लक्ष्मण शुन्दर सैजु
बौद्ध ग्रन्थका अनुसार ३ हजार वर्षभन्दा अगाडि राजा दीर्घरथका नाति महासत्वका पिता राजा महारथका “पाञ्चल” राज्यको शहर हाल पनौतीको न्हूःबहाः स्थित काशी वर्ण विहार रहेको ठाउँमा थियो । राजा महारथ निक्कै प्रतापी तेजश्वी राजा थिए । उनको सुशासन र सुव्यवस्थामा सबै प्रजा खुशी थिए । राजा महारथका तीन भाई छोराहरु थिए । जेठा र माहिला छोराहरु राजालाई राजकाज सञ्चालनमा सघाउने गर्दथे । अर्काे कान्छा छोरा राजकुमार महासत्व अत्यन्तै सुशिल, दयालु र सहनशील स्वभावका थिए ।
भाद्र महिनाको एकदिन राजा, रानी, राजकुमारहरु मन्त्री, भारद्वार सैनिक नोकरचाकरसहित घोड सवारमा शहरबाट दुई कोश पूर्वको गन्धवतीपुर स्थित गन्धमान पर्वत हालको नमोबुद्धमा वन विहार गए । ह्वाङ्गह्वाङ्गती पर्वत मालाले घेरिउको अजङ्गको जंगल, प्राकृतिक हराभरा सौन्दर्यले भरिपूर्ण उक्त ठाउँमा सम्पूर्ण टोली खानपान नाचगानमा रमाए । त्यसपछि राजा रानी राजदरबारतर्फ लागे भने राजकुमारहरु सिकार खेल्दै घनघोर जंगलतिर लागे । तीन राजकुमार मध्ये कान्छा राजकुमार महासत्व एउटा अजंगको गुफाभित्र पुगे । उनले त्यहाँ एउटा अशक्त बघिनीको हृदय विदारक अवस्था देखि द्रविभूत भएर तरवारले आफ्नो शिरको कपाल काटेर आफ्नो छाती नै खोपे र रगत निकाली बघिनी र डमरुहरुको मुखमा राखी दिए । आफ्नो शरीरको मासु टुक्रा टुक्रा पारेर खुवाए । पछि विस्तारै बघिनी र डमरुहरु राजकुमारको पोशाक, गहना, रौं आदि मात्र बाँकी राखी सबै शरीरको मासु खाएर त्यहाँबाट गए ।
निक्कै बेरसम्म पनि आफ्नो भाइलाई नभेटेपछि खोज्दै जब उक्त गुफामा आइपुगे तब त्यहाँ राजकुमार महासत्वको केही कपालको रौं पोशाक, गहना आदि देखेपछि अत्यन्तै दुःखीत हुँदै राजदरबार फर्किए र राजा रानीलाई सो दुःखद घटनाको वृतान्त सुनाए । राजकुमार महासत्व गुमाएको पिडामा भाव विव्हल भएका राजारानी दुई राजकुमारहरु सेना सहित पुनः उक्त गुफामा पुगे । त्यहाँको दृश्य देखेपछि राजारानी लगायत सबै झन् शोकमा डुबे । अन्तमा रानीको आग्रहमा राजाले राजकुमार महासत्वको अन्तिम संस्कार गरेर त्यस ठाउँमा चैत्य स्थापना गरी जप ध्यान र पूजा अर्चना भयो र उसै बखत राजकुमारको आत्मा प्रकट भयो र उनको बोली सुनियो । उनले आफ्नो माता पिता र सबैलाई चिन्ता नगर्न आग्रह गरे । खराब काम गर्ने नर्क जान्छ भने राम्रा काम गर्ने मानिस स्वर्गमा बास पाइन्छ । त्यसकारण मैले पिडाले असहज भएको प्राणीलाई बचाई राम्रो काम गर्ने सौभाग्य पाएको छु । म अवश्य पनि अर्काे जुनीमा राम्रो मान्छे भएर जन्मिने छु भनेर अदृश्व भए । त्यसपछि राजारानी सहित राजकुमार महासत्वको आभुषण आदि विशेष खतमा राखी राजकीय सम्मानका साथ राजदरबार फिर्ती सवार भए ।
राजकुमार महासत्वले आफ्नो शरीर भोकाएकी बघिनीलाई आफ्नो शरीर खुवाउन अघि आफू अर्काे जन्ममा तीनै बघिनीको छोराको रुपमा जन्म लिन पाउँ भनी भनेको र ती ५ वटा डमरुहरु आफ्नो शिष्य हुन भनेर अन्तिम इच्छा राखेको हुनाले पछिल्लो जन्ममा ती बघिनी नै मायादेवी भएको र उनै राजकुमार भगवान् गौतम बुद्धको रुपमा जन्मिएको कुरा बौद्ध धर्मशास्त्रमा उल्लेख गरिएको कथन छ । राजकुमार महासत्वले निर्वाण प्राप्त गरेको ६ सय वर्षपछि बुद्धका ३२औं अवतार मानिएका उनै गौतम बुद्धले पछि आफ्नो पूर्व जन्मको बारेमा जानकारी भएकोले उनी आफ्ना केही शिष्यहरुका साथ लुम्बिनीको तौलिहवाबाट भारतको बौद्धनाथ हुँदै नमोबुद्ध पुग्दा नतमस्तक हुनुभएको हुँदा त्यसको नाम नमोबुद्ध नाम रहन गएको कुरा बौद्ध ग्रन्थमा उल्लेख गरिएको छ । साथै बुद्धले आफ्नो चेलाहरुलाई यो ठाउँमा आफू पूर्व जन्ममा शाक्यमुनिको अवतारमा रहेको र आफूले भोकाएका बघिनी र डमरुहरुलाई आफ्नो शरीरको मासु खुवाएर बचाएको समेत सुनाएको कथन छ ।
आजसम्म निरन्तर प्रत्येक वर्षको भाद्र कृष्ण द्वादशीको दिन राजकुमार महासत्वको प्रतिक प्रतिमा हालको शंखुबाट ल्याएर सो प्रतिमा त्रिवेणीघाटस्थित कृष्ण मन्दिर परिसरमा राखी पछि सो प्रतिमा खतमा राखी लावा लस्करले धुप, दियो, चिराग बालेर विविध गाजाबाजा, भजनसहित पनौती शहर परिक्रमा गराई लायकु दरबारको परिसरमा राखी भोलिपल्ट पञ्चदानका दिन बिहान प्रायः सबै घरघरबाट आइमाई केटाकेटीहरु समेत र अन्य ठाउँठाउँका नरनारीहरु समेत आई नमोबुद्धको प्रतिमालाई भावभक्तिका साथ पूजा अर्चना फलफूल आदि चढाइन्छ । बेलुकी सो प्रतिमालाई विशेष खतमा राखी दिपंकर सहित फेरि शहर परिक्रमा गराई राजकुमार नमोबुद्ध जन्मेको घरमा भित्राइन्छ ।
संसारभरिका पाँच सय बौद्ध धर्मगुरुहरुको सल्लाहअनुसार विश्वको २७ वटा देशमा फैलिएको बौद्ध स्कूल, गुम्बा, धर्मशाला हाल नमोबुद्धमा अवस्थित आधुनिक गुम्बा, धर्मशाला, चैत्य तथा पाठशालाको निर्माण गरिएको छ । यहाँ बोद्ध शिक्षालय विभिन्न विहार, स्तुपा र गुम्बाहरु रहेको छ । साथै नमोबुद्धलाई प्रसिद्ध ध्यान केन्द्रको रुपमा पनि लिइन्छ । संसारभरिका बौद्ध धर्मावलम्बी तथा अन्य धर्मावलम्बीहरु पनि यहाँ ध्यान गर्न आउने गरेको पाइन्छ । बौद्ध धर्मावलम्बीहरुका आफ्ना मृतकका कपडाहरु पनि यस क्षेत्रमा रहेको रुखहरुमा झुण्ड्याउने परम्परा रहेको पाइन्छ । यसो गर्नाले दिवंगत आत्माले शान्ति पाउने र मोक्ष मिल्ने धामिृक विश्वास रहँदै आएको छ । साथै यहाँ प्रत्येक वर्ष वैशाख पूर्णिमाको दिन ठूलो मेला लाग्ने समेत गर्दछ । यस मेलामा बौद्ध धर्मावलम्बी मात्र नभएर, हिन्दू र अन्य धर्मावलम्बीहरुको समेत घुइँचो लाग्ने गर्दछ । त्यस्तै योमरी पुन्ही (धान्य पूर्णिमा) को दिन पनि नमोबुद्धमा पूजापाठ दियो बाली नाचगानका साथ ठूलो मेला लाग्दछ । सो मेलामा देशभरका असंख्य नरनारीहरुका साथ विदेशका मानिसहरुको पनि घुइँचो लाग्ने गर्दछ ।
नेपालको इतिहासको शुभारम्भ हालमै नमोबुद्धको स्थापना भएको भन्ने कथन पनि छ । नमोबुद्धको नामले प्रसिद्ध बौद्ध तिर्थस्थल मध्ये एक एकाई प्रदेश संसारको सबभन्दा महत्व मानिएको छ । हालसम्म ओझेलमा रहेको नमोबुद्धको जन्मघर पनौती शहरस्थित न्हुबहाः काशी वणृ विहार रहेको प्राचिन दरबारको अवशेष रहेको नमोबुद्धको जन्म भएको उक्त ठाउँमा नेपाल सरकार पुरातत्व विभाग छ । उत्खनन्मा पुरानो दरबारको संरचना भेटिएको छ । यसैका आधारमा पनौतीलाई विश्व सम्पदा सूचीकृत गर्न सन् १९९८ को जुन २३ का दिन युनेस्कोमा प्रस्तावित गरिएको थियो । यो ठाउँको पुरातात्विक मौलिक संरचना बचाई सम्पदा (स्मारक) बस्तीको रुपमा ऐतिहासिक बस्तीको संरक्षण हुन सक्यो भने यसले नेपालको पर्यटन विकासमा पनि ठूलो टेवा पुग्दछ । हाम्रो इतिहास र पहिचानको पनि जर्गेना हुन सक्छ ।
नेपाल पर्यावरण तथा पर्यटन जागरण आधार शिक्षा (नेटिफ) ले काठमाडौंको सुन्दरीजल देखि नगरकोट, बनेपा, धुलिखेल, विपी राजमार्ग, नमोबुद्ध हुँदै पनौती शहर पनौती नगरपालिकाको लाकुरी भञ्ज्याङ्ग भएर ललितपुरसम्म ७२ किलोमिटर पदमार्गलाई काठमाडौं साँस्कृतिक पदयात्रा मार्गका रुपमा विधान गरिएको छ । यस पदमार्गको यात्राको क्रममा असला माछा, ट्राउट माछा, सि फुड, ढिंडो, गुन्द्रुकको अचार, ठेकी दही, मोही, शुद्ध नेपाली सोमरस आदिको स्वाद लिनको साथै विभिन्न पशुपंक्षीको अवलोकनका साथै प्राकृतिक हरियाली नदिनाला, वन जंगल, भीर पाखाको दृश्यावलोकनको साथै पनौती शहर नजिकै पनौती न.पा. वडा नं. ४ र पनौती न.पा. वडा नं. ११ बल्थलीमा विभिन्न जातिय, शिल्पी झल्काउने नेवाः तामाङ, शेर्पा, गुरुङ, थारु, खस, आर्य, मैथली तथा विभिन्न शैलीका जातिय घर बस्तकिो अवलोकन गर्न सकिन्छ । साथै नेवाः तामाङ, पहरी, बाहुन, क्षेत्री आदिको संस्कार बुझ्न र बौद्ध धर्म, हिन्दू धर्म र अन्य धर्मको पनि अध्ययन गर्न मिल्ने यस पनौती शहरको पूर्वमा नमोबुद्ध दक्षिण, पश्चिममा फूलचोकी महाभारत जंगलले पनौतीको सौन्दर्यतालाई आकर्षण बनाइएको छ । पनौतीबाटै लामो छोटो दूरीका हाईकिङ्ग र पदयात्रा सहजै गर्न सकिन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |