धनपति दाहाल
धेरै वर्षको अथक प्रयास अनि परिश्रमपछि बल्ल मदनको विदेश जाने सपना पूरा होला जस्तो भएको छ किनकी उसको आज भिसा झर्यो भन्ने खबर आएको छ । पटक पटक मेडिकल फेल भएर विदेश जान र पैसा कमाउन नपाई मरिन्छ कि भन्ने डरबाट मुक्ति पाएको आभाष भईरहेको थियो यतिबेला मदनलाई । भुँइचालोले आफ्नो घर ढलेपछी आफ्नो नाममा भएको एउटा सानो कटेरो र बेसीको गैरिखेत सहकारीमा धितो राखेर विदेश यात्राको लागि काठमाण्डौसम्म पुग्यो । विदेश हिँड्नको लागि पैसा जोरजाम गर्न के सम्म गरेन कठै बिचरा मदनले । पहिले त आफ्ना धनी आफन्त सबैको घर गएर दैलो ठटायो आश्वासन सबैतिर पायो तर पैसा पाएन । कतैबाट केही नलागे पछि गाउँका साहू महाजनको खुट्टा ढोग्यो त्यता पनि दाल नगलेपछि श्रीमती मुनाको कुरा सुनेर सहकारीमा आफ्नो जग्गा जमिन भएभरको सबै धितो राखेर आखिर घडीमा पैसा जुटायो आफूसँग भएको जायजेथा सबै दाउमा लाएर बल्ल मदनको विदेश जाने सपना पूरा हुने भयो ।
विदेश हिन्ने बेलामा एयरपोर्टबाट छुट्ने बेला हात हल्लाएर बिदा गर्ने भन्ट्याङ भुन्टङ छोराछोरी अनि चरम गरिबीको पीडाले सताएर भर्भराउँदो जवानीमा नै वृद्ध महिलाझैं चाउरिएर कुरुप भएकी आफ्नी मुनाको निराश लाग्दो अनुहार सम्झेर रुन मन त नलागेको हैन नि मदनलाई तर म लोग्ने मान्छे भएर रुनु हुन्न भनेर आफ्नो मनलाई बुझायो । कुनै दिन टन्न धन कमाउने आशामा बाटो ततायो ।
विदेश हिँड्ने बेलामा आफन्तहरू कसैलाई बिदा मागेर हिँड्न मदनलाई मनै लागेन किनकी सबैले उसलाई जिउँदैमा मारिसकेका थिए । मन्दिर बिनाको सहरमा मुर्ति बनेको थियो बिचरा न पुतली मानेर कसैले खेलाए न देउता मानेर कसैले पुजा गरे । अबको जिन्दगी जे त होला आफैँले व्यहोरौंला भन्दै मनमनै कुलदेवता र पितृलाई सम्झिँदै हवाइजहाजलाई शिर टेकाएर ढोग्दै आफ्नो बाटो ततायो ।
प्लेनमा बसेपछि मदनको खुशीको सिमा रहेन । हिँड्ने बेलामा मेनपावर एजेण्डले भनेको कुरा सम्झियो हेर ! मदन भाइ अरुलाई भन्दा तिमीलाई कम पैसा लिएर उडाएको छु राम्रोसँग काम गर्नु पहिला जग्गा निखन्नु अनि घर पनि त बनाउनु छ । ध्यानसँग काम गर्नु । ती शब्दलाई मदनले महावाणी सम्झियो अनि त्यो एजेण्डलाई भगवान किनकी उसको सपना पूरा गराउने महामानव त उही थियो । छुट्ने बेलामा मदनको मुहारमा कुहिरो लाग्यो अनि शीतझैं थोरै आँसु पनि खस्यो । उतिबेला मेरा बाले यति गरिदिएको भए म अहिले कहाँबाट कहाँ पुग्ने थिएँ होला कठैबरा धेरै वर्षअघि तिल छर्न गएका आफ्ना बालाई पनि सम्झियो मदनले यतिबेला ।
जिन्दगीका रमाइला गाउँघर उकाली ओरालीका पलहरु आँखामा सजाएर फेरि आफू फर्केर आउने बेलासम्म आफ्नो मुलुक अनि आफ्नो मुनाको अनुहारमा खुशी देख्ने आशा सहित मदन चढेको हवाइजहाजले जमिन छोड्यो । मदन मनमनै धेरै कुरा सोचिरहेको थियो । नयाँ ठाउँ नयाँ मान्छेहरुको बिचमा कसरी बस्ने होला । न धर्म मिल्छ न जात न बोली भाषा नै मिल्छ, काम कस्तो पर्नी होला यस्तै यस्तै सोच्दै सोच्दै उ चढेको जहाज निलो आकाशको बादलको घुम्टो भित्र हरायो । केही समयपछि उ चढेको जहाजले फेरि जमिनसँगको दुरीलाई कम गर्न थाल्यो । केही समयको मरभुमी र समुद्रको दृश्य यात्रालाई चिर्दै ठुला ठुला गगनचुम्बी महलहरु अनि झिलिमिली बत्ती भएको सहरतिर पुगेर जहाजले जमिनमा अवतरण गर्यो । जहाजमा बसुन्जेल त ठिकै थियो अब झरेपछी मदन अक्क न बक्क भयो । कता जाने के गर्नी केही थाहा थिएन ।
मदन भिडको लर्कोसँगै अघि बढ्यो । भिड जता जता मदनको पाइला पनि त्यता त्यता लम्कियो । बल्ल तल्ल अध्यागमन पार गरेर मदन बाहिरियो । कोहि सेता अनि कोहि काला बुर्का झैँ कपडा लगाएका मान्छेहरु हेर्दै मदन बाहिर निक्लिएर बस्यो उसलाई लिन आउने मान्छेको पर्खाइमा । एजेण्डले लिने मान्छे नआएसम्म कतै नजानु भनेको थियो त्यसैले पनि उ कतै नगई बस्यो । ७ घण्टाको लामो पर्खाइपछि एउटा पातलो ख्याउटे मान्छे लपक्क तेल लगाएको केस माथि कालो चस्मा टेकाएर मदनको नाम लिँदै आइपुग्यो । उ रहेछ मिस्री कठै मदनलाई त्यतिबेलै देखि निकै गाह्रो महसुस भयो उसले बोलेको अरबी मदनले नबुझ्ने अनि मदनको नेपाली त्यो मिस्रीले । बल्ल तल्ल क्याम्पमा पुगेपछि मदनलाई खुशी लाग्यो त्यता भने केही नेपाली अनुहार देख्न पायो । भाइ नेपालबाट हो भनेर पछाडीबाट कसैले उसलाइ सोध्यो उसको खुशीको सिमाना नै रहेन पछाडी फर्केर एकै सासमा हो नि दाइ मेरो नाम मदन हो घर बुधबारे अनि दाइको नि भन्न भ्याइ हाल्यो ।
मेरो नाम भाइ राम सार्की हो । भाइ घर कञ्चनपुर जवाफ आयो । त्यसपछी मदनले साथी भेट्यो गफ गर्नी निकै खुशी भएर मदन र भाइराम गफ गर्न थाले आफ्नो आफ्नो दुःखको कहानी सुनाउन र सुन्न थाले । उनै भाइरामको फोन मागेर मदनले आफ्नी मुनालाई फोन गर्यो र आफू राम्रोसँग आइपुगेको कुरा बतायो । भोलि बिहानै डिउटी हिँड्नु पर्नी भएकोले भाइरामले मदनलाई आफ्नै कोठामा एउटा बेड खाली भएकोले त्यतै सुत्ने ठाउँ मिलायो र क्याम्प बोसलाई भनेर त्यतै आराम गर्न सल्लाह दियो ।
भोलि पल्ट एकदिन आराम गरेर पर्सीपल्टबाट मदनको दैनिकी भाइरामकै जस्तो भयो । ड्युटी जाने रुम आउने खाना बनाउने खाने अनि सुत्ने फेरि ड्युटी जाने आउने खाना बनाउने खाने सुत्ने यसरी नै महिना बित्यो तलब आयो सबै उधारो तिरेर बाँकी रहेको पैसा घर पठायो अनि नयाँ सिम निकालेर त्यसैदेखि मुनालाई खबर गर्यो । मुना पनि निकै खुशी थिइन् । अब दैनिक मदन मुनाको फोनमा बात हुन थाल्यो त्यस्तैमा एकदिन मुनाले छोराछोरी लिएर आफू सदरमुकाम जान लागेको बताइन् । मदनले अचम्म मान्यो किन जानुपर्यो नि अनि बुढि आमा एक्लै कसरी बस्छिन् त भनेर सोधेको पनि हो । मुनाले बच्चाको भविष्य पनि हाम्रै जस्तो बनाउनी हो र हजुर विदेश गएपछी पनि त्यही गाउँको स्कूलमा पढाएर हुन्छ त राम्रो स्कुलमा पढाएर ठूलो मान्छे बनाउनु परेन अब आमालाई त के छ र बाली लाउन भित्राउन म आइहाल्छु पकाएर खान सकिहाल्छिन् म त जान्छु है नाइँ नभन्नु भनिन । मदनले पनि सोच्यो ठिकै हो आखिर आफुले दुःख गरेकै तिनैको लागि हो केही छैन जाने भए जाउ तर आमाको पनि राम्रो ख्याल गर भन्यो । मदन विदेश हिँडेको दोस्रो महिनामा नै मुनाको सदरमुकाम यात्रा तय भयो ।
आज भोलि गर्दै अब मदन गएको पनि बर्ष बित्यो उता मदन दिनरात नभनी दुःख गरिरहेको थियो । ड्युटी र ओभरटाइम गरेर कमाइ पनि राम्रै गरिरहेको थियो मदनले । उता मुना पनि लाउन खान पाएर होला उसका हड्डी देखिने ज्यानमा मासु भरिएका थिए, गाला पनि राता पिरा अनि पोटिला भएका थिए । मदन अब त दिनमा एकपटक आफ्नी प्यारी मुनालाई भिडियो कल नगरी बस्नै नसक्ने भईसकेको थियो । त्यसैले त आइफोन पठाइदिएको थियो मदनले मुनालाई । उता मुना पनि चिटिक्कै परेर मिठा गफ गर्न जानिसकेकी थिई मदन दङ्ग पथ्र्याे मुना देखेर अनि भन्थ्यो आखिर लाउन खान पाए त जवानी फर्किने रहेछ नि है मुना जवाफमा मीठो मुस्कान छर्दै छि हजुर पनि भन्दै मुना लाजउँथी । हुन पनि बिछिट्टै राम्री भएकी थिई मुना उसको फेसबुकमा साथी मात्र ३ हजार भन्दा माथी भईसकेका थिए । म्यासेन्जर, इमो, भाइबर भएजति सबै चलाउन पारङ्गत भईसकेकी थिई मुना । आफुलाई बोल्न मन लाग्दा डाटाबाट बोल्न नेट स्लो भो र भिडियो कल राम्रो हुन सकेन भनेर मदनले वाइफाइ हाल्न लगाएको थियो मुनालाई । त्यसैले होला मुना प्रायः अनलाइन नै हुन्थी । अहिले खै कसको कसको कुरा सुनेर हो मदनले आमाको नामै लिन छोडेको थियो । मुना र मदनको वार्तालापमा जब आमाको कुरा हुन्थ्यो मुना कि रिसाएर फोन काट्थी कि त रोएको स्वाङ पारेर मदनलाई ठिक्क पार्थी मदनलाई पनि लाग्थ्यो मान्छे बुडाबुडी भएपछी निहुँ खोज्छन् भन्थे हो रैछ भनेर । अनि के चाहियो मदन र मुनाको प्रेमलाप सुरु भईहाल्थ्यो ती बुडिमाउको मतलब कसले नै गथ्र्याे ।
समय बित्दै जाँदा मदनले आफ्नो अर्को दुई वर्षको बसाई थप्यो । अब दुई वर्ष बसेर फर्केपछी म विदेश फेरि आउनु नपरोस् अनि केही गरेर उतै बसम्ला भनेर मुनालाई भन्दा मुना पनि खुशी भई त्यही सदरमुकाममा घडेरी लिइसकेको कुरा मदनलाई मुनाले भनेकी थिई । त्यतै घर बनाएर बस्ने सपनाको लागि पनि मदन बस्नैपर्ने उनीहरुको सल्लाह भयो । दैनिक जस्तै कुरा हुने मदनको अचेल अलि कम कुरा हुन थालेको थियो मुनासित किनभने मुना पनि अचेल जागिर खान थालेकी थिइ । आफुले कमाएको पैसाले घर चल्यो भने विदेशको कमाइ बच्ने भन्दै संस्थामा जागिर खाएको मुनाले बताउँदा मदन पनि खुशी नै थियो । कहिले कसो निकै बोल्न रहर लाग्थ्यो मदनलाई तर मुना भने कामले थाकेर आएको भन्दै भोलि बोलम्ला भन्दै झर्किन्थी । मदन नरिसाउन त अब त घर फर्किने दिन पनि नजिक आइरहेको छ ठिकै छ नी तिमीलाई गाह्रो भएको छ भने सुत भनेर फकाउथ्यो ।
आज भन्दा भोलि भन्दा मदनको घर फर्किने दिन पनि नजिक आयो आज त मदन निकै खुशी थियो उ आज यो परदेशबाट घरदेश जो फिर्दै थियो । उसकी मुना उसलाई लिन काठमाडौं एयरपोर्टमा आउँदै थिई । आफ्नो कमाइले केही किनम् भनेपनि मुनाले त्यताबाट केही ल्याउनु पर्दैन यता आएपछी काठमाडौंमै किनौंला भनेको भएर सानो झोलामा केही मिठाई र सामान राखेर उ एयरपोर्टतिर लम्कियो । लाग्न त चिनो सामान यतैबाट लान पाए पनि हुने भन्ने त लागेको हो तर मुनाको कुरा मदनले काट्न सकेन । यतिका वर्षपछि भेट्न लागेकी बुडिको के मन दुखाउनु भनेर मदनले भएको सबै पैसा मुनालाई पठाएर आफू हलुका भएर प्लेन चढ्यो । अब उसलाई कतिबेला नेपाल एयरपोर्ट झरम्ला भन्ने चिन्ता मात्र थियो । प्लेनमा उसले अबको भविष्यको बारेमा सोचिरहेको थियो । सदरमुकामको घडेरीमा सानो घर बनाउन पुग्ने पैसा छ त्यसले घर बनाउनुपर्ला । पहाडको जग्गा जमिन बेचेर आमालाई पनि सम्झाइ बुझाइ त्यतै सार्नु पर्ला अनि सानोतिनो कि त किराना कि त फेन्सी पसल खोलेर बाँकी जिन्दगी आरामले बिताउनु पर्ला । मदनले सोच्दा सोच्दै नेपाल एयरपोर्टमा जहाज अवतरण भयो । मदन भित्रभित्रै रमाइरहेको थियो अब मुनासित भेट जो हुँदै थियो । जसले जे सुकै सोचोस् म त भेट्ने बितिक्कै झ्याम्म अँगालो मारेर गालामा म्वाइ खाइदिन्छु आखिर एयरपोर्टमा हामीलाई कसले चिन्छ र मनमा यस्तै कुरा सोच्दै सोच्दै मदन एयरपोर्टबाट बाहिर निस्कियो ।
एयरपोर्टबाट बाहिर निक्लने बेलामा उसले आफ्नी मुनालाई आगन्तुक प्रतिक्षालयमा देखेन । झसङ्ग भयो किन छैनन् मेरी मुना कतै केही त भएन फेरि सोच्यो के हुनु गाडी जामसाम भएर नआइपुगेको पनि त हुन सक्छ नी ।
त्यसमाथि पनि आएर ट्वाइलेट बाथरुमतिर गएको पनि हुन सक्छ । बरु म यतै बस्नुपर्ला भन्दै मदन त्यतै बस्छ । एयरपोर्टमै सिम किनेर फोन गर्छ फोन पनि लाग्दैन उसको डर अझै बढ्छ करिब दुई घण्टा कुर्दा पनि केही पत्तो नलागेपछी मदनको मन धेरै आतिन्छ कतै केहि त भएन मुनालाई भनेर । मदनको सपना चकनाचुर हुन्छ अनि आतिएर बसपार्क तिर लाग्छ । बसपार्कबाट सिधै नाइटको टिकट काटेर गाउँतिर लाग्छ । भोलि पल्ट बिहान सदरमुकाम पुगेर गाडी रोकिन्छ अनि उ अताल्लिँदै घरतिर लाग्छ । उसले एयरपोर्ट देखि अहिले सम्म फोन भने गर्न छोडेको थिएन । तर जतिबेला पनि फोनले स्विच अफ भन्दा अरु केही भनिरहेको थिएन । उ बसेको डेरामा पुग्दा त्यो घर वरिपरि घेरिएका मान्छेहरु देख्दा उसको मन झनै डरायो । हतार हतार उ त्यहाँ पुग्यो । जब उ त्यहाँ पुग्यो उसको होस हवास उड्यो । उसले कल्पना नै गर्न नसक्ने घटना घटिसकेको थियो । मदनले कमाएको सबै सम्पत्ति लटिपटी पारेर मुना त अर्कैको अँगालोमा गइसकेछ । तिम्रो अनुपस्थितीमा मैले यो मन अनि जोवन अरु कसैलाई दिईसकेको भएर म तिम्रो लागि कुरेर बस्न सकिनँ थाहा छैन फेसबुक, म्यासेन्जर अनि इमो हुँदै जोडिएको हाम्रो मित्रता कतिबेला बिस्तरासम्म पुग्यो थाहै भएन । त्यसैले मलाई माफ गर हामी एकअर्का बिना बाँच्न नसक्ने भएकोले तिम्रो आफ्नो बच्चा तिमीलाई जिम्मा लगाउन मात्र म अहिलेसम्म कुरेर बसेको थिएँ मलाई खोज्ने कोसिस नगर्नु तिमीले यो पत्र हेर्दासम्म हामीले डाँडा काटिसकेका हुनेछौँ । यस्तो व्यहोराको चिठ्ठी छोडेर मुनाले डाँडो काटिछ । मदन त्यतिबेला छाँगोबाट खसेजस्तो भयो । आफुले आफैलाई भन्दा धेरै माया र विश्वास गरेकी मुनाले यसरी घात गर्दा मदनको आँसु रोकिएन बालख केटाकेटी अँगालो मारेर बस्नुको पनि त बिकल्प थिएन । चिन्ता नगर म आइपुगेको छु तिमीहरुको बाउ पनि अनि आमा पनि म हो तिमीहरुले केही चिन्ता नगर भन्दै सम्झाइरहेको थियो ।
बुढी आमाले उति बेला सम्झाएको कुरा झल्झली याद आयो मदनलाई यतिबेला “बाबू आफ्नो गाउँ छोडेर कतै नपठा सदरमुकाम तिर दौडाउनु पर्दैन पढ्नेले गाउँमा पढेर पनि प्रगति गरेकै छन् भन्दा नमानेकोमा पछुतो लागिरहेको थियो ।
छोरा छोरी च्यापेर मदन आफ्नो घर पुग्यो आमाले मदन र केटाकेटीलाई सान्त्वना दिँदै चिन्ता नगर म अझै मरेकी छैन त्यो आजबाट मरिछ हाम्रो लागि भनेर मन बुझाउनुपर्छ भन्दै सान्त्वना दिनुभयो । केही दिन गाउँ बसेर मदन आफ्नो जमिन हेर्न सदरमुकाम झर्यो उता पुगेपछी उसले थाहा पायो कि त्यो जग्गा त मुनाले पहिला नै बेचिसकिछ आफ्नो दुःखले आर्जेको केही पनि नरहेपछी मदनले पुलिसमा रिपोर्ट पनि गर्यो तर केही लागेन । कुनै समय त मदनलाई मुनाले दिएको धोका र आफ्नो कर्म सम्झेर मर्न मन नलागेको पनि होइन तर केटाकेटी र बुडि आमाको अनुहार सम्झँदै सम्हालिएर बस्यो । जति खोज्दा अनि बुझ्दा पनि कतै केही खबर नपाएपछि मदनले विदेश लाग्नुको विकल्प भेटेन अनि पुरानै कम्पनीमा साथीहरुलाई खबर गरेर भिसा मगाई फेरि सन्तानको भविष्य बनाउनको लागि परदेश हानियो ।
आज भोलि मदनलाई श्रीमतीलाई आँखा चिम्लेर विश्वास गर्ने परदेशी श्रीमाने देखेर माया लागेर आउँछ । विश्वास त गर तर आफन्तको निगरानीमा राखेर है भनेर सल्लाह पनि दिने गर्छ । यदि आमाले भनेको मानेर घरमै बस्न लगाएको भए मुना आज पनि मदनकै मुना भईरहन्थी होला भन्ने मदनलाई लागिरहन्छ । धमिलो पानीमा जाल फालेर माछा मार्ने दाउमा धेरै मान्छे कुरिबसेका हुन्छन् । कुनबेला कसले आफ्नो माया र भरोसा पन्छाएर उछिट्याउने हो पत्तो हुन्न । त्यसैले आजभोली मदनलाइ मुनामदन नाम सुन्दा पनि रुन मन लाग्छ अनि रिस पनि उठेर आउँछ । पुरानो कुरा बिर्सेर मदन अहिले अझै मिहेनत गरेर काम गरिरहेको छ सन्तानले पनि निकै राम्रो पढिरहेका छन् । नाति नातिनासित आमा पनि निकै खुशी छिन् । मदन फर्केपछी मदनको बिहे गर्नी भन्दै आमा केटी खोज्दैछिन् तर मदन भने मुनाको स्थान अरु कसैलाई नदिने कुरामा अडिग छ । सन्तानलाई राम्रो पढाउन सके अब मलाई केही चाहिन्न भन्छ मदन । कहिले कहिले मुनालाइ सम्झेर निकै रुने पनि गर्छ मदन तर अरुको सामु आँसु देखाउँदैन । मुनाको बारेमा आजसम्म पनि कहिँ कतै केही खबर मिलेको छैन । कता कता गाँइगाँइ गुँइगुँइ हल्ला सुने अनुसार लगेको सम्पत्ति सबै लटिपटी पारेर त्यो नाठोले मुनालाई सिमाना पारी लगेर बेचिदिएछ रे । अहिले एड्स लागेपछी त्यताबाट पनि निकालिदिएर खै कुन हो संस्थाको शरणमा हो काल पर्खिएर बसेकी छे रे राजधानीतिर भन्ने कुरा धुइरोधुइरो सुनेको हो तर निश्चितै भने थाहा छैन ।
मायाप्रेम र भरोसाको अर्को नाम हो मुनामदन
मेरो आजको कथाको पात्रको नाम जे भएपनि आधुनिक युगका केहि दुःखी परदेशी र घरदेशीको वास्तविकता बोकेको कथाको प्रतिनिधित्व गर्छ भन्ने आशा गरेको छु । यो सबै हुनुमा दोष कसको थियो भन्ने कुरा आफैंमा मनन गर्नु जरुरी छ । मुनाको जति नै नभएपनि मदनको पनि कतै केही कमजोरी त थियो कि भन्दै मार्गनिर्देश हुनेखालका प्रतिक्रियाको आशामा कलम बन्द गर्ने अनुमति माग्दछु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |