आर.एल.श्रेष्ठ
पछिल्लो समय आलसका बारेमा निकै चर्चा परिचर्चा हुने गरेको छ । मानव शरीरमा वातावरणीय प्रभावदेखि खानपिनको कारण सिर्जना भएका दीर्घरोगहरुको अचुक औषधीका रोगमा आलसको प्रयोग हुन थालेको छ । सायद आलसका बारेमा थाहा नपाउने मानिस कमै हुनुपर्छ । आलसको तेल निकै लोकप्रिय हुँदै गएको छ । आलसको छोप अचारमा पनि प्रयोग हुन्छ । आलसलाई बहुगुणी औषधि पनि मानिन्छ । आलस लिनासिया परिवारमा पर्ने वनस्पती हो । यसको फल फाइबरयुक्त खाद्य पदार्थको रूपमा उपभोग गरिन्छ ।
आलसको खेती विश्वका चिसो भूभागहरूमा गरिँदै आएको छ । नेपालमा आलस कति उत्पादन हुन्छ भन्ने एकिन तथ्यांक छैन तर पनि सरदर १४ हजार तीन सय १९ हेक्टर जमिनमा ७ हजार ६ सय ७२ टन उत्पादन भएको सन् २०१३ को तथ्यांकले देखाएको छ ।शरीरलाई नभई नहुने चिल्लो पदार्थमध्येको तत्व हो, ओमेगा थर्ड, फ्याट्टी एसिड, जुन आलसमा प्रशस्त पाइन्छ । आलसको प्रयोग प्राचीनकालदेखि फाइबर र तेलका लागि प्रयोग हुँदै आएको आलस अहिले विकसित देशहरूमा औषधिका रूपमा सेवन गर्न थालिएको छ । विश्वलाई सताइरहेको कोलेस्टेरोल, स्ट्रोक लगायतका मुटुसम्बन्धी रोगदेखि क्यान्सरसम्मको रोकथाममा आलसको प्रयोग बढ्दै गईरहेको छ ।
आलसलाई आफ्नो उपयुक्त अनुसार प्रयोग गर्न सकिन्छ । आलसलाई अंकुराएर खानु सबैभन्दा राम्रो मानिन्छ । आलसलाई अंकुराउँदा यसमा हुने फाइटिक एसिड हट्छ, जसले गर्दा खनिज तत्वहरु हाम्रो शरीरले सजिलै लिन सक्ने सो सम्बन्धी विज्ञहरुको राय छ ।अध्ययन अनुसार विज्ञहरुको सिफारिसमा आलसलाई न्यानो पानीमा कम्तीमा १० मिनेट वा चिसो पानी भए २ घन्टा भिजाएर प्रयोग गर्नु भन्ने छ । आलसलाई अंग्रेजीमा ‘फ्लाक्स सिड’ वा ‘लिन सिड’ पनि भनिन्छ । यसको वैज्ञानिक नाम ‘लिनम युसिटाट्सिनम’ हो ।
विशेष गरी आलसमा क्यालोरी ३७, प्रोटिन १.३ ग्राम, कार्बोहाइडेड २ ग्राम, फाइबर १.९ ग्राम, चिल्लो ३ ग्राम, ओमेगा फ्याटी एसिड १५९७ एमजी, स्याचुरेट फ्याट ०.३ ग्राम, मनोअन स्याचुरेट फ्याट ०.५ ग्राम, पोलिअनस्याचुरेट फ्याट २ ग्राम, भिटमिन बी१ ८ प्रतिशत, भिटमिन बी६ २ प्रतिशत, फोलेट २ प्रतिशत, क्याल्सियम २ प्रतिशत, आइरन २ प्रतिशत, म्याग्नेसियम ७ प्रतिशत, पोटासियम २ प्रतिशत, फस्फोरस ४ प्रतिशत पाइने विज्ञहरुको आँकलन छ ।
आलसलाई नियमित रुपमा प्रयोग गर्दा अत्यधिक मात्रामा ओमेगा थर्ड फ्याट्टी एसिड पाइन्छ, जुन हाम्रो शरीरलाई नभई नहुने चिल्लो पदार्थमध्येको एक हो । क्यान्सर रोग लाग्नबाट जोगाउँछ । त्यस्तै उच्च रक्तचाप, सुगर लेबल सन्तुलन, भोग जगाउने काम गर्छ र वजन सन्तुलन राख्न, मुटुसम्बधी रोग, खाना पचाउन, मधुमेह रोग, कुनै पनि संक्रमण हुनबाट जोगाउँछ भने सुत्केरी महिलाको लागि आलस अति उपयोगी मानिएको छ ।
आलसको नियमित प्रयोगले अनुहारमा चमक थप्नुका साथै नरम र सिल्की कपालका लागि पनि आलस राम्रो मानिन्छ । मुटुका धमनीहरूमा रगत जम्न, कब्जियत, पाइल्स, फिस्टुलाका बिरामी, छालासम्बन्धी रोगहरू एग्जिमा, डन्डीफोर, दाद, चिलाउने, रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन मदत गर्दछ । शरीरको बोसो घटाएर स्फूर्त बनाउन, आयुर्वेदमा ‘दैविक भोजन’ का रूपमा चित्रण गरिएको छ । रातो रक्तकोष निर्माण र मस्तिष्क एवं स्नायुको कार्यप्रणालीमा सहयोग पु¥याउँछ भने आलसमा पाइने लिग्नान्सको इस्ट्रोजेनिक गुणले महिलाको महिनावारीमा हुन सक्ने तलमाथिलाई पनि नियमित गराउँछ । स्तन, प्रोस्टेट, कोलोन, पाठेघर क्यान्सरका बिरामीलाई आलस निकै उपयुक्त मानिन्छ । आलसको सेवनले पाचन क्रियामा सघाउँछ र कब्जियतलगायत पाचनसम्बन्धी समस्यालाई समाधान गर्छ । आलसमा पाइने घुलनशील रेशाले बोसो र कोलेस्ट्रोललाई बल्झाएर लिने भएकोले शरीरमा सोसिने मात्रा कम हुन जान्छ । त्यस्तै पित्तमा भएको कोलेस्ट्रोललाई पनि आलसको रेशाले लिन्छ र दिशाबाट बाहिरिन्छ । आलसको नियमित प्रयोगले यति मात्र फाइदा नगरी आँखाको लागि पनि राम्रो मानिन्छ । खासगरी आँसु कम भएर आँखा सुख्खा हुने र पोल्नेहरुको लागि ओमेगा थर्डको सेवन गर्दा राम्रो मानिन्छ । सामान्यतया माछाको तेलमा इपिए र डिएचएल दुई प्रकारका ओमेगा थर्ड फ्याट्टी एसिड पाइन्छन् तर आलसमा पाइने चाहिँ ‘एएलए’ अर्थात् अल्फा लिनोलेनिक एसिड हो । खासमा यी फ्याट्टी एसिडहरु सुन्निने, दुख्ने कम गर्ने ‘एन्टि–इन्फ्लेमाटोरी’ गुणयुक्त र मुटुसम्बन्धी रोगहरु कम गर्नमा उपयोगी मानिएको छ ।
अध्ययन अनुसार आलस धेरै किसिमले खान सकिन्छ । यसलाई अंकुराएर खाँदा अझ व्यवहारिक हुन्छ । आलसको छोप बनाएर पनि खान सकिन्छ । आलु–काँक्रोको अचारमा तिलको साटो आलास मिलाउनु उत्तम मानिन्छ । आलसलाई भिजाएर विभिन्न फलफूलसँग मिसाई लस्सी बनाएर पिउन पनि सकिन्छ । आलसको सुप पनि अत्यन्त स्वास्थ्यकर मानिन्छ । सलादको ड्रेसिङ बनाएर खाँदा पनि स्वादिस्ट र स्वस्थ्यकर हुन्छ । आलस मिसाएर विभिन्न कुकिज, लड्डु, मल्टिग्रेन्ड ब्रेड र थेप्ला बनाउन सकिन्छ । आलसलाई विभिन्न तरिकाले खान सकिन्छ । जस्तैः दुध वा दहीसँग मिसाएर खान सकिन्छ । दहीसँग खाँदा स्वादअनुसार मह मिसाउन सकिन्छ । घरमै रोटी, बिस्कुट, केकरमफिन बनाउँदा आलसको पिठो मिसाउन सकिन्छ । आलसलाई ३०० डिग्री फरेन्हाइट (झन्डै १५० डिग्री सेल्सियस) मा ३ घन्टासम्म बेक गर्दा यसमा भएको एएलए ओमेगा थर्डमा केही असर नपरेको अध्ययनबाट देखाएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |