रचना मोक्तान यात्री
यसपाली वर्षा ऋतुको पूर्वसन्ध्यामा नै मनसुनी वर्षा शुरु भयो । यसै मनसुनी वर्षाले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुमा विनाशकारी आतंक मच्चाएर मानव बस्ती र धनजनको ठूलो क्षति पु¥यायो । यति हुँदाहुँदै पनि वर्षाको कारण उजाड पाखा पखेराहरु हरियालीमा परिणत हुँदैछ । पहिले पहिले झैं वर्षा ऋतुमा मन रम्न सकेको छैन । रम्न नसकेको मनबाट विगतलाई वर्तमानको आँखी झ्यालबाटै चिहाएर शान्त हुन खोज्छु । हरिया जङ्गल अनि हरिया पाखा पखेरा देख्दा मलाई म्हाभर र शैलुङको गहिरो यादले सताउछ । लकडाउनका यी अभिशप्त दिनहरूमा खुब शैलुङ र म्हाभरको यादले सतायो । बेंसीमा जन्मेकी म्हेन्दो लेकको जुकासँग खुबै डराएँ । शुरु शुरुमा तर्सेर तरक्क आँसु झार्थेँ । सहयोद्धाको अथाह माया र स्नेहले जुकासँग बिस्तारै डराउन छाडे । यतिबेला म राजधानीमा छु । तर मेरो दिमाग र दिल उही शैलुङ र म्हाभरमा परेड खेल्न पुगिरहेको छ । कोरोनाले मलाई बन्द कोठामा थुनेर राखेको छ । तर मन उडेर संसार विचरण गर्दै हिंडिरहेको छ शरीरलाई छोडेर । दिन बिताउन कठिन अवस्थामा सामाजिक सन्जालतिर आँखा डुलाउछु । यही बेला चुनु शिल्पा साँस्कृतिक टोलीको सदस्य नुवाकोटे पूजा श्रेष्ठ बहिनीले एउटा लिङ्क सेन्ट गरी दिन्छिन् । खोलेर हेर्छु । खोल्ने बित्तिकै गीत बज्छ “यात्रा हाम्रो लामो छ है हिँडौ साथी नथाकेर । नझुक्ने ती हिमाल जस्तै हिँडौ साथी नझुकेर ।” गीत सँगै अनुहार चिने चिने कहाँ देखेँ देखेँ जस्तो लाग्यो । अनि सम्झें चौध पन्ध्र वर्ष अघि कतै भेटेको प्रिय कलाकार सामाना परिवारको जादुमय आवाजको धनी बहुप्रतिभाशाली कलाकार मोहित श्रेष्ठ र सीता आचार्यलाई । यो भन्दा अगाडि म मोहित श्रेष्ठ जो मेरो प्रिय कलाकार दाइसँग सामाजिक सन्जालमा जोडिन सकेको थिएन । जोड्न पाउने कुरोले गदगद भएँ । अनि उक्त गीतमा प्रतिक्रिया दिए। “प्रिय कलाकार कमरेड मलाई मिल्छ भने फेसबुकमा साथी बनाउनुस है । तपाईं र मेरो जीवन भोगाइ एउटै हो ।” उक्त युटुब च्यानलमा रहेको गीत, भिडियो र अपेराहरुले मलाई भीषण युद्धका क्षणतिर पु¥यायो । यसरी नै जनयुद्धबाट बाँचेका योद्धाहरुलाई देख्छु । मैले चिनेको सँगै सहकार्य गरेको अधिकांश योद्धाहरु पराइभूमिमा पसिना बगाइरहेको देख्छु । त्यसमा पनि खाडी मूलुकमा धेरै जसो । यी सहयोद्धाहरुलाई देख्दा युद्धका समयको सम्झनाले पिरोलिरहन्छ । त्यतिबेलाको सामूहिक हित र श्रमको नारा कता पुग्यो ? भन्ने लाग्छ । म अहिले पनि राम्रोसँग निदाउन सक्दिन । दुश्मनसँग भिडन्त गरेको । दुश्मनले लखेटेको । घेराबन्दीमा परेको । सहयोद्धाहरु ढलेको । यस्तै यस्तै सपनाहरुले हर रात ऐठन गर्छ । प्रायः यी सपनाहरुले पिरोल्न छाडेको छैन । कोसँग मनको बह पोखौ हुन्छ ! अनि रोजिरोटीको निम्ति विदेश पुगेका साथीहरूसँग मनको औडाहा पोख्न पुग्छु । नेपालमै रोजीरोटीको निम्ति मरिमेटेर लागिरहेको सहयोद्धाहरुसँग भलाकुसारी गरेर मन भुलाउछु । सामना परिवारको प्रिय कलाकार मोहित श्रेष्ठ र जनवादी गायिका निर्मला घिसिङलाई सुन्छु र भलाकुसारी गर्छु । पढ्छु जानुका धमला र डम्बर थामी “अनुपम” लाई (जो युद्दको बेला दुबैजना मेरा कमान्डर थिए) । साथमा कवि कल्पना चिलवाल र गजुरी ब्यारेक ब्रेकर दाजु राजु क्षेत्रीलाई । यति मात्र हैन युद्धकालिन समयको रेडियो गणतन्त्रका कार्यक्रम प्रस्तोता दिदी सङ्गिता खड्का, दाजु सन्तोष पौडेल र चन्द्रमान श्रेष्ठलाई । करिब चौध पन्ध्र वर्ष अघिदेखिकै मेरा सहयोद्धा मात्र नभएर युद्धको अभिभावकहरु पनि हुन् । उनीहरू पनि अहिले पेट पाल्नको निम्ति एउटा न एउटा पेशा अंगालीरहेका छन् । यही प्रतिनिधि पात्रहरुसँग जब बोल्छु तब मलाई विगत पटक पटक दोहो¥याउन मन लाग्छ । जनयुद्धको समय कठिन अवस्था थियो । किशोर अवस्था, त्रासाद समय, कडा अनुशासन र चेन अफ कमान्डले बाँधिएको जिन्दगी । बहादुर हुन मन लाग्थ्यो । ती क्षण सम्झिँदा नि अनौठो लाग्छ । घरिघरि सम्झेर पनि धित नमर्ने खालको । जीवन र संघर्षलाई वर्तमानको आँखाबाट हेरिरहन्छु । अझ भनौ जनयुद्धको इतिहासलाई । म विगतलाई कोट्याइरहन्छु । कोट्याउने दुस्साहस गर्छु तैपनि अर्थ देख्दिन। अर्थ देख्दिन भन्ने थाहा हुँदाहुँदै पनि लेखीरहन्छु । अर्थ देख्दिन भनी लेख्न चटक्क छोड्न सक्दिन। आत्म सन्तुष्टिको लागि भएपनि लेखीरहन्छु । बोलिरहन्छु । मेरो लेखनलाई अनि जनयुद्धको इतिहासलाई बजारले मापन गरोस या नगरोस चिन्ताको विषय लाग्दैन । जे देखेर आएँ, जे भोगेर आएँ, जसरी लडेर आएँ आज म त्यसैलाई ऐतिहासिक स्मरणको रुपमा फर्केर हेर्दैछु । अनि नाफाको जिन्दगीसँग तीखो प्रश्न गर्छु तैले लडेर ल्याएको गणतन्त्रले र फेरिएको व्यवस्थाले आज तँलाई चिन्छ त ? हिजोको तिम्रो नेतृत्वले आज तँसँग बातचित गर्छ त ?
म निरुत्तरित छु । मौन छु । मौनतामा बस्नु पनि एक खालको पीडामा डुब्नु हो । मौनता भित्रको दर्द प्रश्नहरुको पनि प्रश्न जसको उत्तर पाउँदिन । त्यही बेला छट्पटाहट शुरु हुन्छ । मनको छट्पटी शान्त पार्नको निम्ति म पूर्व सहयोद्धाहरुसँग अन्तर सम्वाद गर्छु । सबैलाई म जस्तै छट्पटीमा भेट्छु । मैले जनयुद्धलाई दन्त्य कथामा सुनेर आएको हैन। चलचित्रमा हेरेर अनुभव गरेको हैन। सागरको किनारमा बसि गहिराइ नापेको थिएन । म त युद्ध भोगेर देखेर र लडेर आएका योद्धा हुँ । मैले यसो भनीरहँदा पाठक र कतिपय लेखकलाई लाग्न सक्ला अनावश्यक बकवास । खासमा केही छैन जीवन भोगाइ र अनुभूति हो । वर्तमान समयमा देशको राजनीतिक अवस्था देख्दा पीडा हुन्छ । त्यो बेला त पीडाको महशुस गर्ने फुर्सदै भएन । पीडामा दुख्यो भनेर घाउ सुमसुम्याएर बस्ने फुर्सदै कहाँ थियो र ? सानै उमेरदेखि यस्तै भोगेर आएँ । आज तुलना गरेर हेर्छु । हिजोको सहयोद्धा र आजको सहयोद्धाहरुलाई निकै फरक पाउछु । उसो त समय अनुसार परिवर्तन भै हाल्छ नि ! भन्ने तर्क पनि उब्जिन सक्छ । त्यसलाई नकार्न पनि सक्दिन । परिवर्तनको नाममा हामी ढोँगी हुन पुग्यौ । हिजोका नेतृत्वहरुले आज आफ्नै कार्यकर्ता चिन्दैनन । जसरी हामी कार्याकर्ताले अर्को सहयोद्धा चिन्छौ त्यसरी नै नेतृत्वले कार्याकर्तालाई चिन्दो हो भने सायद आज पार्टी यो अवस्थामा आउदैनथ्यो कि ? अब समीक्षा गर्ने दिन आए जस्तो लाग्छ । हिजो एक आदेशमा डाइनमाइट झै पड्किन । छातीमा गोली थाप्न र मृत्युलाई स्वीकार गर्न सक्ने पार्टीका कार्यकर्ता आज लाखापाखा लागेकाछन । पार्टी नेतृत्व व्यक्तिगत स्वार्थ, पदलोलुप र दलाल तथा पुजीवादी सत्ताको दलदलमा फँस्यो । जसको फलस्वरूप पार्टी दस चिरामा विभाजन भएको छ । नेतृत्वहरुलाई त सत्ता मोहले बितेको पलको क्षतिपूर्ति दियो होला तर म जस्तै अन्य हजारौं कार्याकर्ताले आफूले लडेर ल्याएको व्यवस्थामा न न्याय पाए ! न गणतन्त्रको आभास गर्न पाए । नमज्जा लाग्छ । हाम्रा नेतृत्वले अहिले हामीलाई चिन्दैनन कारण के हो भने हामीसँग जालसाजी गर्ने क्षमता छैन । गुन्डागर्दी गर्न नैतिकताले दिदैन । ठेकेदारी त प… र को कुरा । त्यसैले नेतृत्वको नजरमा यति बेला हामी अयोग्य कार्याकर्ता हौं । पढ्ने बेलामा बुर्जुवा शिक्षा काम छैन जनवादी शिक्षा पढ्नुपर्छ भनेर युद्धमा हामीलाई होमाइयो होमिइयो तर अहिले उनीहरू नै भन्छन् – “जागिर खानको लागि त शैक्षिक योग्यता हासिल गर । आयोग पास गर न । निजामती सेवाको परीक्षा पास गर ।” आहा क्या मज्जाको जवाफ । अरे ! हिजो पढ्ने बेलामा बन्दुक बोकाइएर लडाइएर आज आयोग र निजामतीको कुरा गर्ने ? कुन नैतिकताले आज हिजोको सहयोद्धाहरुलाई यस्ता प्रश्न गर्छौ ? आफ्नालाई लात हानेर पराइको पाउ मोल्न गएका यी नेतृत्व माथि प्रश्न गर्ने अब हामी जनयुद्धको भूइ मान्छेहरुको पालो होकि ?
यी हुन हाम्रा नेता र म जस्तै कार्यकर्ता बिचको ठूलो खाडल । पल पलमा जनयुद्धको स्मरण गर्दै बाच्नु पर्ने जिन्दगीको भोगाइ । तै पनि हामीलाई दुःख मनाउ गर्नु छैन मात्र हिजो जनताको सामू, हजारौ सहिद परिवारको सामू, बेपत्ता योद्धा परिवारको सामू, घाइते योद्दाको सामू खाएको कसम सम्झीदिए पुग्छ । जनयुद्धले घर न घाट भएर बसेको योद्धालाई नजिकबाट नियालिदिए पुग्छ । हामीले ठूलो महल मागेका छैनौ । हाम्रो माग त हिजोको वाचा कसम पूरा गर एक ढिक्का होऔ भन्ने हो । आ–आफ्नो स्वार्थको लागि डम्फू बजाउँदै नहिंड । बैज्ञानिक र वस्तुवादी योजना बनाएर फेरि जनतामा जाउ । नभए तिमिलाई हजारौं सहिदको रगत र इतिहासले अवस्य धिक्कार्नेछ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |