बिपशना शाक्य
बनेपा÷पछिल्लो समय सहकारीहरु मर्ज हुने क्रम बढ्दो छ । यसैको निरन्तरता स्वरुप काभ्रेको मात्र नभई राष्ट्रमै उच्चत्तम छवि कायम गर्न सफल मनकामना बचत तथा ऋण सहकारी संस्था लि. बनेपा ७, नमस्कार महांकालज्योति बहुउद्धेश्यीय सहकारी संस्था लि. बनेपा–८, सिद्धार्थ बहुमुखी सहकारी संस्था लि. पनौती–६ र पद्यमश्री बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर ठिमी न.पा. ३ कौशलटार भक्तपुर बिच सहमति भएर एउटै संस्था हुने जानकारी गत आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा बागमती प्रदेश सहकारी संयोजक तथा सहकारी अभियन्ता उद्धव सापकोटाले एकीकरणको प्रकृयाको विषय, एकीकरणको आवश्यकताको बारेमा चर्चा गर्नुहुँदै राज्यले अख्तियार गरेको नीति अनुरुप क्रमशः सहकारीहरु एकीकरणमा जाने बताउनुहुँदै एकीकरण अभियानको सफलताको कामना व्यक्त गर्नुभएको थियो ।
सहकारी संघसंस्था एकीकरण कार्यविधि–२०७०, सहकारी ऐन र नियमावलीको व्यवस्थामा टेकेर काभ्रे जिल्लाका तीन र भक्तपुर जिल्लाको एक गरी चार सहकारी मर्ज भएका छन् । एकीकरणपछि सहकारीको नाम मनकामना बचत तथा ऋण सहकारी संस्था लि. राखिने कुरा उक्त सार्वजनिकरण कार्यक्रममा जानकारी गराईएको थियो । एकीकृत पूँजीको विकास, दोहोरो सदस्यता अन्त्य र सहकारीको गुणस्तर बढाउने उद्देश्यसहित सहकारी एकीकरण गर्न लागिएको मनकामना बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बालकृष्ण दाहालले बताएका छन् ।
आइतबार सम्पन्न एकीकरण कार्यक्रमको सभापतित्व मनकामना साकोसका अध्यक्ष बालकृष्ण दाहालले गर्नुभएको थियो । एकीकरणको सार्वजनिकरण कार्यक्रममा मनकामना साकोसका प्रवन्धक राजकुमार दाहालले एकीकृत संस्थाको भावि कार्यक्रम र एकीकृत संस्थाको वासलात र वित्तीय विवरणको बारेमा जानकारी गराउनुभएको थियो । एकीकरणपछि सहकारीको कूल शेयर पूँजी करिब १७ करोड, शेयर सदस्य संख्या ६४ सय रहने बताउँदै संस्थाको वासलात करिव १ अर्व ४० करोड, जगेडा कोष र अन्य कोष गरी कुल ७ करोड रहने दाहालले दाबी गर्नुभएको छ । संस्थाको केन्द्रीय कार्यालय सहित ५ ठाउँबाट सेवा सञ्चालन गरिने र संस्थाको कार्यक्षेत्र काभे्रपलाञ्चोक, भक्तपुर, ललितपुर र काठमाडौं जिल्ला समेत समेटिने गरी योजना अगाडि बढाइने कार्यक्रममा जानकारी गराइएको थियो ।
एकीकृत सहकारी संस्थाको तदर्थ सञ्चालक समिति, लेखा समिति तथा कर्मचारी ब्यवस्थापनको घोषणा मनकामना साकोसका सल्लाहकार तथा एकीकरणको संयुक्त कार्यदलका संयोजक राजकुमार हुमागाईंले सभामा घोषणा गर्नुभएको थियो । सो घोषणा बमोजिम मनकामना साकोसका अध्यक्ष बालकृष्ण दाहाल तदर्थ समितिको अध्यक्ष, उपाध्यक्ष र सह–सचिव नमस्कार महांकालज्योतीबाट क्रमशः गोपालप्रसाद घिमिरे र विकाश शर्मा तिमल्सिना, सचिव पद्यमश्री साकोसबाट होमनाथ ढुंगेल, कोषाध्यक्ष र लेखा समिति संयोजक सिद्धार्थ सहकारीबाट क्रमशः विदुर प्रसाद घिमिरे र मोट प्रसाद सापकोटा र अन्य सदस्यहरुमा चारैवटा संस्थाबाट प्रतिनिधित्व हुने गरी घोषणा गर्नुभएको थियो ।
एकीकृत संस्थामा कर्मचारी ब्यवस्थापन अन्तर्गत एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृत मनकामनाका प्रवन्धक राजकुमार दाहाल, वरिष्ठ प्रवन्धक नमस्कार महांकालज्योतीका सुजन जंगम, प्रवन्धक मनकामनाका सिताराम तिमल्सिना रहने तथा अन्य पदहरुमा अधिकृत÷सहअधिकृत छैठौँ तह देखि तह तृतीय सम्मका जम्मा २६ जना कर्मचारीको ब्यवस्थापन गरिएको सोही कार्यक्रममा सार्वजनिक गरिएको थियो । सम्पूर्ण एकीकरण प्रकृयालाई टुंग्याउनको लागि चालु आ.व.को लेखापरिक्षण सम्पन्न भए पश्चात अन्य आवश्यक कागजात तयार गरी बागमती प्रदेश भुमि ब्यवस्था, सहकारी, कृषि तथा गरिबी निवारण मन्त्रालयमा श्रावण महिनाको दोस्रो हप्तामा प्रमाण पत्र बुझिलिन जाने समेत निर्णय भएको उक्त कार्यक्रममा जानकारी गराइएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |