डम्बर थामी “अनुपम”
“विद्या शस्त्रं च शास्त्रं च द्वे विद्ये प्रतिपत्तये ।
आद्या हास्याय वृद्धत्वे द्वितीयाद्रियते सदा ।।”
उल्लेखित संस्कृत श्लोक म (स्वयं) २०४७ सालतिर हिलेपानी संस्कृत मा. वि. मा अध्ययनरत हुँदा अध्ययन गरेको थिएँ । विद्यार्थी जीवनको पूर्वार्धमा पढिएको विद्याको महत्त्वबारेको यो श्लोक अति नै महत्त्वपूर्ण लागेको थियो । “विद्या दुई प्रकारका हुन्छन्ः शस्त्र विद्या या शास्त्र विद्या । शस्त्र विद्या काम नलाग्ने हास्यास्पद हुन्छ भने शास्त्र विद्या चाहिँ सँधैं काम लाग्ने सदावहार हुन्छ ।” भनेर पढेको थिएँ । तर आफू अन्यायमा परेको बेला या देशले असुरक्षित महसुस गरेको बेला त शस्त्र विद्या नै महत्त्वपूर्ण हुने रहेछ । यी शस्त्र विद्या र शास्त्र विद्या बीचको दुई विरोधी पहलुहरुको द्वन्द नै विद्याको दार्शनिक मान्यता हुन जाँदो रहेछ । प्राचीनकालमा पनि ऋषिमुनीहरु ओडार, गुफा र जङ्गलहरुमा ध्यान, तपस्या गर्दा शस्त्र विद्याको पनि अवलम्बन गरेको कुरा कथा, किंवदन्तीहरुमा पढ्न पाईन्छ । कुटी (बास) हरुमा पनि रक्षकहरु तैनाथ गरेको पाईन्छ । धनुषवाण र भालाहरु प्रयोग गरेको पाईन्छ । (युद्धकालमा संस्कृत शिक्षाको विरोध गर्दै हिंड्नेले किन ? संस्कृत शिक्षाकै वकालत गरेको होला ! भन्नुहोला । हामीले संस्कृत शिक्षालाई अनिवार्य नगरेर ऐच्छिक बनाऔं र बदलिएको युग अनुसारको लचिलो बनाऔं भनेका थियौं ।) यो प्रसंग यति नै । आवश्यक परे फेरि फेरि बहस गरौंला ।
यसरी अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडनमा परेका जनसमुदायलाई मुक्त गराउन पनि जनताकै तर्फबाट विगतमा क्रान्तिकारी शस्त्र उठेको थियो । (कतिपयले यसलाई जनताको युद्ध मान्न तयार छैनन् । अझै पनि धमिलो दृष्टि लगाउँछन् । तर भनेको जस्तो परिवर्तन नभए पनि ! राज्यसत्ता पूरै रुपमा कब्जा नभए पनि केही परिवर्तन अवस्य भएको छ ।) यसरी क्रान्ति, विद्रोह, संघर्ष र आन्दोलनहरुमा शस्त्र विद्याको प्रधान भूमिका हुँदोरहेछ । हुन त शस्त्र विद्या या हतियार अपशकुनका साधन हुन् । यसले आफ्नो र अर्काको भन्दैन । त्यसैले यसलाई बुद्धिमत्तापूर्ण ढंगले ठीक ठाउँमा चलाउन जान्नुपर्दछ । युद्धानुभूतिले पनि यही कुराको निर्देश गर्दछ । फेरि शस्त्र चलाउनको लागि शास्त्रको खाँचो पर्ने रहेछ । दुई विरोधी पहलुहरु बीचको द्वन्द भनेकै यही हो । वादविवाद गर्न थाल्यौं भने ‘अण्डा पहिला कि चल्ला पहिला’ भने झैं हुन जाला । साँच्चै भन्नुपर्दा महान जनयुद्धमा सामन्ती शासनको विरुद्ध सशक्त र सशस्त्र हतियार उठेकै हो । जनक्रान्ति भएकै हो । क्रान्तिको ज्वारभाटा उठेकै हो । सर्वहाराहरु जुटेकै हो । क्रान्तिको भर्भराउँदो दावाग्निमा हाम फाल्न हामी जस्ता बिहानीको सूर्य झैं भर्भराउँदा युवाहरु अवश्य नै लालायित भएकै हौं ।
युद्ध नापे तौले जस्तो नभएर अप्रत्याशित परिणामहरु देखाउँदै जाने एक भयानक चक्र रहेछ । परिस्थितिले बाध्य पारेपछि जे गर्दा ठिक हुन्छ त्यही नै गर्नुपर्ने रहेछ । त्यसैले त युद्धमा बालबालिका, महिला, वृद्ध–वृद्धाहरु पनि जानी नजानी सहभागी हुँदारहेछन ।अठाह्र वर्ष उमेर नपुगेका किशोर–किशोरीहरुमा पनि युद्ध लड्ने तुफानी भावना जागेपछि कसैगरी पनि रोक्न नसकिने रहेछ । आफसेआफ स्वतस्फूर्त रुपमा युद्धको मैदानमा उत्रिने रहेछन् । त्यतिबेला मानव अधिकार, जेनेभा कन्भेन्सन, रेडक्रसको मूल्य मान्यता कण्ठस्थ गरेर बस्ने समय नहुने रहेछ । जो–जो, जहाँ–जहाँबाट भए पनि न्यायपूर्ण युद्धको लागि मरिमेट्नु पर्ने रहेछ । अब आउने दिनका युद्ध र आन्दोलनहरुमा चाहिँ यी यावत कुराहरूको हेक्का राख्न जरुरी छ भन्ने कुराको सम्बन्धित पक्षलाई स्मरण गराउन चाहन्छु । यसै प्रसंगमा मैले यहाँ कलिलो उमेरमै दुश्मनको गोली पिएर अमर हुनुभएकी एक जना विरांगनाको बारेमा स्मृतिका केही शब्दहरफहरु कोर्न गईरहेको छु ।
जनयुद्धमा मेरो जीवन आँधीबेहेरीको कथा जस्तै भयो । शुरुमा छापामार दलबाट शुरु भएको छापामार जीवनको मेरो पहिलो कमान्डर थिए क. झम्क पराजुली (हिमाल) । क. हिमालको कमान्डमा धेरै दिन टिक्न सकिनँ । बाहुनकै छोरा भएकोले होला अलि बाहुन प्रवृतिकै थिए । समानताको लागि हिंडेको मान्छे बीचमा पनि केही असमानताका रेखाहरु कोर्न खोज्थे । पछि क. शंकर लामा (भिमसेन) को कमान्डमा अलि धेरै महिना रहें । उनी पनि अलि जड र संकिर्ण थिए । सिर्जनशीलता थिएन । म अलि उत्सुक, जिज्ञासु र जागरुक युवा भएकोले केही नयाँ कुरा या युद्धकौशल सिक्छु भनेर क. गोविन्द बजगाईं (रामजी) को कमान्डमा गएँ । क. रामजीको कमान्डमा गएपछि निष्क्रिय छापामार जीवन भन्दा सक्रिय छापामार जीवन र केही साहित्यिक रचनाहरु सृजना गर्ने अवसर पनि पाएँ । उनको कमान्डमा गएपछि नै छापामार जिन्दगीले अलि विकासको फड्को मा¥यो । टोली चलाउन पनि सिर्जनात्मक कौशलता चाहिने रहेछ । जबर्जस्त सिद्धान्त मात्र लादेर नहुने रहेछ । यसरी कहिले छापामार सदस्य । कहिले जिल्ला पार्टीको सदस्य । कहिले सैन्य फाँट र कहिले राजनीतिक फाँट हुँदै जनमुक्ति सेनाको कमिशारको जिम्मेवारी लिएर म २०६० सालमा काभ्रे रामेछाप कार्यक्षेत्र बनाएर पुगेको थिएँ । २०५७ सालमा म मैनापोखरी मोर्चामा घाइते हुँदा सेक्सन कमान्डर थिएँ । २०६० सालमा सेक्सन कमान्डरबाट एकैचोटि कम्पनी कमिशार हुँदा जिम्मेवारीको भारीले कचक्कै किच्यो । यसलाई अतिरन्जित व्याख्या नठान्नुहोला । भएको यही हो । समयको माग अनुसार जिम्मेवारी बहन गर्दै गएँ ।
जब म बेथान स्मृति व्रिगेड, चौधौं बटालियन ’ए’ कम्पनी कमिशार भएँ । कमान्डर क. निर्मल र सह कमान्डर क. प्रदीप थिए । नयाँ जोस, जाँगर र उमंग बोकेर काम गर्न लाग्दा शुरुमै २०६० साल साउन ३२ गते दोरम्बा हत्याकाण्डमा भयानक क्षति ब्यहोर्नुप¥यो । (यस बारेमा पहिल्यै नै उल्लेख गरिसकेको छु ।) त्यसपछि २०६० साल कार्तिक महिनामा तत्कालीन शाही सेनाले दोरम्बामा जबर्जस्त बेस क्याम्प खडा ग¥यो । हामीले मिनिरेड ग¥यौं । उडिरहेको हेलिकप्टरलाई एल.एम.जी. ले हान्यौं । पटक पटक ग्रिनेड हान्यौं । भिजिपी हान्यौं । लन्चर हान्यौं । तर सेना टसको मस भएन । क्याम्प खडा गरिछाड्यो । पहिला त हामी खेलेकै भूगोल थियो । पछि त्यही भूगोल प्रतिकूल भयो । हामी पनि त्यही भूगोल वरिपरि भिडन्त गर्ने सोंचमा रह्यौं । प्रत्येक दिन अत्यन्तै चनाखो भएर रह्यौं । सेन्ट्री, ड्युटी, पट्रोलिङ र ईन्टलीजेन्सलाई व्यापक परिचालन ग¥यौं । हाम्रो सुरक्षाको तरीका के थियो भने हाम्रो टोलीले क्याम्प खडा गरेको पाँच किलोमीटर वरिपरिसम्मको सुरक्षा व्यवस्था एकिन गरेर मात्र क्याम्प खडा गर्ने । एल. एम. जी. टोलीलाई हाईपोस्टमा स्टेनबाई राख्ने । अझ अग्लो डाँडामा ओ. पि. राख्ने । सिग्नल, कम्युनिकेशन र ईन्टलीजेन्सलाई अलि टाढा टाढासम्म परिचालन गर्ने ।
यसैगरी फौजी ट्याक्टिस र नियमानुसार हाम्रो कम्पनीले रामेछापको गुराँसे डाँडामा क्याम्पिङ ग¥यो । दोरम्बामा बसेको सेनालाई कसरी बाहिर निकाल्ने र भिडन्त गर्ने ? भन्ने योजनामा थियौं । क. बेली श्रेष्ठ (प्रतीक्षा) सानै उमेरको भए पनि अत्यन्तै चंख, चतुरो र साहसी थिइन् । अलि पढेलेखेकी पनि थिइन् । त्यसैले क. प्रतीक्षालाई ईन्टलीजेन्स विभागमा राखिएको थियो । २०६८ साल मंसिर १८ गते हामी कम्पनीको आन्तरिक छलफलमा थियौं । क. प्रतीक्षालाई ईन्ट विभागले टोकरपूर साईड दुश्मनको गतिविधि बुझ्न पट्रोलिङ पठाएछ । पछि मात्र थाहा भयो । उच्च सुरक्षा सतर्कता बीच हाम्रो आन्तरिक छलफल सकिएपछि बेलुकी कम्पनीको रोलकल ग¥यौं । सबै टोलीहरु, विभिन्न विभागका कमरेडहरु रोलकलमा आए । तर क. प्रतीक्षा आईनन । बेपत्ता भईन । दिनलाई साँझको साम्राज्यले कालाम्य पारेर छोपीसक्दा पनि क. प्रतीक्षा बेखबर रहिन । क. प्रतीक्षा त्यो रात नआएपछि छट्पटी पैदा भयो । पूरै फर्मेशन अन्योलताको पोखरामा डुबुल्की मा¥यो । तैपनि मुटु द¥हो पार्दै हाइ अलर्टमा बस्यौं । र जनता मार्फत उनको खोजी कार्यमा लाग्यौं । त्यो रात त्यत्तिकै बित्यो । भोलिपल्ट पनि हाम्रो सिग्नल र ईन्टलीजेन्सका साथीहरूलाई उच्च सतर्कता अपनाएर परिचालन ग¥यौं । तर क. प्रतीक्षाको केही पत्तो पाउन सकिएन । पक्कै दुश्मनको पन्जामा परेको हुन सक्छिन भनेर अनुमान लगायौं । भोलिपल्ट पनि व्यापक खोजी ग¥यौं । केही खबर पाउन सकिएन । हामी पीर चिन्तामा परेर आकूलव्याकूल भयौं ।
पर्सिपल्ट बिहानै दोरम्बा क्याम छेउमै घर हुने हाम्रो संगठनका एक जना तामाङ दाजु हस्याङ्फस्याङ गर्दै हामीगिरै आतिँदै आए । हामीले तुरुन्तै “ दाजु ! के भयो ? किन आँतिनुभएको ? “ भनेर सोध्यौं । दाजुको आँखाबाट बररर आँसु झर्न लाग्यो । अनि घटनाको बारेमा छातीमा गाँठो पार्दै बेलिविस्तार लगाए । “हिजो एक जना बहिनीलाई सेनाले समातेछ । समातेर दोरम्बा क्याम्प नजिकैको चौरमा लगेछ । मंसिर महिनाको त्यो चिसो रातमा खुला चौरमा नांगै पारेर हात पछाडि बाँधेर रातभर यातना दियो । सिस्नोपानी लगायो । प्रत्येक औंलाहरुमा सियो गाड्यो । टाउकोको कपाल केही बाँकी नराखी उखल्यो । अरु के के ग¥यो के के ? आँखाले भ्याउन्जेल हेरें । पछि आँखा पनि धमिलो हुन लाग्यो । खुल्ला चौरमा रातभर बहिनीको चिच्याहट सुनिन्थ्यो । बाजले परेवालाई झम्टे झैं रातभर कल्याङ्मल्याङ सुनिन्थ्यो । अनि बिहान उज्यालो हुन लाग्दा बहिनीले रुन छोड्यो । त्यसपछि बन्दुक पड्केको आवाज आएको थियो । पापीहरुले बहिनीलाई रगतको पोखरीमा डुबाएर मारेछ ।“ दाजुको यस्तो हृदयविदारक कुरा सुनेपछि हामी छाँगाबाट खसे जस्तै भयौं । तत्कालै गएर सेनामाथि झम्टिउँ जस्तो लाग्यो । मुटुको रगत पनि पेट्रोल जस्तै सल्कियो । आँखामा आक्रोसको ज्वाला दन्क्यो । फेरि जबर्जस्त अलि शान्त हुन खोजेर थप खबर बुझ्न पठाउँदा क. प्रतीक्षाको लास घारी भएको खोल्सामा फालेर एम्बुश गरेर बसेका रहेछन् । लास पूर्न आउला र अरुलाई पनि अरुलाई पनि सिध्याउँला भनेर धेरै दिन बसे । हामीले निरन्तर खबर बुझिरह्यौं । लास गन्हाउन थालेपछि उनीहरूले नै त्यही खोल्सीमा क. प्रतीक्षाको बाँकी रहेको हाडखोड पूरे । यसरी क्रान्तिको लहरामा लहराएकी बेगुनबेली चमेली जस्तै उज्यालो फूल बीचैमा झरिन । साहसी क. प्रतीक्षा हाम्रो कम्पनीको फर्मेशनमा फर्केर आउने प्रतीक्षाको घडी समाप्त भयो ।हामीमा आक्रोशको ज्वाला दन्के पनि बदला संयमित भएर लिनुपर्थ्यो । यस्तो भयंकर यातना दिंदा पनि फर्मेशनबारे केही कुरा चुहाईनन । आकाश जस्तो स्थिर र दृढ रहिन ।
क. प्रतीक्षाको जन्म साविक जेठल गा.वि.स. वडा नं ६, बर्नामा बुबा भिम बहादुर श्रेष्ठ र आमा मिश्रीमाया श्रेष्ठको कोखबाट २०४५ साल असार २० गते भएको थियो । सानै उमेरदेखि चंख, चतुर र ईमान्दार क. प्रतीक्षा साहसी चेली थिइन् । देश र जनताको लागि हाँसीहाँसी बलिदान दिने ध्यय बोकेर जनयुद्धमा हाम फालेकी थिइन् । क. बेलीमाया श्रेष्ठ (प्रतीक्षा) प्रति हार्दिक श्रद्धाञ्जली !!! तिमीले छाडेर गएका अधूरा सपनाहरू पूरा गर्न जिन्दगीभर लडिरहने प्रण गर्दछौं ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |