेरो धारणा छ । जहाँसम्म भष्ट्राचार र अख्तियार दुरुपयोगको कुरा छ, त्यसको जड नै राजनैतिक सत्ताको भ्रष्ट प्रकृति भएकोले मुहान सफा नगरी धाराबाट सफा पानी आउन सक्दैन भन्ने सामान्य ज्ञानकै कुरा हो ।” वरिष्ठ वकिल, विवादरहीत सभामुख, कमनरमा सेवारत पत्रकार, लेख, राजनीतिज्ञ, मानवअधिकारकर्मी तथा विवादरहीत व्यक्तित्व दमननाथ ढुंगाना स्वच्छ सेवीका रुपमा सबै क्षेत्र र विधामा प्रख्यात छन् । भलाद्मी लोकतन्त्रवादी । सहज ढङ्गका प्रजातन्त्रवादी दमन ढुंगानाले कविता लेखनका साथै गद्य लेखन पनि गर्छन् । राजनीतिमा र राजनीति यात्रामा यिनी कांग्रेस बन्नुभयो । कांग्रेस भएर नै चुनावमा जिते र कांग्रेस भएर नै चुनावमा हारे । कांग्रेस पार्टीभित्रका वौद्धिक व्यक्तित्व यिनी २०४८ सालको चुनावमा जिते र पछिल्लो दुईपल्टको चुनाव अभियानमा हारे । पछिल्लो यात्रामा मानवअधिकार र कानूनी सेवामा सक्रिय भएको देखियो । नेपालको विद्यार्थी आन्दोलनलाई संगठित बनाउने कार्यमा लागेर यस क्षेत्रमा विशेष योगदान पु¥याए । संसद्लाई मर्यादित तुल्याउने कार्यमा पनि यिनले महत्वपूर्ण भूमिका निभाए । नेपली लोकतान्त्रिक आन्दोलनमा अथक योद्धा भन्न सुहाउने दमननाथ ढुंगानाले सत्ताको सुख कहिल्यै चाहनाको विषय बनाएनन् ।
यिनको सादगीपन, निरन्तर पु¥याइरहेको मानवी कर्म, सत्ताकै नजिक रहेर पनि सत्ताधीसजस्तो नदेखिंदो व्यवहार, राजनीतिक विद्रोहमा लागेर राजनीति गरेका माओवादीहरुलाई शान्तिकै पक्षमा ल्याउन प्रयत्न गरेका नेपालका शान्तिदूत पनि हुन् दमननाथ ढुंगाना । राष्ट्रिय सिर्जनशीलता र प्रतिभाकै खोजीमा पनि लागिरहने यिनको स्वभावले गर्दा यिनी एकपल्ट जनमतको वार्षिक कार्यक्रममा २०६७ चैत्र २६ गते बनेपामा प्रमुख अतिथिका रुपमा भाग लिएको मलाई सम्झना छ । प्रमुख आतिथ्य गर्दै त्यसताका दमन ढुंगानाले बनेपामा भनेका थिए — “साहित्य र साहित्यकारले समाजको हितखातिर लागिरहनुपर्छ, साहित्य शुद्ध र कोरा भावना हो । समाजलाई उँभो लगाउने, देशलाई प्रगतिको बाटोमा पु¥याउने र जनतालाई हित गर्ने दृष्टि नै साहित्यकारको हुनुपर्छ । ज्ञान संचेतना गर्ने कार्य पनि साहित्यले गर्नुपर्छ । यस्तै भावना बोकेर राष्ट्रमा आफूलाई समर्पित तुल्याएर जनमत आफूलाई देखाइरहेछ, अझ प्रगति गर्न सकोस् — शुभकामना छ ।”
पुतलीसडकमा दमनदाई र भुवनभाउजू रहनुहुँदा धेरैपटक पुगेको सम्झना छ । पछिल्लोपल्ट पनि भुवनभाउजूको ‘मनोभावना’ टिप्न पुगेको सम्झना छ । पछि गौशालातिर रहनुहुँदा पनि दमनदाईकहाँ पुगेर ‘जिउँदो सहिद मुकेश कायस्थ’ को ऐतिहासिक ग्रन्थ (बिम्ब प्रतिबिम्बहरु–२०७३) सार्वजनिक गर्ने कार्यक्रममा पनि यिनी बनेपामा पुगेका हुन् । त्यस समारोहमा यिनले आफ्नो विचार राख्दै भनेका थिए – “ऐतिहासिक जनआन्दोलन २०६२–०६३ मा सख्त घाइते रहनुभएका ज्यूँदा सहिद मुकेश कायस्थको योगदानलाई लिएर प्रकाशित भएको ऐतिहासिक ग्रन्थ सार्वजनिक गर्न पाउँदा मलाई ज्यादै खुसी लागेको छ । नेपाली जनतालाई हक–अधिकार प्रदान गर्न भएको जनआन्दोलनमा ज्यूँदा सहिद कायस्थले आफ्नो ज्यानको परवाह नगरी पु¥याउनुभएको योगदान इतिहासकै लागि पनि अतुलनीय छ । ज्यूँदा सहिद मुकेश कायस्थ प्रतिष्ठानले उहाँको योगदानलाई स्मरण गर्दै प्रकाशन गरेको यो ऐतिहासिक ग्रन्थले बनेपा र काभ्रेकै इज्जतलाई माथि पु¥याइदिएको छ — यस खालको सिर्जनशील कार्यका लागि मनैदेखिको खुसी र बधाइ दिन चाहन्छु ।”
दमनदाईसँग जनमतको कार्यक्रममा र मुकेश कायस्थ प्रतिष्ठानको भव्य समारोहमा प्रमुख आतिथ्यता गर्दै गर्दा सँगसँगै रहेर पनि सिर्जनशील कार्यमा काँधमा काँध मिलाइएका सम्झनाहरु मनमा छरपष्ट छन् । तिनै दमनदाजुको दुःखद् अवसान भएको दुःखपूर्ण खबर देविका तिमल्सिनाको फेसबुक वालमा पढ्नुपर्दा दुःख लाग्यो र फेसबुकमा मैले पनि दुःख पोखें । मैले पनि कवितामा यसरी अनुभूति पोखें ः–
मृत्यु सबैका लागि हो
मृत्यु भोग्नु नपर्नेहरु कोही हुँदैनन््
दमनदाजुले पनि भोगे
सत्य नभोग्नेहरु कतै हुँदैनन्
म त भन्छु —
मृत्यु नै जीवन हो
जीवनमा सबैले मृत्यु भोगिरहनुपर्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |