डम्बर थामी “अनुपम”
“हरेक तानाशाहीहरु जालसाजी र दमनको माध्यमद्वारा शासन गर्ने गर्दछन । तर जब उनीहरूको पर्दाफास हुन्छ तब उनीहरू पूरै दमनमा मात्र टिक्ने गर्दछन ।” – जर्ज अर्वेल
उक्तोक्ति तथा बोधगम्य उद्धृतांश बेलायती हक्की लेखक, पत्रकार, उपन्यासकार र समालोचक जर्ज अर्वेल (१९०३–१९५०) को हो । त्यतिबेला उनी बेलायती साम्राज्यवादको कट्टर विरोधी थिए । अल्पायुमै निधन भए पनि उनको सान्दर्भिकता झन् झन् बढ्दै गएको छ । उनको सारगर्भित भनाइले अझै पनि मन मथिंगलमा भूईंचालो नै ल्याईदिन्छ । र दमनमा मात्र टिक्न खोज्ने शासकहरुलाई दुत्कार्न मन लाग्छ । त्यसैले मैले पनि यहाँ एउटा क्रूर दमन र हत्याको हृदयविदारक फेहरिस्तलाई स्मरण गर्न गईरहेको छु । जुन घटना मृत्युपर्यन्त मात्र भुल्न सकिन्छ होला ।
मैले सर्वप्रथम रामेछापको भूमिमा पाईला टेकेको २०५६ साल कार्तिक महिनामा हो । काभ्रेको भिमखोरी ईलाका प्रहरी चौकी रेड गरे पश्चात सिन्धुलीको मरिनको शिर, अमले–रातमाटा, झाँगाझोली हुँदै रामेछाप ह्राकाथुम अनि बेथान हुँदै दोलखा फर्किएका थियौं । (बेथान त्यो ऐतिहासिक ठाउँ हो । जहाँ २०५३ साल पुस १९ गते राति भरुवा बन्दुकको भरमा पुलिस चौकी कब्जा गरेको ठाउँ ।) त्यसपछि २०५७ साल कार्तिक १८ गते दोरम्बा ईलाका प्रहरी चौकी कब्जा गर्दा पाईला टेकेको थिएँ । त्यसपछि क्रमशः २०५९ साल माघ २२ गते काभ्रेको भकुण्डेवेंशी ईलाका प्रहरी चौकी कब्जा गरेपछि नेपालथोक–लुभुको बाटो हुँदै ह्राकाथुमबाट दोरम्बा–शैलुङ हुँदै दोलखा फर्किएका थियौं । र समयको अन्तरालसँगै २०६० साल जेठ २४ गतेको वृहत जनसभामा कार्यक्रम सन्चालक भएर पाईला टेकेको थिएँ । जहाँ वार्ता टोलीका सदस्यद्वय क. कृष्ण बहादुर महरा र कमरेड मातृका यादव प्रमुख वक्ताको रूपमा उपस्थित थिए । करिब–करिब तीस हजारको संख्यामा जनसहभागिता रहेको सो क्षेत्रीय आमसभा निकै उत्साहजनक ढंगले सम्पन्न भएको थियो । (जहाँ वरिष्ठ लेखक खगेन्द्र संग्रौला पनि वक्ताको रूपमा उपस्थित थिए ।) यसरी म दोरम्बा केन्द्रित पार्टी, क्रान्तिको फौजी र गैरफौजी गतिविधिमा संलग्न भएको थिएँ । तत् समयमा सरकार र माओवादी विद्रोही बीच चरण–चरणमा कछुवा गतिमा वार्ता पनि भईरहेको थियो । तर वार्ताले निर्णायक मोड लिन्छ होला जस्तो चाहिँ लागेको थिएन । केही आशंकाहरु बाँकी नै थिए । केही न केही गडबडीहरु भईरहेका थिए ।
त्यतिबेला माओवादी पार्टी विकास निर्माणका कामहरु । राजनीतिक सांगठनिक अभियानहरु सहित आफ्नो सैन्य क्षमताको विकास, विस्तार र सुदृढीकरणमा लागेको थियो । सैन्य तालिम र प्राविधिक तयारीहरु पनि तीव्र ढंगले भईरहेका थिए । किनकि शान्त वातावरण पछि भीषण आँधी आउन सक्ने कुराको पनि हेक्का राख्न जरुरी थियो । तत्कालीन शाही नेपाली सेना र जनमुक्ति सेना बीच पाँच किलोमिटरको आचारसंहिता लागू भएको थियो । उनीहरू आफ्नो ब्यारेक भन्दा पाँच किलोमिटर बाहिर आउन नपाउने । हामी उनीहरूको ब्यारेक भन्दा पाँच किलोमिटर भित्र जान नपाउने भन्ने थियो । तर पनि उनीहरू बेला–बेलामा ब्यारेक भन्दा बाहिर निस्केर आतंक मच्चाउँदै आएका थिए । केही न केही गडबडी गरिरहेका थिए । तर सरकार र माओवादी दुबैले आफ्नो सैन्य शक्तिको आन्तरिक सुदृढीकरण भने गरि नै रहेका थिए ।
मैनापोखरी मोर्चामा गम्भीर घाइते भएपछि सैन्य फर्मेशनमा काम गर्न सक्दैन भनेर मलाई दोलखा जिल्ला पार्टी संगठनमा फालिएको थियो । जिल्लामा पनि सकि नसकी काम गर्दै जाँदा फेरि बारम्बार सैन्य फर्मेशनमा माग हुँदै गयो । र एरिया सेक्रेटरी भएर काम गर्दागर्दै २०६० साल असारमा कम्पनी कमिशारको जिम्मेवारी दिएर सैन्य फर्मेशनमै तानियो । त्यसपछि म आफ्नो जिम्मेवारी सम्हाल्न दोलखा शैलुङ्को बाटो हुँदै रामेछाप दोरम्बा झरेर बेथान पुगें । बेथान पुगेपछि जिल्ला पार्टी र चौधौं बटालियनको संयुक्त राजनीतिक प्रशिक्षणको तयारीमा लागियो । बटालियनको फर्मेशन कमिशार क. कृपाश्वर, कमान्डर क. जीवित र सह कमान्डर क. रामजी थिए । कम्पनी कमिशारहरुमा क. हिमक, क. प्रभात, र म थियौं । कमान्डरहरुमा क. निर्मल, क. शरद र क. सुरवीर थिए । सहकमाण्डरहरुमा क. प्रदिप, क. संग्रामी र क. अभिषेक थिए । लामो समयसम्मको सैन्य फर्मेशनको रिक्त अनुभव र नयाँ शिराबाट पुनः शुरु भएको मेरो सैन्य जीवन निकै उल्लास र उत्साहमयी थियो । केही गरेर देखाउँछु भन्ने उत्कट भावना जागृत भएको थियो । जुन बेला पार्टी अनि सैन्य (क्षमता) मोर्चाको आवस्यकता अनुसार सेक्सनदेखि बटालियनसम्मका फर्मेशनहरु क्रमशः अपग्रेड भएका थिए । (जस्तैः सेक्सनहरु प्लाटुनमा, प्लाटुनहरु कम्पनीमा, कम्पनीहरु बटालियनमा र बटालियन व्रिगेडमा अपग्रेड भएको थियो । बेथान स्मृति बटालियन अपग्रेड भएर बेथान स्मृति व्रिगेड भएको थियो ।) यो एउटा ऐतिहासिक सैन्य छलाङ थियो । साथै आवस्यकता पनि । म पनि त्यही आवस्यकतालाई परिपूर्ति गर्न सैन्य फर्मेशनमा गएको थिएँ । र बाँकी रगत बगाउने संकल्प गरेको थिएँ ।
२०६० साल असार १४ गते बेथानमा चौधौं बटालियन र रामेछाप जिल्ला पार्टीको संयुक्त राजनीतिक प्रशिक्षण सम्पन्न भयो । सो अवधिमा सरकारले वार्ताको हरियो घाँस देखाएर गडबडी भने मच्चाईरहेकै थियो । पाँच किलोमिटरको आचारसंहितालाई उल्लंघन गरेर सेना बाहिर गस्तीमा निस्केर आतंक र उत्तेजना फैलाईरहेको थियो । ब्यारेक भन्दा बाहिर निस्कने र विभिन्न दमन र हत्कण्डाहरु मच्चाउने काम गरिरहेको थियो । त्यही भएर हामी दोलखा आएर नाम्दु घुम्तीमा चेतावनी स्वरुप एउटा एम्बुस हानेका थियौं । म सैन्य फर्मेशनमा गएपछिको यो पहिलो फौजी कार्वाही थियो । यो एम्बुस सफल पारेर हामी फेरि रामेछापतिरै फर्क्यौं । र पार्टी सैन्य उपब्युरो र साधारण शाखाको बैठक अनि नाम्दु घुम्ती एम्बुसको समीक्षा सम्पन्न ग¥यौं । त्यसपछि कम्पनी भित्रको पार्टी युनिटको बैठकहरु बस्न लागियो । बैठकहरु सकिएपछि रामेछाप जिल्ला पार्टीसँग संयुक्त रूपमा रामवृक्ष स्मृति दिवस मनाउनको लागि तयारीमा लाग्यौं । जिल्ला ईन्चार्ज क. ललित सहितका जिल्ला स्तरका नेतृत्वहरु एरियाको बैठकहरु सम्पन्न गर्न लागिरहेका थिए । पार्टीका भेला, बैठक र प्रशिक्षणहरु तीव्र रूपमा सम्पन्न भईरहेका थिए ।
एरिया सेक्रेटरी क. सृजना सहित हाम्रो कम्पनीको टोली रामेछापको बजेनी भन्ने ठाउँमा थियौं । हामी रामवृक्ष स्मृति दिवसको तयारीमा थियौं । मैले मूल ब्यानर सहित अन्य ब्यानरहरु लेख्दै थिएँ । जिल्ला ईन्चार्ज क. ललित, जिल्ला सेक्रेटरी क. मदन सहित जिल्ला स्तरका नेतृत्वहरु एरिया कमिटीको बैठक बस्न्स्को लागि दोरम्बातिर लागेका थिए । बैठकको सुरक्षाको लागि मैले पाँच जनाको टोली (सेक्सन कमान्डर क. बिमलाको कमान्डमा क. उषा, क. जमिन, क. सहारा र क. सोम) लाई पनि साथै पठाएको थिएँ । म ब्यानर लेख्नमै व्यस्त थिएँ । महान गुरुहरुका महान वाणीका ब्यानरहरु लेखिसकेर मुल ब्यानर लेख्दै थिएँ । २०६० साल श्रावण ३२ गते साँझको छ बज्नै लागेको थियो । मैले मूल ब्यानरको रामवृक्ष स्मृति मात्रै के लेखिसकेको थिएँ । एरिया सेक्रेटरी क. सृजना आँत्तिदै आईन । उनी आँत्तिएको देखेर मैले “ के भयो कमरेड ?“ भनेर सोधें । उनले आँखाभरि आँसु पार्दै “ बर्बाद भयो कमरेड, साथीहरू धेरैको ज्यान गयो । सहिद हुनुभयो ।“ भन्दा म छाँगाबाट खसे जस्तै भएँ । अक्क न बक्क भएँ ।हातगोडा लागेन । पूरै जीउ शिथिल–शिथिल भयो । ब्यानर लेखिरहे ब्रस पनि भूईंमा खस्यो । क्रान्तिकारी जिन्दगीमा हृदयघातरुपी चट्याङ वर्षे जस्तै भयो । आखिर त्यही दिन दाङ्को हापुरेमा वार्ता चलिरहेको थियो । घटनाको विस्तृत कुरा र वास्तविकता कसरी बुझ्ने होला ? भन्ने चिन्ता लाग्यो । त्यो रात कडा सेन्ट्री, ड्युटी गरेर बल्लतल्ल बितायौं । रातभर निद लागेन । छट्पटी भयो । र भोलिपल्ट बिहानै क. ललितले हामीलाई बोलाए । क. सृजना र म उनलाई भेट्न दोरम्बा नजिकैको गाउँतिर लाग्यौं । तर उनलाई हामीले रजमनटारमै विछिप्त अवस्थामा भेट्यौं । त्यति धेरै कमरेडहरुको हत्या हुँदा विछिप्त हुनु स्वभाविक थियो ।
घटनाको बारेमा हामीले सोधेपछि उनले घटनाको बारेमा बेलीविस्तार लगाए । “ श्रावणको महिना । चारैतिर डम्म कुहिरो लागेको अवस्था । सिमसिम पानी पनि परेको अवस्था । जनमुक्ति सेनाको एक जना बहिनीलाई सेन्ट्री राखेर युवराज मोक्तानको ठूलो घरमा जब एरियाको बैठक चल्दै थियो । तब एक्कासी फायरिङ्को आवाज आयो । सेन्ट्रीलाई पहिले नै ढालेर भीरबाट लडाईसकेको रहेछ । चारैतिरबाट असिना वर्षे झैं फायरिङ भएपछि जति जना बाँचिन्छ बाँचिन्छ भनेर ढोकामा राइफल तेर्स्याईरहेको शाही सेनालाई हुत्याएर उनी हामफालेपछि पछि पछि अरु कमरेडहरु पनि हाम फालेछन । र घेरा तोड्न सफल भएछन् । तर घेरा तोड्न नसकेका कमरेडहरुलाई उनीहरूले कब्जामा लिएछन । र पछाडि हात बाँधेर अलि पर डाँडाकटेरी भन्ने ठाउँमा लगेर लाइन लगाएर टाउकै टाउकामा गोली ठोकेर मारे । उनको जीवन संगिनीले पनि त्यो घटनामा ज्यान गुमाईन । उनले घेरा तोडेपछि पनि साथीहरूलाई के गर्छ ? भनेर हेरिरहेका रहेछन् । कब्जामा लिएपछि त मार्दैन होला ! किनकि वार्ता चलिरहेको छ । भन्ने लागेको रहेछ । तर कब्जामा लिईसकेको निःशस्त्र मान्छेहरुलाई कसैलाई पनि बाँकी नराखी अत्यन्तै बीभत्स तरीकाले हत्या गरे ।“ यसरी तत्कालीन शाही नेपाली सेनाले जनताका छोराछोरीहरुको जिन्दगी समाप्त पारे । उनको कुरा सुनिसकेपछि हामी पनि झन् विछिप्त भयौं । क. ललित र सेक्रेटरी क. मदनले घटनाको बारेमा पार्टीको माथिल्लो कमान्डमा जानकारी गराए । यसरी वार्ता चलिरहेको बेला राज्य नांगो दमनमा उत्रियो । हृदयविदारक नरसंहार मच्चाएरै छाड्यो ।
यसरी सो हत्याकाण्डमा २१ जना कर्मठ, होनहार कमरेडहरुको शहादत भयो । जसमा जिल्ला जनसरकार प्रमुख बाबुराम लामा (क.पुस्प), एरिया सेक्रेटरी अम्बिका दाहाल (क. ललिका), थामी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष चतुरमान थामी (क. समर), जिल्ला सदस्य प्रदिप दोङ (क. रक्तिम), एरिया सदस्य विष्णु माया मगर (क. बिमा), टेक बहादुर मगर (क. विवेक), क. पदमराज गिरी, क. युवराज मोक्तान, क. लीला मोक्तान, ठूलोराम तामाङ (क. छोप्पा), सोमई थामी (क. संगीता), श्याम तामाङ (क.इन्क्लाब), हर्क घिसिङ (क. यथार्थ), रवि चौहान (क. समिर), लक्षुमान तामाङ (क. छाया), सानोराम तामाङ (क. तारा) र मेरो कम्पनीको पाँच जना कमरेडहरु सेक्सन कमान्डर हर्कलक्ष्मी राई (क. बिमला), सेक्सन सहकमान्डर चमेली थामी (क. उषा), सदस्यहरु उमा कार्की (क. सहारा), क. जमिन र क. सोम तामाङ थिए । यसरी मलाई पनि सैन्य जीवनको शुरुमै एउटा नराम्रो धक्का लाग्यो । शुरुमै आफ्नो कम्पनीको एउटा सेक्सन नै सकियो । घटना घटेपछि सबै कमरेडहरुको यत्रतत्र छरिएका शबहरु क. टलक, क. प्रवीण लगायतका साथीहरूले खाल्डो खनेर पूरेका रहेछन् । (क. चतुरमान थामीको शव चाहिँ डडुवा गाउँका थामी समुदायले लगेर आफ्नै धार्मिक परम्परा अनुसार अन्तेष्टी गरेछन् । हक्की स्वभावका क. चतुरमान थामीसँग थामी राष्ट्रिय मुक्ति मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनमा भेट भएको थियो ।) चमेली थामी (क. उषा) लाई मारेर भीरबाट लडाईएको रहेछ । र उनको शब पनि भीरमै अड्किएको रहेछ । त्यो समयमा शब भेट्टाउन सकिएन । पछि कंकाल मात्र भेटेर उनीहरूले नै खाल्डो खनेर पूरेछन । वार्ता कालमा भएको घटना भएकोले चारैतिर सनसनी फैलिएको थियो । घटनाको केही दिनपछि मानव अधिकारवादी र पत्रकारहरुको टोली आएर सबै शबहरुको उत्खनन गरेका थिए । र त्यसपछि घटना अन्तर्राष्ट्रियकरण भएको थियो ।
यसरी त्यो घटना पाँच किलोमिटरको आचारसंहिता लागू भएको बेला सदरमुकाम मन्थलीबाट २५ औं कोष टाढा रहेको दोरम्बामा सो हत्याकाण्ड मच्चाईयो । फेरि वार्ता पनि चलिरहेकै थियो । स्थानीय सुराकीको पल पलको रिपोर्ट अनुसार सदरमुकाम मन्थली स्थित नारायण दल गुल्मबाट मेजर राममणी पोखरेलको नेतृत्वमा आएको टोलीले सो हत्याकाण्ड मच्चाएको थियो । हुन त नदीहरुमा धेरै धेरै पानी बगिसक्यो । शान्ति सम्झौता भएर सेना समायोजन पनि भईसक्यो । तर आफन्त गुमाएकाहरुको पीडा जस्ताको तस्तै छ । यो घटना घटेको अठार वर्ष पुगिसक्यो । तर युद्धकालिन घाउहरुमा खाटा बसिसकेको छैन । महान अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ।।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |