सुरज श्रेष्ठ/काभ्रेपलाञ्चोक
मण्डनदेउपुर नगरपालिका वडा नं १० का १२ वर्षीय बालक अभिषेक नेपालीलाई गएको असार २६ गते शुक्रबार दिउँसो ३ बजे पौडी खेल्न गएका बेला नदीले बगायो । उनलाई हालसम्म पनि फेला पार्न सकिएको छैन । त्यसको भोलिपल्टै असार २७ गते शनिबार साँझ ६ बजे मण्डनदेउपुर नगरपालिका वडा नं १० कै ३७ वर्षीय चन्द्र लामा र ४५ बर्षिय शम्भु माझीलाई पनि तर्ने क्रममा ईन्द्रावती नदीले बगायो । उनीहरु दुईजनालाई पनि फेला पार्न सकिएको छैन ।
घटना लगत्तै मण्डनदेउपुर नगरपालिकाको विपद व्यवस्थापन समितिले भने बाढीले बगाएका तीन जनाकै परिवारलाई सहायता स्वरुप ३० हजार रुपैँया नगद र खाद्यान्न सहयोग गरेको थियो ।
गत श्रावण १३ गते खानीखोला गाउँपालिका वडा नं ६ की १७ वर्षीय रञ्जिता थोकरले बेलैमा उपचार नपाउँदा ज्यान गुमाइन । ३ दिनदेखि झाडापखलाबाट बिरामी भएकी थोकरले समयमा उपचार नपाउँदा ज्यान गुमाउन प¥यो ।
गाउँपालिकाले भने उद्दारका लागि हेलिकप्टर पठाउने तयारी गर्दा गर्दै किशोरीको ज्यान गइसकेको जनाएको छ । मृतक परिवारलाई के–कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल ग% 0्न बाँकी रहेको र छलफलको निर्णयपश्चात सहयोग हुने अध्यक्ष कृष्ण बहादुर खुलालले बताए । खानीखोला गाउँपालिकाले हरेक वर्ष ५ लाख रुपैँया विपद शिर्षकमा बजेट छुट्याउने पनि गरेको छ । तर पनि गाउँपालिकाले किशोरी थोकरको भने समयमै उद्दार गरी ज्यान बचाउन भने सकेन ।
यस्तै काभ्रे जिल्लाको विकट क्षेत्र मानिने महाभारत गाउँपालिकाकी १९ बर्षिय सुनिता थोकरलाई सुत्केरी व्यथाले च्याप्यो । लामो समयसम्म व्यथा लागेपनि सुत्केरी हुन नसकेपछि गत साउन ३ गते गाउँपालिकाले हेलिकोप्टरको व्यवस्था गरी उनलाई अस्पतालसम्म पु¥याउने व्यवस्था ग¥यो ।
भौगोलिक विकटताले गर्दा गाउँसम्म एम्बुलेन्स जान नसक्ने भएकाले गर्भवती महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधी २०७५ अनुसार हेलिकप्टरबाट उद्धार गरिएको अध्यक्ष कान्छलाल जिम्बाले बताए ।
त्यसो त यस्ता प्राकृतिक प्रकोपका घटनाबाट प्रभावित परिवारलाई जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला दैविप्रकोप उद्धार समितिले पनि सहायता र सहयोग गर्ने गर्छ । तर बाढीले बगाएका मण्डनदेउपुर नगरपालिकाका तीनै जनालाई फेला पार्न नसकिएकोले कुनैपनि सहयोग गर्न नसकिएको जिल्ला प्रशासन श्रोतको भनाई छ । काभ्रेमा व्यक्तिहरु मात्र होइन, संरचनाहरु पनि प्राकृतिक प्रकोपको जोखिममा छन् । केही दिन अघि मात्रै पनौती नगरपालिकाको वडा नं ३ स्थित कुशादेवि फाफरचौरमा गएको पहिरोले गर्दा लालीगुराँस प्राथमिक विद्यालये जोखिममा छ । पहिरोले गत वर्ष पनि यो विद्यालयमा सामान्य क्षति गराएको थियो । विद्यालयका प्रधानाध्यापक सानुबाबु वाग्लेका अनुसार पोहोर साल विद्यालय छेउमै पहिरो जाँदा भवनमा सामान्य क्षति भएको थियो । यस वर्ष पनि सोही ठाउँमा फेरि पहिरो गएको छ । यसले विद्यालय थप जोखिममा रहेको प्रधानाध्यापक वाग्लेको भनाई छ । विद्यालयले यस पबारेमा नगरपालिकालाई निवेदन मार्फत जानकारी दिइसकेको र सुनुवाई हुन बाँकी रहेको प्रधानाध्यापक वाग्लेले बताए ।
त्यसअघि २०७५ श्रावणमा पनि यो विद्यालय पहिरोबाट विद्यालय प्रभावित भएको थियो । विद्यालयका दुई वटा भवनहरु छन् । प्रभावित विद्यालयलाई नगरपालिकाको विपद व्यवस्थापन समितिले मर्मत सम्भारका लागि भनेर ३ लाख ८२ हजार रुपैँया आर्थिक सहयोग गरेको पनौती नगरपालिका वडा नं ३ का वडा सदस्य विष्णु सापकोटाले जानकारी दिए । विद्यालयलाई पहिरोबाट जोगाउन पर्खाल तथा जाली लगाउन पनौती नगरपालिका र बनेपाको एक सामाजिक संस्थाले आर्थिक सहयोग पनि गरेको विद्यालयका प्रधानाध्यापक वाग्लेले बताए ।
विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७४ का अनुसार प्राकृति विपद र गैर प्राकृतिक विपद गरेर दुई प्रकारका विपद रहेका छन् । हिमपात, असिना पानी, बाढी पहिरो, आधी हुरी, खडेरी, भूकम्प, ज्वालामुखी, शितलहर जस्ता घटनाहरु प्राकृतिक विपद अन्र्तगत पर्दछन् । त्यस्तै गैर प्राकृतिक विपद अन्र्तगत महामारी, अनिकाल, जीवाणु आतंक, विकिरण, हवाई, खानी, सडक, जल, तथा औद्योगिक दुर्घटना, विषाक्त ग्याँस, विषाक्त खाद्यान्न, वातावरणीय प्रदूषण, वन विनाश, पशु तथा चराचुरुङगीमा लाग्ने फ्लु लगायतका विपदजन्य समस्याहरू पर्दछन् ।
काभ्रेका सबै स्थानीय तहहरुले साना–ठूला गरी विभिन्न खालका विपदका घटनाहरु सामना गरिरहेका छन् । पाँचखाल नगरपालिकाले २०७५ साल भदौ महिनामा अलि फरक खालको विपदलाई झेल्नुप¥यो । भदौ २२ गते शुक्रबारका दिन हरितालिका तिजको अवसर पारेर पाँचखाल–१२ कास्कोटेमा ग्रामीण स्वावलम्बी बहुउद्धेश्यीय सहकारी संस्थाले दर खाने तथा तिज विशेष कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा करिब ५ सय जना सहभागी भएका थिए । मिष्ठान्न परिकार खाएर नाँचगान गरेर हर्ष र उल्लाहसका साथ कार्यक्रम सम्पन्न भयो तर उनीहरुको खुसियाली धेरै बेर टिकेन । दर खाएर फर्किएका अधिकांशलाई सोही मध्यरातदेखि नै झाडा, लाग्ने, वान्ता हुने र बेहोस हुने जस्ता लक्षण देखिन थाल्यो ।
‘विशाक्त खाना’का कारण कार्यक्रममा सहभागी भएका अधिकांश बिरामी परे । जनप्रतिनिधि, स्वास्थ्यकर्मीको सहयोगमा बिरामीलाई समयमा नै स्थानीय स्वास्थ्य चौकी, धुलिखेल, बनेपा र काठमाडौँका विभिन्न अस्पताल पु¥याइएकाले कुनै मानवीय क्षति भने भएन । नगरमै यति ठूलो विपदको घटना घटेको यो पहिलो थियो । । भोज खाएकाहरु निको भएर घर त फर्किए तर त्यो घटनालाई अँझै भुल्न भने सकेका छैनन् । नगरपालिकाले यो विपतको घटनाको उपचारमा सक्रियता देखाएको थियो । घटनामा लाखौँको खर्च भएको र केही रकम अझै चुक्ता हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ । यद्यपि घटना विवादित भएकोले नगरपालिकाले खर्च विवरण सार्वजनिक गरेको छैन ।
नगर उप–प्रमुख लक्ष्मी दनुवार भने यो घटनाले सिंगो नगरलाई नै पाठ सिकाएको बताउँछिन् । उक्त घटनापछि नगरपालिकाको विपद व्यवस्थापनले यस्ता विषयलाई पनि समावेश गरेको छ । ‘नगरपालिकाले यसको लागि विपद कोष नै खडा गरेको छ,’ उनले भनिन्, ‘भोलि फेरि यस्तै प्रकृतिको अर्को घटना घटेमा उक्त कोषबाट सहयोग मिल्नेछ ।’ विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७४ का अनुसार उक्त प्रकृतिको घटना गैर प्राकृति विपद अन्र्तगत पर्दछ ।
विपद व्यवस्थापनका लागि आर्थिक वर्ष २०७६/०७७मा जिल्ला प्रशासन कार्यालय काभ्रेले कार्य विवरण ः
श्रोत ः जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक
जिल्लाका अन्य पालिकाहरुको तुलनामा खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकामा विकट क्षेत्र मानिन्छन् । यी दुई पालिकाहरुमा विपदका घटना घटेमा राहत र उद्दारका लागि निकै कठिन देखिन्छ । भौगोलिक विकटताका कारण श्रोत र साधन सहज रुपमा पुग्न नसक्ने हुदाँ निकै जोखिम छ । त्यस्तै रोशी गाउँपालिका जिल्लाकै ठूलो जनसंख्या र क्षेत्रफल भएको स्थानीय तह हो । त्यहाँ पनि भौगोलिक विकटता कारण विपदमा उद्दार गर्न कठिनाई हुने गाउँपालिकाका अध्यक्ष डि.बी तामाङले बताए । जिल्लाको तेमाल र भुम्लु गाउँपालिकाले भने २०७२ सालको भुकम्प बाहेक त्यसपछि त्यस्तो ठुलो विपदको सामना गर्नु नपरेको यी दुबै गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।
प्राकृतिक विपत्तिकै कुरा गर्दा विक्रम संवत २०७२ मा आएको शक्तिशाली भुकम्पले काभ्रे जिल्लामा पनि ठूलो क्षति गरायो । भूकम्पले काभ्रेका निजी आवास, विद्यालय, मठ मन्दिर, लगायतका क्षेत्रमा क्षति गराएको थियो । जिल्लामा भूकम्पले लडेका घरहरु कतै बनिसके त कतै बन्दैछन् । भूकम्प गएको पाँच बर्ष वितिसक्दा काभ्रेमा ६४ प्रतिशतले निजी आवास पुन निर्माण सम्पन्न गरेको पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन कार्यालय काभ्रेका प्रमुख सच्युतराज उप्रेतीले जानकारी दिए ।
जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले सार्वजनिक गरेको पछिल्लो तथ्याङक अनुसार जिल्लामा अहिले ८४ हजार ४ सय ८६ भूकम्प पीडित लाभग्राहीको सूचीमा परेका छन् । जसमध्ये ७७ हजार २ सय ५ अर्थात ९१ प्रतिशत भूकम्प पीडितले नेपाल सरकारले प्रदान गरेको अनुदान स्वरुप पहिलो किस्ताको अनुदान प्राप्त गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले जनाएको छ ।
इकाईका अनुसार जिल्लाका भूकम्प पीडितको लाभग्राहीमध्ये ६२ हजार १ सय ६५ अर्थात ७४ प्रतिशतले दोस्रो किस्ताको रकम लिएर आवास पुर्ननिमार्णको काम अगाडी बढाएका छन् । त्यस्तै ५३ हजार २ सय ९ लाभग्राही अर्थात ६२ प्रतिशतले अनुदानको तेस्रो किस्ता लिई आवास पुर्न निर्माण सम्पन्न गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
२०७२ को भूकम्पले काभ्रेको मण्डन देउपुर नगरपालिकामा सबैभन्दा धेरै क्षति गराएको थियो । जहाँ ७४ प्रतिशतले तेस्रो किस्ताको रकम लिएर पुर्न निर्माणलाई सम्पन्न गराएको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले जनाएको छ । आवास पुनःनिर्माणमा जिल्लाका दुई स्थानीय तह, भुम्लु र महाभारत गाउँपालिका अग्र स्थानमा रहेका छन् । दुवै स्थानीय तहमा ८१ प्रतिशत आवास पुनः निर्माणको काम सम्मपन्न भएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेको अहिलेसम्मको तथ्याङकलाई हेर्दा नमोबुद्ध नगरपालिकामा आवास पुर्न निर्माणले गति लिन सकेको छैन । जहाँ हालसम्म जम्मा ५० प्रतिशतले मात्र पुनःनिर्माण सम्पन्न गरेका छन् । त्यस्तै जिल्लाको धुलिखेल, बनेपा र पनौती नगरपालिका पनि आवास पुनःनिर्माणमा पछि परेको इकाईको तथ्याङ्कले देखाउँछ । धुलिखेल नगरपालिकामा ५२ प्रतिशत, बनेपा नगरपालिकामा ५४ प्रतिशत र पनौतीमा ५५ प्रतिशतले मात्र तेस्रो किस्ता लिई निर्माण सम्पन्न गरेको तथ्याङकमा उल्लेख छ ।
त्यस्तै तेमाल गाउँपालिकामा ६५ प्रतिशत, बेथानचोक गाउँपालिकामा ६२ प्रतिशत, चौरीदेउराली गाउँपालिकामा ६७ प्रतिशत , खानीखोला गाउँपालिकामा ६८ प्रतिशत, पाँचखाल नगरपालिकामा ६४ प्रतिशत र रोशी गाउँपालिकामा ६० प्रतिशत आवास पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रेका सबै स्थानीय तहहरुमा विपदका जोखिमलाई न्यूनिकरण गर्न र विपद प्रभावितलाई उद्दार तथा सहयोग गर्न नगर तथा वडा स्तरीय विपद व्यवस्थापन समिति गठन गरिएको छ । आफ्नो पालिकामा घटेका विपदलाई केही हदसम्म व्यवस्थापन गर्न केही स्थानीय तहहरु आंशिक रुपमा भएपनि सफल भएका छन् । केहीले भने प्रयास गर्दा गर्दै पनि असफल हुनुपरेको स्विकार्दछन्् ।
नयाँ संविधान लागुभएर स्थानीय तहहरुको निर्वाचन भएसंगै स्थानीय सरकार संचालन ऐन अनुरुप आर्थिक वर्ष २०७४÷०७५ देखि नै स्थानीय तहले विपद व्यवस्थापनको जिम्मेवारी पाएका थिए । ऐन अनुसार हरेक स्थानीय तहले आफ्नो निति तथा कार्यक्रममा विपद व्यवस्थापन शिर्षकमा बजेट विनियोजन गर्नुपर्ने प्रावधान छ । प्रावधान अनुसार स्थानीय तहले विपद शिर्षकमा बजेट विनियोजन त गरेका छन् । तर अधिकांश स्थानीय तहमा विनियोजित बजेट कुन शिर्षकमा कहाँ के कति खर्च भयो भन्ने विषयमा कुनै लेखाजोखा नै छैन । जतविजीका आधारमा रकम वितरण गर्ने गरिएको केही स्थानीय तहहरुको खर्च गर्ने परिपाटीले देखाएको छ । केही स्थानीय तहको यकिन तथ्याङक र विवरण नै छैन भने केहीले प्राविधिक त्रुटि देखाएर पन्छिने गरेका छन् ।
विपद व्यवस्थापनमा स्थानीय तहले गरेको त्रि–वर्षीय खर्च तथा कार्य विवरण ः
जिल्लाको बेथानचोक गाउँपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, भुम्लु गाउँपालिका, बनेपा नगरपालिका, रोशी गाउँपालिका, तेमाल र महाभारत गाउँपालिकासँग आ.व २०७४/०७५ को विपद व्यवस्थापनको वास्तविक प्रगती विवरण राखेका नै छैनन् ।
आर्थिक वर्ष २०७५/०७६ मा पनि जिल्लाका थोरै स्थानीय तहले मात्र विपद व्यवस्थापनको लागि विनियोजित बजेट सही ठाउँमा उपयोग गरेको देखिन्छ । कतिपय स्थानीय तहसंगसो आर्थिक वर्षको पनि प्रगती विवरणको अद्यावधिक विवरण नै छैन । जिल्लाको दुई स्थानीयहरु तह महाभारत र तेमाल गाउँपालिकासँग त झन् विपद व्यवस्थापनको तीन वर्षकै विवरण छैन ।
अघिल्लो दुई वर्षको तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाका अधिकांश स्थानीय तहले विपद व्यवस्थापन अन्र्तगत धेरै राम्रा काम गरेको प्राप्त विवरण देखाउँछ । सो आर्थिक वर्षमा विश्वभर फैलिएको कोरोना महामारीको रोकथामका लागि स्थानीय तहले राम्रो प्रयास गरेको पाइएको छ । त्यसो त कोरोना भाइरस महामारी रोग पनि विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७४ का अनुसार गैर प्राकृति विपद अन्र्तगत पर्दछ । ऐन बमोजोजिम महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारको पनि प्रमुख जिम्मेवारी रहन्छ । सोही ऐन अनुसार जिल्लाका स्थानीय तहले पनि आफ्नो स्तरबाट सक्दो प्रयास गरि रहेका छन् । विपद व्यवस्थापनको कोषबाटै अधिकांश स्थानीय तहले कोरोना रोकथामका लागि क्वारेन्टिन, आइशोलसन कक्ष निर्माणदेखि कोरोना संक्रमितको पहिचान लगायत वैदेशिक रोजगारबाट फर्किएकाहरुको उद्धारदेखि पहिचान गर्नु जस्ता कार्यहरु गरिरहेका छन् ।
कोरोनासंगै भित्रिएको सलहले देशको विभिन्न ठाउँमा क्षति गराएको थियो । तर काभ्रेमा भने सलहले खासै क्षति नगराएको कृषि ज्ञान केन्द्र काभ्रेले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका र चौरीदेउराली गाउँपालिकामा सलह देखिएको थियो । तर यसले ठूलो क्षति भने नगराएको केन्द्रका सूचना अधिकारी थर्क जि.सीले बताए । उनका अनुसार जिल्लामा सलहको समस्या देखिएको छैन । तर पहाडी भेगका अधिकांश स्थानीय तहमा भने अहिले जनावर आतंकको समस्या छ । वन्यजन्तुले कृषि बाली नास गरेर किसानलाई मर्का परेको छ । विपद व्यवस्थापन ऐन अनुसार जनावर आतंक पनि गैर प्राकृतिक विपद अन्र्तगत पर्दछ ।
हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी जिल्ला विपद व्यवस्थापन समिति अर्थात जिल्ला दैवी प्रकोप उद्दार समिति रहने प्रावधान छ । जिल्लामा घट्ने विपदलाई व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयसँग वार्षिक प्रतिकार्य योजना हुन्छ । सोही प्रतिकार्य योजना अनुसार नै विपदको व्यवस्थापन हुने गरेको समितिका संयोजक शिवराम पोखरेलले बताए । उनका अनुसार बाढी र पहिरो नै जिल्लाका विपदकोे प्रमुख समस्या रहेको छ । यसबाहेक सामान्य खालका चट्याङ र आगलागीका घटनाहरु पनि हुने गरेको छ ।
जिल्लामा विपद्बाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमको पूर्वतयारी, प्रतिरोधको तयारी, विपद् प्रतिरोधात्मक भौतिक संरचना, भरपर्दो सूचना प्रवाह, आवश्यक जनशक्ति र त्यसका लागि तालिमको बन्दोबस्त तथा वातावरणअनुकूल विकास निर्माणका काम विपद् व्यवस्थापनको लागि सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकाय तयारी अवस्थामा रहेको संयोजक पोखरेलले जानकारी दिए । उनका अनुसार विपदमा उद्दार तथा व्यवस्थापनका लागि नेपाल रेडक्रस सोसाइटी लगायतका संघ संस्थाले पनि समन्वय गर्ने गरेको उनले बताए ।
विपदबाट प्रभावित परिवारलाई जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला दैविप्रकोप उद्धार समितिले पनि सहायता र सहयोग गर्ने गर्छ । प्रभावितहरुलाई सहयोगका लागि समितिको विपद व्यवस्थापन कोष रहेको छ । उक्त कोषबाट पीडितहरुलाई तत्काल गाँस, बास र कपास उपलब्ध गराउनुको साथै स्थानतरण लगायत विपद्पश्चात हुने विनाशको पुर्नस्थापना, पुनर्निर्माण र क्षतिग्रस्त संरचना र सम्पदाको विकास, पुनर्वास र निर्माणमा समेत सहयोग गर्ने गरेको जिल्ला दैवी प्रकोप उद्दार समितिले जनाएको छ ।
विपद आफैमा पनि एउटा चुनौती भएकाले यी सम्पूर्ण तयारी गर्दा गर्दै पनि कुनै ठाउँमा बेलैमा उद्दार गर्न नसकिने संयोजक पोखरेल बताउँछन् । ‘विपदको तयारी भएपनि ढुक्क भए अनुसारकै विपदलाई सामना गर्न सक्ने स्थिती हुदैँन,’ उनले भने, ‘भौगोलिक विकटता भएका क्षेत्रमा बेलैमा उद्दार गर्न उद्दारकर्मी परिचालन गर्न अलिकति समस्या छ । कहिलेकाहीँ पीडितलाई जुन किसिमको सहयोग दिनुपर्ने हो, त्यो किसिमको सहयोग गर्न सकिने अवस्था रहदैँन ।’ – समय सान्दर्भिक
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |