Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मोहनजीको बारेमा भनूँ भने

प्रभातफेरी अनलाइन ११५५ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १२, मंगलबार (४ साल अघि)
मोहनजीको बारेमा भनूँ भने

आशाकाजी श्रेष्ठ
(शिक्षासेवी/साहित्यकार)

मोहनजीको पूरा नाम मोहन दुवाल हो । उहाँको साहित्यिक नाम शरद बनेपा हो । मलाई उनको नामबाट लेखिएका लेखहरु पत्रिकाहरुमा पढेको सम्झना आउँछ । मलाई उनको साहित्यिक नाम शरद बनेपा भन्ने थाहा चाहिँ थिएन । छयालीस सालको जनआन्दोलनपछि मात्र थाहा पाएको हुँ ।
उनी जन्मेको तीन वर्ष मात्र के पुगेको रहेछ मचाहिँ मास्टर जागिर खान थालेछु । अहिले पो थाहा पाइयो । उनले हाइस्कूलसम्मको शिक्षा त्यसताकाको आजाद हाइस्कूलमा पाएका थिए, जहाँ म पढाउने गर्दथेँ । शुरु शुरुमा हाम्रो परिचय भएको सम्झना छैन । जब उनले कविता कोर्न थाले, त्यस बेलादेखि परिचय शुरु भयो । विद्यालयमा पढ्ने विद्यार्थीहरुमा कि त अति राम्रो विद्यार्थीलाई चिनिन्छ कि त अति उल्लूलाई चिनिन्छ । यी दुवै क्षेत्रमा उनको भूमिका के थियो मलाई सम्झना भएन । उनलाई चिनेको साहित्यिक रचनाको माध्यमबाट नै हो । त्यसताका हामीहरु नेपाल भाषामा कविता लेख्ने गर्दथ्यौं । उनको पहिलो कृति नेपालभाषामा लेखिएको कवितासङ्ग्रह ‘चुलिजाःगु स्वाँ’ हो । यसको प्रकाशन २०२३ सालमा भएको थियो । यस पुस्तकमा मैले भूमिका लेखेको थिएँ ।
हाइस्कूलको शिक्षा पार गरेपछि उनी कलेजतिर लागे । अध्ययनको निम्ति उनले केकति सुख दुःख बटुले ती कुरा एकातिर छँदैछ शिक्षाको महत्व थाहा पाएर उनले बी.ए., बी.एड. को उपाधिहरु हासिल गरे । त्यसपछि उनले मास्टर डिग्रीको लागि तयारी गरे, परीक्षामा सामेल भए परन्तु मनको धोको पूरा गर्न सकेनन् ।
उनको राजनीतिक आस्था वाम समूह थियो, छ । पछि पनि शायद परिवर्तन हुने छैन । उनी आफूलाई वाम समूहको भनाउनमा गौरव नै मान्छन् । उनको नजिकका साथीभाइहरु अधिकांश यही वाम समूहमा नै छन् । कुनै जमानामा हो चि मिन्हलाई काका भनेर कविताहरु लेख्थे र लेखाउँथे पनि । उनले पञ्चायतकालमा लेख रचनाहरु प्रकाशन गर्न ‘शरद बनेपा’ भनी उपनाम राखेका थिए । अहिले उनी उपनामबाट रचनाहरु छपाउँदैनन् कि जस्तो लाग्छ ।
उनको पारिवारिक वातावरण पनि वाम समूहभित्रै रुमलिएको पाइन्छ । उनकी श्रीमती भारती श्रेष्ठका पिता ललितपुर जिल्लाका ख्यातिप्राप्त वाम समूहका नेता दिलबहादुर श्रेष्ठ हुनुहुन्छ । त्यस बेला उनीहरुको विवाह पनि पार्टी कार्यकर्ता भएर प्रेम विवाह हो कि भन्ने मेरो प्रश्नमा उनले भनेको सम्झना यस्तो छ– “हाम्रो प्रेम विवाह होइन । आमाबाबुले खोजी व्यवस्था गर्नुको सट्टामा साथीहरुले लमी काम गरे, दुवै राजी भयौं र विवाह भयो ।” यस विवाहबाट एउटा फाइदा अवश्य भयो । त्यो के भने उनका वृद्ध मातापिताहरु छक्कै परे, बढी प्रसन्न भए । पार्टीमा लागेका मानिसहरु अन्तर्जातिय विवाह गर्न पनि सक्छन् । अन्तर्जातीय विवाहमा परिवारमा बस्दाखेरि आ–आफ्नो सांस्कृतिक कार्यमा असजिलो हुने, बाधाविघ्न हुने, समाजले पनि हेयको दृष्टिले हेर्ने भुक्तभोगीहरुको भनाइ छ । आफ्नै जातीय, सांस्कृतिक विधि व्यवहारसित मिलेकी बुहारी भित्र्याउन पाउँदा वृद्धा आमाबाबुहरु सन्तुष्ट भए । जीवनको अन्तिम घडीसम्म पनि कान्छो छोरा मोहनको र बुहारी भारतीको माया ममता र स्नेह पाइराखे । यस्तै गरी उनीहरुलाई पनि वृद्ध बा–आमाले पनि श्रद्धा दिइरहे । यसै सन्दर्भमा उनका बुबा गणेशबहादुर दुवालले गर्नुभएको टिप्पणी यस्तो थियो– “कम्युनिष्टहरुले बाबु–आमालाई पाल्दैनन् भन्दथे, हाम्रो छोरा र बुहारीले हामीलाई इज्जत आरामसाथ पालेका छन् ।”
मोहनजीको पारिवारिक भनाइअनुसार र साथी सँगातीको उपलब्धिको परिणामबाट उनी वाम विचारका हुन् भन्ने बुझिन्छ । उनी हाल आफूलाई स्वतन्त्र वामका रुपमा परिचित गराउन चाहन्छन् । वाम समूहकै भएर पनि कट्टरचाहिँ उनी छैनन् । उनको साहित्यिक कार्यक्रममा विभिन्न राजनीतिक विचारधाराका मानिसहरु भेटिएका छन् । एक पटक बनेपामा ख्यातिप्राप्त काङ्ग्रेसी मन्त्रीलाई मुख्य अतिथिको रुपमा आमन्त्रण गरी सत्यश्वर मकैद्वारा लिखित पुस्तकको विमोचन कार्यक्रम गरिएको थियो । मन्त्रीले सभाका दर्शकहरु सबै काङ्ग्रेसी नै ठानेर अब चाँडै हुने चुनावमा काङ्ग्रेस उम्मेदवारलाई भोट दिएर विजयी गराउन अपील गर्नुभयो । दुवालजीलाई सह्य भएन । पछि आफ्नो बोल्ने पालोमा साहित्यिक कार्यक्रममा राजनीतिको प्रचार गर्नु राम्रो होइन, यो भोट माग्ने थलो होइन, साहित्यिक कार्यक्रममा राजनीति नगर्न मन्त्रीलाई अनुरोध गरियो । त्यस बेला सुन्नमा आयो– मन्त्रीले दुवाललाई चिनेनन्, दुवालले पनि मन्त्रीलाई चिनेनन् । वास्तविक कुरा के भने साहित्यिक कार्यक्रममा सबै राजनीतिक विचारधाराका मानिसहरुलाई समावेश गराउने उनको सिद्धान्त हो, साहित्यिक कार्यक्रममा राजनीति नगर्ने र नगराउने उनको प्रतिबद्धता हो, तर पनि राजनीतिक आक्षेप लगाइन्छ भने उनी खण्डन पनि गर्दैनन् । खण्डन गर्नुपर्ने आवश्यकता पनि ठान्दैनन् । मोहन दुवाललाई मोहन सर भनिन्छ । हामीकहाँ शिक्षक भै काम गरेका मानिसहरुलाई सर भन्ने गरिन्छ । उनले २७ वर्ष शिक्षणसेवा गरेका थिए । बीस वर्ष शिक्षक भएबापत पेन्सन पाउनुपर्ने हो । तर उनको शिक्षण सेवा व्यवस्थित ढङ्गले भएन । पञ्चायतकालमा उनलाई थुप्रै खालको बहाना लगाइन्थ्यो, थुप्रै ठाउँमा सरुवा गरिरहन्थ्यो, जसबाट उनको सेवा विभिन्न विद्यालयहरुमा शिक्षाशास्त्र क्याम्पस, गोरखा; काभ्रे बहुमुखी क्याम्पस, बनेपा; सरस्वती प्रा.वि., बनेपा; बनेपा प्रा.वि., बनेपा; चक्रज्योति प्रा.वि., भैंसेपाटी;, दुग्धेश्वर प्रा.वि., पाँचखाल; पूर्ण सञ्जीवनी नि.मा.वि., धुलिखेल; शहिद स्मारक इ. बोर्डिङ स्कूल, काठमाडौं; भानुभक्त मेमोरियल इ. बो. स्कूल, काठमाडौं; गणेश मा.वि., काठमाडौं; प्रभात मा.वि., थानकोट; शुभचामुण्डा नि.मा.वि., टुसाल र महेन्द्र मा.वि., साँगामा प्रधानाध्यापक पदमा बसी व्यवस्थित ढङ्गले शिक्षण सेवा गरेको देखिन्छ । महेन्द्र मा.वि., साँगाको विस्तार, सुदृढीकरण र स्थायित्व र भवन निर्माण कार्यमा उनको देन महत्वपूर्ण छ । यसै सन्दर्भमा भन्ने हो भने शिक्षण पेशा उनलाई फापेन । पञ्चायतकालमा प्रहरीको आचारणसम्बन्धी प्रतिवेदन विना स्थायी गर्न नसकिने प्रावधानका कारणले उनलाई उनी कार्यरत शिक्षण सेवामा ठूलो समस्या परेको थियो । शिक्षण जागीर फापेन ।
घरपायकको महेन्द्र मा.वि. साँगामा प्रधानाध्यापकको पद पाइए तापनि वि.सं. २०४९ को स्थानीय चुनावमा बनेपा नगरपालिकाको नगरप्रमुख पदको निर्वाचन लड्न उनले शिक्षण पेशाबाट राजीनामा गरे । एकातिर जागीर छोडियो, अर्कोतिर चुनावमा हारियो । उनलाई राजनीति फापेन । यी दुवै कदमको परिणाम उनलाई नोक्सान भएन, फाइदै भयो । फाइदा के भयो भने उनी साहित्यकार बने । नत्र राष्ट्रिय स्तरको साहित्यकार बन्न गाह्रै पथ्र्यो होला ।
पुस्तक विक्रीको समस्याबाट अलिकति राहत पाउन उनले पुस्तक उपहार कार्यक्रम सञ्चालन गरेका छन् । यसबाट कागज खर्च मात्र भए पनि उठाउन सकिएको छ । यो पनि पुस्तक बिक्री गर्ने एउटा नयाँ तरिका हो । पुस्तक उपहार कार्यक्रम रु.५०।– को एउटा चिठ्ठा लिनेलाई रु.४०।– को किताब पहिले नै टिकटसँग दिइन्छ । चिट्ठा परेमा पुरस्कारस्वरुप पुस्तकहरु पाउने व्यवस्था गरिएको छ । जनमत प्रकाशनबाट पुस्तक छाप्न सघाउन पनौतीका शिक्षासेवी निवृत्त प्रधानाध्यापक हरिसुन्दर सैंजुले स्व. कमला सैंजुको स्मृतिमा एक लाख रुपियाँको अक्षयकोष स्थापना गरिदिनुभएको छ । यस पुनीत कार्यको लागि धन्यवाद कसलाई दिऊँ– दाता हरिसुन्दर सैंजुलाई अथवा आयोजक मोहन दुवाललाई ? निष्पक्ष कुरा दुवैलाई दिऊँ, अरुहरुलाई प्रभाव परोस् ।
मोहनजीले सम्मान तथा पुरस्कार पाउने क्रम जारी नै छ । अहिलेसम्ममा मैले थाहा पाएअनुसार उनले पाएका दानमाया प्रतिभा पुरस्कार, प्रेस काउन्सिल पुरस्कार, जिल्ला विकास समिति काभ्रेको उत्कृष्ट साहित्यिक पुरस्कार, साहित्य सन्ध्या पुरस्कार, स्रष्टा सम्मानबाट बनेपामा अभिनन्दन, चितवनबाट कृष्णाकुमारी गुरुङ स्मृति पुरस्कार, टोखामा अभिनन्दन गरिएका छन् ।
उनको संलग्नता रहेका संस्थाहरुमध्ये सुनकोसी साहित्य प्रतिष्ठान, प्रगतिशील लेखक सङ्घ, युद्धप्रसाद मिश्र पुरस्कार तथा प्रकाशन गुठी, व्यथित सिन्धु प्रतिभा सम्मान कोष, काभ्रेली साहित्यिक सङ्गम, प्रतिभा सम्मान प्रबन्ध गुठी, साहित्यिक सम्पादक समाज, नेपाल बालसाहित्य समाज, काभ्रे बहुमुखी क्याम्पस सञ्चालक समिति, केदारनाथ प्रधान स्मृति तथा प्रकाशन समिति, प्रजातन्त्र सेनानी सम्मान संस्थाहरु प्रमुख छन् ।
पञ्चायतकालमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको काभ्रे जिल्ला शाखाको चुनाव हुँदा शिक्षकहरुलाई परिरहेको दबाब, पीडा, अत्याचारको विश्लेषण गर्दा रोएर मतदाता शिक्षकहरुलाई प्रभाव पारेका मोहनजीले शिक्षण पेशालाई आजीवन जीवनयापनको माध्यम बनाउन सकेनन् । उनी शिक्षण पेशामा नै लागिरहेको भए पेन्सनसम्म पाउने थिए । तर त्यति मानमर्यादा केही पाउँदैनथे । उता राष्ट्रिय स्तरको साहित्यकार हुन नसक्ने थिए । शिक्षण पेशा छोडेर नोक्सान भएन, उनलाई फाइदै भयो ।
उनलाई साहत्यिक क्षेत्रमा लम्कन उनकी धर्मपत्नी भारती श्रेष्ठले निकै सघाएको कुरा पनि थाहा छ । उनले एउटा सिर्जनाका फूलहरु नामक कवितासङ्ग्रह छाप्ने प्रबल इच्छा गरे । छाप्नलाई पैसा भएन, पैसाको खोजी गर्दा कहीँ पाइएन, आखिरमा उनको आँखा श्रीमतीको गर्दनमा चुलबुलाइरहेको सुनको सिक्रीमा प¥यो । सिक्रीलाई पुस्तकमा परिणत गर्ने वातावरण बनाई सुनको सिक्री लगाउनु भन्दा एउटा किताब प्रकाशित गर्न पाएमा श्रीमतीको शोभा बढ्छ, इज्जत बढ्छ भन्दा खुसीसाथ सुनको सिक्री फुकाली दिने श्रीमतीको योगदान कम मान्नु हुँदैन । त्यस्तै केस मेरो परेको भए शायद म सफल हुन्नथेँ होला ।
पञ्चायतकालमा राँको परिवार नामको साहित्यिक संस्थाले बनेपाको तीनधारामा साहित्यिक कार्यक्रम गरेको थियो । प्रहरीको हस्तक्षेपले कार्यक्रम बिथोलियो । सहभागीहरुलाई पक्राउ गर्न आदेश जारी भयो, भूमिगत हुँदा पेट भर्न नसकेर भटमास र पानीको भरमा रात बिताउनेहरुमा मोहनजी पनि थिए । देशको लागि केही गरौं भन्ने भावना सङ्कटकालमा पनि उनीसित रहेछ । राँको नाममा भएको घटनाले उनको नाम कालो सूचीमा प्रहरी कार्यालयमा लेखियो, जसले गर्दा शिक्षक जागीर खान पनि सजिलो भएन ।
बोल्नमा निडर, मनमा लागेको कुरा ढाकढुक भनिहाल्ने उनको बानी नै हो । अरुले बोलेकोमा चित्त नबुझे खण्डन गरिहाल्ने, आफूले बोलेकोमा अरुलाई चित्त नबुझी खण्डन गरेमा धैर्यसाथ सुन्ने बानी बसिसकेका मोहनजी विवादबाट मुक्त हुन सकेका छैनन् । उनी आफ्नै भनाइ र अडानमा छन् । यो उनको हठवादिता हो । उनी यसैमा गौरव गर्दछन् ।
साहित्यलाई पेशाको रुपमा अँगालेका मोहनजीले २÷३ वटा साप्ताहिक पत्रिकाहरुमा स्तम्भकार भै लेखिरहेका छन् । साहित्य पढ्नु, साहित्य लेख्नु, साहित्यका किताब छाप्नु, छापिएका कृतिहरु बिक्री गर्नु उनको दैनिक दिनचर्या नै बनिरहेको छ । साहित्यिक कार्यक्रमहरुमा गइरहनु, जहाँ गए पनि साहित्यकै कुरा गर्नु, साहित्यिक मासिक जनमत छाप्नु, बिक्री वितरण गर्नुमा नै उनको समय बितिरहेको छ । जहाँ गए पनि ब्यागभरि पत्रिका र किताब बोक्नु, बाँड्नु, बेच्नु नै कार्य भइरहेको छ । यसै गरी ५० वर्ष पुगेका मोहनजी यही साहित्यिक क्षेत्रमा लागिरहे भने काभ्रे जिल्लाका लागि मात्र होइन राष्ट्रकै लागि अमूल्य निधिको रुपमा देखापर्न सक्नेछन् । यसमा द्विविधा नै छैन ।
दुई छोरी र एक छोराका आमाबाबु मोहनजी र भारतीजीले सानो परिवार सुखको आधार मानेर दिनचर्या बिताइरहेका छन् । मद्यपान नगर्ने तर अलि अलि धुम्रपान गर्ने मोहनजीको साहित्यिक यात्रा सिल्करोडमा गुडिरहेको गाडी जस्तै भन्नुमा के अत्युक्ति होला र ?

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

  • पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

    पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0