प्रेमविनोद नन्दन
नारायणगढ, चितवन
(गीतकार/कवि)
नेपाली भाषा साहित्यमा निरन्तर लागिरहने, साहित्यलाई जनमुखी बनाउन, जनचेतनाको सशक्त माध्यम बनाउन स्वयम् उदाहरण बन्न अग्रभूमिकाको निर्वाह गर्दै यस फाँटमा लाग्न प्रेरणा दिन घचघच्याइरहने, कोट्याइरहने, नयाँ प्रतिभाहरु प्रस्फुटन गराउन हौसला दिइरहने एक व्यक्तित्वको नाम हो – मोहन दुवाल ।
व्यक्ति एक हुन् र पनि त्यो व्यक्तित्व विविधताको जुन व्यापकतातिर अग्रमामी छ, त्यसले व्यक्ति–प्रतिभाको शुभ सङ्केत गर्दछ ।
संवत् २०२० सालतिर ‘मेरो सपना’ को कविताबाट साहित्यमा पदार्पण गर्ने कवि दुवाल क्रमशः कवि, आलोचक, लेखक, जीवनीकार हुँदै कुशल सम्पादकसम्मको निरन्तरता उनको सफल साहित्य–यात्राका प्रतीक बनेका छन् ।
‘जनमत’ पाक्षिकदेखि ‘जनमत’ साहित्यप्रधान मासिक पत्रिका त दुवालका पर्याय भएका छन् । यद्यपि बिगुल, उत्साह, भञ्ज्याङ, भुजङ्ग, विद्यालय स्मारिका, अठोट, सङ्गम जस्ता आधा दर्जन भन्दा बढी साहित्यिक पत्रिकाको सम्पादनमा दुवालको विशेष योगदान रहेको छ ।
शिक्षण सेवा, पत्रकारिता, सामाजिक सेवा, राजनीतिक सेवा र अनुभवको खलिखेल्दै आएका एक सङ्घर्षशील, कर्मठ योद्धाको रुपमा पनि दुवाल उत्तिकै विशिष्ट छन् ।
उमेरले आधा शताब्दी नाघिसकेका तर आफ्नो उद्देश्य र लक्ष्यप्राप्तिको दुष्कर मार्गमा भने आज पनि उत्साहित युवा जाँगरको परिचायक बनेका छन् ।
“जीवन निरन्तर खोलाझैं बहनु हो
जीवन निष्ठा र विश्वासझैं फुल्नु हो ।”
यो हो कवि दुवालको जीवनप्रतिको दृष्टिकोण । जीवनमात्रको जिजीविषा जीवन्त रहनु हो । नित्य, निरन्तर अनेक यात्राका ठेस ठक्करसित सिँगौरी खेल्दै गतिमान भएर बगिरहनु साँच्चिकै जीवन्तता हो । विश्वास ओइलाउन थालेपछि जीवन सानै हुरीबतासमा पनि अत्तालिन्छ । त्यसैले निष्ठा र विश्वासको फूल फुल्नु भनेको जीवनलाई मुत्युबाट बचाइराख्ने अमोघ उपाय हो ।
“मानवीय प्रवृत्तिहरुलाई कवितामा समेट्ने प्रयास गर्दै छु । साहित्यिक अनुभूतिहरु लेख्छु । साहित्यिक पत्रिका निकाल्छु । गोष्ठी धाउँछु । कार्यक्रमहरु आयोजना गर्छु । साहित्यिक छलफल चलाउँछु । अनुभव सँगाल्छु । बचेको समयमा परिवार सोच्छु ।” यो उक्ति साहित्य साधक दुवालको हो । यसबाट के स्पष्ट हुन्छ भने दुवाल साधनारत तपस्वी हो । विना त्याग र तपस्याले साहित्य सिर्जनामा निरन्तरता सम्भव हुँदैन । स्रष्टा दुवालको दैनन्दिनी माथि भनिएझैं साहित्य सेवातिर उन्मुख छ । ‘जीवन नै कविता हो’ भन्ने मूल मन्त्र लिएका दुवालबाट हामीले अनुसरण गर्नैपर्छ । क्षणिक आवेशमा कवि, कलाकार बन्ने रहरहरु आउँछन् र जाँदै हराउँछन् । समर्पित व्यक्तित्वहरु नै साहित्यिक इतिहासमा अमर रहन्छन् ।
साहित्यिक सेवाको सम्मान गर्ने, पुरस्कृत र अभिनन्दन गर्ने परम्पराहरुले साधकहरुलाई अरु बढी साधनारत हुन प्रेरणा थपिन्छ । कवि दुवाल पनि दानमाया प्रतिभा पुरस्कार (२०५२), प्रेस काउन्सिल पुरस्कार (२०५३), जि.वि.स. काभ्रेको उत्कृष्ट पुरस्कार (२०५३), साहित्य सन्ध्या पुरस्कार (२०५५) का साथै चितवन साहित्य परिषद्द्वारा सञ्चालित ‘कृष्णाकुमारी गुरुङ स्मृति पुरस्कार’ (२०५६) बाट पुरस्कृत र सम्मानित भइसकेका छन् । नेपाली वाङ्मयसेवीहरुको सम्मान गर्नु राष्ट्रकै सम्मान गर्नु हो र यस्ता बहुमुखी प्रतिभाहरुको सम्मानले राष्ट्रकै शिर उचालिन्छ ।
सुनकोसी साहित्य प्रतिष्ठान, प्रगतिशील लेखक सङ्घ, युद्धप्रसाद मिश्र प्रकाशन गुठी, व्यथित सिन्धु प्रतिभा सम्मान कोष, काभ्रेली साहित्यिक सङ्गम, प्रतिभा सम्मान प्रबन्ध गुठी, बनेपा, साहित्यिक सम्पादक समाज, नेपाल बालसाहित्य समाज, काभ्रे बहुमुखी क्याम्पस, केदारनाथ प्रधान स्मृति तथा प्रकाशन समिति आदि संस्थाहरुमा संलग्न रहेर पनि साहित्य साधनामा निरन्तरता दिन सक्नु आफैंमा अद्भूत क्षमता रहेको प्रमाणित हुन्छ ।
वि.सं. २००६ साल जेठ २१ गते पिता गणेशबहादुर दुवाल र माता खिलकुमारी दुवालबाट काभ्रे जिल्लाको बनेपा–७, भोलाखाटोलमा जन्म लिएका कवि दुवालको पारिवारिक प्रेरणा पनि आश्चर्य लाग्दो छ । उहाँकी श्रीमती भारती श्रेष्ठ ‘जनमत’ की सम्पादिका र छोरी सिर्जना दुवाल कवयित्री हुनु साहित्यिक परिवेशकै प्रेरणा मान्नुपर्दछ । उनको यो पारिवारिक जीवनले नेपाली भाषा साहित्यमा थप बल दिनेछ र कवि दुवालको अभीष्ट पूरा गराउन हौसला थपिनेछ ।
अन्तमा यो संक्षिप्त परिचय कविकै वाणी टिपेर पूरा गर्न चाहन्छु–
कविता मेरो जीवन हो
जीवन नै कविता हो
त्यसैले म कवितामा जीवन देख्छु
म जीवनमा कविता बोक्छु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |