मोहन दुवाल
शिक्षा जगत्भित्रका एकजना सक्षम तथा प्रभावशाली हस्ती भनेर चिरपरिचित शिक्षक, शिक्षासेवी एवम् शिक्षाविद् हुन् – लक्ष्मण राजवंशी । त्यति मात्र नभइकन विद्यालय तथा क्याम्पस सञ्चालनमा आफ्नै ढङ्गको प्रभावकारिता साँचेर शिक्षालय व्यवस्थापन गर्न सिपालु प्रिन्सिपलकै नाम हुन् – लक्ष्मण राजवंशी । सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका मालीकै रुपमा प्रख्यात राजवंशीले शिक्षा जगत्मा आफ्नै ढङ्गको विश्वास, आस्था र कृयाशीलता निरन्तर रुपमा उजागर गर्दै आफूलाई चिनाएर गएका छन् । शैक्षिक जगत्मा लागेर विश्वसनीयता कमाइसकेका यिनले शिक्षा, शिक्षालय र शिक्षणसेवाका माध्यमबाट आफ्नो जीवनको ५० औं वर्षका व्रmमहरू शिक्षा जगत्मा गुजारेर गएको देखिन्छ ।
शिक्षालय ढुकेर, शिक्षा प्रचार गरेर मात्र नपुगी कहिलेकाहीँ देशकै समस्याबारे पनि चिन्तन मनन गरेर आफूलाई जीवन्त राख्न खोज्ने एकजना बुद्धिजीविकै नाम हुन् – लक्ष्मण राजवंशी । त्यति मात्र नभई आफ्ना मनका कुराहरू, आफूले देखेका अनुभूतिहरू लेख रचनामा ढालेर, कथाबिम्बमा साँचेर सिर्जनामा पनि रमाएर जाने एकजना साहित्यकारको नाम पनि हुन् – लक्ष्मण राजवंशी ।
आफ्नो देश, आफ्नो जाति र भाषाप्रति माया गरिरहने, आफ्नो पेशा र आफूले सोचेको चिन्तनप्रति विश्वस्त रही जीवनपथमा कुदिरहने तथा थाक्न नजानेका अथक यात्रीकै नाम हो – लक्ष्मण राजवंशी । आफ्नै किसिमको विशेषता र विचार बोकेर निरन्तर शिक्षण सेवामा लागेका राजवंशीले आफ्नो फुर्सदका क्षणहरू राजनीति, समाजसेवा, भाषा सेवा र साहित्य लेखनमा आफूलाई समर्पित तुल्याएर गएको देखिन्छ । उनी सकृय छँदा आफूसँग निकै नजिक रहेका मित्रहरूलगायत अन्य नयाँ साथीहरू बनाउन सकिने खालकाहरूसँग बसिबियाँलो गरेर मनका कुराहरु फुकाउने गर्छन् र सम्पर्क गर्न रुचाउँछन् ।
के सुख ? मन सुख । के दुःख ? मन दुःख । भन्न रुचाउने कथाकार नराम्रोलाई राम्रो, नपढ्नेलाई पढ्ने खालकै बनाउन सङ्घर्षरत शिक्षक तथा शिक्षामा आफ्नै ढङ्गको सोच बोकेर जीवन्त रहेर गएका शिक्षाविद् लक्ष्मण राजवंशीले नेपालभाषाको कथाकारिता विधा र क्षेत्रमा आफ्ना डोवहरू छोडेर जान सफल छन्, शिक्षण अभ्यासमा रुचिप्रद ढङ्गले शिक्षक र विद्यार्थीको मन जितेका यिनले शिक्षण क्षेत्रमा सङ्लग्न राष्ट्रभरका शिक्षा सेवीहरूका भावना आफूतिर आकर्षित गर्न पनि यिनी सफल छन् । यिनै लक्ष्मण राजवंशी नेपाः राष्ट्र पार्टीबाट सभासद्का रुपमा पनि चुनिएका व्यक्तित्व हुन् । राजनीतिमा पनि आफ्नो छुट्टै पहिचान र हेराइ साँचेर देश बुझेर गएका लक्ष्मण राजवंशीले नेपाल भाषामा पनि आफूसक्दो सेवा र भावना जाहेर गरेर गएको देखिन्छ ।
वि.सं. २०३० सालदेखि नै सिद्धार्थ वनस्थली बालाजुका प्रधानाध्यापक भई सेवा पु¥याएर गएका यिनी वि.सं. २०१८ सालदेखि नै शिक्षणसेवामा जीवनपर्यन्तसम्म नै समर्पित भएर गएको देखिन्छ । सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका संस्थापक प्रिन्सिपल भई सेवा पु¥याएर गएका यिनले शिक्षण सेवामा मात्र उत्सर्ग र जीवन्तता छाडेका छैनन्, नेपालभाषाका कथा आयामभित्र आफ्नै छुट्टै प्रकारको मौलिक पहिचान स्थापित गरेर जान सफल छन् । कथाकै सन्दर्भमा प्रो. मणिकलाल श्रेष्ठले आधुनिक कथा विधाभित्रका एउटा नाम हुन् भन्दै यिनको मूल्याङ्कन गरेको देखिन्छ । उनको कथालेखनको भाषाप्रति दुर्गालाल श्रेष्ठ प्रभावित छन्, स्वाभाविक चित्रणप्रति पद्मरत्न तुलाधर आकर्षित छन् । कथाहरूमा पाइने मनोवैज्ञानिक विश्लेषण, यथार्थ वर्णन र पात्र–पात्राहरूको स्वाभाविक वार्तालापबाट कथाकार मथुरा सायमि पनि यिनको तारिफमा लेख्छन् । उखान र टुक्काको प्रयोग स्वाभाविक ढङ्गले पोखेका उनको लेखनमा देखिने मार्मिकताप्रति भाषाविद् तथा समालोचक ईश्वरानन्दले तारिफ लेखेका छन् । सत्यमोहन जोशीले उनको कथाकारितामा सफल कथा छन् भनी उनीप्रति आफ्नो सदासयता व्यक्त गरेका छन् । त्यस्तै उनका धेरै कथाहरूमा स्वाभाविक ढङ्गले उनी आफैं व्यक्त छन् भनी प्रेम सायमि लेख्छन् । थुप्रैले उनका कथाहरूबारे आफ्नो प्रतिव्रिmयाहरू पोखेका छन् । सङ्क्षेपमा भन्नुपर्दा भन्न सकिन्छ – लक्ष्मण राजवंशी कथामा सफल छन्, अझ नेपालभाषा, कथा साहित्यको क्षितिजमा त उनी चम्किला तारा नै भन्नुपर्छ । ‘मेरो कपाल तिम्रो निधार’ सवभन्दा पहिलो नेपाली भाषामा प्रकाशित उनको कथासङ्ग्रहको नाम हो । त्यसपछि मात्र यिनले नेपालभाषाका दर्जनौं कथासङ्ग्रहहरू र निबन्धसङ्ग्रहहरू प्रकाशित गरेका छन् । त्यसमध्ये नेपालभाषाका कथासङग्रहहरूमा नमिंग्वागु सःर्ग, बुलुमिं, देखाः, आलमत, ह्याउनिभाः, लःहु, लिथ्वःगु सः, झसुका, नसना, ईया किचलय्, त्वाकः, त्वाःधगु यःसिं छन् । साथै नेपाली र अंग्रेजीमा पनि यिनका पुस्तकहरु प्रकाशित भएको देखिन्छ ।
थुप्रै किसिमका मान्छेहरूसँग सरसङ्गत गरी तितो मीठो अनुभूति सँगालिसकेका, राजादेखि रङ्कसम्म अनुभूति साटिसकेका, लाखौंलाख भविष्यका कर्णधारहरूका गुरुवा भइसकेका लक्ष्मण राजवंशीले ‘बाच्नु भन्दा मर्नु गाह्रो । मर्न नडराउने मान्छे नै सधैं बाँचिरहन्छ’ भन्दै आफ्नो भावना कथाका पात्र भई पोखेका छन् । त्यसैले भन्न सकिन्छ यिनी शिक्षण सेवामा जस्तै नेपालभाषा कथा साहित्यभित्र पनि जीवन्त पात्र भएर गएका छन् ।
यिनै लक्ष्मण राजवंशीको जन्म वि.सं. १९९२ साल श्रावण चतुर्दशीमा पिता बुद्धिबहादुुर र माता पूर्णकुमारी राजवंशीको कोखबाट इन्द्रचोक काठमाडौंमा भएको हो । चारजना दाजुभाइहरूमा मात्र बाँकी रहेका यिनी लक्ष्मण साँच्चिकै आफ्नै पिताको बुद्धिलाई टिपेर मातासँग सिकेर, भोगेर पूर्ण रुपकै जीवन्त पात्र बनेर देखाइदिएका सन्दर्भहरु चर्चा गर्न सकिन्छ । शोभना राजवंशीको माया र संसर्गमा जीवन साटासाट गरेर नीतिमारुपी सिर्जना हुर्र्काएर रुपक दीपक नामका सिर्जनाहरू झुलाएर शिक्षणसेवा गर्नेहरूका संरक्षक बनेका यिनी जीवित छँदा धेरैजसो क्षेत्रमा सकृय भएर गएका देखिन्छ । छोराहरूलाई शिक्षण क्षेत्रकै उत्तराधिकारीकै रुपमा प्रतिवद्ध गराउँदै जगत् र जीवनलाई चिनाउने क्रममा सफलतापूर्वक आफूलाई समर्पित तुल्याएर गएका यिनी जीवन बाँचेसम्म नै सकृय भएर गएको देखिन्छ । आफ्नो इच्छाका सन्दर्भमा यिनले यसरी बताएका छन् – ‘मेरो छात्र–छात्राहरूमध्ये अति नै थोरै सङ्ख्यामा भए पनि निर्धक्क साथ आफूलाई लागेको कुरो भन्न सकोस् । परिआएको बेला जुनसुकै गहिरो जिम्मेदारी पनि बहन गर्न सकोस् ।’ २०१७ सालको राजनैतिक परिवर्तनले मलाई जिम्मा लगाएको यो शिक्षण पेशा हो । सुरुका केही वर्ष डेरावाल जस्तो मनस्थितिले यो पेशा अपनाएको थिएँ तर समय बित्दै गएपछि सधैं बस्नुपर्ने आफ्नै घरजस्तै आफैंलाई पनि परिमार्जित गर्दै डेरावालबाट घरपतिको रुपमा स्थायी बसोबास गर्ने निधो गरेँ । व्यक्तिगत कसैको प्रेरणाले यो पेशा अपनाएको होइन । उपरोक्त विचार शिक्षणसेवामा सङ्लग्न हुने प्रेरणा सम्बन्धमा पोखेका विचार हुन् । २०१७ सालदेखि शिक्षक भई शिक्षण सेवामा देखापरेका लक्ष्मण राजवंशीको सव्रिmयता र राजनीति सोच आफ्नै ढङ्गको भएको कारणले त्यसकालमा कम्युनिष्टहरूको आँखामा पञ्च र पञ्चहरूको आँखामा कम्युनिष्ट भइयो भनेर उनी आफैं बताउँने गर्र्छन् । आफ्नै वर्कत साँच्न सक्ने व्यक्तित्व भएर पनि यस्तै उस्तै कारणहरूले यिनलाई दुवै क्याम्पबाट धुरी चढाएको देखिँदैनन् । यिनको सङ्गत निर्मल लामादेखि मरिचमानसम्म फिँजिएको कारणले कारणले पनि यिनी विवादीत बने अथवा यिनी कसैको भरिया हुन नसक्ने आफ्नै मौलिक पहिचान देखाएर बाँच्न खोज्ने महत्वाकाङ्क्षा सोचेको कारणले पनि यिनीप्रति मान्छेहरू आशङ्कित हुने गर्छन् । यिनको आफ्नै खालको हैसियत छ, आफ्नै खालको दृष्टि छ र आफ्नै खालको हेराइ भएकैले होला राजनीतिमा यिनी जम्न सकेनन् अर्थात् अदृश्य र विवादस्पद रहिरहे । यिनको राजनीतिप्रतिको लगाव, देशप्रतिको दृष्टि र आफूले भोगेका मर्मका सन्दर्भहरू यिनले लेखेको प्रतिबिम्ब पुस्तकमा व्यक्त गरेका छन् । सारांशमा भन्न सकिन्छ राजनीति क्षेत्रमा पनि विश्वास र आस्था खर्चेर कहिलेकाहीँ जीवनका क्षणहरू गुजारेका यिनी जति सुन्दर र देदिप्यमान शिक्षा क्षेत्रमा छन् त्यति राजनीति क्षेत्रमा हुन सकेनन् । यस क्षेत्रमा यिनलाई विवादकै घेरामै राखेर मूल्याङ्कन गर्ने गर्छन् ।
प्रष्ट वक्ताका रुपमा राष्ट्रले चिनेका यिनी २०३६ सालको निर्दल बहुदलमा विवादमा नपरी सिक्किमतिर लागेको देखिन्छ । पछि मरिचमान सिंह शिक्षामन्त्री रहँदा यिनीसँगको सम्पर्कमा रहँदा पनि यिनले निर्दल बहुदल व्यवस्थाकै विकल्पमा अर्को तेस्रो दल दुई दलीय व्यवस्थाको खोजी हुनुपर्ने नयाँ चिन्तन राखेर पनि विवादमा आएको देखिन्छ । यस्तै गरी शिक्षक आन्दोलनमा पनि आफ्नै छुट्टै खालकोे विश्लेषण गरेर आफूलाई देखाएर गएका यिनी शिक्षा जगत्का एकजना चर्चित व्यक्तित्व हो भन्न सकिन्छ ।
सुकरातलाई मन पराउने यिनले आफ्ना कमजोरीहरूलाई –‘सबैलाई आफूजस्तै ठानी विश्वास गर्नु वा मान्छे चिन्न नसक्नु’ हो भन्दछन् । निस्कपट, स्वाभिमान, स्पष्टवक्ता मान्छेहरू मन पराउने राजवंशीले केटाकेटीमा बज्यैबाट र हुर्केपछि आफ्नै पिताबाट प्रभावित भएको कुरा बताउँने गर्छन् ।
जीवनको उत्कृष्ट अनुभूतिको अभिव्यक्ति नै साहित्य हो जस्तो लाग्छ भनेर साहित्यको परिभाषा दिन रुचाउने यिनलाई विदेशी लेखकहरूमा चेखब र स्वदेशीहरूमा विजयबहादुर मल्ल र विश्वेश्वरप्रसाद कोइराला मन परेको बताउँछन् । जीवनलाई यिनी – सृष्टि र संहार बीचको क्षणिक तर कृयाशील अस्तित्वको नाम नै जीवन हो जस्तो लाग्छ भन्छन् । शिक्षामा जीवन होमिसकेका, लक्ष्मण राजवंशीले नेपालभाषा साहित्यमा पनि विशिष्ट योगदान मात्र पु¥याएनन्, कथाका मर्मस्पर्शी सङ्ग्रहहरु प्रकाशित गरेर सक्षम कथाकारका रुपमा आफूलाई चिनाएका छन् । राजनीतिक वृत्तमा यिनी नेवारहरुको प्रतिनिधिका रुपमा सभासद् भए । ठूला दलहरुको ‘मै हुँ’ भन्ने हुलमा मिसिएर लक्ष्मण राजवंशीले आफ्नो विचार सम्प्रेषण गरेर गएको देखिन्छ । नजिकले चिनेकै कारणले यिनीसँग मैले धेरै खालका सम्पर्क र संसर्गमा समय बिताउन पाएका थुप्रै संस्मरणहरु छन् । सिद्धार्थमा हुने साहित्यिक सङ्गोष्ठीहरुमा, भाषा–साहित्यको अनेकौं सभा–समारोहहरुमा यिनीसँग बिताउन पाएका थुप्रै समारोहहरुमा, घरभित्र र बाहिर हुने थुप्रै भोजभतेरमा यिनीसँग आत्मीयता साट्न पाएका अनगिन्ति स्मरणहरु सम्झनामा छन् । जनमतको सभा–गोष्ठीहरुमा थुप्रैपटक विशेष अतिथि भएर, कहिले प्रमुख अतिथि भएर मलाई र जनमतलाई साथ दिएर गएका स्मरणमा राख्न मिल्ने थुप्रै घटनाहरु सम्झिन लायकका छन् । मेरो सक्रियतामा यिनी खुसीमात्र होइन, मेरो प्रशंसामा ठाउँ–ठाउँमा आफ्नो अनुभूति पोखेका थुप्रै सन्दर्भहरु बिर्सिन गा¥हो छ । ज्ञानगुन साहित्य प्रतिष्ठानबाट प्रकाशित ‘सिर्जना र साधनाका दोभान मोहन दुवाल’ ग्रन्थमा मेरो बारे ‘मैले चिनेको मोहन दुवाल’ मा उनी लेख्दछन् – “हामी बिचको निकटता शिक्षण पेशाबाट शुरु भएको हो । वहाँ बनेपाली । म कान्तिपुरे । भौगोलिक दूरीलाई उछिनेर कहिले हामी बनेपा त कहिले काठमाडौंमा भेट्थ्यौं । वहाँले शिक्षणकालमा शिक्षकहरुको हक र हितको कुरा कोट्ययाउनु हुन्थ्यो ।” उनले मेरोबारे अगाडि यसरी लेखे– “मोहन दुवालजीसित सर्वप्रथम सकृय राजनैतिक सहयोगीका रुपमा मेरो चिनजान भएको थियो । जोसिला र जाँगरिला दुवालजी कसैलाई अन्याय भएको न देख्न सक्नुहुन्छ न सहज’ वहाँको गुहार मागिरहनु पर्दैन । वहाँ स्वयं अन्यायको विरुद्ध खनिनुहुन्छ । वहाँको यस्तै निडर स्वभावले गर्दा नै, वहाँले आफूलाई प्रगतिशील फाँटमा उभ्याउनुभयो । “मान्छे मान्छेको हुलमा दुवालजी मानवताको हिमायती एउटा जिउँदो मान्छेको खोजीमा दिनरात भौतारिइरहनुभएको देख्छु ।” यसरी थुप्रै प्रसङ्गहरुमा लक्ष्मणजीले मलाई प्रशंसा गरेर पुरस्कृत गरिदिनुभएका अक्षर–प्रसङ्गहरुमा ‘धन्य’ र ‘स्मरण’ गर्न लायकका छन् ।
लक्ष्मण राजवंशीका कथाहरुमा व्यक्त भएका नेवार समाजका संस्कृति, दृष्टि र परिवेशलाई अंग्रेजीमा अनुवाद गरेर पुस्तक प्रकाशन यिनले गरेका छन् । मनोवैज्ञानिकढङ्गले पात्रहरुको प्रस्तुति दिन सफल कथाकार भएकै कारणले यिनका कथाहरु इतिहास र संस्कृतिका हरफहरुजस्तै यिनले पु¥याएर गएका अनगिन्ति उहारणीय कार्यहरु स्मरण गर्न लायकका छन् र लायक भइरहनेछन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |