काभ्रे । प्रत्येक १२ वर्षमा सञ्चालन हुँदै आएको हरिसिद्धि जात्रा व्यवस्थापन समितिले काभ्रेको पनौतीमा आयोजना गरेको प्रथम आजिवन सदस्यहरुको भेलालाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीले हरिसिद्धि जात्राले अब निरन्तरता प्राप्त गर्ने स्मरण गराउनुहुँदै पनौतीसँग जोडिएका कुनै पनि धर्म संस्कृतिका पर्वहरु सञ्चालनमा आर्थिक समस्या आउन नदिने प्रतिबद्धता कार्यक्रममा व्यक्त गर्नुभएको छ ।
हरिसिद्धि जात्रा व्यवस्थापन समिति आजिवन सदस्यहरुको भेलालाई सम्बोधन गर्दै धार्मिक एवं ऐतिहासिक नगरी पनौती विश्व सम्पदा सूचीमा सूचिकृत हुने तरखरमा अगाडि बढिरहेको सन्दर्भलाई समेत जोडेर अध्यक्ष नास्नानीले वडा समितिको तर्फबाट कुनै पनि कुराहरु अधुरो रहन नदिने र परम्परादेखि चल्दै आएका संस्कृतिसँग जोडिएका संस्कार, पूजाआजा लगायतका जात्राहरुले आर्थिक अभावका कारण अब रोकिनु नपर्ने धारणा राख्नुभएको छ ।
कार्यक्रममा हरिसिद्धि जात्रा व्यवस्थापन समितिका अध्यक्ष सुरेश सैंजूको गुनासो थियो– अब त मलाई देखेपछि नदेखेजस्तो गरेर हिँड्न थालिसक्नुभएको छ । जहिले पनि चन्दा मात्रै माग्छ भन्ने भान प्रत्येक नागरिकलाई परिसकेको आफूले महसुस गरेको दुखेसो कार्यक्रममा राख्नुभएको थियो । लाग्छ मलाई त अब समाजसेवी होइन, पैसा माग्ने मान्छे आयो भन्दै तर्किएको देख्दा सामाजिक कार्यको नाममा भुलेर पनि अगाडि नबढौं भन्ने लाग्दा लाग्दै यो समाजका धार्मिक व्यक्तित्वहरुले हरिसिद्धि जात्रा व्यवस्थापन गर्ने जिम्मेवारी बहन गराइदिनुभयो ! अचम्म ! अरुबेला मुन्टो बटारेर हिँड्नेहरु हरिसिद्धि जात्रा भनेपछि कान ठाडो पारेर सम्पर्कमा आएर के कति सघाउनुपर्छ भनेको सुन्दा आफू भावुक भएको भेलामा व्यक्त गर्नुभएको थियो । सायद धार्मिक आस्थाले होला, सदस्यहरु एकपछि अर्काे गर्दै थपिने क्रम बढेको छ । २०६६ सालमा जात्रा सञ्चालन गर्दा जुन किसिमको झोली थाप्दै हिँड्नु परेको थियो तर २०७८ सुखद् सुरुवातबाट सम्पन्न हुने संकेत मिलेको छ । समितिले संकल्प गरेको उद्देश्य पूरा हुने संकेत देखेको छु । आजको मितिसम्म २ सय ७ जना श्रद्धालुहरुले हरिसिद्धि जात्रा व्यवस्थापन समितिको आजिवन सदस्यता लिइसक्नुभएको छ । यहि क्रम रहेमा ६ महिना पनि लाग्दैन उद्देश्य पूरा हुनलाई । यो सबै हरिसिद्धि माईको कृपा हो भन्ने महसुस गरेको छु भन्नुहुन्छ अध्यक्ष सैंजू ।
भेलामा सहभागी हुन आइपुग्नुभएका हरिसिद्धि जात्राका अभियान्ता धर्म गोविन्द महर्जनको तर्क छ– हरिसिद्धि जात्राको मूल चुरो भनेकै हरिसिद्धि भवानीको नाच हो । सरल भाषामा बुझ्नुपर्दा हरिसिद्धि ‘जल द्यः’ जल दे नै हो । मनले चिताएको कार्य पूरा हुने भएकोले हरिसिद्धिका नामले परिचित यो जात्राले प्रत्येक श्रद्धालुहरुको भावना पूरा हुँदै आएको एउटा प्रमाण मै हुँ । कुनै पनि श्रद्धालुले दत्तचित्त भई विधिमा रहेर श्रद्धाअनुसार पूजाआजा गरी मागेको आशिर्वाद प्राप्त भएका थुप्रै प्रमाणहरु हामीसँग छन् । त्यसैको एउटा प्रतिबिम्ब म स्वयं भएको धर्मगुरु महर्जनको तर्क थियो ।
हरिसिद्धि मा.वि. का तत्कालिन प्र.अ. अभियान्ता महर्जन थप्नुहुन्छ– हाम्रो नेपाल प्राचिन पौराणिक काल देखिको एक पवित्र देवभुमी तथा तिर्थस्थल रहि आएको हो । जहाँ विश्व प्रसिद्ध देवी देवताहरूको पवित्र मन्दिरहरू छन् । वैदिक सनातन प्राचिन धार्मिक साँस्कृतिक पूर्विय धर्मशास्त्र एवं दर्शन अनुरूप वैदिक तथा तान्त्रिक विधी विधान अनुसार देवी देवताहरूको पुजा मान्य गर्दै आइरहेको सर्व विदितै हो । यसरी प्रसिद्ध देवी देवताहरू श्री पशुपतिनाथ, गुह्यश्वरी, स्वयम्भुनाथ, बज्रयोगिनी, मच्छिन्द्रनाथ, मनकामना माई, श्री हरिसिद्धि भवानी (देवी) हुन । नेपालमा काठमाण्डौ उपत्यकाको भित्र ललितपुर जिल्लास्थित ललितपुर लगनखेलबाट ४ कि.मी. दक्षिण पूर्व गोदावरी जाने बाटोमा जोडिएको हरिसिद्धि गाउँमा अवस्थित छ । जहाँ प्रसिद्ध देवी “श्री हरिसिद्धि भवानी’ विराजमान हुनुहुन्छ । यिनै माता हरिसिद्धि भवानीकै नामबाट यस गाउँको नाम “हरिसिद्धि गाउँ भनि कहलिएको हो । प्राचिन तथा मध्यकालिन अभिलेखहरू, तामपत्र, शिलापत्र, ताडपत्र, थ्यास्फू (हस्तलिखित ग्रन्थ) र अन्य ग्रन्थहरूमा देवीमातालाई “हरसिद्धि देवी÷भवानी” र गाउँलाई हरसिद्धि ग्राम भनिएको पाइन्छ । यसरी संस्कृतमा हरसिद्धि देवी, हरसिद्धि भवानी, श्री ३ हरसिद्धि त्रिशक्तिदेवी, श्री ३ हरसिद्धि त्रिशक्ति भट्टारक भनिएको अभिलेख छ ।
यस्तै गाउँलाई हरसिद्धि ग्राम, हरसिद्धि जेष्ठ ग्राम, जेष्टपुरी भनिएको पनि उहाँले बताउनुभएको छ । तर नेपालभाषा (नेवार भाषा) मा देवीलाई श्री हलसिद्धि, जतलदेवी, जवल देवी र जलद्यः भनिएको छ भने गाउँलाई जन्तलदेश, जवलदेश, जन्तरदेश, जतलदेश र जलदेश भनेको पाइन्छ । यहाँका मानिसलाई जलमि, जलामि भनेर बोलाउने प्रचलन अहिले पनि छ । तसर्थ श्री हरसिद्धि भवानी देवी हरिसिद्धिको ग्रामदेवता इष्ट देवता हुन् ।
श्री हरसिद्धि भवानी (देवी) को मन्दिर ४ तल्ले देगः (प्यागोडा) शैलीमा बनेको छ । यस्तै गाउँ पनि ४ टोल, ४ ढोका, ४ गुठी, ४ गणेश प्रतिष्ठापन गरी वास्तुशास्त्रोक्त यन्त्राकार रूपमा बनाइएको पाइन्छ । यहाँ अहिले पनि ९७.३५ प्रतिशत महर्जन थरका किसानहरू छन् भने २.६५ अन्य जातजातिका मानिसहरू बसोबास गरेका छन् । यहाँका मानिसहरूको मुख्य पेशा कृषि हो । त्यसैले बहुसंख्यक मानिसहरू अशिक्षित भएर पनि हरसिद्धि भवानीको जात्रा पर्व एवं अन्य पर्वहरू आफ्ना वैदिक, धार्मिक सांस्कृतिक तथा ऐतिहासिक परम्पराहरू उत्सुकतापूर्वक मनाउँदै, रमाउँदै आइरहेको साँस्कृतिक अभियान्ता महर्जन बताउनुहुन्छ ।
श्री हरसिद्धि भवानीको ‘हरसिद्धि नाच÷नृत्य’ नै यस गाउँको प्रमुख जात्रा पर्दछन् । यो नाच बर्षमा ३ पल्ट (मूख्यः फागुपुर्णिमा, धान्य (मंसिर) पुर्णिमा र विजया दशमीमा) नचाउने गरिन्छ । तर कुनै व्यक्ति विशेषले, ‘पञ्चली तथा पचवली’ भाकल पुजा चढाएर पनि श्री हरसिद्धि नाच (जतल प्याँख) नचाउने गरी दवलीमा भवानी लगायत देवगणलाई पूजा एवं दर्शन गर्न पाइन्छ । अन्य बेला हुँदैन । यी देवीको नाच नृत्यलाई संस्कृतिमा, हरसिद्धि नाट्य (नृत्य) नेपालीमा ‘हर सिद्धि नाच’ र नेवारीमा जतल प्याख, जलाप्याखं भनिन्छ । जुन नाट्य हाम्रो नेपालको मौलिक नेवारी सांस्कृतिक नेवार बैद्धिक धार्मिक सांस्कृतिक, परम्परा युक्त प्रसिद्धि नाच हो । राजा जय प्रकाश मल्लद्वारा रचित ‘रत्नेश्वर प्रार्दुभाव’ नाट्यको नेपाल भाषामा सम्पादन गर्ने भाषा निभाः (भाषा, प्रकाश) ज्यूको भुमिकामा श्री हरसिद्धि नाच विक्रम सम्वत भन्दा ९४१ बर्ष पूर्व कलिगत सम्वत २९६० मा संचालन भएको र यसपछि मात्र अन्य नाचहरू प्रार्दुभाव भएको भनिएको छ । जुनकुरा वंशावलीहरूमा उल्लेख भएको महर्जन बताउनुहुन्छ ।
श्री ३ हरिसिद्धि भवानी त्रिशक्तिदेवी बास्तवमा त्रिगुणतित (सत्व, रजो, तमो गुण) त्रिशक्ति (ब्रम्हशक्ति विष्णुशक्ति, रूद्रशक्ति (सृष्टि, स्थिति, संहार) युक्त परव्रम्ह परमेश्वरी शिवशक्ति स्वरूपी माहामाया, जगतजननी चण्डिका दुर्गाभगवती नै हुन । यहाँ ‘हर’ को अर्थ महादेव (शिव) र ‘सिद्धिको अर्थ ‘शक्ति’ हुन । तसर्थ शिवको शक्ति भनेको माता, पार्वती देवी नै हुन् । अतः हरसिद्धि देवी (भवानी) भनेको महादेवी, माहेवशरी, तथा अर्धनारेश्वरी) हुन् । जसले चण्डिका, दुर्गा भगवती रूप धारण गरी चण्ड प्रचण्ड, शुम्भ नशुम्भी तथा महिषासुर दैत्यहरूको संहार गरेको शास्त्रहरुमा उल्लेख छ । बास्तवमा श्री हरसिद्धि भवानी देवी दुष्ट आसुर संहारणी, भवभय हरणी, सकंट मोचनी, बर्षा (जल) कि देवी, सहकालकी देवी हुन । देवीको त्रिशक्ति स्वरूप महासरस्वती, महाकाली महालक्ष्मी हुन । यसतै ब्रम्हयणी महेश्वरी, कौमारी भनि पुजा गरिन्छ । विश्वायदि तपाई हामीले शुद्ध मन गरी आत्मसात गरी माता श्री हरसिद्धि त्रिशक्तिदेवीको भावभक्ति, स्मरण तथा पूजा भाव गरेमा हाम्रो मनोवाञ्छा पूर्ण हुन्छ भन्ने जन व्याप्त छन् । तर देवीलाई हेलचेक्राई एवं नराम्रो गरेमा ठूलो हानी हुनुको साथै मृत्युवरणसम्मको कष्ट भोग्नुपर्ने हुनजान्छ भन्ने जनविश्वास छ । सामान्य रूपमा सात्विक पूजा भाव वा पशुवली समेतको कल पुजा गरेमा पनि देवी हरसिद्धि सन्तुष्ट हुन्छ भन्ने मान्यता रहिआएको छ भन्नुहुन्छ अभियान्ता महर्जन ।
यस्ता पूजामा सामान्यतः फूल अक्षता, सिन्दुर फल चढाइ माताको स्मरण गरी पुजा भाव गर्नाले पनि हामीलाई शुभ नै हुन्छ भन्ने कुरामा म पूर्ण रूपमा विश्वस्त छु । तसर्थ मैले माता हरसिद्धि भवानी के सेवा गरी रहेको छु ।
साक्षात प्रक्षान्ति र प्रसिद्धि माता हरसिद्धि भवानी श्री हरसिद्धि भवानीका प्रत्यक्ष देखा परेका, भोगका प्रसिद्धि (प्रक्षात्रि) कुराहरू निम्न छन् । प्रत्येक १२ बर्षमा ‘श्री हरसिद्धि भवानी (देवी) को राजकीय पूजा मान्य तथा वैदिक धार्मिक शास्त्रोक्त तथा तान्त्रिक विधि विधान जलशोधन, वाद्यवादन गरी १२ वर्षे सिद्धिदङे (सिद्धि साधन गरी त्रिशक्ति देवीको कलेवर, फेरी तान्त्रीक शक्तिद्धारा प्रतिस्थापन गर्ने श्री त्रिनृत्यश्वर स्थापना गरिन्छ । साथै २९ जना देवगणहरू (पुजारी) मा देवीदेवताको आवेग तथा दिक्षा प्रदान गर्ने, नयाँ भर्ना, नाट्य गान, वाद्यवादन सिकाउने, करिब ३ महिना देवस्थलमै निवास गरी कार्य सम्पन्न गरिन्छ । यसरी सम्पन्न गरि सकेपछि स्वयं हरिसिद्धि लगायत छिमेकी गाउँहरू ठैब, थेचो, चापागाउँ, (चम्पापुर) बुंगमति (अमारापुर) खोकना, (जितपुर) पाँगा, कीर्तिपुर, पाटन, कान्तिपुर, देउपाटन (पशुपती) भक्तपुर, साँगा, पनौती, धुलिखेल (धबलीरथो) एवं दोलखा हरसिद्धिसम्म ‘द्यःया खःवने’ भनि हरसिद्धि नाच (जतल प्याख) देखाउन लैजाने धार्मिक एवं साँस्कृतिक ऐतिहासिक परम्परा रहेको छ । सोही अनुरूप वि.सं. २०६६ सालमा ६० बर्ष पछि श्री हरसिद्धि नाच प्रदर्शित गर्न श्री हरसिद्धि भवानी सहित देवगणहरू र सहयोगिहरू समेत जाने पनौतीमा प्रस्थान गरेका थियौं । जहाँ जनमानसले भव्य स्वागत सत्कार गरिएको महर्जनले बताएका छन् ।
यसै सन्दर्भमा म समेत देवगण पुजारीहरू र पनौतीको हरसिद्धि पुजा गुठीका पदाधिकारीहरू अध्यक्ष स्व. विष्णदास स्याउला, सचिव सुरेश सैंजु, कोषाध्यक्ष पुरूषोत्तम श्रेष्ठ, सदस्य प्रेम बहादुर श्रेष्ठ एवं अन्य सदस्यहरू लगायत बसी १२ वर्षे पर्व, ‘हरसिद्ध नाच’ पनौतीमा देखाउनको लागी पहिलो पल्ट पनौतीमा छलफल भयो । दोश्रो पल्ट वहाँहरू आउनु भई ल.पु. हरसिद्धि मन्दिरको सतलमा बसि छलफल भयो तर १२ वर्षे पर्व नाच देखाउन पुरै खर्च ४ दिन भोजन खर्च, पशु चौपाया खर्च सबै गर्दा करिब ३, ४ लाख बराबरको खर्च लाग्ने हुँदा अलि आत्तिनुभएको थियो । कारण गर्ने त भनियो तर खर्च पु¥याउन सकिएला वा नसकिएला फेरी हरसिद्धि पुजा गर्ने नाच देखाउन भने पछि गर्नैपर्छ र नगर्दा राम्रो हुँदैन भन्ने जनविश्वास रहेको छ । तब पुजारी देव गणहरूले पनि राम्रो सम्झाइ बुझाई कुरा गर्नुभएको थियो । त्यसपछि मैले प्रष्ट रूपमा माता श्री हरसिद्धि भवानीको पुकार गरी सामान्य पुजा भावको प्रभावले श्री हरिसिद्धि मा.वि.मा उन्नति भएको र भव्य भवनहरू बनाउन सहयोगहरू मिल्न आएको कुरा महर्जनले छलफलको क्रममा प्रष्ट्याएका थिए ।
साथै प्रोत्साहन दिई भने “तपाईहरू आँट गर्नुहोस् देवी माता हरसिद्धिले आवश्यक सहयोग जुटाउनु हुन्छ” भनी आश्वस्त गराएको थिएँ । सोही अनुरुप अटल विश्वास लिएर सहभागी टोली पनौती फर्किएको थियो । पुनः वहाँहरू पनौतीमा समिति तथा स्थानिय पनौती नगर प्रमुख, वडा अध्यक्ष, बुद्धिजिवी, समाजसेवी अन्य व्यक्तित्वहरूसंग केही देवगणपुजारी र म सहित बसि पुर्ण रूपमा छलफल भएको थियो । खुशीको कुरा पनौतीमा पहिल्यै हरसिद्धि भवानी देवीको देव भवन, निर्माण भईसकेको थियो । तसर्थ मैले थप कुरा, ‘तपाईहरूले देव मन्दिर भवन नयाँ बनाउनु भएकोमा यदि श्री हरसिद्धि भवानीलाई विराजमान गराउनु भएमा ठूला सार्थक सिद्ध हुन्छ भनेको थिएँ । मनोकांक्षा पूर्ण हुन्छ । यो एक सुवर्ण अवसर हो” भने । पुजारी गणहरूले पनि हुनेसम्म सहज बनाउने भनी कुरा टुंग्याउनु भएको थियो । तर समयको पावन्दी एक महिना मात्र बाँकी थियो । यसरी हरसिद्धि भवानी देवगणको आशिष, मेरो उत्साहवद्र्धक समन्वयकारी भुमिका अनुरूप वहाँहरूमा पनि अत्यन्त साहसपुर्ण तत्कालिन अध्यक्ष स्व. विष्णुदास स्याउलाबाट माता हरसिद्धि नाच ल्याई देखाउने प्रतिज्ञा व्यक्त गर्नुभयो । जसको कारण अब पनौतीले निरन्तर रुपमा हरिसिद्धि जात्रालाई कायम राख्ने देखेको छु । तत्पश्चात्का दिनहरुमा वहाँहरूको लागी पर्नुभयो । यसरी पहिलो पटक वि.सं. २०६६ साल चैत्र २८ र २९ मा पनौतिमा १२ वर्षे पर्व हरसिद्धि नाच जात्रा महोत्सव धुमधामका साथ सम्पन्न भएको थियो । सोही अवसरमा केही आम्दानी वचत पनि भएको समितिले जनाएको थियो । बास्तवमा यो माता श्री हरसिद्धि भवानीको वरदान एवं पनौतीवासीको ६० वर्षपछिको अभिलाषा (मनोकामना) पुर्ण गरी दिएको म ठान्दछु भन्नुहुन्छ अभियान्ता महर्जन अदम्य विश्वासका साथ लाग्न सबै श्रद्धालुहरुमा आग्रह पनि गर्दछु ।
तर यी सबै कार्यपुर्ण गर्नेमा भन्नै पर्छ यसको ठूलो प्रथम श्रेय तत्कालिन अध्यक्ष स्व. विष्णुदास स्याउलालाई दिनै पर्दछ । मैले देखे भोगे अनुसार यदि वहाँले साहसपूर्ण कदम नचालेको भए यो काम सम्भव थिएन । यस्तै दोश्रोमा सचिव सुरेस सैंजु, कोषाध्यक्ष पुरूषोत्तम श्रेष्ठ, तत्कालिन मास्टरसाब प्रेम बहादुर प्रधानलगायत गुठीका सबै परिवारहरूको सक्रियतामै, १२ वर्षे हरसिद्धि नाच पनौती जात्रा पर्व खुशी साथ निर्विघ्न सम्पन्न भएकोमा पनौतिवासी तथा ललितपुर हरिसिद्धिका जनमानसहरू हर्षित भएको सम्झीँदा अहिले पनि मनमुग्ध हुन पुग्छु भन्नुहुन्छ अभियान्ता महर्जन ।
त्यसपछिका दिनमा वहाँहरूले हरेक बर्ष चैत्रको उहि दिनहरू २८, २९ र ३० गते पारेर । श्री हरसिद्धि भवानीका पुजारीगण र म समेतलाई निमन्त्रणा गरी पनौती हरसिद्धि भवानी मन्दिर भवनमा देवीमाताको अद्यापि पुजा मान्य र उत्सव गरी प्रसाद ग्रहण गर्ने प्रचलन चलाउनु भएको अत्यन्त सुन्दर पक्ष पाएको छु । जसले गर्दा हरसिद्धि १२ वर्षे पर्व संस्मरण ताजै रहेको पाउँछौं । तर विडम्बनाको कुरा छ, हाम्रो अगाडी एक सवल नेतृत्व गर्ने पुरूषार्थी अध्यक्ष विष्णुदास स्याउलाको गतबर्ष देहावसानले तपाई हामी श्री हरसिद्धि भवानी सेवक तथा भक्तहरूको मन मर्माहित एवं भाव विह्वल भएको मैले महसुस गरेको छु ।
भगवानको श्रृष्टि चक्रको नियम अनुसार वहाँ आज बैकुण्ठ बास हुनु भएको छ । म लगायत सम्पूर्ण हरिसिद्धि बासीको तर्फबाट शोक सन्तप्त परिवारमा हार्दिक सम्वेदना प्रकट गर्दछु । स्व. अध्यक्ष विष्णुदास श्री हरसिद्धि भवानी माताको कृपाले मृत्यु होइन अमर हुनु भएको छ । वहाँप्रति हाम्रो हार्दिक भावपूर्ण श्रद्धाञ्जली छ । अन्तमा पनौती बासीलाई हार्दिक धन्यवाद टक्रयाउँदछौं साथै उहाँको असामायीक निदनले पनौती बासी तथा हरिसिद्धि बासीको धर्म संस्कृतिमा पुगेको ठूलो क्षेतिको परिपुति आगामी दिनहरूमा कार्याबाहक तथा सचिव सुरेश सैजु, पुरुषोत्तम कर्माचार्य लगायतका पदाधिकारीहरूले गहन जिम्मेवारी लिई आगामी २०७८ सालमा हुने श्री हरसिद्धि भवानीको १२ वर्षे जात्रा परम्परा पुर्ण रूपमा पनौतिमा लिई हरिसिद्धि नाच जात्रा परम्परालाई निरन्तर दिन सकुन् यही हरिसिद्धि भवानीको परिवार (पुजारी गण) तथा मेरो मंगलमय शुभकामना छ ।
ॐ श्री हरसिद्धि भवानी (देवी) विराजित ललितपुर हरिसिद्धि गाउँका जनताहरू आजसम्म जग्गा नभका र खान नपाएका छैनन् । अन्न, धन, जमिन र जलको दुःख छैन । हरसिद्धि माता विराजित हरिसिद्धि गाउँ वरिपरि समस्थलिय रसिाले मलिलो माटाको जग्गाले घेरिएको जहाँ पानीको समेत दुःख छैन । यतिको राम्रो भूवनोटको ठाउँ अन्त विरलै पाइन्छ । यो माता ‘श्री हरसिद्धि के कृपा हो र आफ्ना भक्तहरूको प्रति पालनको घोतक हो । यतिसम्मको छ कि ज्यामी, कुल्ली पनि यहाँ आएपछि कमै मात्र फर्केर जान्छन् र काम पाईरहेको हुन्छ ।
आफ्ना अतितका स्मरणहरु राख्दै अभियान्ता महर्जन प्रष्ट्याउनुहुन्छ– ॐ अर्को थप एक रोचक कुरा २०६५÷०६६ तिर श्री हरि सिद्धि मा.वि.को पछिल्लो ठूलो भवन निर्माणको बेलाको कुरो भन्दा अविश्वास जस्तोलाग्ला तर बास्तविक भएको कुरा हो । बैशाखको दोस्रो हप्ता देखि जगको पिलर उठाउन खाल्डोहरू खन्ने काम गर्दै जाँदा जेष्ठको पहिलो हप्तामा दुईदिन एक झरो एक झरो अलि ठूलो पनि पो र दुईवटा खाल्डोहरू भत्कियो तब मनमा कुरा खेल्यो कि एकातिर बढी खर्च लाग्ने अर्कोतिर असार मसान्त अगावै डिपीसी ढलान गर्न नसके दोस्रो किस्ता रकम निकासा माग गर्न अप्ठयारो हुने । तब मैले स्कूलको प्राङ्गण भित्रै ज्यामीहरू काम गर्दैछन् म लगायत जगत सर, आशा मिस, दिलकुमार सरहरूको अगाडि, हे प्रभु, श्री हरसिद्धि भवानी माता, फूलचोकी माई भवन निर्माणको डिपिसी ढलान नसकेसम्म पानी नपारी दिनुस् तर परेपनि धानको विउ नमर्ने गरी सानो झरी (सिमसिमे) पानी परोस’ भनी हात जोरी पुकारे । आशा मिस, जगत सर, शुक्र सर, दिलकुमार सर मुसुमुसु हाँसे । देवीमाताको कृपा साँच्चीकै बेला बखत सानो सिमसिमे पानी बाहेक ठूलो पानी (बर्षा) परेनन् । असारको १९, २० गते भईसक्यो यता पानी नपरी खेतमा रोपाई गर्न पाएन, उता स्कुलमा जगको डिपिसी ढलान गर्ने लेभलमा गारो पनि उठ्यो । त्यसपछि अब त भएन असारमा रोप्न सकेन भने त धान पाक्दैन, के खाने ? सबैलाई दुःख हुन्छ । तसर्थ १९ गते विहान विद्यालय प्राङ्गणमै बसेर २० गते भने श्री हरसिद्धि भवानी मन्दिरमै गएर हातमा अक्षता र केही फूलहरू लिएर गई पूजा गर्नुको साथै ठूलो पानी वर्षा गरि दिइयोस् ताकि सबैले छिट्टै असार भित्र धान रोप्न सकियोस् भनि निष्ठापूर्वक भक्तिभावले पुकारा एवं दर्शन गरी घरमा पनि लक्ष्मी, दुर्गा माताको पूजा गरी, त्यस्तै पुकारा गरेँ । यसको दुई दिन पछि (जेष्ठ २२, २३ गते) ठूलो बर्षा भयो । धान रोप्ने कामहरू मिचामिच भयो । फेरी एकदिन विराएर केही वेर केही बेर पानी पर्ने पनि भयो । असार महिना भित्रै प्रायः सबैले हरसिद्धि भरी धान रोप्न कार्य सकियो । त्यसपछिबाट म झनै माता श्री हरसिद्धि भवानी (देवी) प्रति अति विश्वास साथ भक्ति भाव गर्ने भएँ र गर्दछु । यस्तै विद्यालय भवन २ तल्ले बनाउने भनेकोमा थप सहयोगहरू विभिन्न संघ संस्थाहरूबाट प्राप्त भई ४ तल्ला बनाउन सफल भएको स्मरण गराउनु भयो ।
यसमा श्री हरसिद्धि देवी माताको कृपाले जहाँ जताबाट पनि मलाई साथ सहयोग मिल्यो र म घरको परवाह नगरी विहान ६ः३० बजे देखि बेलुकी ९ः०० बजेसम्म स्कुलकै काममा म तल्लिन भएर यताउती लागेको एउटा प्रतिफल पनि मल्यो म काममा विश्वास गर्ने र इमान्दारीपूर्वक धैर्यताका साथ सक्रियमै निरन्तर लागीपर्ने मेरो बानी पनि हो । कसैले कुनै सार्वजनिक कार्यको लागी सहयोग दिएमा (गरेमा) त्यसलाई सिद्ध गरेर देखाउनु पर्दछ, कदापि बेइमान नगर्ने मेरो आदर्श एवं मान्यता हो । यदि कोही कसैले मेरो कार्यप्रति असह्य भई पिठ पछाडि नकारात्मक कुराहरू गरी हिंडछ भने पनि म परवाह नगर्ने र “कुकुर भुक्दै गर्छ हाती मस्कदै अगाडि बढछ’ भन्ने उखान तथा सिद्धान्त अंगाल्दै विवेकशील भै अघि बढि रहने कार्य पुर्णतामै लाग्ने, मेरो अर्को स्वभाव हो । साथै नविराउनु, नडराउनु ।
अतः श्री हरसिद्धि भवानी माताको मन्दिर तथा वातावरणिय निर्माण सुधारको निमित सहयोग आफुले पनि गर्ने र अरू व्यक्ति वा संस्था समाज (समुह) संग पनि सहयोग र दर्शनको निम्ति अनुरोध गर्ने गरिरहेको छु । यसको अर्थ दाता (सहयोगी) हरू स्वयंम आई माता श्री हरसिद्धिको दर्शन पुजा भाव गरी माताका पूजारी गणको हातमै सहयोग रकम प्रदान गर्नु गराउनु हो ।
जस्तैः २०७१÷०७२ मा श्री हरसिद्धि भवानी (देवी) को लामो सतल भवन निर्माणको क्रममा धुलिखेलका हरसिद्धि माताका भक्तजन देवजु (मूल पूजारी) कुलायनबाट सहयोग प्रदान गर्नुभएको थियो । यस्तै २०७४ सालमा मेरो (देवीमाताका सम्बन्धको) अनुरोध तथा देवी माताको भक्तिभावले गणेशलाल तुसुजुको नेतृत्वमा तुसुजु समाज (कुलायन) बाट र विज्जु कुलायनको यो गाचार्य महेन्द्र विज्जुको नेतृत्वमा विज्जु समाजबाट माकजु (कलायन) समाजका उपाध्यक्ष गयानाथ, अध्यक्ष शिवचन्द्र माकजुको नेत्तृतवमा उक्त समाजबाट ललितपुर श्री हरसिद्धि भवानी (देवी) माता कहाँ पूजा सहित आउनुभई पूजा दर्शन गरी चढाउनु भएको सहयोग रकमले देवगृह ठूलो कक्ष माथी नयाँ अग्राखको काठहरू प्रयोग गरी तामाको पाताले छाना छाउने कार्य सम्पन्न भएको अवगतार्थ यहाँसमक्ष सर्वसाधारण सुसूचित हुन्छन् भन्ने अपेक्षासहित नमन गर्न चाहन्छु भन्नुहुन्छ अभियान्ता महर्जन । यसरी २०७४ सालमा सितापाइला हरसिद्धि देवीका पूजारी केदार मानन्धर र म (धर्म गोविन्द महर्जन) मिली ललितपुर हरसिद्धि भवानी देवी मन्दिरको देव गृहको ठूलो कक्षमा र भ¥याङ्गनिरको दलान (सानो पाटी) कक्षामा सेतो टायल छाप्ने कार्य गरेको कुरा पनि अवगत गराउन चाहन्छु ।
यसै अनुरूप धुलिखेलका श्री हरसिद्धि भवानी (देवी) का भक्तहरू देवजु, माकजु, ख व्याजु, तुसुजु र विज्जु कुलायन समाज परिवारहरूसँगको मेरो आग्रह पनि यही थियो । जसबाट हरसिद्धि भवानी मन्दिर भित्र निर्माण सुधारहरू होस र माता श्री हरसिद्धि भवानी (देवी) बाट वरप्रसाद पनि पावस्, मनोवाञ्चा पुरा होस् । साथै विध्न बाधा हटाइ उत्तरोत्तरप्रगतिमा माता हरसिद्धि देवीले हामी सबैलाई साथ दिइयोस् ।
सायद २०७०÷०७१ तिर हुनुपर्छ, सिता पाइला हरिसिद्धिका पूजारी केदार मानन्धर वहाँका काका लगायतका मान्छेहरूसंग देवी माताको साक्षातकार (प्रत्यक्ष) बारे बुझदा भन्नु हुन्छ कि यस हरसिद्धि भगवती (देवी) आसपास क्षेत्र तल महाँकाल देखि माथी फयखा भन्ने ठाउँसम्म क्षेराउटी (झाडापखाला) लाग्दैन र आजसम्म कसैलाई केही भएको थाहा छैन । यसरी एक थप कुरा समेत बताउनुहुन्छ की यहाँ कसैको केही सामान वा बस्तुभाउ (कुखुरा, भेडा, बाखा, गाई, भैसि) हरायो भने श्री हरसिद्धि भगवती (देवी) माता कहाँ पूजा गरी उक्त सामान÷वस्तु पाउँ भनी पुकारा गरेको ४, ५ दिन भित्र अवश्य पाउँछन् । अतः यहाँका मानिसहरू (नेवार, बाहुन, क्षेत्री, तामाङ्ग, दलितहरु) सबैले माता श्री हरसिद्धि देवी भगवतीलाई अति विश्वासका साथ मान्ने गरेको पनि उदाहरण पनि छन् । यसले यो जात, त्यो जात भनेर नछुट्याएको पनि अभियान्ता महर्जन संवादको क्रममा खुलाउनुहुन्छ ।
कुरा २०२५÷०२६ साल ताकाको हो । धुलिखेको ठूलो जन घनत्व समेत भएको माकजु कमजु समुदाय (कुलायन) को श्री हरसिद्धि भवानी (देवी) धुलीखेल, काभ्रेको गुठीका पालाहरू (पालो थाप्ने) मात्र बसि बर्षको एकपल्ट श्री हरसिद्धि देवी माताको पूजा सम्साँझमा गरी त्यही देव गृह भित्रै बसि भोज समय बजी भोज खानुपर्ने र आउँदा भाँडाकुडा साथै पानीले धोइ पखाली शुद्ध गरी फर्कनुपर्ने प्रचलन रहेछ । यहाँ गुठीका पालाहरूले देवी माताको साविक बमोजिम पूजा गरी भोज पनि खानु भो र जुठो बाहिर फाल्नु भई घरतिर फर्कनुभएको थियो । तर देवगृह भित्र बढारकुँडार गर्ने र पानीले पखाली शुद्ध गर्नुपर्ने कुरा विर्सनुभएको थियो । यी गुठीयार पाला ४ जनामध्ये एकजना हाल कामजु समाज (कुलायन) का उपाध्यक्ष गयानाथ माकजु पनि एक हुनुहुन्छ । जो यूवा अवस्थाको हुनुहुन्छ । यसरी वहाँहरू भोज समेत खाइ अलि रात पनि परकोले होला घर फर्कने हतार गरी आउनु भएको रहेछ । यहाँ गयानाथ माकजुको भनाई अनुसार उक्त दिन करिब राती अन्दाजी ११ बजे तिर सुतिरहेको बेलामा एक्कासि द्यो माँ श्रीमती नानीमैया माकजुको श्रीमानले बोलाउन आउनु भयो । वहाँ गयानाथका काका पर्नुहुन्छ । यसरी काकासँगै गयानाथको घरमा पुग्दा द्योमाँ नानीमैया बँकझुक गरी रोइ कराउँदै भन्न थाल्छ, मलाई फोहर गयो अशुद्ध भयो । यसको अर्थ द्योमाँ नानी मैयासँग श्री हरसिद्धि देवी माताको शक्ति आवेग भएको रहेछ । रातीको खाना खाई श्रीमान, श्रीमती नानीमैयासँगै सुतेको तर राती ११ बजे ताका अचानक जुरूक उठी माथी भने झै रोइ कराई गर्न थालेपछि श्रीमानले पक्का देवी माता कहाँ गुठी पूजा एवं भोजनमा केही खराब परेछ भन्ने ठानी आफ्नो भतिजा गयानाथलाई बोलाउँदै जब गयानाथ र काका द्योमाँको अगाडि पुग्दा रोइकराई रहेकै अवस्थामा वहाँको श्रीमान (काका) ले भन्नु हुन्छ्र “उ गुठी पाला बाबु बोलाएर ल्याए के भयो ? प्रष्ट भन्नु माता, गर्नुपर्ने गर्छ भनेपछि द्योमाँले भन्नु हुन्छ,’ पूजा गयो राम्रो छ तर भोज खाइसकेपछि सफा सुग्घर पानीले धोइ पखाली शुद्ध गरेर आउनु पर्दैन, अशुद्ध भएपछि मलाई चित्त दुख्दैन । तब गयानाथले द्योमाँलाई विन्ति गर्दै भन्नु हुन्छ, “भुल भयो क्षमा गर माँ, हामी अहिल्यै गएर सफा गर्छौं । यसपछि काका (वहाँको श्रीमान) ले धुप र अक्षेता चढाइ अज्ञानीको भुल क्षमा गरी दिनुस् भन्दा उनी शान्त भई पल्टिनु भयो । तब गयानाथसँग बाटामा काकाले सोध्नु हुन्छ । के सफा सुग्घर गर्न बिर्सेको हो ? भनि सोध्दा, त्यो त विर्सेको हो काका भनि जवाफ दिई फर्काउनु भएको रहेछ । यसरी वहाँहरू र अर्को पालालाई समेतकोलाई मन्दिरभित्र प्रवेश हुँदा केही खाने कुराहरू देखा पर्यो तब पानीले नपखालेको हुँदा सफासुग्घर गरी पानी तानेर ल्याई धोइ पखाली शुद्ध गरेको सत्य साँचो यथार्थ घटना हो भनि मलाई गयानाथ माकजुले प्रष्ट्याउनुभएको थियो भन्नुहुन्छ अभियान्ता महर्जन ।
यसबाट यो कुरो स्पष्ट हुन्छ की द्योमाँ नानीमैया माकजुमा माता श्री हरसिद्धि देवीको शक्ति आवेग भई देवी माताको साक्षात्कार गर्नु हुन्छ । वहाँ साँचो देवी माता श्री हरसिद्धिको सच्चा भक्ति हुनुहुन्छ ।
श्री हरसिद्धि भवानी (देवी) को शुद्ध चित्तले पवित्र भै विधि पूर्वक नियम उपासना, ब्रत बसीपूजा अर्चना गर्नेले सन्तान पाएकाहरू हरिसिद्धि गाउँमा धेरै छन् । यस्तै श्री हरसिद्धि भवानी (देवी) नाच जात्रा पर्वमा प्रभातिय (विहान) पहरामा शुद्ध पवित्रझै श्रद्धा भक्तिपूर्ण पूजा सामानले देवगण नाट्य पात्र मध्यको “श्री तमना ऋषेश्वर महादेव’ को सबभन्दा पहिलो पूजा र दर्शन गर्नाले सन्तान पाइन्छ भन्ने विश्वास छ र पाइरहेका प्रमाणहरू पनि छन् । उदाहरणः धनलाल महर्जन, हरि महर्जन ।
वि.सं. १९७५ तिरको घटना हो । माकजु परिवारको एकजनाले पूर्वबाट ल्याईपालेको राँगो, चौरमा किलामा बाँधेको तर एकदिन एकासी त्यही ढल्यो र मरे तुल्य हुँदा यदि बाँचे भने माता हरसिद्धिलाई नै चढाउने छु भनी धुलिखेल हरसिद्धि देवी माताको पूजा गरी केही अक्षता र फूल प्रसाद ल्याई राँगोको टाउको माथि राखी उठ उठ भनी चलाउँदा जुरूक्क उठेर आएको र उक्त राँगो हरसिद्धि माताकै मन्दिरमा लगि पुनः पूजा गरी छाडेको भन्ने कुरा धुलिखेलका दाजुभाईमा सर्वविद्धितै छ ।
धुलीखेल निवासी नानीमैया माकजु हरसिद्धि माताका प्रिय भक्त हुनुका साथै एक शक्ति साधक पनी हुनुहुन्छ । तसर्थ वहाँमा हरसिद्धि माताकै कृपाले सिद्धि प्राप्त गरेअनुसार वहाँमा हरसिद्धि माताको शक्ति बेला बखत आवेग हुने गर्दछ । त्यसले वहाँलाई द्यो माँ (देवता चढेकी÷आवेग हुने आमा) पनि भनिन्छ । हरसिद्धि माताको कुनै पूजा आजा कोही कसैबाट गर्दा केही चिज पुगेन वा राख्न नहुने चिज अशुद्ध राखियो वा जुठो चुठो एवं केही अशुद्ध भयो भने पनि वहाँमा शक्ति आवेग भई तुरून्त ती पूजा भाव एवं भूल गर्नेहरूलाई वहाँले सुझाब दिनुहुन्छ र सर्तक गराउनु हुन्छ । जसले गर्दा हरसिद्धि माता सन्तुष्ट हुन्छ भन्ने वहाँको पूर्ण विश्वास छ ।
एकताका श्री हरसिद्धि भवानी (देवी) माताको मन्दिरको गजुरमा जडित हिरा कुनै कारणबस तल झरी खसि साना केटाकेटीहरू, जसमध्ये अहिलेका आचार्य महेन्द्र विज्जु पनि हुनुहुन्छ । त्यस हिरालाई पनि गुच्चा नै ठानी खेली रहेछन, तर फरक देखिन्छ । त्यसैबेलामा एकजना व्यक्ति आई त्यो हिरा लिई गई घरको भित्तामा सजाएर राखेको रहेछ । घरका परिवारले पनि केही चाल पाएनन् तर वहाँको मनमा पचाएर खाने विचार थिएन । यसै सन्दर्भमा एकदिन नानी मैया माकजुमा हरसिद्धि देवी माताको शक्ति आवेग हुन्छ र भन्न थाल्छ “फलानाको घरमा हरसिद्धि माताको हिरा छ भनेर कराउँदै बाहिर आउँछन् र मान्छे जम्मा हुन्छन् । त्यसपछि उहाँकै साथमा उक्त घरमा उहाँले देखाएकै भित्ताको स्थानबाट हिरा निकाली पुनः देवी माताकै मन्दिरमा चढाउनु भएको रहेछ ।
जहाँसम्म हरिसिद्धि भवानीको आस्थाको सवालमा २०४२।०४३ सालको कुरो हो धुलिखेल निवासी वैजनाथ (दोषबाट मुक्त) सिन्धुपाल्चोक भुमलटारमा हेल्थ पोष्ट बनाउने ठेक्का लिन चाहनुभएछ । तसर्थ उहाँले धुलिखेल हरसिद्धि माताको दर्शन गरी पुकार गर्नुहुँदै “हे माता भुमलटारको हेल्थपोष्ट बनाउने ठेक्का मलाई पारिदियोस् र पर्याे भने म मातालाई एउटा भेडा (भ्याँ) सहितको बली पूजा चढाउँछु भनी वाचा गरी भुमलटारतिर लाग्नुभएछ । केही समय पछि उक्त हेल्थपोष्ट बनाउने ठेक्का उहाँलाई नै परेछ । यसरी खुशी भई उहाँ हेल्थ पोष्ट निर्माण कार्यमा जुट्दै सम्पन्न पनि गर्नुभयो । तर उहाँले हरसिद्धि माताको भाकल कामको सिलसिलामा विर्सिनुभएछ । एक दिन आफ्नो कामबाट फर्कि बेलुकी पख श्री हरसिद्धि माताको मन्दिरको पश्चिम तिर आफ्नो घर तिर लाग्दै गर्दा अचानक उसको खुट्टाको घुँडा र टाउको दुखे जस्तो भई जिउ भारी भयो र घर पुगी ओछ्यानमा पल्टिनुभएछ । त्यसपछि उहाँलाई दुखेकाले कराउनुको साथै उठ्न पनि सक्नु भएन । तब कम्पाउण्डर र एकजना बैद्य बोलाउनु भई झारफुक र इन्जेक्सन समेत लगाउनु भयो । यसको लगतै उहाँलाई झन् चर्को भई भ्याँ भ्याँ भनेर कराउने चिच्याउने गरिरहँदा परिवारको एक सदस्यले नानीमैया माकजुलाई बोलाएर ल्याई देखाउनुभएछ । नानीमैया माकजुले नाडी छाम्दै हरसिद्धि माताको दोष रहेछ भनी तुरून्त मन्छाउने गरी सबै कुरा रातो पारी अक्षता धुप र दीप झ्यालबाट चढाई सकेपछि उक्त विरामीलाई उठाइ भ्याँ भनेको हो भनी सोध्दा टाउकोले हो भन्ने संकेत दिनुभयो र बोल्न सकेन तब त्यसै सुताइयो । त्यसपछि नानीमैया माकाजुले विरामीलाई आफ्नो तर्फबाट गर्नुपर्ने तान्त्रिक विधान गरिसकेपछि परिवारलाई भन्नुहुन्छ कि यसले देवी मातालाई भ्याँ (थुम्बा) चढाउँछु भनेको रहेछ । त्यसकारण छिट्टै भाकल पूजा गर्नु निको हुन्छ भनी अक्षता ढोगाउनु समेत भएछ । यसको लगत्तै विरामीलाई ओछ्यानमा पल्टायो तर केही बेरपछि होस आयो र जुरूक्क उठि आफनो वरिपरि धेरैजना मान्छे देखेर के भएर यहाँ भनि सोध्नु भएछ । वहाँ त बेहोसमै कराएको रहेछ । तब त्यहाँ मानिसहरूले घटनाको सबै बेलिविस्तार सुनाई सकेपछि द्योमाँले वहाँसँग सोधपुछ गर्दा उहाँले भाकल चढाउँछु भनेको हुँ भनी प्रष्ट पार्नुभएछ । यस्तै उहाँ भोलिपल्ट पूर्ण तयार हुनुभई उहाँले छिट्टै उक्त भाकल पूजा शुभदिनमा श्री हरसिद्धि माता कहाँ शुद्ध पवित्र मनले पूजाभाव सम्पन्न समेत गर्नुभएको इतिहास हामीसँग छ । यसरी देवीको दोषमुक्त भई स्वस्थ्य भएको उहाँले मलाई बताउनुभएको थियो ।
यी कुराहरूबाट दर्शी प्रमाणका रुपमा नानीमैया माकजुले धुलिखेलका हरसिद्धि माताका साक्षात्कार हुनुहुन्छ भन्ने कुरा प्रष्ट हुन्छ । साथै हरसिद्धि देवी माताका भक्त महिलाहरूमा बेला बखत देवीशक्तिको द्योमाँहरूमा आवेग हुने गरेको कुरा पनि प्रष्ट हुन्छ । जसबाट देवी माताको साक्षात्कारीतालाई राम्रो बुझ्न सकिन्छ ।
त्यस्तै अर्काे घटना यहाँहरुसामु राख्न उपयुक्त देखेको छु । जसका बारेमा भन्नुपर्दा म सानो छँदा मेरा छिमेकी पूर्ण बहादुर देवजुलाई विफर रोगले साहै सताइ म¥यो भनी उहाँको पिताले छिँडीमा परालमाथि सुताई राखे । तर केहीबेरपछि उहाँलाई धुलिखेल हरसिद्धि माताको सम्झनाले मनमा कुटकुटी आयो तब उनले छोरालाई परालमाथिबाट जुरूक्क उठाइ हरसिद्धि भवानी मन्दिर अगाडि विसाउनु भयो र अक्षता धुप बाली हरसिद्धि माता आफ्नो छोरा बचाउन तथा जीवनदानको लागी पुकारा गर्नुभयो ।
त्यसपछि छोरालाई पुनःउठाइ हरसिद्धि माता मन्दिरसात पल्ट घुमाइ घरमा लगी पुनःछिँडीको पराल माथि नै सुताउनुभयो । घरमा सबै जना रूने कराउने भईरहेको रहेछ तर केही बेर पछि छोराको होस आयो र कराउन थाल्यो तब तिनलाई बाबुले उठाई बोकी चोटामा लगी हेरविचार गरी रहे भने उता श्री हरसिद्धि भवानी देवी मातालाई तुरून्त सामान्य पूजा पठाइ भाव गर्दैगर्दा निज रोगग्रस्त पूर्ण बहादुर देवजु निको भएको प्रतिदर्शी म नै हुँ ।
तसर्थ तपाई हामी सबैले देवी देवताहरूको शुद्ध मनले पुकारा एवं ध्यान गर्ने गर्दा ईश्वरले अवश्य साथ दिनु हुन्छ । आफुले सके अनुसार सेवा गर्नु उत्तम हुन्छ । बली नै चढाउनु पर्छ भन्ने होइन । ईश्वरी माता श्री हरसिद्धिप्रति आत्मविश्वास, श्रद्धा भक्ति भावपूर्ण पूजाअर्चना तथा आराधना मुख्य हो ।
श्री हरसिद्धि भवानी (देवी) माता वास्तवमा साक्षात परब्रम्ह परमेश्वरी निरन्जन निराकार शिवशक्ति स्वरूपी हुनुहुन्छ । तसर्थ वहाँमा त्रिगुण (सत्व, रजो, तमो) तथा श्रृष्टि, स्थिति, संहार जस्ता परिशिलन एवं यस ब्रम्हाण्ड संसारको संरचना जातक चक्रिय व्यवस्थापकीय समस्थतालाई बुझेर देवी माताको पूजाभाव तथा स्तोत्र गर्नु राम्रो हुन्छ । हरिसिद्धि भवानीको पूजाका लागि आवश्यक पर्ने केही स्तोत्रका बारेमा प्रष्ट्याउने जमर्काे गर्छु भन्दै अभियान्ता महर्जन पूजाविधिका बारेमा यसरी राख्नुहुन्छ ः
ॐ श्री श्री श्री (३) हरसिद्धि भवानी त्रिशक्ति देवी, शिवशक्ति स्वरूपी, महाशक्ति देवी, महामाया, जगदम्बे जगत जननी, माता पार्वती स्वरूपी सिंहवाहिनी, दैत्यहरू महिषासुर, चण्डप्रचण्ड, ठठशुम्भ निशुम्भ संहारणी चण्डिका दुर्गे भवानी÷भगवती देवी भनी पुकारिन्छ ।
त्रिशक्ति देवीको रूपमा ब्रम्हायणी, महेश्वरी, कुमारी (कौमारी) महासरस्वती, महाकाली, महालक्ष्मी, आदिशक्ति, त्रिशक्ति महारूद्र शक्ति । महाँकाली, भद्रकाली, कपारिणी । जयन्ती, मंगलकारी, भद्रकारिणी, कपारिणी, स्वाहा सोधका नभसुत्यै सहश्र दण्डवत प्रणाम भनी पुकारिन्छ ।
ॐ नमः श्री हल (र) सिद्धि देव्यै नमस्तुते महादेवी नमस्ते, विश्वकारिणी नमस्ते, श्रेयस्तु जगतमाते सिद्धलक्ष्मी नमस्तुते । (अ ३०६)
ॐ नमः श्री हरसिद्धियै या देवी पीतवर्णखिल दुरितहरा कृष्णबर्ण राया देवी रक्तवर्णा त्रिभुवननमिता खडगहस्ता शुभास्या भद्रादयोभद्रदात्री भवभयहरणी भोगिनी भोगदात्रीता देवी नौमी नित्य सकलसुर नरैब्बदिता मुक्तदात्रि अर्थात ॐ श्री हरसिद्धिलाई नमस्कार जुन देवी पहेलो वर्णकी छँदा सारा पाप नाश गर्नेछिन्, कालो वर्णको हुँदा दुष्ट, दुःख नाश गर्नेछिन्, रातो वर्णको छँदा तिनै लोकले घेरिएकी छिन, हातमा खड्ग लिएकी राम्रो मुख भएकी, कल्याणमय भएकी, कल्याण गर्ने, संसारको भय हर्ने, भोगिनी भोग दिने, सारा देवता मनुष्यहरूले ढोगिएकी, मुक्ति दिने ती देवीलाई सधै ढोग्दछु । (अ.नं. ८९) ङ) ॐ नमःभूचण्डिकार्य त्वं ब्रम्ही त्वँ रौद्री त्वम सिच गिरिजा त्वं च देही कुमारी त्यैचक्री चक्रहस्ता घस, पुरूतखा त्व बराहस्वरूप । ऐन्द्री त्व चम्ममुशेसशवगणगते स्थिते स्वर्ग मार्गे पाता, सैवध्ववृने, हरिहरनमिते सिद्धिचण्डे नमस्ते ।।
(अ. १८९) च) श्री श्री श्री हरसिद्धि त्रिशक्तिदेव्यै नमः या शक्तिक्षपरमोष्ठिनो मधुरिपो शम्भो स्त्रिसन्ध्यासु चया वाला युवत्ती जरा त्रिगुणगाया पद्म (पदम) संस्था चया । अन्हि श्रीपुरषकृति (स्त्रिपठगी) रात्रौ तथा देवती वर्णान्च विशेषता बहुविधा शक्ति परान्नोमिता (अ २०१, २०९) अर्थातः त्रिशक्ति स्वरूपी श्री ३ हरसिद्धि देवीलाई नमस्कार जुन देवी ब्रम्हा, विष्णु र महेशकी शक्ति स्वरूपकी हुनुहुन्छ त्रिकालमा जुन देवी वालिका,युवत्ती र बृद्धा रूपकी हुनुहुन्छ जसको बर्ण पनि अनेक किसिमका हुन्छन् । त्यस्ता परमशक्तिलाई नमस्कार ।
श्री ३ भवान्यै नमः स्फुरतुषारा शुनिमात्रिनेताबृषासना सर्बसुरैकवंधा शक्ति निशुल बरपात्रविन्दु सुविभ्रति नौमिपुरारि शक्ति नामा गरूढासानस्थां तिलोचना साधक कल्पलब्ली खड्ग गदापात्र विन्दु भुजैर्दधाना बरिष्ठशक्ति भीस्फुरद्रभवर्णा विचित्रां गदाशक्ति पात्र विन्दु बधाना मयुरासनस्थां लसत्मुण्डलमाला कुमारस्यक्तिसदा वितयभि चितयामि । (अः ३६९) अर्थातः श्री श्री श्री भवानीलाई नमस्कार । चम्किला चन्द्रमाजस्ता सेतीतिन आँखा भएकी, साढेमा चढेकी, सबै देवताहरूले ढोगिएकी शक्ति त्रिशुल वरपात्र र विन्दु धारण गर्ने भएकी महादेवकी शक्तिलाई नमस्कार गर्दछु । जस्ति गरूड असानमाबसेकी, तिन आँखा भएकी साधकहरूका लागि कल्पवृक्ष जस्तो भएकी, खड्ग, गदा, पात्र र विन्दु हातमा लिएकी (देवता) की ठूली शक्तिलाई नमस्कार गर्दछु। रातो वर्ण भएकी खडग गदा शक्तिपात्र विन्दु धारण गर्ने भएकी, मयुरआसनमा बसेकी, मुण्डमाला लाएकी कुमार शक्तिलाई सधै ध्यान गर्दछु ।
ॐ नमः श्री श्री श्रीहरसिद्धि त्रिशक्ति देव्यै नमोस्तु ।। जयनित मंगलाकारीभद्रकारी (ली) कपारिणी दुर्गा क्षमा शिधात्री सवाहा स्वधा नमोस्तुते ।। (अ. २५५) अर्थातः यसरी माथिका स्तोत्रहरूबाट हामीले स्पष्ट बुझन सक्छौ कि माता श्री हरसिद्धि भवानी (देवी) एक साक्षात परब्रम्हपरमेश्वरी, महादेवी नै हुन । जोसंग आफैमा त्रिगुण (सत्व, रजो, तमो) र त्रिशक्ति (स्थिति, स्थिति, संहार) ले युक्त एव व्याप्त हुनुहुन्छ । यही कारणले गर्दा शैव,बैष्णाव,शाक्त नाथ तथा कपालिक सम्प्रदायकहरूले पनि माता श्री हरसिद्धि भवानी यस प्रकार प्रसिद्धि देवी माताको महिमा, गुण तथा हरसिद्धि नाट्य शक्तिसाधना एवं सहकाल, बर्षा कि देवी (जलदेवी) फलदायनि, दुष्ट संहार गर्ने, दावन (असुरी) संहारणी, प्राणीको रक्षा गर्ने महादेवी (बैष्णवी) भनी हेर्नु पर्नेमा कुनै अन्य देव देवता विशेषता नव दुर्गा गण मान्यहरूले कलौषित एवं द्वेष भावले हेरी, “हरसिद्धिले नर बलि लिन्छ” भनी हौवा फिजाएका छन् । यो बिल्कुलै गलत र हुँदै नभएको तर केही कमजोरी कुरालाई समाति आफ्नो कालो कर्तुत छिपाउन गरेको दुष्प्रचार मात्र हुन् ।
श्री हरसिद्धि माताका दुई बिशेषताहरू श्री हरसिद्धि भवानी (देवी) का प्रमुख दुई विशेषता दुई वटा छन् । जसमा पूजा विशेषता र देवगण पात्र विशेषता हो ।
पूजा विशेषता अन्तर्गत यहाँ माता श्री हरसिद्धिको पूजा गर्दा मूल पूजामा प्रथमत मंस र मद्यपान रहित शुद्ध पूजा हुन्छ । जसमा पञ्चामृत, नीवजी, (चिउरा, केराउ, सखर, घिउ, मह, दही गाईको दूध) रातो पुरी सहित पञ्च पकवान, फलफूल, रातो मुला, धुप, दिप, सिन्दुर, अक्षता र फूलहरू मात्र चढाइ पूजा गर्ने गरिन्छ र गर्नु पर्दछ । तर दोस्रो त्रिशक्ति देवीको तान्त्रिक शक्ति साधना पूजा अनुरूप माता श्री हरसिद्धि भवानी (देवी) लाई विशेष रूपमा ठूलो जात्रा पर्वपूजा र पन्चली भाकल पूजा गर्दा पञ्चबली चढाइन्छ । ती पञ्चवलीमा (अ) माछा (आ) भाले हाँस (वाह्य) (इ) थुम्बा (भाले भेडा) (ई) नीखर बोका (उ) राँगो गरी (नीखर) पाँच थरी बली चढाउने गरिन्छ । जुन खुन खत नभएको सिङ्ग सहित जोडा भएको मात्र हुन्छ । यहाँ कुखुरा, कुखुराको फूल चढाइदैनन् । पूजारी देवगणहरूले खान त के, छुन पनि हुन्न ।
यसरी सवभन्दा ठूलो शक्ति पूजा भनेको पञ्चवली (महावलि) भाकलपूजा हो । जसमा हरेक चिजविज पाँचपाँच प्रकारको समावेश गरिन्छ र वलि चढाइनेमा पनि माथी उल्लेख गरेका पाँच थरि वलि मात्र हुन्छ अरू निषेध र बञ्चित छ ।
पूजारी देवगणहरूको विशेषता अन्तर्गत श्री हरसिद्धि भवानी (देवी) को पूजारी देवगण पात्रहरूले सधै सेतो जामा वा धोती लाउने र भोटोमा पनि सेतो आठ तुना (अष्ट मातृका प्रतिक) बाँध्नुपर्ने मात्र पहिरन लाउने गरिन्छ । अरू वस्त्र हुँदैन । यस्तै सधैं कपाल पाल्नु पर्ने र कुखुरा, सुँगुर बंगुर इत्यादीको मासु कुखुराको अण्डा छुन पनि नहुने, खान पनि नहुने । साथै लसुन र प्याज पनि खान नहुने । यस्तै खुन खत, अपाङ्ग भएको व्यक्ति देवगणमा बस्न नपाई । श्री हरसिद्धि देवी नाच देखाउनु आठ दिन अघि देखि श्रीमतीसँग अलग सुत्नु पर्ने । यी पात्र गत विशेषताहरू हुन् । यसरी माता श्री हरसिद्धि भवानी (देवी) का देवगण पूजारी पात्रहरूको पहिरन विशुद्ध सेतो अष्ट तुना (अष्टमातृका प्रतिक) बाँध्ने सेतो भोटो, सेतो जामा वा सेतो धोती लगाउनु अनिवार्य छ । जहाँ जता जाँदा वा काम गर्दा पनि पहिरन उही सेतो कपडाको बाहेक अरू हुन्न र अरू कपडा बञ्चित छ । तर अरू देवी देवताका पूजारी देवगण पात्रहरूले विशेष पूजा पर्वहरूमा मात्र सेतो, जामा, धोती, भोटो पहिरन लाउने गरिन्छ । अरू बेलामा जे लुगाहरू र टोपी समेत लगाउन हुन्छ । जस्तै मच्छिन्द्रनाथ, संकटा, उनमन्त भैरब, स्वेतकाली, भद्रकाली र नरदेवी÷नवदुर्गा, काठमाण्डौ र किर्तिपुर, नवदुर्गा भक्तपुर, नवदुर्गा ठेचो देवी नाच किर्तिपुर बाघ भैरब नाच किर्तीपुर रूद्रायणी खोकना र पचली भैरब नाचका देवगण पूजारी तथा पात्रहरू पर्दछन् ।
यसैगरी श्री हरसिद्धि भवानी देवीलाई नरवलीको आरोप किन र कसरी लगाइएको छ भन्ने बारेमा प्रष्ट्याउने अनुमति छ भने प्रष्ट्याउँछु भन्दै थप्नुहुन्छ अभियान्ता महर्जन– माथि उल्लेख गरे अनुसार माता ॐ श्री ३ हरसिद्धि भवानी भित्र शक्तिदेवी साक्षात पवित्र देवी माता पार्वती तथा महादेवी (माहेश्वरी) तथा शिवशक्ति स्वरूपी देवी नै हुन । जुन देवी माताको सानो पूजा देखि माहापूजा (पञ्चवली पूजा) सम्मको पूजा विधान अनुसार तान्त्रिक शक्तिसाधना पूर्जा गर्दा समेत पशुवली बाहेक अरू बलि चढाउने गरिँदैन र हुँदैन, नत्र धेरैले कुखुरा नै चढाउने थिए होला । जहाँ नरवलीको त कुरै हुन्न र गरिँदैन निषेध छ ।
आजभन्दा हिजो शताब्दियौं अघि धेरै बढि आरोप यसरी लगाइन्छ कि १२ वर्षे पर्वमा हरसिद्धिको सेतो जामा लगाई, कपाल पालेका पूजारीले बच्चा वा मान्छे समाई नरवली दिन्छ भन्ने भ्रमका बारेमा बताउँदै हरसिद्धि देवताले मान्छेको भोग खान्छ । त्यसैले हरसिद्धि देवीको दर्शन र हरसिद्धि देवीनाच हेर्नु हुन्न भनी ठूलो हल्ला चलाएको पाइन्छ । यतिसम्म कि गाउँघर शहरको गल्लीसम्म आफ्ना बच्चाहरूले भनेको मानेनन् यताउता भयो भने तिमीहरूलाई अब हरसिद्धिको सेतोजामा लाउने देउतालाई दिइ पठाउने भनेर तर्साउने गरेको पनि पाइयो । यी सबै निराधार बेकामका र नियतबस् चलाइएको कपोकल्पित षड्यन्त्रपूर्ण प्रचारहरू मात्र हुन् ।
यसै सन्दर्भमा काठमाण्डौ नरदेवीमा नरवलीको प्रथा रोकका सम्बन्धमा जहाँ जहाँ नरदेवी (नवदुर्गा) देवी छन्, त्यहाँ त्यहाँ तान्त्रिक शक्ति साधना पूजामा नरवली (मान्छे भोग) दिने गरेको सुनिन्छ । यस्तै राजा प्रताप मल्लको पालामा काठमाण्डौ नरदेवीमा बलि चढाउन लगेको मान्छे राजपरिवारकै सदस्य परेको कुरा विश्वसुत्रबाट थाहा पाई राजाद्धारा रोकी, नरवली प्रथा हटाई, एक राँगो बलि चढाउने प्रथा चलाइयो । जसको लागि चाहिने पर्वपूजा खर्च सरकारले व्यहोर्ने गरियो । जुनकुरा धार्मिक एवं ऐतिहासिक तथा घटनावलिमा उल्लेख भएको बुझिन्छ । तर अन्यत्र नरदेवी मन्दिरमा यो प्रथा कायमै रहिरहेको कुरा सुन्नमा आउँछन् ।
भक्तपुर र थेचो नरदेवी (नवदुर्गा) को नरवली प्रथामा भक्तपुर थेचोको नरदेवी मन्दिरमा गत १२ वर्षे पर्वसम्म पनि यो प्रथाले निरन्तरता पाएको कुरा सुनिन्छ र बुभिन्छ, भनिन्छ भक्तपुरको नरदेवीमा हरेक बर्ष नरवली चढाइन्छ । कारण हरेक बर्ष पहिलेको देवगणका मुकुण्डोहरू तथा मुर्तीहरू भलभाष्टमिको एक हप्तापछि नव दुर्गागणको मृत्यु भयो भनी मुकुण्डोहरू र कपाल (खप्पर) को पात्र सहित मृत्यु संस्कार अनुरूप कसाई बाजा, कर्णाल, (काँवाजा) बजाई, फुकी सेतो कपडाले मोडी पहेँलो कपडाले ओढाइ बाँसमा बोकेर लगि हनुमन्ते खोला किनार माथिको मसानमा जलाइन्छ खरानी खोलामा बगाउने गरिन्छ । यस्तै चण्डेश्वरी माईको पनि हरेक वर्ष वैशाख पूर्णिमा दिन जात्रा गर्नु अघि मृत्यु भयो भनि मृत्यु संस्कार अनुरूप कसाई बाजा, काँवाजा, (कर्णाल) बजाई सेतो कपडाले मोडी बाँसमा बोकेर लगी चण्डेश्वरको घाटमा लैजाने प्रचलन छ । भक्तपुरमा दशैंको अगाडि सम्ममा पुनः उक्त मुर्तिहरू नयाँ बनाई ब्रम्हायणी मन्दिरको देव गृहमा नवरात्र बेलामा तान्त्रिक विधि विधान गरी अब स्वर्गबाट देवी देवता (नरदेवी गण) पृथ्वीमा अवतरण भयो भनी पुनः जागरण गरी दशैंको बेलामा नयाँ नर कपला पात्रो ठुलो बटुको जस्तो सहित गरी नवदुर्गा गण पात्रहरू नयाँ मुकुण्डोहरू पहिरण गरी, गाजावाजा बजाई, सिन्धुर जात्रा गरी, नवदुर्गा मन्दिरमा प्रतिस्थापन गर्ने प्रचलन छ । त्यसै लामा मुकुण्डोहरू पात्रो (खप्परको) नयाँ सेतो नै भएको देखिन्छ । खप्परको पात्रो त त्यसै आउँदैन र पाइँदैन । जसले गर्दा हो रहेछ भन्ने भान पर्नु वा विश्वास हुनु स्वाभाविक देखिन्छ । यस्तो ठुलो जात्रा पर्वको बेलामा ठेचो र भक्तपुर तथा खोकना, किर्तिपुर मच्छिन्द्रनाथ, भद्रकाली, देवगण पात्रहरूले सेता जामा सहितको चोलो लगाई हिँड्ने गरिन्छ । तर अरूबेलामा सामान्य मानिस झैं हिड्ने गरिन्छ । यहाँ बाटोमा सधैं सेतो जामा र भोटो लुगा (चोलो) लगाई हिड्ने त सबैलाई थाहा छ हरसिद्धि देवीका पूजारी पात्रहरू भनी । यसरी सेतो जामा लगाई आउने सबै हरसिद्धि देउता (गथे) ले मान्छे लिन आयो भन्ने भ्रम सृजना भयो । नेवारीमा माली तथा मालाकार थर (जात) लाई गथु (गथे) भनिन्छ तर महर्जन थर (जात) लाई भनिँदैन । श्री हरसिद्धि भवानी देवगण पात्रहरू महर्जन थरको मात्र हुन्छ, अरू हुँदैन । तसर्थ गथे भन्दैन र होइन पनि । तर नरदेवी काठमाण्डौ, नवदुर्गा, नरदेवी भक्तपुर, किर्तिपुर देवी नाच, भद्रकाली, पचली भैरब, ठेचोको नरदेवी गण, पात्रहरू (पूजारीहरू) माली तथा मालाकार थर (जात) का मात्र बस्ने गरिन्छ । जसलाई नेवारीमा गथे (गथु) भनिन्छ । यस्तै थेचो, नवदुर्गा नाच काठमाण्डौ भद्रकाली, श्वेतकाली, नवदुर्गा नाच, किर्तिपुर दलेवी नाच, बाघभैरब नाच काठमाण्डौ पचली भैरब नाचका बेलामा सेतो जामा, भोटो लगाउने तर तिनीहरू अरूबेलामा साधारण कमिज, सुरुवाल, कोट, टोपी समेत लगाई हिड्ने गरिन्छ । एक उखान, ‘खाने रामे चोट पाउने चामे’ भनेझैं मान्छे समाउन आउने तथा नरबली दिने प्रचलन भक्तपुर नरदेवी (नवदुर्गा) र थेचो नरदेवी (नवदुर्गा) स्थानमा हुने भनिन्छ र सुनिन्छ तर दोष जति सबै पवित्र माता श्री हरसिद्धि भवानी (देवी) माथी पारिरहेको छ । यस्ता प्रकारका कुप्रथा, कुसंस्कार र गलत रितीस्थिति श्री हरसिद्धि भवानी (देवी) कहाँ नरहेको र नभएको कुराहरू मान्छेहरूले अहिले बुझ्दै छन् । आफ्ना आराध्यदेवीलाई बचाउ गर्ने तर अरू कहाँको देवीदेवताको उदाङ्गो वा बदनाम गर्ने दुष्ट नियतले वा पुर्वाग्रही रूपले सुनी बुझी भनेको वा लेखको होइन । बास्तविकता सबैको सामु बोधताको निमित्त यहाँको लोकप्रिय सञ्चार माध्यममार्फत् श्रद्धालुहरुलाई सुसूचित गर्ने प्रयास गरेको हुँ भन्नुहुन्छ अभियान्ता महर्जन । हिजो जे भयो, भयो अब यस्तो प्रथा हटाउनु पर्दछ । देउता र बच्चा उस्तै उस्तै हुन्छन् भनिन्छ । तसर्थ बली चढाउनु नै परे पशुवली मात्र चढाउन अरू नगरौं वा सात्विक पूजा गरौं ।
१२ वर्षे पर्वमा देवगण पात्र बनाउन दुईजना नावालक लिने प्रचलन र एक कलौषित पूर्ण दोषको अन्त्य ः ॐ श्री ३ हरसिद्धि भवानी (देवी) माताको देवगण पूजारी पात्र भर्ना प्रत्येक १२ वर्षे पर्वमा एकपल्ट मात्र गरिन्छ, जहिले पायो त्यहिले भर्ती गर्न पाइँदैन र हुँदैन । यो पनि पहिले रहेका भएका देवगणपात्रहरू मध्ये कोहीको मृत्यु भएमा सोको ठाउँमा नयाँ भर्ती गर्न उसैको जेठा छोरा तथा नाती लिने गरिन्छ । यसरी लिँदा सकभर दाँत नझरेको, त्यो पनि नभएमा नाबालक व्रतबन्ध नगरेको त्यो पनि भएमा भाईभतिजा पट्टीको नावालक छोरा नाती बस्न मन्जुर गरेमा भर्ना लिनुपर्छ । यसरी श्री हरसिद्धि भवानी (देवी) को १२ वर्षे सिद्धिडङ् (सिद्धि साधना) पर्वमा उक्त दुई नावालकहरू लिनुको कारण “जीचामचा” भन्ने सवभन्दा कान्छो कुमार केटा देवगण पात्रमा नयाँ भर्नाको निम्ती लिने गरिन्छ न त अरूको लागि हो । यती मात्र होइन कि यस १२ वर्षे सिद्धि साधना पर्वको बेलामा एक महिना मन्दिरको ढोका बन्द गरिन्छ । देवगण सबै पात्रहरू मन्दिर परिसरको सतलमा बास बस्नु पर्दछ । घरमा सुत्न पाइँदैन र हुँदैन । यही ढोका बन्दको क्रममा पहिलो ४ दिनमा कान्छो नाबालख जसले दायाँ एक खापा मात्र खोली अन्य ४ जना मूल देवगण पात्रहरू सहित देवगृहमा गई देवी मातालाई पूजा अर्चना गरिन्छ । फेरी अर्को ४ दिनमा जेठो नाबालक पात्रले बायाँको एक मात्र खापा खोली भित्र ४ मुल देवगण सहितले देखी माताको पूजा अर्चना गरिन्छ । यसपछि मात्र अन्य देव गणहरूले देवीको दर्शन गर्न सकिन्छ । तर दुनियाँलाई भने एक महिनासम्म पूजा दर्शन बन्द नै गरिन्छ । यसै पर्वमा मात्र मृत्यु भएका देवगण पात्र (पूजारी) को सट्टामा तिनकै सन्तान जेठो छोरा वा अन्य पनि भर्ना गरिन्छ । अरू बेलामा हुँदैन । उक्त दुई नाबालक बच्चा लिने (राख्ने) देवगण पात्रहरूलाई जिचामचा बनाउनलाई हो न त वलिको लागि ! यसरी साना बालक तथा कन्या कुमारीहरूले प्रथम गणमा देवी देवताहरूको पूजा अर्चना गर्नाले देवी देवताहरू प्रसन्न हुने गर्छ भन्ने जन विश्वास र प्रचलन अहिलेसम्म पनि अन्य देवदेवीहरुको पूजामा चलिआएको छ ।
यसै क्रममा आज भन्दा झण्डै ८१ बर्ष (वि.सं. १९९४) साल ताका नाबालक नारायणी (जिचा) महर्जनको पिता बस्न नहुने हुँदा निज नाबालकलाई देवगण पात्र बनाउन यिनले निधो भएको रहेछ । यसरी भर्ती भएको नयाँ पात्रले १२ वर्षे पर्वको बेलामा देवगृह स्थलमा अरू पात्रगण सित ३ महिना बास बसी भक्ति भाव पूजा अर्चना नियमित गरी, दीक्षा लिई नाच गाना, देव भाषा, साथै वाद्यवादन समेत सिक्ने गरिन्छ । तर एउटा राम्रो उल्टो छ । नयाँ भर्ना भएका देवगण पात्रले सबैलाई गुरू सम्मान साथ ठूलो भोज खुवाउनुपर्ने जसको लागि पैसा व्यहार्न नसकी हम्मे हम्मे पर्ने र ऋण लिंदा पनि चर्को व्याज प्रथाले झनै कष्टकर हुने स्थिति करिब भुमिसुधार लागुहुनु अघिसम्म रहि रह्यो । हुन त यस्तो स्थिति अझै तराई र दुर्गम पहाडी जिल्लामा छँदैछ । तसर्थ देउता (देवगण पात्र) नबनाउने नियतले मावली घर ल.पु. ठेचो गाउँमा उक्त नावालक नारायण (जिचा) महर्जनलाई लुकाउन लगिराखेको विश्वसुत्रबाट थाहा पाई केही देवगणहरू सहित बाबुचाहिँलाई लिएर गई भेट्न थेचो पुग्दा ठूलो हल्लिखलि नै भयो । त्यसमा पनि सेतो जामा लगाएका, कपाल पालेका सुँगा पालेका जुन हेर्दैमा डरलाग्दो देखिने देवगण पात्रहरूको उपस्थिति हुने कारणले सर्वसाधारणमा सन्त्रास फैलिनु स्वभाविक हो । थेचोका नरदेवी भक्तहरूले बच्चा समात्न मान्छे लिन हरसिद्धि देउताहरू आयो भनी हंगामा मात्र मच्चाएनन् पुलिस समेत बोलाई समाउन लगाउने प्रयास भएको समेत अध्ययनमा पाइन्छ । कारण हुन सक्छ उनीहरूलाई आफ्नो कर्तुत लुकाई नरवलीको द्धेष हरसिद्धिलाई नै थोपार्न चाहन्छन् र आफ्नो गाउँलाई लाग्ने कलंकबाट बचाउन यस्तो बाहाना गर्ने, यो ठूलो अवसर पनि थियो । तब प्रहरीको सामुन्ने बाबुचाहिँको उपस्थितीमा बल्लतल्ल अनेक तरहले सम्झाई बाबु कै रोहवरमा उक्त बालकलाई हरिसिद्धिमा ल्याई देवगण पात्रमा भर्ती गरेको भन्ने कुरा, स्वयं नारायण (जिचा) ले उक्त आफ्नो बारे २०५४ साल ताकाको १२ वर्षे पर्वको सन्दर्भमा सुनाउनु भएको थियो । साथै यसो पनि भन्नु भयो, अहिले जस्तो बुद्धि भए उफ्रेर बस्थे, सबैले मान्ने, ढोग्ने र देउता भनी रमाउन र ईश्वरको सेवा गर्न पनि पाइने । ईश्वरको सेवा गर्न किन नबस्ने ?’ तर यसो हुनुको कारण आर्थिक अभावले गर्दा नै हो । साथै अशिक्षा पनि हो । त्यति बेला मृत्यु संस्कार गुठी लगायत अन्य गुठीहरूमा पनि पालो खेप्नु पर्दा मान्छे भाग्ने हुँदा यस्ता कुरा नाइके, चितैदार र कोषाध्यक्ष (मारः) विच गोप्य राखी, गुठी बस्ने बेलामा पालो दिन केही समय अघिमात्र जनाउ दिई जिम्मा लगाउने प्रचलन रहेको हामीलाई थाहा छ । तर अहिले १ वर्ष अगाडि देखि नै थाहा दिन्छ र हुन्छ । साथै पालो थाप्नु पर्छ भन्ने सचेतना र ज्ञान शिक्षाबाटै पाएको हुँदा समस्या अब रहेन ।
गर्भवती महिलाले हरसिद्धि नाच हेर्नु हुन्न भन्ने भ्रमलाई चिर्नको लागि केही कुराहरु राख्र्नैपर्ने हुन्छ । त्यसका लागि मैले अध्ययनबाट प्राप्त गरेका केही वाणीहरु राख्ने कोसिस गरेको छु भन्नुहुन्छ अभियान्ता महर्जन– श्री हरसिद्धिको नाच हेर्ने र दर्शन गर्न जाँदा, गर्भवती महिलाको बच्चा तुहीन्छ र हेर्न आएका बच्चा समाई भोग दिन्छु भन्ने कुरा असत्य एवं कपोकल्पित पूर्वाग्राही आस्थाप्रतिको षड्यन्त्रमुलक एक झुठको खेती हो । जो मान्छेहरू हुन सक्छ नवदुर्गा भक्तहरू वा पश्चिमा संस्कृति मान्नेहरू माता हरसिद्धि देवी नाच नल्याओस् र नदेखाओस् भन्ने चाहन्छन् । यदि यस्तो कुरा सत्य हो भने त ललितपुर हरिसिद्धि गाउँमा त बच्चाहरू नै हुँदैनन् र नाच जात्रा पनि चल्दैनन् । अहिले हरेक १२ वर्षमा धुलिखेल, पनौती, पशुपति जहाँ जहाँ मात्र श्री हरसिद्धि भवानी सहित हरसिद्धि नाच लिने गरेकोबाट त्यहाँका जनतामा प्रष्ट भईसकेको छ कि यस्ता केही खराबी काम हुँदैन । कारण माता श्री हरसिद्धि भवानी त्रिशक्तिदेवी भनेको साक्षाता देश र जनताको रक्षा गर्ने, दुष्ट दावनको नाश गर्ने, प्राणीहरू विशेषतः मानवको कल्याण गर्ने, भुक्ति मुक्ति फल दिने, जलवृष्टि गरी देशमा सहकालको सृजना गर्ने करूणामयी, मनोकांक्षा पुरा गर्ने (फलदायनी) विध्नबाधा नष्ट गर्ने संकष्ट हरण गर्ने, दुःख कष्ट नाश गर्ने, सुख, शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिमा साथ दिने हुँदा जो कोहीले पूजा भाव गर्ने इच्छा गर्दा सकभर छिट्टै गर्ने र कुनै कारणबस ढिला भएमा, केही भूल भएमा अरू केही नभएपनि २ गेडा अक्षता फूल चढाई दर्शन गर्ने वा टाढा भईरहेमा त्यहीबाट क्षमा माग्ने गर्दा पनि करूणा भावले शान्त रहनु हुन्छ । तर कठोर त्यस्ता व्यक्तिसंग हुन्छ जसले माता हरसिद्धिप्रति दुराग्रह मनोवृतिले हेर्छ र काम गर्छ वा देवताको सम्पती चोरीचकारी गर्छ, अपमान गर्छ, त्यस्ताको ठूलो क्षति (नाश) गर्न अत्यन्त क्रोधित एवं प्रलयकारी शक्ति भएको मानिन्छ । यदि देवगणपात्र पूजारीहरूले खानमा लसुन, कुखुरा मासु वा अण्डा आदिको छ्यासमिस भएको खानेकुरा थाहा नपाई नपाई खाँदा पनी वहाँहरूलाई असञ्चो वा जीउमा चिलाएको जस्तो टोके जस्तो हुने गर्दछ र तुरून्त नुहाउनुपर्ने हुन्छ र क्षमा माग्ने गरिन्छ । तर जानाजान नहुने चिजवीज खाएमा वा देवी माताका पैसा, सामानको लोभ गरेमा, चोरी चकारी गरेमा त्यस्तो व्यक्ति वा पूजारीहरूको क्षय हुने देखि ठूलो रोग ठुलो चोटपटक, परिवारमा विमेल (दण्डित) हुने र नाश हुने गर्छ । देउताको मुर्ति चोर्ने जस्तालाई एकातिर मुर्ति बेच्नै सकेन भने अर्कोतिर मुर्ति फाल्न ल्याउँदा पनि रगत छादी छादी मृत्यु समेत हुनु परेको र क्षमापूजा जति दिए पनि शान्ति नभई कोप भई देवीको द्धेष क्षेम्य नभई अन्त्वगत्वा अन्त्य हुने कुरा पनि प्रष्ट रुपमा भोग्दै आएका छौं । तसर्थ माता श्री हरसिद्धि भवानी त्रिशक्ति देवीको सच्चा हृदयले सेवा गर्नु राम्रो हुन्छ । काम विशेषले टाढा हुँदा वा यात्रा गर्दा तथा काम कार्यहरू गर्दा सकिन्छ अघि नै पूजा भाव गरौं, नसके प्रभुलाई हृदय देखि सुस्मरण गरी दुई हातले दण्डवत प्रणाम गरी आफ्नो काम गर्दा वा लाग्दा शुभ नै हुन्छ खराब हुँदैन । तर मनमा क्लेश तथा संकोच नराखी दिल खोलेर गरौं श्री हरसिद्धि माताले सधै भक्तको रक्षा र दुष्ट दुराचारीको नाश गर्दछ । आजसम्म हरिसिद्धि गाउँमा खान नपाएका मान्छेहरू छैनन् । यस्तै धुलिखेलका हरसिद्धि माताका भक्तहरूमा पनि व्यापार व्यवसायहरूको उत्तरोत्तर प्रगति एवं प्रवद्र्धन भईरहेको देख्न सुन्न पाउँदा आफुलाई गर्व लागेको बताउनुहुन्छ अभियान्ता महर्जन ।
यसै सन्दर्भमा अहिले ॐ श्री हरसिद्धि माताको भक्तहरू मध्येको माकजु, देवाजु, तुसुजु, विज्जु परिवारहरूको ठूलो समुदाय (समाज) ले जुन निष्ठा भक्तिपुर्ण पूजा भाव गरी, माताको देव मन्दिरमा राम्रो गर्नलाई ठूलो आर्थिक र कम सहयोग समेत गरिने हुँदा यसतर्फ विभेदकारी व्यवहार नदेखाउन सम्बन्धित पक्षसँग आग्रह छ भन्नुहुन्छ अभियान्ता महर्जन । उहाँको थप कथन थियो– श्री हरसिद्धि भवानी (देवी) का भक्तहरू स्व. अध्यक्ष विष्णुदास स्याउला, सुरेश सैजु, पुरूषोतम श्रेष्ठ लगायत पनौतीवासी सबैलाई धेरै धन्यवाद एवं कृतज्ञाता ज्ञापन गर्दछु । श्री हरसिद्धि भवानीले आर्शिवाद एवं साथ सहयोग प्रदान गरी दियोस भनी हार्दिक कामना गर्दछु । साथै हामी सबैले माता श्री हरसिद्धि भवानी (देवी) को सधै सेवा पूजा भाव गर्न सकौं भन्दै हरिसिद्धि जात्रा सम्बन्धी सविस्तार राख्ने अवसर जुटाइदिनुभएकोमा प्रभातफेरी अनलाइन र प्रभातफेरी साप्ताहिकप्रति आभार व्यक्त गर्दछु भन्नुभएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन जात्रा व्यवस्थापन समितिका सचिव राजाराम कर्माचार्यले गर्नुभएको थियो । पनौतीमा आगामी २०७८ साल चैतमा हरिसिद्धि जात्रा मनाइने जानकारी पनि कार्यक्रममा दिइएको थियो । तस्वीर सौजन्य ः प्रशान्त श्रेष्ठ, पनौती
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |