डम्बर थामी “अनुपम”
“मनको भावनाको दशाको नाम नै सुख दुःख हो ।” – इबने बतुता
उल्लेखित उद्धृतांश अरब यात्री, लेखक तथा बैज्ञानिक इबने बतुताको हो । उनको यो महानवाणीले जो कसैको जिन्दगीमा उर्जा पैदा गरिदिन्छ । म पनि यसैको पेरिफेरिमा रहेर मेरो जिन्दगीसँग जोडिएका केही दुःखद फेहरिस्तहरु यहाँ कहन लागेको छु । कसैले कति रोईलो गर्छ नभनीदिनुहोला । यो मेरो इतिहास हो । मेरो जिन्दगीको एक आयाम पनि ।
जिन्दगीमा घटेका केही घटनाहरुले बारम्बार हृदयमा चिथोरिरहन्छ । कोपरिरहन्छ । दिलको क्यानभासमा वेदनाका गुजुल्टिएका किरिङमिरिङ धर्साहरु कोरिरहन्छ । अझ धेरै धेरै पीडाका चाङहरु थोपरिरहन्छ । यस्ता सबै घटनाहरुलाई लिपीबद्ध गर्ने हो भने रामायण र महाभारत जत्रा ठेली बन्थे होलान् । लियो टल्सटायको ‘युद्ध र शान्ति’ (वार एण्ड पिस) जत्रा ठेली बन्थे होलान् । तर पनि “कालो बादलमा चाँदीको घेरा हुन्छ ।” भने झैं मुटु बाँधेर अगाडि बढ्नुको विकल्प नहुने रहेछ ।
मेरो जिन्दगीको नितान्तै प्रातकालिन कुरा गर्दैछु । त्यतिबेला म सानै थिएँ । सबै कुरा त स्मृतिमा छैन । तर धूमिल–धूमिल सम्झना छ । कतै सपना जस्तो । कतै विपना जस्तो पनि लागिरहेको थियो । वर्षा याम थियो । तर पानी नपरेर खडेरी परेको थियो । धान रोप्नुको अत्तोपत्तो थिएन । अघौटे कोदोको रोपो पनि सबै–सबै सुकिसकेको थियो । किसानहरु धेरै अत्तालिईसकेका थिए । जनजीवन सा¥है अस्तव्यस्त भएको थियो । सबैले पानीको लागि भगवानको पुकारा गरिरहेका थिए । किसानको कुरा नसुनिदिने पानी पार्ने ईन्द्र पनि कता हराएछन त्यतिबेला ।
त्यतिबेलाको समय २०३९ साल असार १५ गते रहेछ । अलि बुझ्ने भएपछि । स्कूल जान थालेपछि बुबा आमालाई सोध्दाखेरि पो बल्ल थाहा भयो । दिनभरि त घाम लाग्यो या के भयो ? थाहा भएन । साँझमा बुबा–आमाले मेलाबाट ल्याउनु भएको खाजा खाएर त्यत्तिकै निदाईएछ । बुबा आमाले के खानु भयो ? निदाउनु भयो कि भएन ? त्यो पनि मलाई हेक्का भएन । मध्यरातमा एक्कासि ब्युँझिएछु । यसो गोठ बाहिर हेर्दा मुसलधारे पानी परिरहेको रहेछ । (त्यतिबेला हाम्रो घर थिएन । खालि गोठगोठै बस्थ्यौं । ढिकी, जाँतो, राखनधारन, अन्नपात सबै गोठमा हुन्थ्यो । गोठ सार्नुपर्दा शेर्पाको चौंरी घ्याङ सारे जस्तै सार्नुपथ्र्याे । कहिले लेक, कहिले बेंसी । कहिले वोल्लो बारीदेखि पल्लो बारी । यसरी नै बुबा–आमाले गोठ सार्नुहुन्थ्यो । त्यही गोठ नै हाम्रो वातानुकुलित दरबार थियो ।) पानी नपरेको धेरै समय भएर होला पानी एकनासले परिरहेको थियो । आकाशबाट ढुंग्रोले खन्याए झैं पानी परिरहेको थियो । हाम्रो गोठ चाहिँ कडेङको डिसी (माथिल्लो बारी) मा भन्ने ठाउँमा थियो । बेस्सरी पानी परेकोले हाम्रो गोठले पानी थेग्न सकेन । गोठ चुहिन थाल्यो । ओछ्यानमा पनि भल पस्न थाल्यो । माहिलो भाइ कोक्रोमै थियो । सानो भाइ र बहिनी जन्मेकै थिएनन् । माहिलो भाइ त्यस्तै ६÷७ महिनाको थियो होला । आमाले भाइलाई घुम ओडाउनुभएको थियो । हाम्रो गोठमा धन्न दुई वटा घुम चाहिँ रहेछ । त्यही घुम पनि बुबा–आमा रातदिन मेलापात गर्नको लागि बुन्नुभएको थियो होला । लगातार मुसलधारे पानी परि नै रह्यो । खोला खोल्सीहरु बेस्सरी उर्लिएको आवाज सुनिंदै थियो । हाम्रो वरिपरि कसैको पनि गोठ थिएन । घरहरु पनि नजिक थिएन । यसो आधार मान्ने मान्छे पनि कोही थिएनन । चुक घोप्ट्याए जस्तो कालो–कालो निष्पट्ट अन्धकार थियो ।
मुसलधारे पानी निरन्तर परिरह्यो । पानी रहने त कुनै छेकछन्दै थिएन । आमाले बुबालाई “यहाँ नबसौं माथिबाट पहिरो आउन सक्छ !” भन्नुभयो । बुबालाई धेरै बेर बकसे आपो (बकसे ओडार) तिर गएर बस्नको लागि कर गर्नुभयो । अनि बुबाले घुम ओडेर मलाई बोक्नुभयो । आमाले भाइलाई बोक्नुभयो । अनि अन्धकार कालो रातमा छामछाम छुमछुम गर्दै गर्दै सिब्दावाराको बकसे आपोतिर लाग्यौं । खै कति समय लाग्यो कुन्नि ! त्यो ओडारमा पुग्न । म त बुबाको ढाडमै निदाएछु । ओडारमा पुगेपछि पो बल्ल ब्युँझिएछु । केटाकेटी न परियो । ओडारमा पुगेपछि पारी गोनेसाँघुको डाँडा नजिकैबाट श्रीबुतीको पाखामा ठूलो पहिरो गयो । तल भद्रावती खोला उर्लिएर गडगडाएको आवाज सुनिन्थ्यो । रातिको समयमा पहिरो जाँदा त पाखैभरि आगोको झिल्का उठ्ने रहेछ । त्यसरी थुप्रै पहिरोहरु गए । पारी दुरुङ्दुरुङतिर उर्लने छहरा, मुङ्चा स्योङ, अँधेरी स्योङ र फोषोरोत ठाती पनि निकै उर्लिएको थियो । हामीलाई पनि त्यही ओडारले पो छोप्ला झैं गरिरहेको थियो । तर त्यो पछाडि हामीसँग केही उपाए थिएन । बुबाले मलाई घुम ओछ्याएर त्यहीँ सुताउनुभयो । भाइलाई आमाले बोकिरहनुभएको थियो । म त फेरि निदाएछु । बाढी आओस् या पहिरो मलाई बाल मतलब । केटाकेटी हुँदा या बाबा आमाको काखमा छँदा यस्तै हुँदोरहेछ । जति अप्ठ्यारो परेका पनि ढुक्कता पैदा हुने । बुबा आमाले के के भयो ? होला भनेर अझै पीर मानिरहनुभएको थियो । त्यो ओडार हाम्रो लागि दरबार जत्तिकै भएको थियो त्यतिबेला । बुबा–आमा त निदाउनु भयो या भएन ! मलाई त्यो पनि थाहा भएन ।
बिहान उज्यालो भयो । जताततै पहिरो गएको मात्र देखियो । बुबा–आमाले हाम्रो गोठ के भयो होला ? भनेर पीर मान्दै हामी गोठतिर लाग्यौं । गोठ त आधा पहिरोले पुरिसकेको रहेछ । गोठ माथिबाट ठूलो पहिरो आएछ र हाम्रो गोठलाई पूरेर रोकिएछ । कुखुरा–चल्ला, केही बाख्राहरु पुरिएछन । हाम्रो ओढ्ने, ओछ्याउने, खाने सामल सबै पुरिएछ । धन्न गाईवस्तुहरु चाहिँ दाम्लो चुँडालेर भागेछन । अचम्म लाग्छ गाईवस्तुले पहिरो आउने कुरा कसरी थाहा पाए होलान् ! बुबा–आमा फेरि पीर मान्दै गाइवस्तु खोजेर ल्याउनु भयो र बाँधीदिनुभयो । यदि हामी पनि गोठबाट ओडारतिर नभागेको भए त्यहीँ पुरिने रहेछौं । धन्न बाँचिएछ । बाँच्न त बाँचियो । फेरि पनि हाम्रो गोठ (हाम्रो दरबार) पहिलेको जस्तै बनाउनलाई धेरै खर्च लाग्ने भयो । हाम्रो जिन्दगीमा अर्को वज्रपात आईलाग्यो ।
फेरि हाम्रो गोठ भन्दा अलि पर एउटा दोर्पा भन्ने गाउँ थियो । त्यो गाउँ पनि पहिरोले बगायो भन्ने हल्ला फैलिइसकेको थियो । बुबा आमा फेरि त्यतैतिर दौडिनुभयो । त्यो गाउँ त सबै बगाएर दोर्पा खोलामा पु¥याएछ । त्यो पहिरोले छ वटा घर । बाह्र जना मान्छेहरु सबै बगाएर लगेछ । स्थिति सा¥है हृदयविदारक थियो । जताततै कोलाहल, चिच्याहट थियो । बाँचेका मान्छेहरु छाती पिटीपिटी रोईरहेका थिए । गाउँलेहरु आफन्तको खोजीमा पहिरोमा पसेर खनी खोस्री गरिरहेका थिए । कोहीको लास भेटियो । कोहीको भेटिएन भन्ने खबर सनसनी भयो । यसरी दोर्पा गाउँको पहिरोले अस्तित्व नै नामेट पा¥यो । बाँचेका मान्छेहरु पनि के गरौं ? र कसो गरौं ? भनेर भौंतारिए । दुई तीन दिन पछाडि हेलिकप्टर आयो र हाम्रो बारीको डिलमा बस्यो । त्यो हेलिकप्टर हेर्न गाउँलेको भीड लाग्यो । हेलिकप्टर छुन तँछाडमछाड भयो । हेलिकप्टर छुँदा गति परिन्छ भन्ने जनविश्वास थियो । मलाई पनि बुबा आमाले हेलिकप्टर छुन लैजानु भयो । मैले पनि छोएर आएँ । खुबै आनन्द आएको थियो । खुबै रमाएको थिएँ । अहिले सम्झंदा पनि हाँसो उठेर आउँछ । त्यो हेलिकप्टरमा आएका मान्छेले पहिरोले पु¥याएको क्षतिको बारेमा बुझे । कापीको पानामा टिपे । र केही राहत बाँडेर कता उडे थाहा भएन । त्यो बेलामा हाम्रो गाउँमा यस्तो दर्दनाक बिपत्ति आईलाग्यो ।
मैले यो प्रसंग किन उल्लेख गरें भने म यो पृष्ठभूमिबाट आएको मान्छे हुँ । यही धरातलबाट आएको मान्छे हुँ । हामी जस्ता निम्न स्तरका मान्छेहरुले कहिल्यै पनि दुःख नपाउन भनेर नै क्रान्तिको बाटो रोजेको थिएँ । गरिब किसानहरुको सत्ता ल्याउनकै लागि यो जोखिम मोलेको थिएँ । तर आज म त्यही जिरोविन्दुबाट घुम्दै फिर्दै जिरोविन्दुमै पुगेको छु । क्रान्ति एकपटक गरेर नहुने रहेछ । लडाइँ एकपटक गरेर नहुने रहेछ । त्यसैले क्रान्ति–लडाइँ निरन्तर गरिरहनु पर्ने रहेछ । जिरोवोन्दुबाट फेरि क्रान्ति उठेमा अवस्य नै शासकहरुलाई हम्मे हम्मे पर्नेछ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |