– मोहन दुवाल
काभ्रेपलाञ्चोक/ जनमत वाङ्मय प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकारका रुपमा ७७ वर्ष नाघिसकेको व्यक्तित्व रहनुभएकोले राजु सरकारको अध्यक्षतामा मोहन दुवालको ‘जंको’को कार्यक्रम बनेपामा सुरु भएको हो । कार्यक्रममा सबै क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो । साहित्यकार, कलाकार, सङ्गीतकर्मी, शिक्षासेवी, समाजसेवीहरुको विशेष उपस्थिति रहेको कार्यक्रम भव्य र सभ्य देखिंदो छ ।
मेरो ‘हीरक जन्मोत्सव’ को कार्यक्रम बनेपास्थित अर्निको पार्टी प्यालेसमा यही जेठ ३० गते भव्य ढङ्गले राजु सरकारको संयोजनमा जनमत वाटिकाले बनेपामा आयोजना भएको हो । बनेपामा जन्मिनुभएर बनेपालाई कर्मक्षेत्र बनाउनुभई जनमतमार्फत् थुप्रै खालका साहित्यिक गतिविधि गर्नुभएर बनेपालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भनि मेरो सम्मानमा भएको यस कार्यक्रम मनोरम र भव्य देखिंदो रहेको उपस्थितहरुको टिप्पणी रहेको छ । म आफू पनि प्रफुल्लित हुन पाएको छु ।
जनमत वाटिकाका संयोजक राजु सरकारको अध्यक्षतामा भएको उक्त कार्यक्रमको समुद्घाटन जनमत वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्षका हैसियतले मलाई गराउनुभएको थियो । मञ्चमा रहनुभएका विशिष्ट अतिथिहरुमा राजभाई प्रधान, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. रामप्रसाद दाहाल, डा. अनन्तप्रसाद अधिकारी, डा. कृष्ण सुवेदी, राधेश्याम मुल्मी, राकेश अवाले, सुन्दर श्रेष्ठ, प्रेम श्रेष्ठ, नर्मदेश्वरी सत्याल, राममणि ढुङ्गेल, केशव पराजुली, रमेश प्रभात, लम्बोदर कायस्थ, हरिभक्त भोछिभोया, सूर्यप्रसाद लाकोजू, विधान जोशी रहनुभएको छ ।

ठीक २ः०० बजे सामाजिक अभियन्ता इन्द्रनारायण भैलले सुरु गर्नुभएको कार्यक्रममा सामूहिक राष्ट्रिय गानका साथै जनमत स्वागत गान गाइएको थियो । उद्घोषक भैलले पारिवारिक परिचयसमेत दिनुभई सुरु भएको उक्त समारोहमा आफ्नो जीवन–क्रमबारे मैले आफ्नो विचार प्रस्तुत गरेको थिएँ । मेरो व्यक्तित्व र कृतित्वबारे विशेष वक्ता रहनुभएका प्रा.डा. रामप्रसाद ज्ञवालीले आफ्नो जीवनमा हालसम्म पनि स्वाभिमानलाई गिर्न नदिई निरन्तर साधनामा समर्पित व्यक्तिका रुपमा आफ्नो व्यक्तित्व निर्माण गर्न सफल व्यक्तित्व र साहित्यकार मोहन दुवाल हुनुहुन्छ’ भन्नुभयो । मैले चिनेदेखि साहित्यिक क्षेत्रमा आफ्नो पहिचान देखाउँदै आउनुहुने उहाँको समर्पण उल्लेखनीय मात्र नभई उच्च कोटीको रहेको सन्दर्भ प्रकाश पार्नुभयो । अन्य शुभकामना मन्तव्य प्रकट गर्नेहरुमा प्रा.डा. रामप्रसाद दाहाल, डा. कृष्ण सुवेदी, हरिभक्त भोछिभोया हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा नै मोहन दुवाल बारेका दुईवटा पुस्तकहरु १) मुक्तक कवितामा मोहन दुवाल – सं. कृष्णकुमार वैद्य २) गद्य कवितामा मोहन दुवाल – सं. रामसुन्दर देउजा÷श्रीकृष्ण वादे र ज्ञानगुनका कुरा पत्रिकामा ‘मोहन दुवाल भाग ५’ पनि सार्वजनिक गरिएको थियो । दुईवटा पुस्तक र एउटा पत्रिकामा प्रकाशित लेख–रचनामा कृष्णकुमार वैद्य, रामसुन्दर देउजा र सूर्यप्रसाद लाकोजूले मेरो व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो । मेरो सम्मानमा कविता वाचन गर्नेहरुमा दियेशरत्न शाक्य, राजेन्द्र श्रेष्ठ र मणिराज श्रेष्ठ थिए । गित गाएर शुभकामना दिनेमा गायक रामहरि न्यौपानेले कर्णप्रिय स्वरमा आफूलाई गुन्जाइदिएर कार्यक्रमको रोचकता थपिदिए ।
थोरैमात्र उपस्थिति गराउने सोच थियो । संख्यामा ५० मा थपिएर १२५ जना मात्र डाक्ने टुङ्गो लाग्यो । कार्ड छापिएन, फोनकै भरमा अनुरोध भयो । निश्चित तोकिएका मित्रहरुको उपस्थिति रह्यो । परिवारका सबै जना उपस्थिति रह्यो । भारतीका माइतीतर्फका भाइ–बुहारीहरु र भतिजीसमेतको उपस्थितिमा कार्यक्रम भयो । भारती, सोनी, सिर्जना, पासाङको सक्रियता तारिफ गर्नलायकको भयो । मित्रहरुमा सुन्दर श्रेष्ठ र प्रेम श्रेष्ठले जनमत मासिक र जनमत वाङ्मय प्रतिष्ठानलाई एउटै बोर्डमा सुन्दरढङ्गले कुँद्न लगाई दिनुभयो र कार्यालय माथि टाँग्न सहयोगी पठाई दिए । जनमतको लोगो बनाउने कल्पना नै थिएन – उहाँ मित्रहरुले लोगो बनाएर ल्याएका रहेछन् – मलाई मेरो छातिमा राखिदिए । राजु सरकारले सुन्दरढङ्गले संयोजन गरिदिनुभयो । इन्द्रनारायण भैल जनमतका सहयोगी शारदा भैल घिमिरेकी जीवनसँगिनीले मेरो अनुरोध स्वीकारेर प्रभावकारी ढङ्गले उद्घोषण गरेर जनमतको कार्यक्रममा उत्कृष्टता थपिदिए ।
प्रा.डा. रामप्रसाद दाहाल, डा. कृष्ण सुवेदी र हरिभक्त भोछिभोयाले निरन्तर साहित्यिक सेवा गरेर आफूलाई स्थापित तुल्याउन सफल अथक यात्रीका रुपमा चिनाई दिनुभयो । बनेपाका तीनजना कविहरु मणिराज श्रेष्ठले जस्तै कवितामा भन्नुभयो – “दुनियाँ आफ्नै मोजमस्तीमा रमाइरहेको हेर्दै, पचाउँदै, वास्तविक जीवनमा कति पनि विचलित नहुँदै, लडाईंका एक इमान्दार, कर्मठ योद्धाझैं लडिरहेको छ, साहित्यको हतियार बोकेर ।” यस्तै भाव–धाराका कविताहरु दियेशरत्न शाक्य र राजेन्द्र श्रेष्ठले पनि प्रस्तुत गरे ।
करिव २ घण्टा सुरु भएको भव्य उपस्थिति रहेको उक्त समारोहमा मैले आफ्नो जीवन–क्रम यसरी सुनाएको थिएँ :-
७७ वर्ष नाघिसक्यो घरमा नै रम्न पाएको छु । चीन, उत्तरकोरिया र भारतका विभिन्न प्रान्तहरु घुम्दा करिव १ महिनाजति विदेशमा बिताएको छु । यसैगरी नेपालमा विविध जिल्लाहरु चितवन, तनहुँ, लमजुङ, धादिङ, गोर्खा, मोरङ, झापा, पाँचथर, इलाम, सुनसरी, खोटाङ, सिन्धुली, नेपालगञ्ज, दाङ, सुर्खेत, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, चरिकोट, काभ्रे, धनुषा, रामेछाप, धनकुटा, सप्तरी, उदयपुर, सिराहा, महोत्तरी, दोलखा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी, पाल्पा, स्याङ्जा, रुपन्देही, कास्की, कपिलवस्तु, अर्घाखाँची, पर्वत, म्याग्दी, बाग्लुङ, बाँके, कैलाली, कञ्चनपुर आदि सबै जिल्लाहरुमा २ महिनाजति अन्दाजमा होलान् रात बिताएको छु । काठमाडौंमा २ वर्ष र गोरखामा १० महिना पढ्न र पढाउने क्रममा रात बिताउनुबाहेक अन्य कतै रात बिताइएन । करिव ७७ वर्ष बनेपामा जीवन बिताएको कारणले बनेपालाई नजिकले हेर्न पाएको छु । यसैगरी आफू जन्मेको घरको दर्द, व्यथामा आफू समाहित हुँदै जीवनको सातदशक घरमा रहेर बिताएको छु । घर थोरैमात्र सोच्न सकेको छु । सधैं सबै बेला आफ्नै घर, आफ्नै परिवार र आफूमात्र सोच्नेहरुभन्दा आर्थिक अवस्थामा र घरको थिति(रिति मिलाउने सवालमा म कमजोर देखिनु स्वाभाविकै छ । समाजपरक सोचकै कारणले, समाजकै लागि केही न केही गरिरहनुपर्छ भन्ने भावनाकै उद्बोधनले सधैं समाजमा सक्रिय रहनु मेरो नियतिजस्तै भएको छ । सानै छँदादेखि सिक्दै गरेको बानी ठूलो हुँदा मेट्न गाह्रो हुँदोरहेछ । तर पनि जस्तो आपतविपतमा पनि समाजको हित हुने खालका कार्यहरुमा लाग्न पाउँदा आफू गौरवान्वित हुने प्रचलनले म सामाजिक यात्रामा सक्रिय रहन पाएको छु । क्याम्पस, पुस्तकालय, पत्रपत्रिका, स्मारिका, संघसंस्था, साहित्यिक गतिविधि, पुस्तकहरु नियालेर पुस्तक÷पत्रिका निकालेर नै धेरेजसो मेरो समयहरु बितिरहेछन् । समाजमा चेतना फिँजाउने धेरै खालका कार्यहरुमा संलग्न रहेको कारणले धेरैजसो समाजका पथप्रदर्शक मित्रहरु विचार सम्प्रेषण गर्न मकहाँ आउँछन् । म पनि यस खालका मित्रहरुसँग समय कटाउन पाउँदा गौरव महसुस गर्छु ।
०००
केही सोच्ने तर केही पनि नगर्ने मनोरोग मेरो भएन । लागेपछि यात्रामा लागिरहूँजस्तो लाग्छ मलाई । समाजका अनगिन्ती पाटाहरुमा मैले मन र आँखा लगाएको छु, अझ थाकेको छुइनँ ( यात्रामा निरन्तर लागिरहेको छु । काभ्रे बहुमुखी क्याम्पस यात्राको एउटा बिम्ब हो मेरो । ४६ वर्षपछि पनि समय मिलाएर प्रगतिका लागि कुदिरहेको छु । अझ कति कुद्न सकिने हो, सकेसम्म कुदिरहन्छु । घामपानी, असिना, वर्षाद केही नभनी समाजमा उज्यालो छर्नका लागि चालिएको उक्त शैक्षणिक गतिविधिमा हालसम्म पनि साथीभाइहरुसँग होस्टेमा हैंसे मिलाएर कर्मपथमा लागिरहेको छु । थुप्रैले यस शैक्षिक संस्थामार्फत् बल लिए, प्रेरणा प्राप्त गरे । म आफू पनि यस क्याम्पसमा समाविष्ट भएर गौरव अनुभूत गर्न पाएको छु । टुसाल, भैंसेपाटी, पाँचखाल, बनेपा, साँगा, गोरखा, काठमाडौं आदि थुप्रै ठाउँमा शिक्षणसेवा गर्न पाएको र त्यस ठाउँबाट पाएको प्रोत्साहन र शिक्षा मैले कहिल्यै बिर्सेको छैन । प्राइमरीदेखि क्याम्पस शिक्षण गर्दाको थुप्रै आरोह अवरोहरु मनमा थपक्क राखेको छु । मेरा यात्रामा खराब सोच्नेहरुले मात्र असल भनेनन् । खराब मनोवृत्ति हुने सरकारी निकायहरुले जहिले पनि बाधा अड्चन मात्र रचे । तर पनि यात्रामा अविचल ७७ वर्षसम्म पनि रमिरहेको छु ।
सम्मान गर्न लायकका मान्छेहरुको उचित मूल्याङ्कन गरिदिनुपर्छ भन्ने मान्यताले गर्दा काभ्रे र राष्ट्रका थुप्रै खालका थुप्रै क्षेत्रमा कार्यरत प्रतिभाहरुको सम्मानमा बिम्ब प्रतिबिम्ब काभ्रे टाइम्समा सम्प्रेषण गरेर धेरै वर्षसम्म लेखेँ । र नेपाल समाचारपत्र दैनिकमा पनि पृष्ठ संयोजकका रुपमा रही धेरै वर्षसम्म साहित्यिक पृष्ठ चलाएँ । अझ पनि लेख्दै छु । प्रभातफेरी साप्ताहिकमा हप्तामा एउटा लेख पनि लेखिरहेको छु । यस्तै लेख्नु र गर्नुमा मलाई गौरव लाग्छ । उदार मन राखेर आफ्नो मन र आँखाले भ्याउन सकेका बिम्बहरुलाई राष्ट्रमा चिनाउन पाउँदा खुसीले म सधैं नतमस्तक हुन्छु । यसै क्रममा लाग्दालाग्दै प्रतिभा सम्मान प्रवन्ध गुठी, केदारनाथ स्मृति तथा प्रकाशन समितिमा रहेर कार्य गरेको पनि धेरै वर्ष नाघिसकेको छ । बनेपा, काभ्रे जिल्ला र राष्ट्रका सम्मानित प्रतिभाहरुलाई सम्मान गर्ने परम्परा सुरु गर्न पाउँदाका अनेकौं प्रसङ्गहरु मनमा छरपष्ट छन् । धेरैले यस परम्परालाई रुचाउनुका साथै अनुकरण पनि गरेका छन् । तर कोही(कोहीहरु बिचमा नै अलपत्र भएर गए । जिल्लामा जस्तै राष्ट्रमा पनि केदारमान व्यथित, युद्धप्रसाद मिश्र, हृदयचन्द्रसिंह प्रधान, केवलपुरे किसानका नामबाट स्थापित प्रतिष्ठानमा रहेर थुप्रै खालका प्रतिभाहरु, सर्जकहरु, इतिहासकारहरुलाई राष्ट्रमा चिनाउन पाएको छु । म गौरव महसुस गर्छु, गौरवले प्रफुलित हुँदै यस्तै सिर्जनात्मक कार्यक्रममा धेरैवर्षदेखि निरन्तर लागेजस्तै अझै लागिरहन निरन्तर प्रयत्नरत छु । सुनकोसीका साहित्यिक यात्रा अविस्मरणीय छन् । सुनकोसीको स्थापनासँगसँगै कृष्णप्रसाद पराजुलीसँगसँगै यात्रा गर्न पाउँदाका सुखद् क्षणहरु बिर्सिपठाउन गाह्रो छ । पूर्व १ नम्बर हुँदै राष्ट्रमा निरन्तर बग्न पाएको सुनकोसीको यात्रा जीवनका सुखद् अनुभूतिहरु हुन् । शारदा मासिकलाई पुनः साहित्यिक पत्रकारिताको स्तम्भ बनाइराख्ने अभियानमा पनि साथ दिएको र सक्दो सहयोग गरेको सम्झना छ । यसैगरी वेदना साहित्यिक पत्रिकालाई पनि संस्थापन गर्ने कुरोमा आफूसक्दो सहयोग भएका प्रसङ्गहरु पनि मनमा तरङ्गित छन् । केही वर्ष भयो हालसम्म पनि नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष रही साहित्यिक पत्रकारहरुको सेवामा पनि कर्मशील हुन पाएको छु ।

साहित्यिक क्षेत्र सुख्खा क्षेत्र, लगानी गर्नुपर्ने क्षेत्र हो भनेर हैरान हुने थुप्रै मित्रहरुले मलाई पनि भ्रमित र अन्यौल तुल्याउने प्रयास नभएको होइन । तर पनि म कसैको भ्रममा नपरिकन यस क्षेत्रमा लाग्न खोजिरहेछु, खोजिरहेको छु । धन्य हो मन १ मनलाई जित्न सकेको खण्डमा जे पनि गर्न सकिंदा रहेछन् । म पनि आफ्नो यस यात्रामा मन जितेर नै लागिरहेको छु । मकहाँ नयाँ(पुराना, समकालीन थुप्रै स्तरका साहित्यकारहरु आइरहन्छ, सम्पर्क भइरहन्छ, फोन(वार्ता चलिरहन्छन् । यस्तै सम्पर्क भएको छ मेरा साहित्यिक कर्मका पद्चापहरु । म नियालिरहेछु साहित्यिक मित्रहरु । कोही तुरुन्तै चर्चामा आउन जे पनि गर्न रुचाउँछन्, कोही लाग्दालाग्दै थाकेर भाग्छन्, कोही निरन्तर लागिरहन प्रेरणा प्राप्त गर्न खोज्छन् । धेरै थरिका यात्रीहरु छन् यस यात्रामा पनि । सिर्जनाको फाँटमा लरतरो मान्छेको प्रवेश हुनु ठूलो भूल हुनेछ । संकल्प, साहस र संघर्षले नै कुनै पनि मान्छेलाई बलियो र सबल बनाउँछ । यस क्षेत्रमा लागेर तुरुन्तै चर्चामा आइहाल्न खोज्नेहरु, लागेवापतका लागत उठाउन खोज्नेहरु हार खान्छन् र मैदान छोडेर भाग्छन् । यस खालका मित्रहरु मनमा राखेर नियालिरहेछु । म त्यसैले नयाँ साहित्यिक मित्रहरुलाई विचलनमा नभासियोस् भन्न रुचाइरहेछु । गाह्रो बाटो हुँदै यात्रा गर्नुपर्ने कष्टप्रद क्षणहरुबारे बताइरहन्छु । धैर्य नहुनेहरु, अध्ययन नगर्नेहरु र निरन्तर बढिरहन नसक्नेहरु यात्रामा हार खान्छन् । भ्रम, जाल, षड्यन्त्रले सबल मान्छे बनाउँदैन । सबल हुनका लागि धेरै खालका कष्टप्रद क्षणहरु पचाउनसक्ने ताकत हुनुपर्छ । म पनि यस यात्रामा धैर्य र साहस झुण्ड्याएर लागिरहेछु ।
अप्ठ्यारो काममा मन लगाउनुभन्दा खराब, कुलत कार्यशैलीमा मन दिनुभन्दा अथवा चाहिँदो(नचाहिँदो कुरा(गफमा भुल्नुभन्दा सिर्जनाका हरफहरु कोर्नु सरल काम हो भन्ने खालको सम्मोहनमा परेर मैले साहित्य सिर्जना गरेको हुँ । मनले ठम्याइएका कुराहरु अझ भनौं समाजका हित खातिर सोचिएका अनुभूतिहरु साहित्यको नाममा लेख्न पाउँदा मन विभोर हुन्छ । मनलाई थुम्थुम्याउँदै मनलाई बलियो बनाई म लेखिरहेको छु । जनमतका अनेकौं श्रृंखलाहरु यस्तै दह्रो मनले सोचिएका अनेकौं प्रसङ्गहरुका बिम्ब÷प्रतिबिम्बहरु हुन् । साहस मनमा झुण्ड्याएर निरन्तर प्रयास गरिंदा उपलब्धिहरु प्राप्त हुँदारहेछन् । यही साहसले नै जनमतका स्वरहरु राष्ट्रमा व्याप्त हुन गएको छ । राष्ट्रका धेरैजसो स्थानहरुमा जनमत पुगेको खबर प्राप्त हुनु, नपुगेको ठाउँमा जनमतको माग बढ्नु यस्तै कठिन प्रयासका उपलब्धिहरु हुन् । जनमतको नामसँग थुप्रै मान्छेहरु गाँसिएका छन्, थुप्रै नयाँपुस्ताले स्रष्टाका नाममा आफूलाई चिनाएका छन् । थुप्रै साहित्यकारहरुले आफ्ना कृतिहरु जनमत प्रकाशनमार्फत् प्रकाशित गराएर आफूलाई राष्ट्रमा परिचित तुल्याएका छन् ।
बनेपाको बेचल्तीको पुराना बजारको सुनसान एउटा गल्लीबाट जनमत राष्ट्रमा सम्प्रेषित गरिरहन पाउँदाका सुखानुभूति बताएर साध्य छैन । मनमा सन्तुष्टि झुण्ड्याउन पाउँदाको गौरव कस्तो हुँदोरहेछ ( म अचेल आफैंलाई साक्षी राखेर जनमतमा वशीभूत भइरहेछु । आफ्नै पाठक, इष्टमित्र, सहयोगीहरुका साथै मलाई संरक्षित गर्न रुचाउनेहरु, सल्लाह साहूति दिंदै जनमतलाई टेवा दिनेहरु राष्ट्रमा अनगिन्ति छन् । म बनेपालाई जनमतमय बनाउन जनमत सम्प्रेषण गरिरहेछु ।
०००
हिउँजस्तो कञ्चन, घामजस्तो प्रकाशमय, पानीझैं चोखो मन हुनेहरु जो कोही पनि कसैसँग डर मान्नुपर्दैन । कञ्चन, पवित्र, प्रकाशमय वस्तुहरु सबैले रुचाउँछन् ( तर यस खालको वस्तु हुन पो गाह्रो । षड्यन्त्र मन पराउनेहरु, अर्काको प्रगतिमा जल्नेहरुको स्पेश साहित्यमा राख्न दिनु हुँदैन । यस खालको सोचले नै मलाई साहित्य लेखनमा प्रेरित गर्यो । लक्ष्मीप्रसाद देवकोटा मलाई मन परेका एकजना प्रिय कवि हुन् । उनले साहित्यमा आफ्नो छवि प्रतिभा उत्कृष्ट ढङ्गले देखाउन सफल रह्यो । अभाव, दरिद्रता, दुःख कष्ट केहीको पनि प्रभाव नगर्दै बाँच्न सिकेका देवकोटा पागलको उपाधि पाएर पनि पागल बन्न डराएनन् । त्यसैको परिणति बने ( महाकवि देवकोटा । देवकोटाले आफ्नो जीवनलाई कष्टमय तुल्याउँदै मान्छेकै लागि लेखिरहे, यस्तै लेखाइका हरफहरु हुन् महाकवि देवकोटा । देवकोटाले जीवनलाई कसरी बुझे ( जीवन के हो रु यात्रा के हो रु यस सन्दर्भमा देवकोटाले स्मरण गराएका छन् ( “जीवन भनेको नै लहराउनु, तरङ्गिनु, गुनगुनाउनु र चलमलाउनु हो ।म पनि यस्तै परिभाषामा सधैं तरङ्गिन चाहन्छु ( यस्तै जीवनको परिभाषामा रङ्गमङ्गिएर जीवन खोजिरहेछु । जीवन भोगिरहेछु ।
मित्रहरु १ जनमतका विविध आयामहरुमार्फत् अक्षरका नाममा जनमत साहित्यिक मासिक पूर्णाङ्क १ देखि ३४३ सम्म भएर, जनमत प्रकाशनमार्फत् १६६ वटा पुस्तकहरु रहेर, जनमतको चौतारीमार्फत् २५३ जना स्रष्टाहरुको कदर गरेर, जनमत वाङ्मय पुस्तकालयमा १२००० भन्दाबढी पुस्तहरु सङ्ग्रह गरेर र जनमत वाटिकामार्फत् देश–विदेशका साहित्यिक संस्था र प्रतिभाहरुको सम्मान गर्न पाएर हामी धन्य हुन पाएका छौं । यस कार्यका लागि जनमतलाई साथ दिने सबै मित्रहरुको उच्चतम सहयोग प्राप्त भएको छ – सबैलाई धन्यवाद दिन चाहन्छु ।
जय साहित्य १ जय जनमत १