डम्बर थामी “अनुपम”
वर्गसंघर्षका ती आँधीमय दिनहरू । वर्गसंघर्षका तूफानी वेगहरू । आगोसँग खेलीएका यादहरु । आज एकाएक उकुच पल्टेर आउँदोरहेछ । मनको मझेरीमा रहेर विरही भाकामा दुःख पीडाका स्वरहरु गाउदोरहेछ । कहिले जून बनेर आउँदोरहेछ त कहिले धून बनेर आउँदोरहेछ । कहिले रिसानी बनेर आउँदोरहेछ त कहिले निशानी बनेर आउँदोरहेछ । कहिले विक्षिप्तताका क्षणहरु ! कहिले विदिर्णताका क्षणहरु ! हृदयमा ताजा भएर आउँदोरहेछ । यिनै घृणा, आक्रोश, विरता र बलिदानको पेरिफेरिमा रहेर स्मरण गर्न गईरहेको छु । मेरो जीवनको शिक्षा बनेर उभिएको महाभारतका अजम्बरी गाउँहरुलाई । अनि न्यायप्रेमी, मुक्तिकामी जनसमुदायहरुलाई ।
सबभन्दा पहिला २०५६ साल असोज महिनामा महाभारतको बस्तीमा एस टि एफ को फर्मेशनसँगै पहिलो पाईला टेकेको थिएँ । हामी भिमखोरी मोर्चाको लागि दोलखा सिन्धुको एउटा टुकडी क. रामजीको कमान्डमा रातदिन हिंडेर पुगेका थियौं । त्यहाँ एस. टि. एफ. कमान्डर क. सुरेश सहितको टोलीलाई भेट्दा छुट्टै खालको गर्वको अनुभूति भएको थियो । नियमित सेनाको जस्तै फर्मेशन चलिरहने ती वस्तीहरुमा त्यति वेला नै आधारईलाका घोषणा भए झैं लागिरहेको थियो । निश्फिक्री जताततै हिंड्न पाईने तालीम गर्न पाईने । क्रान्तिकारी गीतहरु गुन्जाउन पाईने । सि आई डि सुराकी कतै नभएको । यस्तो बस्तीलाई देख्दा मनै कता कता आल्हादित हुन्थ्यो । जनताको सत्ता चले झैं लाग्थ्यो । तारा खस्यौली लेकको काखमा रहेको भिमखोरी फौजी कार्वाही पनि हामीले तिनै महान भूगोल र जनाताको साथ र सहयोगले सफल पारेका थियौं । त्यतिबेला कामको चापले गर्दा सिमित भूगोल र जनतासँग मात्र घुलमिल हुने मौका पाईएको थियो । कार्वाही पोइन्ट भन्दा आधा घन्टा दुरिको फरकमा पनि हामीलाई तिनै महान जनताहरुले लुकाएका थिए । त्यसर्थमा मलाई त्यहाँको जनताको अपार माया र विश्वास लागेको थियो । त्यतिबेला क. सागर र क. माईला लामालाई ती वस्तीहरुले असाध्यै मन पराउदारहेछन । माईला लामा म¥यो भने पनि फोटो ल्याईदेओ भनेर त्यहाँका बुढी आमाहरुले भनेको सुन्दा मलाई कता कता मन दुख्थ्यो । त्यतिबेला यी योद्धाहरु जनताका आँखाका नानी रहेछ्न । सा¥है स्थापित रहेछन् । यहीँनेर जनदिशाको कुरा आउँछ । जनदिशा लागु गर्ने कुशलताले गर्दा नै जनताको ढुकढुकीमा यी योद्धाहरु बाँचिरहे झैं लाग्थ्यो । शैलुङ जस्तै लमतन्न परेको विकट भूगोल । शैलुङ्का थुम्का जस्तै चुली चुली भएको महाभारतका बस्तीहरु देख्दै आनन्दानुभूती हुन्थ्यो । यही भूगोलको विशेषताले गर्दा नै छापामारहरुलाई बचाएको थियो । त्यहाँका जनताहरुको मुख्य पेशा भनेको खेतिपाती र पशुपालन रहेछ । थुप्रै गुजराती भैंसीहरु पाल्ने र विषेश गरी खुवा बनाएर बेच्ने गर्दा रहेछन् । यातायातको सुविधा नभएकोले खुवा पनि दुई दिनको बाटो डोकोमा बोकेर पनौती लगेर बेच्दारहेछन । यही खुवा बेचेको पैसाले जनयोद्धाहरुलाई पालेका रहेछ्न । जनताको यो महानतालाई कहिल्यै बिर्सन सक्दिन । उदार मन भएका बुढाबुढी बुबाआमाहरूले त नेपाली भाषा पनि त्यति बुझ्न सक्नुहुँदो रहेनछ । तामाङ समुदायको बाहुल्यता भएको बस्तीहरु भएकोले तामाङ भाषा नै बढी बोलिंदोरहेछ । जनतासँग घुलमिल हुनको लागि पनि मैले तामाङ भाषा सिक्नुपरेको थियो । भाषा भनेको त्यति महत्त्वपूर्ण कुरा रहेछ । त्यसैले त्यहाँ बस्दासम्म मेरो थर स्याङ्तान भयो । म जुन बस्तीमा गए पनि त्यही जाति ठान्दारहेछन । तामाङ बस्तीमा पुगे तामाङ । मगर बस्तीमा पुगे मगर । नेवार बस्तीमा पुगे नेवार । गुरुङ बस्तीमा पुगे गुरुङ । यसरी म साझा थर ठह¥याउने मान्छे परेछु । आर्यमूल बाहेक मंगोल मूलको अनुहारसँग मेरो अनुहार मिल्न पुगेछ क्यारे । मेरो थर स्याङ्तान भएकोले जनताले असाध्यै माया गर्थे । भोक लाग्यो । खाना पाक्यो ? भन्ने एकसरो बोलीचालीको भाषा सिकेको थिएँ । साथीहरूले जति बिरोध गरे पनि, मार्क्सवादी दायराभित्र नपरे पनि बुढी मामहरूको हातबाट बनाएको कोदो र मकैको हुरे धेरै डबका रित्याएँ । यो मेरो बाध्यता थियो । मर्नु भन्दा बहुलाउनु निको भन्छन । मेरो सवालमा पनि यही भयो । छापामारहरूलाई अत्यन्तै माया गर्ने यिनै सोझासिधा तामाङ समुदायको बाहुल्यता भएकोले नै क्रान्तिको राँको दन्किएको रहेछ । वर्गसंघर्ष फैलिएको रहेछ ।
प्रायः जसो सोझासिधा जनतामाथि रजाइँ गर्ने फटाहाहरु गाउँ छाडेर बनेपा धुलिखेलतिर भागिसकेका रहेछन् । सि आई डि सुराकी गर्नेहरू पनि गाउँ छोडिसकेका रहेछन् । त्यसैले गाउँ गाउँमा जनसत्ता नै चलेको रहेछ । त्यतिबेला किलो शेरा टु अप्रेसनले गाउँमा ठूलै आतंक मच्चाएको रहेछ । ठूलादुर्लुङ हत्याकाण्डले बस्तीलाई धेरै आक्रोशित बनाएको रहेछ । ठूला दुर्लुङ हत्याकाण्डमा गिरफ्तार गरिएका महिला कमरेडहरूलाई नांगै बनाएर गाउँ घुमाईएको रहेछ । तैपनि जनताको आस्था र विश्वास डगमगाएको थिएन । यिनै यादहरु आज पनि ताजगी बनेर आईरहेको छ । त्यसपछि मैले महाभारतका ती अजम्बरी बस्तीहरुमा रणनीतिक प्रत्याक्रमणको वेलामा समय व्यतीत गर्ने मौका पाएको थिएँ ।
२०६१ साल असोज महिनामा भएको गोकुलेको राजनीतिक प्रशिक्षण पश्चात् प्रायः जसो केहि समय ती बस्तीहरुमा समय व्यतीत गर्ने मौका पाएँ । त्यतिबेला हाम्रो भूगोल पनि एउटै बनेको थियो । ती महान बस्तीहरुमा सम्झनलायक विकासको काम भनेको मकवानपुरको भोर्लेनीदेखी हजारौं जनताको सहभागीतामा सातु सामुल बोकेर महिनौं दिनसम्म गोकुलेसम्म सडक खन्ने काम गरियो । ठाउँ ठाउँमा सहिद गेटहरु बनाउने काम गरियो । धारा, कुवा, ईनारहरु सफा गर्ने काम गरियो । दुश्मन आउने गौंडामा जनमुक्ति सेनाले पहरा दिएको थियो । यो पनि बिर्सन नसकिने काम हो । यतिखेर राज्यको दमन पनि चरमोत्कर्षमा पुगेको थियो । यही समयमा लडाइँका भीषण मोर्चाहरु पनि खोलियो । नार्के र घर्तीछाप जस्ता बहादुरिपूर्ण भिडन्तहरु भए् । जुन लडाइँबाट हामीले एउटा सदरमुकाम कब्जा गरे जतिकै हतियारहरु कब्जा ग¥यौं । यी भिडन्तहरुमा हाम्रो एक दर्जन योद्धाहरुले जीवनको आहुती दिए । जनदमनमा निस्केको दुश्मनलाई गोकुले एम्बुशले ठूलो धक्का लगायो । यसैगरी यी बस्तीहरु झर्ने डाँडा, फलामेटार, फोक्सिङ्टार, माहादेवबेंशी, बनखु, चौडिक, बेतिनी, रजबास, कटुन्जे, भिमखोरी, चारकिल्ला, गोकुले, घर्तीछाप, जगथली, सहने, साँझकोट, खार्पाचोक, साल्मे, तालढुंगा, मझुवा, बेतिनी लगायतका बस्तीका यादहरु अविस्मरणीय बनेकाछन । त्यसपछि फेरि पाइला टेक्न नपाएकोले ती बस्तीहरुको मुहार फेरिए कि फेरिएनन ! चिन्ता र चासोको विषय बनेको छ । क्रान्ति र क्रान्तिकारीहरुलाई आफ्नो खोकिलामा लुकाउने ती अजम्बरी बस्तीहरु र जनसमुदायलाई मेरो तर्फबाट लाख लाख सलाम !!!!
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |