रचना मोक्तान ” यात्री ”
चितवन, शक्तिखोर (जुटपानी) को घना जङ्गल । चारैतिर बडेमानका सालका रुखहरु । शिशिर यामको प्रवेशसँगै पँंहेलिएर झरेका सालका पातहरु । सहिदको रगतले लिपिएका आँगन झैं राता माटाका समथर भूभागहरु । कुनै शिल्पकारले बनाए झैं धमिराका ढिस्काहरु । यसैको पेरिफेरिमा रहेको सैन्य नियम अनुसार बनाईएको अस्थायी (क्यान्टोनमेन्ट) शिविर । वरिपरि चार प्लाटुन र बीचमा कम्पनी कार्यालय । यसैगरी चार कम्पनी र बीचमा बटालियन कार्यालय । चार बटालियनको एक व्रिगेड । जुन व्रिगेड तेश्रो डिभिजन कार्यालयको सेक्युरिटीको रुपमा कार्यरत थियो । अरु व्रिगेडहरु भन्दा नजिक डिभिजन कार्यालयसँगै जोडिएको । घना जङ्गललाई फाँडेर बनाईएका ठूला-ठूला परेड ग्राउन्ड । सैन्य तालिमको लागि बनाईएका विभिन्न अब्सट्रयाकलहरु । भलिबल फुटबल कोर्टहरु, ब्याटमिन्टन र टेनिस कोर्टहरु । आहा ! सम्झँदा पनि मनै फुरुंग हुने। यी सबै संरचनाहरु सिमित श्रोत साधनबाट जनमुक्ति सेनाले नै बनाएका थिए । यति सुन्दर संरचनाहरु बनाउन हाम्रो धेरै धेरै पसिना बगेको थियो । हारबोरिङ अनुसार सैन्य शिविर बनाउन पनि निकै समय लाग्यो। शुरुमा स्याउलाले बारेका पालका छाप्राहरु बनायौ । त्यसपछि बिस्तारै बाँस र काठपातको डाँडाभाटा लगाएर खरको छाप्रो बनायौं ।त्यसपछि फेरि काठको पट्टाईले बारेर माथि जस्ताको छानो लगाएर चिटिक्कको घरहरु बनायौं । बस्नलाई अलि ढुक्क भयो । दिनहरु क्रमशः बित्दै गयो । ठाँउ ठाउँमा भेटघाट गर्नको लागि वा आराम गर्नको लागि चिटिक्कको प्रतीक्षालायहरु पनि बनायौ । ती प्रतीक्षालयमा पत्रपत्रीका र राजनीतिक सम्बन्धि , साहित्यिक सम्बन्धि , विश्व कम्युनिस्ट आन्दोलनको इतिहास सम्बन्धी लेखिएका धेरै पुस्तकहरु हुन्थ्यो। अलिकति फुर्सदिला भयो कि मेरा आँखाहरु यस्ता यस्तै किताबहरुमा पुगिन्थ्यो । साच्चै भन्नुपर्दा किताब भन्दा विश्वासिलो साथी कोही बनेन । म किताबसङ्ग खुबै गफिन्थे । रम्थे । हाम्रो क्याम्प वरिपरिको खाली जग्गामा विभिन्न जातका तरकारी खेती र केराहरु पनि लगायौ । जसले गर्दा वरिपरिको वातावरणले रोमाञ्चक बनाउँथ्यो । बजारबाट किन्ने तरकारी अलि कम गर्यौं र उल्टै तरकारी बेच्न पनि थाल्यौं । क्यान्टोनमेन्टमा बस्न थालेपछि जनताबाट चाहिँ अलि टाढिएको आभाष भयो । त्यसलाई पूरा गर्न वरिपरिका बस्तीका जनता र हामी बीचको जोईन्ट कमिटी पनि बनायौं । हामी बीचको आवस्यक कुराहरूमा छलफल पनि गर्दै गयौं । हामी त अवस्य नै चेन अफ कमान्डमा चल्नुपर्थ्यो । कतिपय मान्छेहरु चेन अफ कमान्डमा रहन नसकेर पलायन पनि भए । यसरी पलायनको क्रम बढेसँगै हाम्रो नफ्रीमा केही घटबढ हुने नै भयो । कहिलेकाही मलाई पनि शिविर छोडेर भागी जाउँ कि जस्तो नलागेको हैन । हामीमा कहिलेकाही विचारमा विचलन आउनु स्वाभाविक थियो। किनकि हामी निकास बिनाको जिन्दगी जीउनु निकै कठिन कुरा थियो । तर सर्वहारावादी विचारले जित्न सकेर मात्रै हामी रहन सक्यौं । आशै आशामा दिन बित्यो । महिना बित्यो र वर्षहरु पनि बित्न थाले । जनमुक्ति सेनालाई कैदीको जस्तो दिनको ६० रुपैयाँ भत्ताले सबै आवस्यकताहरु पूरा गर्न गाह्रो थियो । सामान्य व्यक्तिगत आवश्यकता समेत कहिलेकाही पूर्ती गर्न सकिँदैनथ्यो। तैपनि हामी सहनशील भएर पार्टीको निर्देशन शिरोपर गरेर बसिरह्यौं । क्यान्टोनमेन्टमा सैन्य तालिम मात्र नभएर विभिन्न अतिरिक्त कृयाकलापहरु पनि गर्दै आएका थियौं । जसमा बौद्धिक स्तर बढाउनको लागि हाजिरीजवाफ प्रतियोगीता , चेस प्रतियोगिताको आयोजना हुन्थ्यो । यति मात्र नभएर भलिबल , फुटबल , ब्याटमिन्टन र टेबुलटेनिस जस्ता खेलहरुको प्रतियोगिता हुन्थ्यो । आफ्नो क्षमता र रुचि अनुसार खेलहरुमा भाग लिन पाइन्थ्यो।
ठ्याक्कै गते चाहिँ सम्झिन सकिएन । २०६४ साल फाल्गुन महिना तिरको कुरो हो । कल्याण – अनिश स्मृति व्रिगेड कार्यालयले हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्यो । म सानैदेखि लेख , पढ र साहित्यमा रुचि राख्ने स्वभावको थिएँ । त्यसैले पनि होला बटालियनबाट म पनि छनोटमा परेँ ।चारवटा बटालियन सहभागी थियो । प्रत्येक टिममा चार-चार जनाको समूह थियो । कम्पनी कमान्डर ग्रुप लिडर थिए । हाम्रो ग्रुप लिडरमा कम्पनी कमान्डर क. सुनिल थिए । नियमपूर्वक हाजिरीजवाफ प्रतियोगिता शुरु भयो । प्रतिस्पर्धा घमासान भयो । प्रश्न व्रिगेड कार्यालयमा कार्यरत कम्पनी कमान्डर क. प्रतिभाले सोधेकी थिईन । समय बटालियन सह कमान्डर क. कर्मले हेरेका थिए । कहिलेकाही उत्तर नमिल्दा मन खिन्न हुन्थ्यो । आफ्नो समूहको भन्दा अर्को समूहको नम्बर बढी आउँदा हारिन्छ कि भनेर मनमा छट्पटी चल्थ्यो । प्रश्नहरु प्राय: युद्ध र राजनीति सम्बन्धी नै हुन्थ्यो । मार्क्सवादी दर्शन, भूगोल, विश्व कम्युनिस्ट आन्दोलनको इतिहास, मार्क्सवादी साहित्य, युद्ध र शान्ति, जनयुद्धको बेला भएको ठूल्ठूला युद्धहरु, भिडन्तहरु, राज्यसत्तासँग गरेको पटक-पटकको शान्तिवार्ता, राजनीतिक घटनाक्रम सम्बन्धि नै हुने हुन्थ्यो । राणाकालीन समयमा भएको विभिन्न सुधारको कामहरुको बारेमा पनि सोधिन्थ्यो । उत्तर कहिले मिल्थ्यो त कहिले मिल्दैनथ्यो । यो स्वभाविक थियो । आफ्नो समूहले मिलाउन नसक्ने जस्तो प्रश्न आएमा अर्को समूहलाई पास गरिन्थ्यो । हाम्रो समूहको नेतृत्व कम्पनी कमान्डर क. सुनिलले गरेका थिए। (हाल उनी सेना समायोजन भएर काभ्रे जिल्लाको पाँचखाल आर्मी व्यारेकमा कार्यरत छन् ।) त्यतिबेला हामी सबैजना अन्डर एस. एल. सि. पास गरेका मात्र थियौँ । बीचमा पढाई छाडेर महासमरको यात्रामा होमिएकाहरुको जिन्दगी यस्तै थियो । तैपनि फुर्सदको समयमा विभिन्न ज्ञानबर्द्धक पुस्तकहरु अध्ययन गरेकै भरमा विभिन्न शीर्षकमा घन्टौं राजनीतिक वैचारिक बहसमा सरिक हुन्थ्यौ। हाजिरी जवाफमा हामीले अङ्क थप्दै गईरहेका थियौं । यसैगरी क.आस्थाको समूहले पनि हामीलाई पछ्याउँदै आइरहेको थियो । कहिले हामी अगाडि र कहिले उनीहरू अगाडि हुने क्रम जारी रह्यो । एवं रीतले पहिलो राउन्ड सकियो । पहिलो राउन्डको नतिजा सार्वजनिक गर्दा क. सुनिलको समूह ( हाम्रो समूह) १९ नम्बर ल्याएर पहिलो । क. आस्थाको समूहले १७ नम्बर ल्याएर दोस्रो । क. शृङ्खलाको समूह ११ नम्बर ल्याएर तेस्रो । र क, शङ्करको समूहले ९ नम्बर मात्र प्राप्त गरेको नतिजा सुनाउँदा हामी खुशीले बुरुक बुरुक उफ्रियौं ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |