रचना मोक्तान “यात्री”, काभ्रे
आज म कोभिड १९ दोस्रो चरणको महामारीले बन्द कोठामा छु । अस्वस्थ शरीर अनि अविचलित मनले विगतलाई आँखी झ्यालबाट चिहाउँदैछु । बन्द कोठामा यादका कारखानाहरु जोडतोडले चलीरहेकै छ । कतिपय घटनाहरु सम्झिन खोज्छु पटक्कै सम्झिन सक्दिन । कुनै घटना बिर्सन खोज्छु सयौ चोटि दिमागमा आएर यादको विस्कुन मेरो आँखै अगाडि ल्याएर सुनाइ दिन्छ । खाली कागजमा अक्षरको बीउ छरी खेती गरिरहेका मलाई यी यादहरुले न भुलेर अगाडि बढ्न दियो न पछि हट्न । तटस्थ रहेर जिउन सिकाउदैछ । म हेर्छु हिजो सङ्गै लडाइ लडेका योद्धालाई । कोही सत्ताको बागडोर समाएर कुर्सीमा पुगिसकेका छन । कोही खाडी मुलुकमा ९० डिग्रीको घाम सहदै जिन्दगीमा खुसी खोज्दै छन । कोही घाइते जिन्दगीलाई औषधिको भरमा घिसार्दैछन । अनि हिजो हामीलाई आफ्नो गाँस कटाएर खाना खुवाएका सर्वहारा जनतालाई हेर्छु । पहिले गरेको वाचा कसम सम्झिन्छु । कहाँ आयो ? गरिबको सुदिन ? कहाँ आयो विकास र समृद्धि ? कहाँ आयो लैङ्गिक समानता ? कहाँ हट्यो जातीय भेदभाव ? यस्तै असंख्य अनुत्तरित प्रश्नको बिचमा म मौन छु र मौन रहन बाध्य छु । यतिबेला मैले गुनासो गरेर मेरो बाल्यपन फर्किएर आउदैन । मलाई थाहा छ खोसिएको समय फर्काएर ल्याउन सकिँंदैन । जनवादी शिक्षाको सपनामा तहस नहस भएको जिन्दगीका पानाहरु अनि अहिले शैक्षिक योग्यता बिना कहाँ जागिर सम्भव छ र ? भन्ने प्रश्नले पल पल मरेर बाचेको यो जिन्दगीले फेरि इतिहास सुनाएर दिकदारी बनाउने मनसाय पटक्कै हैन । अस्वस्थ शरीर आफैंलाई बन्दी बनाएर बस्नुको पीडा अनेक छन । म प्रायः एक्लै भएको बेलामा स्मृतिको पानाहरु पल्टाउने गर्छु । यो मेरो अभ्यस्त पक्ष हो ।
यो भन्दा अगाडि बमबाडी भएको ठोकर्पा हेलिकप्टर आक्रमणको डर लाग्दो मात्र नभएर कहाली लादो घटनाक्रम सुनाएकी थिएँ । त्यहाँबाट बालबालमा बचेको जिन्दगीले आज जनयुद्धको अन्तिम मोर्चा मानिने सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा मोर्चाको कुरा गर्दैछु । जुन मोर्चा जनआन्दोलन पनि उत्कर्षमा पुगेको बेला खोलिएको थियो । मसङ्ग जनयुद्धको आधीमय पछिल्लो चरणका अनुभूतिहरू प्रशस्तै छन । (ती मोर्चाहरूको बारेमा आगामी दिनहरूमा चर्चा गर्ने नै छु ।) यी श्रृंखलाबद्ध घटनाक्रम सुनाइरहँदा ममा पश्चताप छैन । आत्मग्लानी पनि छैन । बरु गर्वले छाती ढक्क फुलिरहेको छ । किनभने मैले जस्तो अनुभव न हिजोको पिंढीले गर्न पायो न भोलिकाले गर्न पाउने छ । चाहेर पनि कसैले यस्तो खालको अनुभव भोग्न पाउने छैन । मेरो जिन्दगीको यी अनुभवहरू अमूल्य निधि हुन । त्यसैले मलाई पश्चताप एक रत्ती पनि छैन । पार्टीको योजना रणनीति प्रत्यक्रमणको चरण थियो । दुश्मनको “ढाडमा टेकेर टाउकोमा हान्ने” भनिएको थियो । यहि शिलशिलामा थुप्रै सफल र असफल मोर्चाको सामना ग¥यौं । प्रतिक्रियावादी सत्तालाई हायलकायल बनाउन राजधानी छेउछाउको सदरमुकाम कब्जा गर्ने योजना अन्तर्गत काभ्रे जिल्लाको सदरमुकाम धूलिखेलको रेक्किमा जाँदा कमरेड अनुपम जो आफै कब्जामा परे । यस्ता घटनाहरू घटीरहन्छन । (उनले दुश्मनको जस्तोसुकै निर्मम यातनाको बाबजुद पनि पार्टीको योजना खुलाएनन । उनै योद्धा जो आज पनि सहकार्यमै छन ।) काभ्रे सदरमुकाम कब्जा गर्ने योजना असफल भएपछि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको आर्मी ब्यारेक नजिकै रहेको रिपिटर टावर आक्रामणको योजना तय भयो । त्यही योजना अनुरुप मध्य कमान्डमा रहेको तीन नम्बर डिभिजन भित्रको ब्रीगेड, बटालियन, कम्पनी, प्लाटून र जिल्ला पार्टी कमिटी इलाका कमिटीसम्मको राजनैतिक वैचारिक प्रशिक्षण सिन्धुपाल्चोककै वाफल नजिकै घ्याङ डाडामा भेला तथा प्रशिक्षण भयो । भेलामा क. कन्चन, (अग्नि प्रसाद सापकोटा जो वर्तमान सभामुख छन् ।) क. अनन्त, (वर्षमान पुन जो मन्त्री समेत बनिसकेका छन् ।) तीन नम्बर डिभिजन कमान्डर क. विविध र क. सन्जिवले राजनैतिक र फौजी प्रशिक्षण दिए ।
प्रशिक्षण यस्तो थियो कि बलिदान गर्नको लागि तँछाडमछाड हुने खालको । मृत्युलाई स्वीकार्ने खालको । दुश्मनको बङ्कर र पोस्टहरुमा बम बनी पड्किन र बारुद बनी सल्किने खालको । यति मात्र हैन योद्धाको आँखामा सुनौलो विभेदमुक्त नेपालको सचित्र पर्दा हाली सकेको हुन्थ्यो । उसै मान्छे बलिदानको निम्ति तयार हुन्छ र ? दृढ आत्मविश्वास र सुनौलो नेपालको परिकल्पनाले नै मृत्यु जितिरहेको हुन्थ्यो । यहि बेला काठमाडौ लगायत देशका मुख्य सहर र सडकहरुमा विभिन्न राजनितीक दल र माओवादी पार्टीकै सहकार्यले सडकमा राजतन्त्र विरोधी गगनभेदी नारा घन्किदै थियो । ठूला ठूला जुलुस र प्रदर्शनहरू भईरहेका थिए । जनतामा राजतन्त्र ढल्छ भन्ने विश्वास पैदा हुँदै थियो । फौजी र राजनीतिक धक्का एकैसाथ दिनको लागि फौजी आक्रमण त झन अनिवार्य थियो । त्यसैलाई प्रमाणित गरेर देखाउन सिन्धुपाल्चोक जिल्लाको वाफलबाट तीन नम्बर डिभिजन युद्ध सामग्री तयार पारेर चौतरा तर्फ बढ्यौ । वाफलबाट शुरु भएको यात्रा सुनकोशीको तिरैतिर, बलेफी, फुल्पिङ डाडा, नौबिसे हुँदै जलबिरे आसपासको घरहरुमा सेल्टर लिएर बस्यौ । तत्कालीन शाही सेनाको काखैमा हामीले युद्धको घनिभूत तयारी गरिरह्यौ । सेनालाई हाम्रो बारेमा थाहा होस वा नहोस् मतलब राखेनौ । त्यति खेरको बसाइ रोमान्चक थियो किन कि त्यो नै अन्तिम मोर्चा, युद्धको ढोका सदाको लागि बन्द हुन्छ र मुक्तिको ढोका छिट्टै खुल्दैछ भन्ने सशक्त ब्रीफिङ थियो । २०६३ साल बैशाख १० गते साँझ ७ः०० बजेपछी जलबिरे बजारमा जम्मा भयौ । डिभिजन कमान्डर क. विविधको उपस्थितमा डिभिजनको रोलकल भयो । उक्त रोलकलमा निर्देशन भए अनुसार सबै बृगेड मातहतका एसाल्ट कमान्डरहरु फोर्सलाइ लिएर अघि बढे । स्वस्थ्यकर्मीहरुले उपचारको सामग्री बोकेर बढे । स्वयंसेवकहरुले स्ट्रेचर, गैती, बेल्चा , डोको, कोदालो कोदाली बोके । अनि एसाल्टमा लड्ने योद्धाहरूले टन्न युद्ध सामग्री बोकेर अघि बढे । हामी अघि बढिरहेको रुटको नाम ठ्याक्कै सम्झिन सकिएन कुनै दिन सम्झेछु वा पुगेछु भने उल्लेख गर्ने नै छु । सानो खोल्सा खोल्सीहरू । नजिक नजिक खेतका स सानो गराहरु । ती फाँटहरू सकिने बितिकै ठाडो उकालो । केही घरहरु, गाउँहरू सकिने बितिकै तेर्सो बाटो । बाटोको तलमाथि बोटबिरुवा र सल्लाका रुखहरू । यिनै धुमिल स्मृति मात्र दिमागमा ताजा छन । एवं रितले अगाडि बढ्दै तोकिएको समयमा सबै एसाल्ट टोलीहरू आ–आफ्नो आर्कमा पुग्यौ । म आफू रहेको एसाल्ट कमान्ड बटालियन सह कमिसार क उदिपको थियो । हाम्रो आर्क जि. वि. स . भवन र हस्पिटलतर्फ थियो । रातको दस बजे युद्ध र भीषण आक्रमणको विगुल बज्यो । सबै जनमुक्ति सेनाले एकैसाथ तोकिएको आर्कबाट फायर खोले । ठुलै पहिरो गए झै धक्का महसुस भयो । योजनाबद्ध आक्रमणमा हतोत्साहित हुनुहुँदैन । यो युद्दको कठोर नियम पनि हो । घमासन युद्ध चल्यो । चारैतिरबाट भीषण आक्रमण भयो । योद्धाहरु ढल्दै घाइते हुँदै गए । मुख्य मिसन सेनाको नजिक रहेको रिपिटर टावर पूर्ण रुपमा कब्जा गर्नु नै थियो । यहि बेला सेनाको नाईट भिजन हेलिकप्टरले माथिबाट फायर ग¥यो । आकाशबाट बमगोला बर्षाउन थाल्यो । आकाशबाट गरेको आक्रमणले खासै प्रभाव नपरेपछि निरन्तर लडिरह्यौ । यहि बिचमा क. देव, क. जीवन, क. उत्तम, क. सृष्टि, लगायतको योद्धाहरु घाइते भए । तैपनि हामीले आक्रमण जारी राख्यौं । मध्य रात भनौ अझै १÷२ बजेको हुँदा हो हस्पिटलको एक कुनामा क. सन्जिवको सेटमा क. जीवितले बोलेको सुने “बलियो फोर्टिफिकेशन भएका कारण युद्ध अघि बढ्न कठिन भएको छ ।” योद्धाहरु अत्याधिक घाइते र शहदात भएका कारण भनौ या अरु नै कारण केही बेरका लागी फायरिङ रोकियो । विद्रोहीको शक्ति प्रदर्शन कम हुने बितिकै शाही सेनाले भएभरको शक्ति प्रयोग गरि हामी माथी हमला गरीरह्यो । प्रतीरक्षामा लडिरह्यौ अनि पछाडि हट्ने निर्देशसङ्गै पछि हट्यौ । अझ भनौ रक्षात्मक बनेर युद्ध मैदान छोड्यौ । क. अर्जुन लाई हस्पिटलको आगनमै छोडयौ । क. शैलेस लाई घाइते अवस्थामा ल्याउदै गर्दा जि वि स भवन भन्दा मुनि छोड्यौ । क. क्षितिज र जीवन्तको लास देख्न पनि पाएन । बाटोभरी घाइते बोक्दै घाइतेको झोला बन्दुक बोक्दै फर्कियौ । अन्तमा जलबिरेमै आएर बस्यौ । युद्ध हारेका सिपाहीको मनोदशा अनि अनुहार कस्तो भयो होला तपाईं पाठकले अन्दाज लगाउनुस । यसको जिम्मा म तपाईं हरुलाइ दिदैछु । यहाँ वर्णन गर्न सकिदैन पृय सहयोद्धाहरूलाई सदाको लागि छोडेको पल । तैपनि पचाउनै प¥यो । पचायौ पनि । आखिर युद्धमा कि मरिन्छ कि मारिन्छ ।
यसरी जनयुद्धको अन्तिम युद्ध लडेर त बाँचियो तर युद्ध सकिएको रहेनछ भन्ने बारम्बार लागिरहेको छ । माओवादीकै एजेन्डा संविधानसभाको निर्वाचन, गणतन्त्र र संघीयता त आयो तर कसको लागि आयो भन्ने प्रश्न खड्कीरहन्छ । जसको लागि गणतन्त्र आउनुपर्ने थियो तिनका लागि आयो कि आएन ? गणतन्त्र, गाउँ गाउँमा सिहदरबारको फल युद्धलाई आदर्श मानेर लड्ने भोका निमुखा विपन्न विभिन्न जातजाती सीमान्तीकृत पिछडिएका वर्गसम्म पुग्यो कि पुगेन ? यिनै प्रश्नै प्रश्नको भिडमा म अनुत्तरित छु । चौताराको स्मृति सहकार्य गर्दा गर्दै ढलेका योद्धाहरुसँग अनि बचेर पनि काम र मामको खोजिमा विदेशी भूमिमा भौतारिएका सहयोद्दहरुलाइ सम्झिदै मन बुझाउने भन्दा अर्को विकल्प छैन । अन्ततः चौतारा मोर्चामा सहदात प्राप्त गर्नु हुने चार सहिदप्रति उच्च सम्मान । त्यही मोर्चामा लडेका कयौं सहयोद्धाहरूमा मीठो सम्झना । स्मृतिका पानाहरु पल्टाउँदै गरुँला ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |