पञ्चमाया तामाङ
पछिल्लो समय नेपालीहरुको भान्सामा मुलाले स्थान पाउन थालेको छ । यसको मुख्य कारण यसभित्र रहेका पौष्टिक तत्व एकातिर छ भने अर्काेतर्फ किसानहरुले नगदे बालीको रुपमा स्थान दिएका छन् । विशेष गरी बाह्रै महिना आम्दानीको स्रोत भएता पनि जानकारहरुले मुला उष्ण तथा शीतोष्ण प्रदेशको प्रसिद्घ तरकारी बालीको रुपमा लिएका छन् । यो प्राचीनकाल देखि खेती गर्दै आएको तरकारी बाली भएता पनि पिरामिडको भित्तामा लेखिए अनुसार मिश्र देशमा २ हजार वि.सी. भन्दा अघि देखि उपभोग गर्दै आएको तथ्य पाइन्छ । यो ५ देखि ७ सय वि.सी.मा चीन तथा जापानमा फैलिएको इतिहास पढ्न पाइन्छ । अध्ययन अनुसार यसको उत्पत्ति ग्रीस र मिश्रमा भएको देखिन्छ । नेपालमा बाह्रै महिना मुला खेती गर्ने क्रम निकै बढेको छ । अध्ययन अनुसार मुलामा भिटामिन ‘सी’ प्रशस्त पाइन्छ र मुलाको टाउकोमा, तल्लो भागमा भन्दा सात गुना बढी भिटामिन ‘सी’ पाइन्छ भनिएको छ ।
त्यस्तै क्याल्सियम ६ गुना बढी, फस्फोरस ३ गुना बढी, भिटामिन ‘ए’ तीस गुना बढी पाइन्छ । मुलामा पानीकोमात्रा ९० प्रतिशत र प्रायः सबै पौष्टिक तत्वहरू पाइन्छ । नेपालमा सेता र राता दुवै प्रकारका मुला पाइन्छन् । कार्बोहाईड्रेट र खनिज तत्व सेतो मुलामा भन्दा रातो मुलामा बढी भएको सोसँग सम्बन्धित विज्ञहरुको दाबी छ ।
मुलाले केही गर्मी सहन त सक्छ तर यसको वासमा, बनोट र आकारको पूर्ण विकासका लागि १०–१५ डि.से. तापक्रम आवश्यक हुन्छ तथा उचित प्रकाशको पनि आवश्यकता पर्दछ । यो कुरा यसको जातमा पनि निर्भर गर्दछ । वातावरण अनुकूल नभए मुलाको डुकु निस्कने, मुला सानो, डल्ला फल्ने, जरा फाट्ने आदि हुन्छ । तर विज्ञहरुको सल्लाहअनुसार खेती गरेमा यस किसिमको समस्या नहुने बताएका छन् ।
मुलाको खेती विशेषतः सबै किसिमको माटोमा गर्न सकिन्छ तर हाम्रो भौगोलिक बनावट अनुसार जैविक पदार्थ भएको हल्का बलौटे दोमट माटो नै यो खेतीको लागि उपयुक्त हुन्छ । कृषि विज्ञका अनुसार भौगोलिक बनावट बमोजिम न्यूनत्तम देखि अधिकत्तमसम्म १ मे. टन गोबर मल, ५ के.जी. युरिया, ४ के.जी. डी.ए.पी., २ के.जी. म्युरेट अफ पोटास आवश्यक हुन सक्छ ।
यो खेती गर्न पटक्कै डल्ला नभएको ३–४ पटक खन्जोत गरेर डल्ला फुटाई बुरबुराउँदो माटोमा खेती गर्दा मुला सही आकारमा विकास हुन्छ । यो जरेबाली भएकोले राम्रोसँग नकुहिएको मल हाल्नु हुँदैन । जमिन पानी जम्ने हुनुहुँदैन र जमिनको सतह राम्रोसँग मिलाउनुपर्दछ । यति गर्न सकियो भने राम्रो उत्पादन लिन सकिन्छ ।
एक बोटदेखि अर्काे बोटको फरक २५ से.मि. तथा लाइनबाट लाइनको फरक ४५ से.मि. बनाउनु उपयुक्त हुन्छ । ध्यान दिनुपर्ने पक्ष बीउ छर्दा २ से.मि. को गहिराइमा छर्न उपयुक्त हुन्छ । त्यस्तै पहाडी क्षेत्रहरूमा चैत महिनामा मुला रोप्नु उपयुक्त मानिन्छ तर भदौ–असोज महिनामा पनि रोपिन्छ । जमिन धेरै चिसो भएमा बीउ उम्रन सक्दैन । साथै तराईमा भदौ महिना देखि पुस–माघसम्म लगाउन सकिन्छ । पछिल्लो समय भौगोलिक बनावट अनुसार वर्षभरि नै मुला खेती गर्न सकिन्छ ।
बीउ रोपेपछि उपयुक्त माटोको चिस्यान र तापक्रममा उम्रन शुरु गर्दछ । यसका साथै झारहरू पनि बढ्न शुरु हुन्छन्, तिनीहरूको नियन्त्रण गर्न, माटो खुकुलो पार्न र टपड्रेस गर्नका लागि गोडमेलको आवश्यकता पदर्छ । गोडमेल गर्दा झरपात उखेली फाल्ने, माटो राम्ररी गोड्ने र युरिया मललेटपड्रेस गरी माटोको उकेरा दिने र भूबनोट अनुसार खेती गर्न किसानहरु सरिक हुने विज्ञहरुको राय छ ।
विशेष गरी यो खेतीलाई सिंचाइको त्यति आवश्यकता नपरेपनि भू बनौट अनुसार माटोमा चिस्यान अनुसार हलुका सिंचाइ गर्न सकिन्छ । यो खेतीमा ख्याल राख्नुपर्ने बढी चिस्यान र बढी सुख्खा पनि हुनु हुँदैन ।
बाली तयार भएपछि (डुकु आउनु अघि) नभाँचिने र घाउ नलाग्ने गरी उखेल्नुपर्छ । त्यसपछि राम्रोसँग माटो पखाली, कलिलो पात मात्र राखी जुटको बोरामा राखेर बिक्रीका लागि बजार लग्न सकिन्छ । मुलाको माग अनुसार उखेली बेच्ने हुनाले छुट्टै भण्डारणको आवश्यक पर्दैन । त्यसैले किसानहरुको लागि आम्दानीको बलियो स्रोतको रुपमा मुला खेतीलाई लिन सकिन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |