पछिल्लो समय राजनीति भनेपछि युवापिढिंमा निराशा बढ्दै गएको छ । युवापिढिंहरु राजनीतिलाई घृणित खेलको रुपमा परिभाषित गर्न पछि परेका छैनन् । यो सबै नेतृत्वहरुको सुझबुझको कमी हो भन्ने व्यक्तिगत रुपमा मेरो ठम्याई छ । नेतृत्वदायी भूमिका निर्वाह गर्न त्यति सहज छैन । धेरै अड्चन, बाधा, व्यवधानहरु पार गरेपश्चात् मात्रै नेतृत्व कहलाउन सकिन्छ । हाम्रो समाजमा आफ्नो परिवार मिलाउन नसक्नेहरु कन्दनी चुँडिने गरी नेतृत्वको आलोचना गर्न पछि पर्दैनन् । तसर्थ, आजका युवापंक्तिले के बुझ्न जरुरी छ भने नेतृत्वदायी भूमिकामा बाँधिन ठूलै बलिदानको आवश्यक पर्छ । तब मात्र सफल नेतृत्व गर्न सक्षम ठहरिन सक्छ । यस किसिमको संघर्षबाट उठेको व्यक्तित्व मात्रै नेता हुनसक्छ ।
नेता ठूलो संघर्ष बलिदान र त्यागबाट मात्रै प्राप्त हुने उपमा हो । जनताबाट लिएको सियो पनि फिर्ता गर ः क. माओको उक्त अभिव्यक्तिले जुनसुकै कम्युनिष्ट आचारण बोकेका नेतादेखि कार्यकर्तासम्म मात्रै होइन कम्युनिष्टको नामै सुन्न नचाहनेहरुलाई पनि आकर्षित हुन बाध्य पारेको छ ।
तर आफूलाई कम्युनिष्टको हिमायती उपल्लो दर्जाको कम्युनिष्ट भन्न रुचाउनेहरुले भने विचार, सिद्धान्त, विधि, नीति सबैलाई कुल्चिएर अगाडि बढेको देख्दा निष्ठावान् कार्यकर्तामाथि चोट पुग्नु नौलो होइन ।
यो साता नेपाल कम्युनिष्ट पार्टी काभ्रेले कम्युनिष्ट आन्दोलनमा दुई जना होनहार हस्ती गुमाउन पुगेको छ । दुवै जनाको अन्तिम श्रद्धाञ्जली कार्यक्रमलाई नजिकबाट नियाल्ने अवसर यो पंक्तिकारले पायो । उक्त अवसरमा देखिएका परिदृश्यहरुलाई नजरअन्दाज लगाउँदा नेताहरुमा देखिएको ध्रविकरण र मपाईंत्व देख्दा कसरी नेतृत्वमा पुगे होलान् भन्ने जिज्ञासा जाग्नु स्वभाविक हो । स्वयं यो पंक्तिकारले कम्युनिष्ट पार्टीको एउटा समर्थक भएर जोडिँदाको त्यो क्षण सम्झँदा टिठ् लागेर आउँछ ।
कम्युनिष्ट भनेका समानताका प्रतिक हुन्छन्, यहाँ कोहि ठूलो, सानो हुँदैन, सबैको सम्मान हैसियत रहन्छ, कम्युनिष्ट सत्तामा विभेदको अन्त हुन्छ भन्ने सुनेको, पढेको थिएँ । हुन त त्यो इतिहास पुरानो पनि भयो । सायद २०३५÷०३६ सालतिरको कुरो हो । अहिले समय सापेक्षिक रुपान्तरण भएर आएको हो कि मैले बुझ्न सकिनँ । यहाँसम्म कि नेताहरुमा वरियताक्रम तलमाथि भयो भनेर श्रद्धाञ्जली जस्तो संवेदनशील कार्यक्रममा सहभागिता जनाउन पनि कञ्जुस्याईं गर्न पुगेको गाईंगुईं नसुनेको होइन । यसले कम्युनिष्ट नेतृत्वभित्र मौलाएको संकीर्ण सोच भन्दा फरक नपर्ला ।
यस्ता अनुत्तरित प्रश्नहरु खडा हुने गरी कम्युनिष्ट पार्टीभित्र नेतृत्वपंक्ति प्रस्तुत भएको देख्दा निराशाले बिज्रारोपण हुनु स्वभाविक हो । आज प्रत्येक कर्मठशील कार्यकर्ताको गुनासो छ, नेतृत्व कहिलेबाट जनमुखी होला ? नेतृत्वले आफूलाई जनताको माझमा निसंकोच ढंगबाट उभ्याउने दिनको पर्खाईमा बस्नुको विकल्प रहेन ।
यो संगीन अवस्थामा कम्युनिष्ट पार्टी पुग्नु भनेको शुभ संकेत पक्कै पनि होइन । यसले तमाम न्यायप्रेमी, क्रान्तिकारी योद्धाहरुमा नैराश्यता सिर्जना गराउँदछ । यसको परिणाम साम्राज्यवादीहरुले कल्पना गरेजस्तै सदाको लागि विश्व इतिहासबाट सच्चा कम्युनिष्टहरु अस्ताउने छन् । त्यसैले नेतृत्वले वरियताक्रम होइन, जनमुखी हुन सिक्नु आजको पहिलो कर्तव्य रहन आउँछ । त्यसतर्फ नेतृत्वको विवेक पलाउने छ भन्ने अपेक्षा यो पंक्तिकारले राखेको छ । “पहिला जनता बन्नुस् अनि जनताले तपाईंलाई नेता मान्नेछ । मपाईंत्वबाट आफूलाई माथि उठाउनुस्, यहि नै कम्युनिष्ट आस्था, धरोहरलाई जीवन्त दिनेछ ।” भन्ने आग्रह गर्न चाहन्छु । चेतना भया ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |