डम्बर थामी “अनुपम”
“मैले नेपालको हिमाल चिनेको छु, सबैभन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु ।” – क. माओ
उक्तोक्ति चिनियाँ जनवादी क्रान्तिका नायक तथा सर्वहारावर्गका महान नेता क. माओ त्सेतुङको हो । उनको यो सारगर्भित भनाइले हाम्रो हृदयमा साहस, सौर्य र वीरताको ज्वालामुखी फुटेर आउँछ । अनि राता–ताता क्रान्तिकारी लाभाहरु फिंजारिन्छन । यस्तै–यस्तै अजम्मरी, प्रेरणादायी, उत्साहमयी विचार बोकेको उक्तिबाट प्रभावित भएर हामी पनि रापिलो मुक्तिसंग्राममा प्रमोहित भएका थियौं । मुक्तिसंग्रामको त्यो चुनौतीपूर्ण लम्बे अभियानमा काँधमा बन्दुक र पिठ्युँमा गोली बारुदको झोला बोकेर स्वतस्फूर्त रूपमा सहर्ष सरिक भएका थियौं । नेताहरूको भाषण त झन् अहिले नै तुरुन्तै जनवाद आईहाल्ला कि जस्तो थियो । (जनवाद त आयो कि आएन ? तिनै क्रान्तिका ठेकेदारहरुलाई थाहा होला ! दिनमा उदाउने घाम र रातमा उदाउने चन्द्रमालाई थाहा होला !) शुरु शुरुमा त जनयुद्ध एक झिल्को चिनगारी झैं थियो । कालान्तरमा शनैः शनै ः बढ्दै–बढ्दै गएर भीषण डढेउलोको रुप लियो । सामन्त, जाली फटाहाहरुको ऐसको स्वर्गमाथि कालो धुवाँको मुस्लो उड्यो । जाली फटाहाहरु अत्यन्तै तिल्मीलाए । सगबगाए । गरिबमारा सरकार र उसका सुरक्षा अङ्गका साँढेहरु पनि डुक्रिदै हिंडे । चरम दमनमा उत्रिए । नेपाली मौलिकतामा मौलाएको मुक्तिसंग्राम पनि क. माओकै सैन्य विज्ञानमा आधारित थियो । ‘गाउँबाट शहर घेर्ने !’ ‘दीर्घकालीन सशस्त्र जनयुद्धको माध्यमबाट राज्यसत्ता कब्जा गर्ने ।’ यो अकाट्य रणनीति थियो । ‘जनता माटो हुन्, सम्पूर्ण काडरहरु बिज हुन् । त्यसैले जनतामा अंकुरानुपर्छ र झांगिनुपर्छ ।’ भन्ने भनाइले त झन् जुरुक जुरुक बनाउँथ्यो । सही र सत्य कुरा पनि यही नै थियो ।
यसरी मुक्तिसंग्राममा प्रभाती सूर्यको किरण जस्तै भर्भराउँदो युवा दस्ताहरु पनि स्वतस्फूर्त रूपमा प्राणको बाजी लगाएर सहभागी भएका थिए । शान्त समुद्रमा अनायास उठेको भीमकाय ज्वारभाटा झैं क्रान्तिको रापताप संसारभरि फैलिएको थियो । सैन्य फर्मेशन पनि वाई.सि.एल., लडाकु दस्ता, स्क्वायड, प्लाटुन, कम्पनी हुँदै डिभिजनसम्म पुगेको थियो । हतियार पनि खुकुरी र भरुवा बन्दुकबाट ३–०–३, एस. एल. आर., एल.एम.जी., जि.पि.एम.जी. हुँदै ८१ एम.एम. मोर्टारसम्म पुगेको थियो । र लडाइँ पनि छापामार युद्धबाट मोर्चाबन्दी युद्धसम्म पुगेको थियो । युद्ध रणनीति पनि रणनीतिक रक्षा, सन्तुलन हुँदै आक्रमण–प्रत्याकमणसम्म पुगेको थियो । इतिहासको यो उस्तादी–चमत्कारी, प्रलयकारी प्रक्रिया थियो । यसै पेरिफेरिमा रहेर मैले यहाँ जनयुद्धमा सैन्य विकास र विस्तार भएको एक महत्त्वपूर्ण दिनलाई स्मरण गर्न गईरहेको छु ।
पूर्वी कमान्डको सैन्य फर्मेशनको विकास र विस्तारको ऐतिहासिक प्रसंगहरुको सम्झना गर्नु पर्दा शुरुका दिनहरूमा जिल्ला स्तरीय स्क्वायड टोलीहरुले नै फौजी या गैर फौजी कार्वाहीहरु गर्थ्यो । माइनिङ, सेवोटेज र सानातिना रेडहरु पनि स्क्वाएडले नै गर्थ्यो । विशेष गरी त्यतिबेलाको गुरिल्ला स्क्वायडको सैन्य रणनीति ‘हान र भाग’ (ज्ष्त बलम च्गल) नै हुन्थ्यो । किनकि हामी रक्षात्मक अवस्थामा थियौं । रेड (च्बष्म) हरु पनि कमाण्डो स्टाईलको हुन्थ्यो । विस्तारै क्वालिफाईड स्क्वायडहरु जोडेर पूर्वी कमान्डले २०५५ सालको अन्ततिर सैन्य संरचना प्लाटुन स्तरको बनायो । र २०५५ सालको ’किलो शेरा टू’ (क्भबचअज बलम प्ष्िि) ज्यानमारा अप्रेसनपछि एउटा आक्रामक टोली एस.टि.एफ. बनायो । त्यही एस.टि.एफ. ले क्रमशः फौजी ढोकाहरु खोल्दै गयो । एस.टि.एफ. बनेपछि काभ्रे जिल्लाको भिमखोरी चौकी रेडदेखि रामेछापको दोरम्बा ईलाका प्रहरी चौकी रेडसम्म आईपुग्दा निकै ठूलो फौजी ज्ञान र अनुभव हाँसिल गरिसकेको थियो । दोलखाको मेलुङ र सिन्धुलीको जरायोटार मोर्चा चाहिँ केही कारणवस असफल भएको थियो । तर यो स्थितिसम्म आईपुग्दा पनि दुश्मन झन उत्तेजित भएर आएको अवस्था थियो । हत्या र दमनका शृङ्खलाहरु मच्चाईरहेको थियो ।
२०५६ साल मंसिर १५ गते दोलखाको मेलुङ मोर्चा असफल भएपछि हामी काभ्रेको म्हाभारतिर लाग्यौं । म्हाभार पुग्नु भन्दा अगाडिको समयमा चौंरीको बाँझेमा आधार ईलाकाको घोषणा । बीच बाटोमा महिला र पुरुषको फरक–फरक सेक्सनको घोषणा । महिला ब्यारेक र पुरुष ब्यारेक छुट्टाछुट्टै बनाउने घोषणा, हतियार विन्यास ! आदि कामहरू भए । (यी विषयवस्तुको बारेमा आगामी दिनहरूमा चर्चा गर्ने नै छु ।) करिब चार, पाँच महिना म्हाभार ईलाकातिरै काम गरेपछि २०५६ साल चैत्र महिनामा म जिल्ला संगठन समिति दोलखाको जिल्ला सदस्य भएर जिल्ला फर्किएँ । त्यतिबेलाको मेरो जिम्मेवारी फौजी रुपमा सेक्सन कमान्डर र राजनीतिक रूपमा जिल्ला सदस्य थियो । तर पनि एस.टि.एफ.(मुख्य फोर्स) ले गर्ने प्रत्येक फौजी कार्वाहीहरुमा म सहभागी हुने मौका पाउँथें । पूर्वी कमान्डको ईन्चार्ज भएर क. मोहन वैद्य (किरण) आएपछि पार्टी र सेनाको काम अलि व्यवस्थित हुन थाल्यो । २०५६ साल चैत्र महिनामै दोलखा जिल्लाको पाँडेखानीमा क. किरणको प्रमुख आतिथ्यमा राजनैतिक प्रशिक्षण सम्पन्न भयो । त्यो प्रशिक्षण सम्पन्न भएपछि सोलुको जूनवेंशी ईलाका प्रहरी चौकी कब्जा गरेर पुनः फौजी कार्वाहीको ढोका खोल्यौं । त्यसपछि अभियानात्मक रूपमा किराँतीछाप, ठोकर्पा, जरायोटार र दोरम्बा चौकी रेड ग¥यौं । बीच बीचमा सफल एम्बुशहरु पनि भए । यस मध्य जरायोटार मोर्चा पूर्ण रूपमा सफल हुन सकेन । यसरी हामी जीत र हारको प्रक्रियाबाट गुज्रियौं । तर पनि हाम्रो फोर्स विभिन्न चुनौतीका बाबजुद निरन्तर रूपमा लडिरहेकै थियो । दोरम्बा सफल रेडपछि पूर्वी कमान्डमा सैन्य फर्मेशनको विकास र विस्तारको टड्कारो आवस्यकता देखियो । यतिबेलासम्म पश्चिम कमान्डले कम्पनीहरु निर्माण गरिसकेको थियो ।
सैन्य फर्मेशन र पार्टी संगठनलाई पनि मात्रा र गुणमा अब्बल बनाउन । २०५७ साल मंसिर १ गते । साबिक लामिडाँडा गा.वि.स. वडा नं ९ को शिशाचौर भन्ने ठाउँमा पूर्वी कमान्डको सैन्य भेला र पार्टी संगठनको राजनैतिक प्रशिक्षण कार्यक्रमको आयोजना भयो । त्यतिबेला लापिलाङ र लामीडाँडा हाम्रो आधार ईलाका नै थियो । पार्टीका हरेक गतिविधिहरु यही गाउँठाउँमा हुन्थ्यो । (हाम्रो गाउँ लापिलाङ, गुजर्पा त झन् क्रान्तिकारीहरुको ब्यारेक जस्तै थियो । सैन्य तालिमदेखि लिएर हतियार बनाउने काम पनि हाम्रै गाउँमा हुन्थ्यो ।) त्यो प्रशिक्षण कार्यक्रममा पूर्वी कमान्डका सबै जिल्लाका जिल्ला सेक्रेटरीहरु, ज.व.स. र मोर्चाका संयोजकहरु, एस.टि.एफ., प्लाटून र स्क्वायड सहितका कमान्डरहरुको भव्य सहभागिता रहेकोे थियो । प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक थिए क. मोहन वैद्य (किरण) । क. किरण हाम्रो गाउँमा पहिलो पटक आएका थिए । त्यतिबेला जनवादी गायक क.माईला लामा र मणि थापा पनि आएका थिए ।
कालिन्चोकको काखमा अवस्थित । सम्मुखमा हिउँको सेतो च्यादर ओडेको गौरीशंकर हिमाल । तुसारे शिशिरको चिसो–चिसो बतास । नाकैमुनि ईलाका प्रहरी कार्यालय सिंगटी । तामाकोशीको एकोहोरो सुसाई । तर पनि मुक्तिकामी जनता र छापामारहरुको सुरक्षा घेरामा गर्मागर्मी बहस । सबै जिल्लाहरुको उत्साहजनक फौजी र गैरफौजी रिपोर्टिङ । प्रमुख अतिथिबाट रिपोर्टिङको संश्लेषण । र भावी रणनीति र कार्यनीतिको बारेमा दिशानिर्देश गर्ने काम भयो । त्यतिबेला मुख्य सम्पर्क स्थान हाम्रो घर थियो । हाम्रो घरमा आईपुगेका कमरेडहरुलाई प्रशिक्षण स्थलसम्म पु¥याउने काम हाम्रो गाउँको संगठनले गरेको थियो । हिमालदेखि तराईका कमरेडहरु सहभागी भएको त्यो प्रशिक्षण तीन दिनसम्म चल्यो । राजनीतिक प्रशिक्षण र सैन्य भेला पनि एकैसाथ सम्पन्न भयो ।
त्यही सैन्य भेलापछि पूर्वका केही जिल्लाहरुमा प्लाटूनको विकास भयो । प्लाटुनको विकास नभएका जिल्लाहरुमा जिल्ला स्तरीय गुणात्मक स्क्वायडहरु, एस.टि.एफ. हरु गठन भयो । प्लाटुनहरु घोषणा भएका जिल्लाहरुमा सिन्धुली+सर्लाहीमा क.प्रमोदको कमान्डमा एउटा प्लाटून । काभ्रे+रामेछापमा क.सन्जीवको कमान्डमा एउटा प्लाटुन । सिन्धुपाल्चोक+दोलखामा क. मुक्तिको कमान्डमा एउटा प्लाटून । सोलु+ओखलढुंगामा क. प्रभातको कमान्डमा एउटा प्लाटुन गरी जम्मा चार प्लाटूनको औपचारिक फर्मेशनको घोषणा भयो । र समानुपातिक रूपमा हतियार विन्यास पनि भयो । प्लाटुनहरु घोषणा भएपछि सबै प्लाटुनहरु सापेक्षिक फौजी कार्वाहीहरु गर्नको लागि आ–आफ्नो कार्यक्षेत्र लाग्यो । र स्क्वायडहरु पनि आ–आफ्नो कार्यक्षेत्रतिर लागे । बीच बीचमा आ–आफ्नो सापेक्षता र क्षमता अनुसार फौजी कार्वाहीहरु पनि भए । सबै प्लाटुनहरुले फौजी श्रेष्ठता हासिल गर्दै गए । पछि त्यही प्लाटुनहरु जोडिएर अस्थायी कम्पनीको सैन्य संरचना बन्यो । त्यही अस्थायी कम्पनीले पुनः दोलखा जिल्लाको मैनापोखरी ईलाका प्रहरी चौकी रेड गरेर अलि ठूलो पैमानामा फौजी कार्वाहीको ढोका खोल्यो । मैनापोखरी मोर्चापछि लामीडाँडाकै बजेनीमा मैनापोखरी मोर्चाको समीक्षा सहित १० दिने फौजी प्रशिक्षण पनि भयो । त्यसपछि फेरि ओखलढुंगाको खानीभन्ज्याङ फौजी कार्वाही सफल पारेर स्थायी कम्पनीको घोषणा भयो ।
यसरी इतिहासलाई फर्केर हेर्दा क्रान्तिकारी कदमका पल पलका ऐतिहासिक यादहरु उकुच पल्टे झैं बल्झिरहन्छन ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |