रचना मोक्तान
काभ्रे | हिजो सुनकोशी जस्तै निरन्तर बगेको अनि आज खहरे झैं एकाएक सुकेको क्रान्तिको कुरा गर्दैछु । महान जनयुद्धको कुरा गर्दैछु । बिर्सेर बिर्सनै नसकिने अाँधीमय तुफानी क्रान्तिकारी योद्धाहरूको कथा व्यथा कोर्दैछु । यही बेला हिजो क्रान्ति र परिवर्तनको निम्ति नेतृत्व गरेका नेता कमान्डर अनि योद्धाहरु सम्झिदै छु । जनयुद्धको सफल असफल घटनाक्रम हजार पटक दोहोर्याउँदै आएको छु । नमरुन्जेल दोहोर्याउने कोशिश गर्नेछु । वीरता , बलिदान र क्रान्तिको इतिहासलाई हामीले दोहोर्याएन भने उज्यालोमा अँध्यारो विलिन भए झै हाम्रो इतिहासलाई पनि वर्तमान साम्राज्यले खर्लप्पै निल्नेछ । इतिहास नामेट हुनु भनेको हामी जीउँदा सहिदहरु पनि मर्नु सरह हो । मैले यसो भनी रहदा क्रान्ति सकेको छैन भन्ने पनि लाग्न सक्ला । म फेरि भन्छु युद्ध र क्रान्तिले स्वरुप फेरेको मात्र हो क्रान्ती सकिएको अवस्य हैन र क्रान्ती कहिल्यै अन्त्य हुँदैन पनि । हरेक परिवर्तनमा क्रान्तिको ठूलो भूमिका छ । माओवादी जनयुद्ध यतिबेला विगतको गम्भीर कमजोरीबाट पाठ सिक्दै अझ भनौ एमाले २०७५ सालमा फर्किए झैं माओवादी नेतृत्व बीच एकता भै २०६४ सालमा फर्किएर अगाडि बढ्न सकोस् भन्ने शुभेच्छा छ । शुभकामना छ । काँक्रो झैँ चिरिएर चिरा-चिरामा विभाजन भएको हिजोको ठूलो दल माओवादी केन्द्र आज आफ्नै कारण मरिच झैं चाउरिन पुगेको छ । स्पष्ट नीति, दीर्घकालीन कार्यदिशा, टुटफुट र खण्डित अवस्थलाई एकीकृत बनाएर अगाडि बढेमा / बढ्न सकेमा आज यो संस्मरण लेखी रहेको लेखक अझ भनौ पूर्व जनमुक्ति सेना अझै बाँकी रगत पोखाउन तयार छ । हिजो दुश्मनले कंचटमा गोली ताक्दा पनि विचलित नभएको योद्धाको कसम । अविचलित योद्धाले वाचा गर्छ । सधै माओवादी जनयुद्धको कुरा गरिरहदा धेरैले भन्लान् अनावश्यक बकवास । देख्नेले दास मनोवृत्ति देखून । प्रचण्डको झोले सोचे पनि सोचून । हिजो हामी स्कुल छाडेर युद्ध लडिरहँदा कुनै दुलोमा लुकि बस्नेहरु आज माओवादी हुँ भन्दै खदा लाई भाषण गर्नेहरुलाई । अनि क्रान्तिको लागि ठूलो योगदान गर्यो भनेर चुरिफुरी देखाउनेहरुलाई झस्काउनको लागि पनि लेख्दै छु। दोस्रो कुरा भावी पुस्ताको लागि पनि लेख्नुपर्छ । युद्धमा बिताएको कठिन दिनहरुको स्मृति पाना पल्टाउदै गर्दा कतिपय घट्नाक्रम लेख्दै जाँदा सहयोद्धाहरू सम्झिदै जाँदा आँसुका थोपाहरु खसेर लेखीरहेको कपि भिजेर अक्षर लतपतिएको हुन्छ । लेख्न नसकी रोकेका यी हातका औंलाहरूलाई जबर्जस्ति निर्देश गरिरहनु पर्छ । आँसुले पोतिएका अक्षरहरू कोरिरहनुपर्छ ।
२०५९ साल जेठ ७ गते घर छोडी क्रान्तिमा भूमिगत भएपछि शैलुङ, तेमाल ,म्हाभर, सुनकोसीको तिरैतिर जनबस्तिमा जनताकै न्यानो मायामा रमाउँदै आफ्नो किशोर अवस्थालाई पार गरेँ । (सानै उमेरमा भूमिगत हुनुपर्दाको बाध्यात्मक समय परिस्थिति कुनै दिन उल्लेख गर्दै गरुँला । ती बाध्यताहरू पनि अत्यन्तै मर्मस्पर्शी छन।) किशोर अवस्थाको रहरहरुलाई एकाएक तिलान्जली दिंदै राज्य व्यवस्था फेर्ने जातीय र लिङ्गीय विभेदलाई सदाको लागि अन्त्य गरी समतामूलक समाज निर्माणको सपना बोक्दै अघि बढीरहें । सहयोद्धाहरुसँगै पाइला चालिरहें । म २०५८ सालमै अनेरास्ववियू (क्रान्तिकारी) काभ्रे ८ नम्बर इलाकाको इलाका अध्यक्ष भइसकेको थिएँ । राजनीतिक जीवनको शुरूवात विद्यार्थी सङ्गठनबाट भयो । बिस्तारै पार्टीले दिएको हर जिम्मेवारी पूरा गर्नमा तल्लिन रहेँ। यो भन्दा अघिल्लो संस्मरणमा मैले कार्यक्षेत्र फेरबदलको कुरा गरेको थिएँ । आज म त्यही नयाँ कार्य क्षेत्रमा आएपछिको एउटा कहालीलाग्दो घटना विवरण सुनाउदैछु । कुरो ०६१ साल चैत्र ८ गतेको हो । हाम्रो कार्यक्षेत्र महांकाल चौर, च्यासिङखर्क, ढुङखर्क, चलाल गणेशस्थान, भुमिडाँडा हुँदै कुसादेवी रयालेसम्मको ठूलो भूगोल रहेको थियो । सदरमुकाम नजिकको गा.वि.स.हरु । सुरक्षाको हिसाबले चुनौतीपूर्ण । साह्रै चनाखो हुनुपर्ने । सुरक्षामा अत्यन्तै ध्यान दिनुपर्ने । हामीसँग भएको सीमित हातहतियारले आइपरेको खण्डमा शाही सेनासङ्ग भिड्नुपर्ने । प्रतिरोध नगरी आफ्नो सुरक्षा र जनताको सुरक्षा पनि नहुने । सङ्गठन निर्माण तथा विस्तारको शिलशिलामा कामीडाँबाट कुशादेवी रयालेमा जानुपर्ने भयो । इलाका इन्चार्ज क. शिशिर, क. वाङ्गेल, क. कमल, क. उषा लगायतको टोलीसँग बिदा भइ क. द्वारिका बा (जो उमेरले त्यतिबेला ४८ वर्षको हुनुहुन्थ्यो । तर क्रान्तिप्रति असाध्यै समर्पित हुनुहुन्थ्यो ।) र म च्याल्टी, महाङकाल, पार्थली हुँदै कुशादेवीको रुट प्रयोग गर्ने निर्णय गर्यौं । यसरी हिंड्दै जाँदा महाङ्काल पुगेपछि शाही सेना पनौतिबाट अघि बढ्यो भन्ने जानकारी पायौं । तैपनि जङ्गलको बाटो हुँदै जसरी पनि पुग्नुपर्ने नै थियो । लेक लेक हुँदै जङ्गलको बाटो गयो भने सुरक्षित हुने आशाले हामीले गाउँलाई छोडी जङ्गलको बाटो लाग्यौं । चैतमास पात झरेर खङ्ग्रङ्ग सुकेका बोटहरु । रुखहरू, बुट्यानहरू । बाटो तलमाथि खस्रुको रुखहरुले जङ्गल जसोतसो हल्का हरियो देख्न सकिन्थ्यो । पार्थली डाँडाबाट अमिलो चौरको बाटो समात्यौं । झोलामा केही प्याकेट चाउचाउ र बिस्कुट पानीको बोतल । यात्रामा खानपिनको ठेगाना नहुँदा खाना त्यही थियो । त्यस्तै बिहानको एघार बजेको हुनुपर्छ हामीले अमिलो चौरमा निस्कने बाटो रोज्यौं । अमिलोचौर भूमी डाँडाको नजिक पर्ने ठाउँ हो । भूमीडाँडामा सात जना योद्धाहरुले सेल्टर लिइ बसेको बेला शाहीसेनाले घेरा हाली सामूहिक हत्या गरेको चर्चित ठाउँ पनि हो । त्यहीँ नजिक छ अमिलोचौर। सानो चौर झ्यप्प सल्लाको बोटहरु सुर्यको किरन छिर्न पनि नसक्ने शितलो ठाउँ । त्यहीँ पुगेर खाजा खाने सल्लाह गर्यौं । क. द्वारिका बा र मैले । अमिलोचौर अगाडिबाट छ्याङ्गै देख्न नसकिने प्रकृतिले लुकाएर राखेको सुन्दर ठाउँ । अलिकती घुमाउरो बाटो हिंडेपछि मात्र चौर देखिने । अमिलोचौर निस्किनै लागेको थियो । बाटो साँघुरो र तेर्सो परेको थियो । उहाँ अघि अघि अनि म पछि पछि हिड्दै थियौं । एक्कासि उहाँ रोकिनु भो । पछाडि नफर्की हातले रोक्नु भन्ने इसारा गर्नु भो। यतिकैमा फायर भयो ड्याम्म …. हवाई फायर हो या के हो ? छुट्याउन सकिएन । त्यसपछि समा समा… भन्ने आवाज आयो । हामी एक्कासि सरप्राईजमा पर्यौं । उहाँ कता हाम फाल्नु भो पत्तै भएन। म फनक्क फर्किएँ । पछाडिबाट शाहीसेनाले छोप्दै, लखेट्दै आयो। बाटो छोडेर भिरतिर हाम फालेँ । जुन सुकै रुखको हाँगामा समाए पनि हाँगा भाँचिदै गयो । म पनि भकुण्डो जस्तै झर्दै घुकुती खेल्दै गएँ । सुकेर झरेको सल्लाको पात उस्तै चिप्लो । एक दुई चोटि गोली पड्केको पनि कानले नसुनेको हैन । एकोहोरो गुल्टीरहें । घुकुती खेल्दै दौडीरहेँ । मसँगसँगै रुखका हाँगा र ढुंगाहरू पनि बल्ड्याङ खाँदै तल तल झरिरहे । बल्लतल्ल एउटा रुखमा अड्किएँ । अलि तल आमाहरू तोरी उखेली रहेको देखें । म ती आमाहरुलाई समेत छल्दै दौडिएँ । शाही सेनाले बाजले चराको बचेरालाई खेदे झैं पछिपछि खेद्दै खेद्दै आइरहेको थियो । एकोहोरो उनीहरुले ” रन्डिको छोरी भाग्यो । समात समात । रन्डिलाइ समात।” भनीरहेका थिए । म फेरि एउटा खोल्सामा हाम फाले । अर्को खोल्सा तेस्तै छ फिट जतिको गहिरो थियो त्यहाँ हाम फाले । फेरि अर्को खोल्सो आयो । त्यो खोल्सो धेरै गहिरो भएकोले हाम फाल्न आँट आएन । अझ भनौं त्यो वर्खामा झरिरहने झरना नै हो । सकि नसकी खोल्सीबाट रुखको जरा समातेर भित्ता चढें । अनि झ्याप्प परेको ऐसेलु घारीभित्र लुसुक्क छिरें । हत्तपत्त बाहिरबाट त्यहा देख्न सकिँदैन थियो । त्यहाँबाट बाहिरी गतिविधि नियाल्न सकिन्थ्यो। बिस्तारै लामो स्वास फेरें । अब बाँचियो झैं लाग्यो । खुट्टामा चप्पल छैन ।झोला कता छुट्यो थाहा छैन । कुर्था साइडको भाग हुँदै च्यातेर काखी मुनि पुगि सकेछ । ठोकेर, लडेर काँडाले कोतारेर घुँडा, खुट्टाका पैताला, हाततिरबाट रगत तप तप चुहिदै रहेछ । त्रासको बेला दुखाइ पनि थाहा नहुने । शरीरभरि घाउ हुँदा पनि दुखेन । फेरि घारी भित्रबाट शाही सेनाको पदचाप सुनें । गुनगुन आवाज कानैमा ठोकिन आइपुग्यो । आफूतिरै आए जस्तो लाग्यो । “रन्डी यता कतै हुनुपर्छ यहाँबाट भागेको छैन। गोली ठोक अन्धाधुन्ध ।” एउटाले भन्यो। “हुन्न नदेखिकन गोलि नठोकौं ।” अर्को बोल्यो । त्यतिबेला मलाई अब मरिने नै रहेछ क्यारे भन्ने लाग्यो । शाही सेनाले यताउता खोजीरहेको दृष्य हेरिरहें । सास दवाएर बसें । करिब १५/२० मिनेट पछि शाही सेना फर्कियो । कतै पनि शाही सेनाको हल्लीखल्ली नसुनेपछी बिस्तारै निस्किएँ । बल्ल बाँचियो भन्ने लाग्यो । आखिर मरे पनि मर्नै पर्थ्यो । महिलाहरूको मृत्यु त झन दर्दनाक हुन्थ्यो । किनकि महिलाहरू दुश्मनको कब्जामा परेपछि बलात्कारको पीडादायिक यातनाको कोर्स पूरा गरेर मात्र गोली खानुपर्थ्यो । जिन्दगीका यी दर्दनाक अनुभवहरु हुन ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |