आर.एल.श्रेष्ठ
पछिल्लो समय प्रविधिको कारण नेपाली युवायुवतीहरुमा यो समस्या जटिल रुपमा देखिएको छ । त्यसैले यो समस्यालाई निराकरण गर्नु पहिलो प्राथमिकता देखिन्छ । नेपाल सरकारले प्रविधिको नाममा जुन क्रियाकलापहरु भएका छन् त्यसलाई निरुत्साहित गर्नका लागि नीति बनाउन जरुरी छ । हाम्रो समाजमा मानसिक समस्या भूत, प्रेत वा अन्य अलौकिक कुराहरुको प्रभावले हुन्छ भन्ने परम्परागत मान्यता व्याप्त छ । अहिले यस्तो समस्या केवल शरीरका भित्री केमिकलको असन्तुलनले हुन्छ भन्ने अवधारणाले बढी प्राथमिकता पाइरहेको भनिएता पनि कता कता शरीरको महत्वपूर्ण पक्ष मष्तिष्कसँग पर्ने प्रभाव जोडिन्छ । दुवै मान्यताको प्रभावले डिप्रेसन लगायतका मानसिक समस्याको रोकथाममा मानिसहरुले आफूलाई निरीह वा भूमिकाविहीन सम्झिने अवस्था सिर्जना हुँदै गएको छ ।योसँग सम्बन्धित विशेषज्ञहरुका अनुसार डिप्रेसन केवल शरीरका केमिकलहरुको असन्तुलनको परिणाम मात्र नभई व्यक्तिको शारीरिक, मनोवैज्ञानिक, आध्यात्मिक, सामाजिक एवं वातावरणीय पृष्ठभूमिमा जीवनका परिस्थितिहरुले पार्ने प्रभावको अभिव्यक्ति मानेका छन् ।
अध्ययन अनुसार कयौँ अनुसन्धानको निष्कर्षले यदि कोही डिप्रेस्ड छ भने, ऊ पार्टपूर्जा वा केमिकल बिग्रेको मेसिन नभई इच्छा–आकाँक्षा पूरा नभएको एक मानवको संज्ञा दिएको छ । यसरी डिप्रेसन धेरै कारणको संयोगको फलस्वरुप हुने हुनाले यसको रोकथाममा पनि हाम्रो विशेष भूमिका हुन सक्छ । अर्थात्, शरीरमा डिप्रेसनको जोखिम (भल्नेराबिलिटी) नै छ भने पनि यसलाई ठूलो हुन आवश्यक पर्ने वातावरण वा तत्वहरु नदिएर धेरै हदसम्म रोक्न सकिन्छ । यस्तै विविध कारणहरुले गर्दा आजकल मानसिक समस्यालाई व्यवहारजन्य समस्या भन्नु बढी उपयुक्त हुने अवधारणा समेत चिकित्सा विज्ञानले पुष्टि गरेको छ ।
यो समस्याबाट छुटकारा पाउनका लागि अर्थपूर्ण लक्ष्य पछ्याउनु शारीरिक एवं मानसिक थकानबाट बच्ने प्रमुख माध्यम हो । यसको लागि जीवनका आफ्ना घटनाक्रम एवं क्रियाकलापहरुलाई बृहत अर्थ र लक्ष्यको सन्दर्भ (फ्रेमवर्क) मा हेर्ने बानी बसाल्नु पर्ने हुन्छ ।
एक अध्ययन अनुसार डिप्रेसन प्रायः असहज घटनाहरुपछि सुरु हुने गरेको पाइएको छ । यस कारण जीवनमा आइपर्ने कठिन परिस्थितिसँग जुझ्नसक्ने साहस र कौशलता, विकासका लागि सानो उमेरदेखि नै उमेरसापेक्ष जिम्मेवारी एवं निर्णय लिने साथै परिस्थितिजन्य तनाव सामना गर्ने बानी बसाल्नु जरुरी हुन्छ । यसलाई मनोवैज्ञानिक जिमको रुपमा बुझ्न चिकित्सकहरुले आग्रह गरेका छन् ।
कल्पनाभन्दा अगाडि मनोवैज्ञानिक रुपमा कोही अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा दोस्रो हुने भन्दा तेस्रो हुनेको खुसी गुणात्मक रुपमा बढी हुने गरेको अध्ययनले देखाएको छ । प्रायः सबैले मासिक तलब ५० हजार पाउने परिस्थितिमा भन्दा अरु सबैले ३० हजार र आफूले ४० हजार पाउने परिस्थितिमा दीर्घकालीन रुपमा खुसी हुनसक्ने गरेको मानव स्वभाव भएको अध्ययनले देखाएको छ । अर्थात् व्यक्ति कति सफल वा सम्पन्न हुन्छ भन्ने कुराले नभई अपेक्षा र प्राप्तिको अन्तरले खुसीको स्तर निर्धारण गर्छ । यसकारण यथार्थपरक अपेक्षा राख्न सिक्नु डिप्रेसनबाट जोगिने महत्वपूर्ण उपाय भएको सोसँग सम्बन्धित विज्ञहरुले बताएका छन् ।
एक अध्ययन अनुसार व्यक्ति सधैं दुःखी भइरहने प्रमुख कारण आफूलाई अरुसँग तुलना गर्नु हो । व्यक्तिको प्रकृति, व्यक्तित्व, पारिवारिक वातावरण, रुचि, लक्ष्य, जीवनका मूल्य–मान्यता एवं दृष्टिकोण आदिको कारण दुई व्यक्तिबीचको तुलना अर्थहीन हुन जान्छ । यो कुरा मनन गरेर अरुको सफलतालाई मापदण्ड नमानी आफ्ना वर्तमान लक्ष्य अनुरुपका स–साना उपलब्धिमा पनि रमाउन सिक्नु डिप्रेसनबाट जोगिने अर्को महत्वपूर्ण तरिका हो ।
डिप्रेसनका बिरामीहरुले विशेष गरी शारीरिक व्यायाममा ख्याल राख्न सके आइपर्ने समस्याहरु सहज रुपमा अन्त हुनेछन् । खासगरी शारीरिक, मानसिक एवं यौनजन्य उत्साह तथा ऊर्जा बढाउनमा प्रमुख भूमिका निभाउने ‘टेस्टोस्टेरोन हर्मोन’ कमी हुने गर्छ । त्यसको परिपूर्तिका लागि पनि व्यायाम अति आवश्यक हुन्छ । हल्का पसिना आउने गरी दैनिकजसो एक्सरसाइज वा योग गर्नु शरीरमा टेस्टोस्टेरोन हर्मोन बढाउने सबभन्दा सजिलो एवं प्राकृतिक तरिका हो । यो भिटामिन डी र क्याल्सियमको शरीरमा सदुपयोगको लागि पनि आवश्यक हुन्छ । मानसिक स्वास्थ्यमा योग सञ्जीवनी बुटिका रुपमा सावित भएको छ ।
डिप्रेसनको समस्यामा रहेका व्यक्तिहरुमा डर, रिस जस्ता संवेदनाहरुमा प्रत्यक्ष नियन्त्रण पाउन धेरैलाई कठिन हुन्छ । तर यी सबैको हद निर्धारणमा श्वासप्रश्वासको विशेष भूमिका हुन्छ । अर्थात् साँच्चिकै गहिरो श्वासप्रश्वास पनि लिने र रिसाउने वा अत्यन्त डराउने गर्नु एकै पटक सम्भव हुँदैन । यसरी भावनात्मक नियमनको मूल अस्त्र श्वासप्रश्वास हो । यसैकारण आजकल पश्चिमा मुलुकमा योग र प्राणायाम अति लोकप्रिय बनेको छ ।
डिप्रेसनका पिडितहरुमा विशेष गरी एन्जाइटी र डिप्रेसनका सम्भावित बिरामीमा ससाना तनावको विषयमा समेत यथार्थ भन्दा अति बढी जोखिम ठान्ने र सामना गर्नको लागि आवश्यकता भन्दा अति बढी जीवन ऊर्जा नष्ट गर्ने बानी परेको हुन्छ ।
डिप्रेसनमा आध्यात्मिक पक्षको पनि महत्वपूर्ण भूमिका रहन्छ । कुनै व्यक्तिलाई जबसम्म सबै कुरा इच्छाअनुसार प्राप्त हुन्छ, तबसम्म ऊ आफूलाई नै सर्वशक्तिमान सम्झिन्छ । स्वास्थ्य समस्या, वृद्धावस्था वा अन्य कारणले आशक्त हुन थालेपछि बल्ल ऊ जीवनमा र मृत्युमा समेत अर्थ खोज्न थाल्छ । त्यसैले पनि आध्यात्मिक पक्षको भूमिका महत्वपूर्ण सावित भएको छ । असजिला परिस्थिति एवं घटनालाई संकेत, सिक्ने अवसर एवं दिशानिर्देशको रुपमा लिई अगाडि बढ्न वा यिनीहरुमा अर्थ खोज्न आध्यात्मिकताले पिडितलाई सान्त्वना प्राप्त हुन्छ । जीवनको प्रमुख भयबाट मुक्ति, स्वस्थ आहरबिहार, सामाजिक घुलमिल जस्ता माध्यमबाट समेत आध्यात्मिकताले डिप्रेसनबाट जोगाउने वैज्ञानिक अध्ययनहरुले पुष्टि गरेका छन् ।
विशेष गरी पिडितहरुका लागि कमसेकम एक जनाले भावना एवं समस्या सेयर गर्नु, नम्र भाषामा ‘नो’ भन्न सक्नु (एसर्टिभनेस), फुर्सदको लागि कुनै सोख संगीत, नृत्य, कलाको विकास गर्नु, समय व्यवस्थापन र मुस्कानको बानी बसाल्न सकियो भने डिप्रेसनबाट जोगाउन र जोगिन सकिन्छ ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |