भगवती प्रधान
आमाको पिठ्युँमा डोकाको भारी । भारीमा पोका पन्तेरासँगै मलाई पनि बोक्नु भएको रे । तीन छोरा (दाजुहरु) लाई उनीहरुको क्षमता अनुसार कुम्लोमा अनिश्चित यात्राको खाना । ओढ्ने ओछ्याउने पनि आमाकै फरियाको पोका बोकाउनु भएको रे । छोराहरुलाई अघि र पछि लगाएर आमाले मलाई डोकाको भारीसँगै बोकेर आधीरात (अँध्यारो रातमै) घरबाट निस्कनु भएको रे । सुन्दर डाँडाको ठुलो घरको ढोका बन्द गरेर हातमा राँको बालेर निस्कनु भयो रे । जहाँ पुगिएला भन्ने थाहा नभएको यात्रा । अन्जान यात्रीहरु ! त्यो यात्राको कमान्डर मेरी आमा । घरदेखि तलको ओरालो बाटो आँशुको धारा बगाउँदै हिंडेको रे । महिला भनेको कमजोर हुन्छ कुनै आँट र हिम्मत हुन्न भन्ने समाजको मूल्य मान्यतालाई आमाले द¥हो झापड दिनुभएछ त्यो बेला । जसले चार छोरा छोरीलाई साथ लिएर कहाँ जाने ?कहाँ बस्ने ? खानेको ठेगान नभए पनि हिम्मत गरेर कुनै ठाउँमा छोराछोरीलाई पालेर हुर्काउने वाचा गरेर निस्कनु भएछ । चंखुको जयन्तिपुर डाँडा सानो उपत्यका जस्तो गाउँ । शेर्पा, नेवार र तामाङहरुको बाक्लो बस्ती । बस्तीको बीचमा बिचमा नेवारको ठूलो घर । त्यही घरमा हाम्रो गुजारा चलिरहेको थियो रे ।
आमालाई बाबाले निकै महिना कुरेर मागी विवाह गर्नुभएको रहेछ । दुर्गा वहादुर श्रेष्ठको खानदान । जमिनदारको छोराहरु मध्य मेरी आमा ठुलीकान्छी बुहारी बनेर आउनु भएछ । विवाहपछि तीन छोराहरु जन्मिनु भएको रहेछ । बाबा गाउँघरको जान्ने र गन्ने झाँक्री हुनुहुँदोरहेछ । झारफुक गरेर गाउँका मान्छेले धेरै माया गर्ने र विस्तारै गाउँतिर समय बिताउन थाल्नु भएछ । आफ्नो घर,श्रीमती र छोराहरुको बारेमा विस्तारै चासो दिन छाड्नुभएछ । बाबाको बाहिर अर्की महिलासँग हिमजिम बढेको र घर परिवारलाई समय नदिने कुरा थाहा पाएपछि आमालाई सहन गा¥हो भएछ । आफ्नो जिवनसाथी अर्कोसँग लाग्दा आमालाई कति गा¥हो भयो होला ? कल्पनै गर्न सकिन्न । केही वर्ष दुख पीडा सहेर संघर्ष गर्नुभएछ । तर सही नसक्नु भएपछि त्यो ठाउँ आफ्नो श्रीमान, सम्पत्ति, छरछिमेक, नातागोताहरु सबैलाई माया मारेर परदेश जाने निधो गर्नुभएछ । तीन छोरा र एक छोरीलाई हुर्काउने आँट गर्नुभएछ । त्यसैले अँधेरी रातमा घरवाट निस्कनु भएछ ।
एक अबोध महिला । छोराछोरी साथमा लिएर जाने ठाउँ र बस्ने ठाउँको कुनै ठेगान छैन । कसरी जीवन चलाउने ? कहाँ लैजाने ? भन्ने कुराले आमाको मनमा ठुलो छट्पटी र रिस पैदा भयो होला । आफ्नो बच्चाहरुलाई के थहा ? आमाको पीडा ! तर पनि आमाले साहस गरेर यात्रालाई अघि बढाउनुभएछ । घरदेखि ओरालो बाटो सकिएपछि खोलै खोलाको बाटो हिंडिरहँदा कति पटक त छोराछोरीलाई च्यापेर खोलामा हाम फालेर मरौं कि भन्ने पनि सोच्नुभएछ । तर आँट र साहसले काम गरेर होला आज हामीले संसार देख्न पाएका छौ । खोलैखोलाको बाटो सकिएपछि गुमुखोलामा ठूलीआमाकोमा बस्नु भएको रहेछ । हामी त्यति धेरै बच्चाहरु आफन्तकोमा बस्न सक्ने अवस्था नै थिएन । फेरि आमाले अर्को ठुलो साहास गरेर गुमखोलालाई छोडेर फेरि झ्याँकुको उकालो हिडेर झ्याकु सेराकाप्ती हुँदै हनुमन्ते डाँडा बीचको जङ्गलमा पाखा पखेरी,चराचुरुङ्गीलाई साक्षी राखेर आमाले चार सन्तानलाई जसरी पनि हुर्काउने,वढाउने र पढाउने वाचा कसम खानु भएछ । प्रकृतिले पनि आमालाई चुनौती दिंदै “तिमीले यी फूलहरुलाई जसरी पनि हुर्काउनु । असल माली बन्नु । कहिल्यै हिम्मत नहार्नु । सुख दुख पनि हाम्रो साथी हो । यिनै दुःख सुखलाई आत्मसाथ गरेर लड्न, खेल्न सिकाउनुपर्छ ।” भनेर आमाले सवै वच्चाहरुलाई राम्रोसँग हुर्काउने वाचा गर्नुभएछ । आमा धर्ती, आमा आकाश, आमा पहाड, आमा शप्तकोशी कहिल्यै नरोकिने वगिरहने जस्तै आमा पनि एक सागर हुन् ।
हजार पटक मरेर पनि बाँच्नुभएछ । आमाले डोकोमा बोकेको पिठो सामल बाटोभरी खुवाउँदै–हिडाउँदै हामीलाई जिरी हाटडाँडा पु¥याएर थाप्लोको भारी बिसाउनु भएछ । त्यतिबेला जिरी हाटडाँडा, लिङ्कन बजार दोलखाको दोस्रो शहर मानिने रहेछ । जिरी सबै पूर्वी जिल्ला जाने मुल नाका नै रहेछ ।
आमाको बोक्नुभएको डोकोमा रमाउँदै, हाँस्दै, नाच्दै, रुँदै जिरी पुगेकी म । मलाई केही थाहा थिएन त्यो बेला । म त बोली पनि नफुटेकी अवोध बालिकालाई लिएर जानु भएको कुरा धेरै पछि मात्रै बुझें मैले । त्यो अपरिचित ठाउँमा कहाँ बस्ने ? के काम गर्ने हो ? केही ठेगान नभए पनि आमाको अदम्य सहास र आँटले हामीलाई हुर्काउने वातावरण बनाउनु भएछ । आमाले एउटा झुपडी बनाएर त्यही झुपडीमा हाम्रो सारा गुजारा चलाउन थाल्नु भएछ । त्यसपछि आमाले ठुलो सास फेर्नु भएको क्षणमा आमाले यो पृथ्वी नै चक्कार मारेको अनुभव गर्नुभएछ । आमालाई आमा भएको गर्व गर्नुभएछ । तीन छोरा र म एक छोरी चारैतिरबाट घेरा हालेर बस्दा आफुलाई भाग्यमानी ठान्नुभएछ । र महिलामा कति ठुलो हिम्मत र सहास हुन्छ भन्ने कुराको प्रमाण देखाउनु भएछ । म ठुली हुदै जाँदा अलि अलि याद हुँदै जाँदा मेरी आमालाई देवी हुन देवी यिनको आटलाई मान्नुपर्छ भनेर मान्छेहरु कुरा गर्थे । हुन पनि हो । यदि आमाको ठाउँमा बाबा भएको भए महिना त के हप्ता दिन पनि टिक्न सक्ने थिएन होला । महिला कमजोर र अवला हुन्छ भन्ने सोचलाई मानिसको मन दिमागवाट हटाउन सफल भइन मेरी आमा ! लभ यु आमा मिस यु आमा !!
जिरी हाटडाँडा, लिङ्कन निकै आकर्षक छ । जिरीलाई नेपालको स्वीट्जरल्यान्ड भनेर पनि चिनिन्छ । पानी पर्दा हिउँ झर्दा र बादलुले ढाकिँदा जिरी अझ मनमोहक हुन्छ । विभिन्न जातजातिहरुको बसोबासले अझै सिंगारिएको हुन्छ । हाटडाँडा भन्दा माथि वुलडाँडा । हाम्रो गाउँ तिरको छिमेकीहरु पनि त्यता आएर बसेका रहेछन् । यो कुरा पछि ठुली हुँदै गएपछि थाहा भयो । वुलडाँडा र हाटडाँडाको विचमा ओरालो भिरालो जस्तो जमिनमा काठले बारेर हामी बस्ने झुपडी थियो । त्यो झुपडी हामीहरुको लागि दरवार भन्द कयौं गुणा आकर्षक र आनन्दको थियो । हाम्रो वरिपरि अरु झुपडीहरु पनि थियो तर त्यो कहाँका मान्छेहरु हुन मलाई सम्झना छैन । हामीलाई वस्ने ठाउँ त जेनतेन मिल्यो । तर अब गाँस र कपासको अभावको परिपुर्ति कसरी गर्ने भन्ने कुरा आमालाई पिर पर्ना थालेछ । म त के जान्नु आमाको दूध खाना पाएँ पुग्थ्यो मलाई । आमा राम्रो कामको खोजिमा निकै भौतारिनु भएछ । आमा, ठुलो दाजु र माहिलो दाजु काम गर्न सक्नुहुन्थ्यो । मौकाले जिरी चरिकोट सडक खन्ने काम शुरु हुन थालेछ । आमा र दाईहरुले त्यहीँ श्रम गरेर आर्जेको चामल, दाल, तेल र मैदाको पिठो घरमा टनाटन भयो । अनि खानाको दुःख भएन । त्यो न्यानो आमाको छात्ती झै आनन्द र गर्विलो लाग्ने ठाउँ साँच्चै रमणीय थियो । वरिपरि सल्लाका रुख । होचा होचा बिरुवा । हामी जस्तै हुर्किन बाँकी रहेका विरुवाहरु अनुशासित झै आ–आफ्नै ठाउँमा ज्ञानी भएर उभिएरहेका हुन्थे । नयाँ पालुवा आउँदै गरेको लालीगुराँस, आरुका बिरुवा लगायत थुप्रै थरी फूलहरु ढपक्कै फूलिरहेका हुन्थे । वरिपरि तलमाथि जिरेल, तामाङ, शेर्पा, कामी, दमाई, क्षेत्री, बाहुन सवै थरीका जातिहरुको बसोबास रहेको थियो । जिरी सडक बनेपछि हल्का गाडीहरु गुड्न थाल्यो । मानिसहरु गाडी देखेर दङ्ग परे । रमाउँदै खुसियाली मनाएँ ।
आमाले जुटाउनु भएको सामलतामल हामी चाहिँ रमाउदै खान्थ्यौ । आमालाई बाँकी नरहे पनि हामीलाई के फरक पर्छ र खालि हामी त खानाको लागि मात्रै जन्मे झैं लाग्थ्यो । आमा दाजुहरु रोडमा काम गरेर खाना जुटाउनु हुन्थ्यो । मलाई धेरै कुराहरु त याद छैन । म त कस्तो थिएँ ? कत्रो थिए ? भन्ने पनि थाहा छैन । आमा र दाजुहरुले काम गर्न थालेपछि हामीलाई बाँच्न अलि सहज हुन थालेछ । केही वर्षपछि ठूलो दाइ गाउँ फर्कनु भएछ । माहिला दाइ खै कुन शहर जानू भएको थाहा नै छैन । केही वर्ष पछि फेरि कान्छो दाइ पनि गाउँ नै जानु भएपछि त्यो झुपडीमा आमा र म मात्रै बस्न थाल्यौं । आमा सधैं बाहिरको काममा जानुहुन्थ्यो । म एक्लै बस्नुपर्ने कति वेला साँझ पर्ला र आमा घर आउनु होला भनेर बाटो हेरेर त्यो झुपडी हाम्रो लागि दरवारमा आमालाई कुरेर बस्थें । त्यतिबेला सा¥है नरमाइलो लाग्थ्यो । काम गर्न नपर्ने । दुःख के हो पत्तो थिएन । अरुको भरमा बाँच्न पाउँदा मज्जा लाग्थ्यो होला । आमाको मेहनतले घर भरी दाल, चामल र आलु कति धेरै हुन्थ्यो । आमाको कमाईमा म राज गर्थे । साथीहरू जम्मा गरेर घरमा भएको खाने कुरा बनाएर साथीहरूलाई खुवाउन खुव मन पर्ने मलाई । गाउँ घरमा दाजुहरुको के छ खवर थाहै हुन्नथ्यो । हाम्रो खुशी खोस्ने सानीआमा र बाबाको पनि केही थाहा थिएन । सानी आमाको पनि एक्लो छोरा भएको कुरा पछि थाहा पाएँ । अलि पछि देखि गाउँ घरतिरका मान्छेहरु आएर हाम्रो झुपडीमा बास बसेको र आमाले खुशी हुँदै मायाले खाना खुवाउने र बसाउने कुरा मलाई सा¥है मन पथ्र्याे । मान्छेहरु मेरी आमाको खुब चर्चा र प्रशंसा गर्थे । मलाई त्यो पनि मन पथ्र्याे ।
मलाई पछि अलि बढी थाहा हुँदै जाँदा आमा र म मात्रै थियौं झुपडीमा । आमा कहिले दाउरा खोज्ने । कहिले रोडको काम । कहिले मकै, कोदो, आलु र धान रोप्ने काममा व्यस्त हुनुहुन्थ्यो । घरमा आमा आउने वेला म साथीहरू बटुलेर खाजा बनाएर खुवाउने काम गर्थे । मेरो व्यवहारदेखि आमा खुशी हुनुहुन्थ्यो । आमा सा¥है हिम्मतवाली, परिश्रमी र निडरवाली भएर होला कोही देखि डराउनु हुन्नथ्यो । यदि आमा कमजोर हुनुहुन्थ्यो भने हामीले कति दुख र अपमान सहनु पथ्र्याे । हामी कल्पनासम्म पनि गर्न सकिन्न । आमाले सबैलाई दया–मायाको भावनाले हेर्नु हुन्थ्यो । चित्त नवुझेपछि फेरि आमाको रिस शान्त हुन निकै समय लाग्थ्यो । आफुले जीवनभर साथ पाउँछु भनेर आफ्नो घर परिवार, आमा बाबा, सब छोडेर आएको श्रीमानले धोका दिँदा कति पिडा डाह छट्पटीले दिनरात कटाउन कति मुस्किल हुन्छ ! चार–चार वच्चाहरुको जिम्मेवारी लिएर बस्नु चानचुने कुरा थिएन । गाउँमा भएको जग्गा जमिन, अन्न वाली वस्तु भाउ सारा हुँदाहुँदै पनि आफ्नो भन्न नपाउने । बिरानो ठाउँमा यति धेरै बालबच्चा हुर्काउन पर्ने वाध्यताले सायद कुनै पनि आमाको आत्ममा शान्ति मिल्दैन । बस एउटा कर्तव्य र कठिन जिम्मेवारी पूरा गर्नु भयो । यी दुख, पीडा, विभेद, असमानता, महिला माथि हुने हिंसा केवल केवल मेरी आमा त एउटा प्रतिनिधि पात्र मात्र हुन । हरेक घरमा श्रीमति, छोरी र बुहारीहरुले त्यो असमानता र हिंसा व्यहोर्नुपरेको छ । महिला माथि हुने हिंसा सहन नसकेर कति महिलाले ज्यान गुमाउन बाध्य भएका छन् । खासमा भन्ने हो भने महिलाको कुनै पनि स्थानममा आफ्नो अधिकार छैन उसले कहिले स्वतन्त्र हुने ठाउँ छैन मात्रै पुरुषको अडर र निगाहामा जिउन पर्ने वाध्यता बनाएको छ ।
आमा बिना एक पल पनि बस्न सक्दिन थिएँ । जहाँ आमा त्यहाँ आमाको पुच्छर हुन्थें म । आमा कतै जाने बेलामा मलाई सम्हाल्न गा¥हो पथ्र्याे । तर पनि मेरो के लाग्छ र ! आमाले फर्केर एकपटक झपारे पछि सातो जान्थ्यो र लुरु लुरु फर्केर घरमै बस्थें । आमा कामबाट नआउन्जेल वरिपरिका साथीहरू जम्मा पारेर घरमा भएको खाने कुरा बनाउने, खुवाउने र सिध्याउने मेरो काम हुन्थ्यो । त्यो खाना जुटाउन आमालाई कति हम्मेहम्मे पथ्र्याे । त्यो मैले कसरी बुझ्न सक्छु र मलाई त साथी भए पुग्थ्यो । साथीहरूसँग खेल्ने, जुत्ता चप्पल हराउने अनि आफैं रुँदै घर आएर आमालाई फकाउनु र घुर्कि लगाउनु मेरो दैनिकी हुन्थ्यो । मेरो खराब बानीले आमाको गाली र पिटाइ मज्जाले खान्थे । मैले चाहेको कुरा जसरी पनि हुनुपर्ने नत्र राति आमाको पटुकीबाट पैसा चोर्थे तर आफुलाई चाहिने पैसा पाँच रुपैया मात्रै हो । अलि बढी पैसा आमाकै खल्तीमा राखि दिन्थे । पाँच रुपियाँले त्यतिवेला दुनोट,जेरि मज्जा ले खान्थ्यौ । मलाई चक्लेट मकै सरि खानुपर्ने । पछि पैसा चोर्ने काम छोडि दिए । आमालाई फकाएर पैसा माग्थें अनि आफ्नो जित भएको गर्व गर्ने बानी थियो । आमालाई धेरै धेरै सताउथे । क्रमशः
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |