डम्बर थामी “अनुपम”
“साहस भनेको बाधाहरुबीच अघि बढ्ने भित्री दृढता हो । कायरता भनेको अगाडिको परिस्थिति सामु हार मान्नु हो ।” – मार्टिन लुथर किङ, जुनियर
उल्लेखित मननयोग्य उक्ति अफ्रिकी मूलको अमेरिकी नागरिक मार्टिन लुथर किङ, जुनियर सन् (१९१९–१९६८) को हो । त्यो बेला अमेरिकामा काला जाति र गोरा जाति बीच अत्यन्तै अमानवीय भेदभाव थियो । यतिसम्म कि सार्वजनिक बसमा समेत काला र गोराको छुट्टाछुट्टै सिट हुन्थ्यो । यही अमानवीय विभेद अन्त्य गर्नको लागि उनले ठूलो भद्र अवज्ञा आन्दोलन गरेर अन्ततः त्यो विभेदको अन्त्य गरी छाडे । उनलाई अमेरिकाको गान्धी भनेर पनि चिनिन्छ । र उनी विश्व शान्ति नोबेल पुरस्कारबाट पनि सम्मानित हुन पुगे । “एक झिल्को चिनगारीले सिंगो जङ्गलमा डढेउलो लगाउँछ ।” भनेको यही हो । यसरी भेदभाव स–सानो कुराबाट नै शुरु हुन्छ । अन्याय, अत्याचार स–सानो कुराबाट नै शुरूवात भएर ठूलो हुँदै जान्छ । र अन्तमा भयानक रुप लिन्छ । नेपालमा पनि यसरी नै अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडनले सिमा नाघेपछि जनक्रान्तिको ज्वारभाटा उठेको थियो । जनयुद्धको राँको दन्केको थियो । जनयुद्धको लहर चलेको थियो । शरीरमा रातो–तातो रगत उम्लेका युवाहरू पनि प्रमोहित भएर स्वतस्फूर्त रुपमा युद्धमा हाम फालेका थिए । युद्धमा सामेल भएका थिए ।
युद्ध भनेको दुई पक्षबीच घमासान लडाइँ हुनु हो । यस्तो लडाइँ निरंकुश सत्तालाई जोगाईराख्नेहरु र निरंकुश सत्तालाई फालेर गरिबको सत्ता स्थापना गर्नेहरू बीचको थियो । न्याय र अन्याय बीचको लडाइँ थियो । (गरिब जनताहरुको सत्ता त आयो कि आएन ? जनताले सत्ताको आभाष गर्न पाए कि पाएनन् ? त्यसको मूल्यांकन इतिहासले गर्ला नै !) हामी भने त्यो बेला इतिहासको भयानक कठघरामा उभिएका थियौं । टाउकोमा कात्रोको कफन बाँधेका थियौं । पूर्वी दृष्टि क्षीतिजमा सुनौलो घाम उदाउने आशा गरेका थियौं । जिन्दगीलाई खुकुरीको धारमा राखेर मृत्युलाई समेत ललकारेका थियौं । चानचुन साहसले मृत्युलाई कहाँ जित्न सकिन्थ्यो र ? यसै प्रसंगमा मैले यहाँ एउटा कालजयी–मृत्यन्जयी क्षणको स्मरण गर्न गईरहेको छु ।
केही समय अगाडिदेखि नै हाम्रो स्थिति निकै पेचिलो र जटिल बन्दै गईरहेको थियो । जताततै व्यापक रूपमा दुश्मनको घेराबन्दी थियो । हामीलाई प्रत्येक पाइलामा आक्रमण गर्न खोजिरहेको थियो । तर हामी पनि हर आक्रमणको प्रत्याक्रमण गर्न तम्तयार थियौं । दुश्मन आक्रामक रूपमा आउँदा हामीले भमरा झैं चक्कर काट्दै प्रतिरोध गरिरहेका थियौं । यस्तो फौजी रणनीति अबलम्बन गर्नुपर्ने अवस्था थियो । त्यसैले हामी चक्कर काट्दै–काट्दै दोलखा विगुबाट माथि ठिङ्साङ्को लेक छिचोलेर सिन्धुपाल्चोक हुँदै २०६१ साल असार महिनाको अन्तिमतिर काभ्रेको सानो बाङ्थलीमा केन्द्रित हुन पुगेका थियौं । दुश्मनसँग बारम्बार लुकामारी र भिडन्तहरु गर्दा–गर्दा थकित भएर हामी त्यहाँ पुगेका थियौं । केही शक्ति सन्चय गर्नुपर्ने थियो । र फोर्सलाई रणनीतिक, कार्यनीतिक र युद्धकौशलतामा थप सुदृढ गर्नुपर्ने अवस्था पनि थियो । सानो बाङ्थली हाम्रो आधार इलाका जस्तै थियो । दुःख पर्दा अप्ठ्यारो पर्दा कयौं पटक यो बस्तीले हामीलाई आफ्नो गादोमा लुकायो । भोक, तीर्खा, थकाइ लाग्दा हाम्रो सेवा ग¥यो । पार्टीका भेला, बैठक, प्रशिक्षणहरु प्रायः त्यही ठाउँमा हुन्थ्यो । चारैतिर डिफेन्स टोलीहरु राखेर पार्टीका यस्ता गतिविधिहरु सन्चालन गर्न सजिलो थियो । हाम्रो एउटा सन्चार बेस पनि त्यही ईलाकामा थियो । त्यहाँबाट हामीले प्रायःजसो दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली र काठमाडौसम्मका सूचनाहरु थाहा पाउँथ्यौं । (लौरे भञ्ज्याङ्मा सानो बजार थियो ।त्यहाँ मोबाइल फोन पनि प्रायः लाग्थ्यो । हामी कहिलेकाही फोन गर्न त्यहाँ पुग्थ्यौं । त्यो बेला एक जना साईंला दाइ भन्ने तामाङ दाइसँग मोबाइल फोन थियो । दाइ अत्यन्तै रमाइलो पाराका थिए ।) दुश्मनहरु कताबाट मूभ भयो ? कति नफ्री मूभ भयो ? भन्ने कुराहरू पनि प्रायः थाहा हुन्थ्यो । ब्यारेक नजिक नजिकसम्म पनि हाम्रो ईन्टलिजेन्सहरु खटिएका हुन्थे । तर कहिलेकाही चाहिँ हामी पनि सरप्राईजमा पर्थ्यौं । दुश्मनको गस्ती सोच्दै नसोचेको ठाउँमा आईपुग्थ्यो । त्यतिबेला चाहिँ सा¥है गा¥हो हुन्थ्यो ।
भावी रणनीति र कार्यनीतिको सन्दर्भमा ठोस योजना बनाउनको लागि हाम्रो चौधौं बटालियन हेड्क्वार्टर र (काभ्रे+रामेछाप, दोलखा+सिन्धुपाल्चोक) जिल्लाको तत्काल संयुक्त बैठक बस्यो । बैठकको निष्कर्ष के निस्कियो भने जनमुक्ति सेनाको फर्मेशनलाई थप सुदृढीकरण गर्न नयाँ युद्ध ट्याक्टिस अनुसार एक महिने फौजी प्रशिक्षण (सैन्य तालिम) दिने । तालिम दिनको लागि तत्कालीन व्रिगेड सह–कमान्डर कमरेड पावेललाई बोलाउने । पार्टी संगठन, ज.व.स. र मुक्ति मोर्चाका कमरेडहरुलाई जनसंगठनको काममा तीव्रता दिने । सैन्य तालिम सम्पन्न भएपछि जनमुक्ति सेनाको टोली एकपछि अर्को फौजी मोर्चाहरु खोल्दै जाने काममा लाग्ने । कम्पनी कमान्डरहरुले फोर्सको कमान्ड गर्ने । राम्रोसँग तालिम सम्पन्न गर्ने । र कम्पनी कमिशारहरुले सुरक्षा र ईन्टलीजेन्सलाई परिचालन गरेर तालिम स्थलको सुरक्षा गर्ने भन्ने निर्णय पनि भयो । त्यसैले तत्कालीन व्रिगेड सह–कमान्डर क. पावेल २०६१ साल श्रावण २ गते नै बाङ्थली आईपुगेर आफ्नो काममा लागिहाले । हामी पनि बटालियन कमिशार क. कृपाश्वरको आदेश अनुसार आ–आफ्नो काममा लाग्यौं । (बटालियन कमान्डर क. जीवित र सह–कमान्डर क. रामजी फिल्डमै रहे ।) कसैले संवेदनशील नाकामा माईनिङ (एम्बुश) गर्ने । कसैले सुक्ष्म ढंगले ईन्टलीजेन्सको काम गर्ने । यही जिम्मेवारी लिएर किसान नेता पुण्य प्रसाद पराजुली (क. निर्मल), मेरो रनर क. सुजन र म दोलखा जिल्लाको भुसाफेदातिर सुरक्षाको जिम्मा लिएर लाग्यौं । खास गरी हाम्रो जिम्मेवारी पट्रोलिङ गर्ने र ईन्टलिजेन्स गरेर दुश्मनको गतिविधि बुझ्ने थियो । हाम्रो आर्क थियो सिन्धुपाल्चोकको सिक्रे, अत्तरपूर, हृस्याङ्गो (लिसंखु) निकै संवेदनशील एरिया थियो । त्यो एरिया हामीले निगरानीमा राख्नुपर्थ्यो । त्यसैगरी दोलखाको मुडे–निगाले, मागा देउराली, बाघखोर एरियालाई पनि निगरानीमा राख्नुपथ्र्यो । त्यही उद्देश्यकासाथ हामी भुसाफेदा पुगेर तामाङ गाउँमा बास बस्यौं । तामाङ दाजुकोमा खानेकुरा आलु मात्र रहेछ । त्यही आलु खाएर रात बितायौं । भोलिपल्ट अलिकति चामल किनेर ल्याएर दाजुलाई पकाउन लगाएर खायौं । दुश्मनको स्थिति पनि बुझ्दै गयौं । त्यतिबेला फेरि शैलुङ एरियातिर निकै दुश्मनको बिगबिगी बढेको थियो ।
दुई दिन जति भुसाफेदा गाउँको आसपासमा ईन्टलीजेन्स गरेपछि हामी २०६१ साल श्रावण १० गते मुडे–देउराली आसपासमा दुश्मनको स्थिति बुझ्न भनेर निस्कियौं । क. निर्मललाई तल गाउँमै छोडेका थियौं । श्रावण महिना डम्मै कुहिरो लागेको थियो । सिमसिम पानी पनि परिरहेको थियो । त्यो ठाउँमा हिउँद होस या बर्खा जहिल्यै पनि बरफ ओडेर हिंडे झैं चिसो हुन्थ्यो । बादलको घुम्टोभित्र कुहिरोको काग झैं लुकामारी खेल्दै खेल्दै अलि चनाखो हुँदै मुडे देउरालीको कच्ची रोडैरोड हिंड्यौं । म अघि अघि मेरो स्टाफ पछिपछि थियो । उसलाई पनि अलि चनाखो हुनु भनेको थिएँ । यसरी हामी लगातार हिंडिरह्यौं ।
मसँग एउटा ब्राउनिङ पेस्तोल, एउटा मोबाइल फोन र एउटा सन्चार सेट थियो । क. सुजनसँग पनि एउटा पेस्तोल थियो । जङ्गलको बाटो खासै मान्छेहरु पनि हिंडेका थिएनन् । पर मुडे निगालेबाट हामीतिर पैदल आउने मान्छे पनि कोही भेटेनौं । हामी हिंड्दै जाँदा चराचुरुङ्गीको निकै मीठो आवाज आईरहेको थियो । हामी लगातार अगाडि बढ्दै गयौं । बाटोमा पनि त्यस्तो कुनै खतराको संकेत देखा परेन । जति अगाडि जान्थ्यौं त्यति नै कुहिरो पनि बाक्लो–बाक्लो लागिरहेको थियो । हामी जब निगाले बजार नजिकै पुग्यौं । तब कोही मान्छे जस्तो–जस्तो धुमिल–धुमिल आकृतिसँग एक्कासि हाम्रो आँखा ठोक्कियो । जनता हुन् कि शाही सेना हुन् ? ठम्याउन अलि गा¥हो प¥यो । अझ अलि नजिक गयौं । शुरुमा निगाले बजारमा तीन जना मान्छे देखापरेका थिए । त्यसपछि ती मान्छेहरु एकपछि अर्को बढ्दै गए । हामी झन् सशंकित भयौं । क. सुजनले सानो स्वरमा “सेना जस्तो पो छ त सर !” भने । मैले पनि “त्यही त, चलाख हुनुपर्छ है !” भनें । एउटाले शिरमा सेतो तारा भएको रातो कफन पनि बाँधेको थियो । (त्यतिबेला सेनाहरुको माओवादी छापामारहरुलाई झुक्याएर फँसाउने कला थियो त्यो । “लालसलाम कमरेड !” भनेर मुट्ठी पनि उठाउने गर्थे । मात्र सिविल कपडा लगाएर हिंड्थे र झोलामा एस.एम.जी. बोकेर हिंड्थे।) अर्कोले घेरा मात्र भएको रातो क्याप लगाएको थियो । अर्कोले सिविल रेनकोट लगाएको थियो । कोही पनि ड्रेसमा थिएनन् । सबैले सिविल कपडा लगाएका थिए । हामीलाई शंका लागेर दुई भाइ बीच रोडमै ठिङ्ग उभियौं । मान्छेहरु माथि डाँडातिर अरु पनि बढ्दै–बढ्दै गए । त्यो सानो निगाले बजार सुनसान थियो । ती मान्छेहरु पनि सबै सिविलमै थिए । शुरुमा त सबैको हात खाली नै देखिएको थियो । हामीले हेर्दाहेर्दै एउटाले रेनकोट भित्रबाट एस.एम.जी. निकाल्यो । अरु दुई जनाले एम–१६ निकाले । स्थिति त प्रतिकूल बन्दै गयो । उनीहरू र हामी बीचको दूरी त्यस्तै १५ मिटर जति मात्रै थियो होला । त्यसपछि एउटाले हातको ईशाराले हामीलाई “यता आईज !” भनेर बोलायो । हामी चाहिँ अकमकिएर उभिरह्यौं । यसो माथि डाँडातिर आँखा लगाउँदा त पूरै डाँडा नै दुश्मनले ढाकेको रहेछ । हाई पोस्टमा त एल. एम. जि. बाईपट टेकाएर फिट गरेको रहेछ । अरु चाहिँ ‘सि’ आकारमा घेरा हाल्दै हामीतिर बढ्दै रहेछ । अब भने हामीलाई भयङ्कर आपत प¥यो । अगाडि जाउँ दुश्मनको घेरा । तलतिर जाउँ छङ्गाछूर ठूलो भीर । माथितिर पनि दुश्मनको घेरा । सिधा पछाडि जाउँ कभर बिनाको खुल्ला रोड । यस्तो फसादमा परियो कि कहिँ कतैबाट उम्कनै नसक्ने अवस्थामा परियो । त्यो बेलामा दिमाग निकै चक्करायो । अन्यौलतामा फँसियो ।
हामीलाई हातको ईशाराले बोलाउने दुश्मन विस्तारै हामीतिर हतियार सोझ्याउँदै सर्दै आयो । अरु पनि सलह झैं हामीतिर ‘सि’ आकारमा बढ्दै आए । घेरा झन् सँघु¥याउँदै आए । हतियारहरु सबैको हातमा अलर्ट पोजिशनमा थियो । त्यतिबेला अब बाँच्ने दिन यत्ति नै रहेछ भनेर टाउको फुल्न लाग्यो । आँखामा मृत्यु नाच्न थाल्यो । चारैतिर अन्धकार जस्तो । रातो, नीलो, हरियो, पँहेलो बत्ती बले जस्तो तिरिमिरी भयो । मर्नु भन्दा बहुलाउनु बेस भने झैं एक्कासि दिमागमा यस्तो उपाए आयो कि “दुश्मनको कब्जामा परेर मर्नु भन्दा गोली खाएर मर्नु नै बेस ! फेरि पार्टीको योजना पनि त बचाउनुछ !” भनेर । अनि क. सुजनलाई फरक्कै फर्केर “छिटो भाग ! दौडँदा दौडँदै गोली लागे पनि लागोस । ढले पनि ढलियोस । तर दुश्मनको कब्जामा नपरियोस !” भनेर हामी फरक्क पछाडि फर्केर हावाको वेग जस्तै दौडियौं । क. सुजनले “पेस्तोल निकालौं सर !” भन्दै थिए । मैले “अहिले दौडी !” भन्दै अझै दौडको गति बढायौं । दुश्मनहरु हाम्रो पछि पछि “ओई ! राँडीको छोरा नभाग !” भन्दै लखेट्दै असिनासरि गोली वर्षाउँदै आयो । बाक्लो कुहिरोमा बारुदको धुवाँ पनि मिसियो । त्यो पाखै बारुदको धुवाँ गन्हायो । गोलीहरु कान कानबाट आगोको फिलिङ्गा झैं सुइँकिरहेका थिए । हामीले त्यो गोलीको कुनै परवाह नगरी अलि पर पुगेर सानो सानो खालको भीर भेट्टायौं र त्यतै हामफाल्यौं । भीरबाट हाम फालेर तलसम्म पुग्दा पनि फायरिङको आवाज आईरहेको थियो । त्यत्रो भीरबाट हाम फाल्ने साहस पनि कताबाट आयो कुन्नि ? त्यसपछि सुरक्षित ठाउँमा पुगेपछि हामी दुश्मनसँग जम्काभेटमा परेको र बाल बाल बाँचेको । मुडे देउराली एरियातिर दुश्मनको गतिविधि बढेको । र तपाईंहरु पनि अति सजग हुनु भन्ने खबर तुरुन्त हेडक्वार्टरलाई जानकारी गरायौं । त्यसपछि हामी पनि आफ्नो आर. भि. पोईन्टतिर फर्कियौं ।
हाम्रो त्यो सूचनापछि त्यो फौजी प्रशिक्षणको सुरक्षार्थ चारैतिरको नाकाहरुमा अझ मजबुत एम्बुश टोलीहरु राखियो । र अग्ला–अग्ला डाँडाहरुमा अनुभवी एल.एम.जी. टोलीहरु तैनाथ गरियो । र सैन्य प्रशिक्षण शिविर पनि जेनतेन सम्पन्न गरियो । यसरी इतिहासको फ्ल्यासब्याक सम्झंदा गर्व अनि पीडा दुबै हुन्छ । नेतृत्वले हामीलाई नराम्ररी धोका दिए पनि हाम्रो इतिहास जीवितै छ । हाम्रो इतिहास अजम्बरी छ । स्मरण रहोस् हाल त्यो प्रशिक्षण शिविरको प्रशिक्षक क. पावेल (बासुदेव घिमिरे) नेपाली सेनाको लेफ्टिनेन्ट कर्णेल छन ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |