रचना मोक्तान “यात्री”
काभ्रेपलाञ्चोक
कतिपय जिन्दगीका तीता र डरलाग्दो क्षणलाई सम्झिदा पनि बाँच्ने साहस बढेर आउँछ । जीवनमा आएका दुःख र पीडालाई सजिलै पचाउनु पर्ने रहेछ । अनि जीवनको सार्थकता पाउन सकिने रहेछ । बाँचेरै त होनि विगत अनि वर्तमानलाई चिहाउन सकेको । म सानै छँदा भनेको सुनेको थिएँ “इतिहास लेख्ने भनेकै बाँचेकाहरुले हो । यदि तिमी इतिहास लेख्नै चाहन्छौ भने बाँच्न सक्नु पर्छ ।” हो आज म तिनै कालसङ्ग साक्षात्कार गरेर बाँच्न सफल भएको घटनालाई तपाईंहरु सामु बेलिबिस्तार लगाउँदैछु । कन्चटमा पेस्तोल ताक्दा पनि होस नगुमाएको क्षण । मान्छे नै हो तर पेसा र व्यवहारले दानव बनाएको तत्कालीन शाही सेनासँग अझ भनौं विद्रोहीको दुश्मनसँग मुकाबिला गर्दाको अनुभूति । झुट बोलेर घेरा तोड्न सफल । निष्पट अन्धकार । पौषको कठ्याङग्रिने जाडोमा बिना चप्पल दौडदा पैतालाबाट तपतप चुहिएको रगत । ढुंगा माटोमा रगतले बनेका राता पाइतालाका छापहरू । ओहो ! आज म यिनै घटनाक्रम तपाईंहरुलाई सुनाउदैछु । सानै उमेरमा जनयुद्धमा लागेपछि पार्टीले दिएको विभिन्न जिम्मेवारी बहन गर्दै जाने क्रममा शैलुङ, तेमाल डाँडै डाँडा, चुरे र म्हाभरको बाक्लो जङ्गल । तराईको समथर फाँटहरुमा पुगि जिम्मेवारी पूरा गर्नु नै पर्ने थियो । म आवश्यकता अनुसार कहिले कलाकार बनेर जनवादी गीतमा छमछमी नाच्दै हिँडें । कहिले विद्यार्थी नेताको रुपमा भाषण गरें । कहिले महिला नेतृ बनेर सयौं महिला दिदीबहिनीलाई संगठित गरें । निरन्तर ग्रिनेड, पेस्तोल र सीमित हतियारको भरमा दुश्मनमाथि धावा बोल्दै अघि बढीरहेँ ।
२०६१ सालमा पार्टीले रणनैतिक प्रत्यक्रमणको योजना घोषणा गरिसकेको थियो । जताततै देश ह्वारह्वार्ती बल्दै थियो । काभ्रे जिल्लाको महाभारत लेकबाट रेडियो जनगणतन्त्र प्रसारण भइरहेको थियो । त्यही रेडियो जनगणतन्त्रको एक सहयोगी सदस्य म पनि थिएँ । त्यो बेलाको वर्गीय मायाको सम्झना गर्दा वर्तमानमा पनि आनन्द आउँछ । रेडियोमा काम गर्ने क. आशा दिदी, क. सङ्गिता खड्का दिदी, सुमन दाइ, विनोद दाइ, समीर दाइ, छिन्ताङ दाइ अनि एरिया इन्चार्ज पुष्पा दिदी । आज पनि सहयात्रामै हुनुहुन्छ । तालढुङ्गा डाँडागाउँ एरिया इन्चार्ज क. बुद्धि ०६२ सालमा तत्कालीन शाही सेनासङ्गको भिडन्तमा काभ्रे डाडापारिको घर्तीछापमा सहिद हुनुभयो । (वहाँ एक होनहार नेता तथा योद्धा हुनुहुन्थ्यो । वहाँको बारेमा विस्तृत रूपमा पछि उल्लेख गर्दै जानेछु ।) क. बुद्धिको ०६१ साल मङ्सिरमा डाडावारी शिखर अम्बोटे र खहरेपाँगु एरियामा सरुवा भयो । म उहाँकै विश्वासिलो कार्यकर्ता अझ भनौं उहाँ अनेरास्ववियु (क्रान्तिकारी) काभ्रेको अध्यक्ष म सदस्य । उहाँ र मेरो कार्यक्षेत्र फरक हुँदा नरमाइलो लागेर खुब रोएँ । एक महिनापछि मलाई पनि त्यही एरियामा लैजाने वचन दिनुभयो । मैले आशाको नयन विछ्याइरहेँ । म सेटलाइट, सन्चारसेट, बेस क्याम्पमा कार्यरत थिएँ । प्राप्त भएको जानकारीलाई सबैलाई सन्चारकै माध्यमबाट पु¥याउनु पर्ने । रेडियो जनगणतन्त्रसङ्गै सहकार्य गर्नु पर्ने । इन्चार्ज क. तारा, क. विपना र म जम्मा तीन जनाको टोली जङ्गलमा प्लास्टिकको गोठ जस्तो बनाएर बस्यौ । हामीसँग हतियारको नाममा एउटा सिक्सर पेस्तोल र दस बाह्र वटा ग्रिनेड मात्र थियो। नयाँ खबर सङ्कलन । सूचना सम्प्रेषण नै हाम्रो प्रमुख काम थियो। उहाँ दुई जना क.तारा र कमरेड विपनाले जनयुद्धमै भूमिगत भएपछि अक्षर चिन्न सक्ने हुनुभएको थियो । मेरो शिक्षा कक्षा नौ भएकोले वहाँहरू भन्दा अलि छिटो लेख्न र पढ्न सक्थें। समाचार टिप्नको लागि तयारी हालतमा बस्नुपथ्र्यो । एक दिन म सन्चार विभागबाट नयाँ इलाकामा सरुवा हुने खबर आयो । मन खुशी भयो । एकैचोटी नयाँ भूगोलमा विचरण गर्न पुगे । म छुट्टिनु पर्दा सबैको आँखा टिलपिलायो । तैपनी छुट्टिनुपथ्र्यो नै छुटियौं । नयाँ उत्साहकासाथ तालढुङ्गा पुगेपछि क. बुद्धि सङ्ग भेट भयो । दुबैजना नागबेली परेको कम्मर कम्मरसम्म पानी आउने खोला तर्दै गोधुली साँझमा फलामेटार पुग्यौं । फलामेटार हाम्रो राम्रो संगठन भएको ठाउँ थियो । साथीहरूले खाना तयारी गर्नुभएको रहेछ । खाना खाँदै थियौं त्यही बेला अहिलेको बेथानचोक त्यो बेलाको महाङ्काल भुग्देउबाट “शाही सेना मुभ हुँदैछ रातभरमा आइ पुग्न नि सक्छ सचेत र सुरक्षित हुनुहोला ।” भन्ने खबर सन्चारबाट आयो । जीउको सबै लुगा भिजेकोले ज्वरो आयो । पौष महिनाको जाडो झन जिउभर काँडा उम्रीएर सिटामोल खाएँ । क.बुद्धिले तिमी यहीँ सुत हामी अन्तै जान्छौं भनेपछि म त्यहीँ सुतें । बाध्यता यस्तै थियो । उहाँहरु कता सुत्न जानू भयो थाहा भएन ।
ढोका ढक–ढक गरेको आवाजसङ्गै ब्युँझंदा बिहानको करिब चार बजेको हुनुपर्छ । आँखा मिच्दै झ्यालको चेपबाट यसो नियालेर बाहिर हेर्दा त आँगनभरि हतियारधारी शाही सेना । चारैतिर घेरा हालेर बसेको प्रतिकूल अवस्था । हामी तीन जना घरको दाइ, दिदी अनि म मुखामुख मात्र गरिरह्यौं । केही बोली फुटेन । चारैतिर मृत्यु नाचेको आभाष भयो । के गर्ने गर्ने ? सा¥है बिलखबन्दमा प¥यौं । मैले भित्रभित्रै योजना बनाएँ कि यदि म मर्नु नै परे पनि एक जना त मारेरै मर्छु । कायर भएर आत्मसमर्पण चाहिँ गर्दिन । क्रान्ति ठूलो हो । पार्टी ठूलो हो । यही योजनामा ढुक्क रहें र दुश्मनलाई चातुर्दिक ढंगबाट कसरी छक्याउन सकिन्छ भन्ने बारेमा पनि सोचें । होस गुमाउनु हुन्न । सचेत ढंगले काम गर्नुपर्छ भन्ने दृढ विश्वास लिएँ । बाहिरबाट फेरि आवाज आयो “ढोका छिटो खोल् ।“ अनि दाइ दिदी नबोली एकै चोटि दुबै जना छिँडीमा झर्नुभयो । ढोका खोलेपछि एकै चोटि बाख्राको हुल बाहिर निस्कियो । बाख्रालाई समाउने निहुँमा बाख्राको पछि लागेर वहाँहरूले घेरा तोड्नु भयो । (पछि भेटमा सुनाउनु भयो वहाँहरू बचेको कथा । मृत्युबाट जोगिएको कहानी ।) ढोका खोल्ने बित्तिकै सेनाहरू माथि चोटामा उक्लियो । अनि ढोकामै उभिएर अर्को कोठाको “बत्ती बाल” भन्यो । अनि मैले सुस्तरी “उता त बत्ती नै छैन सर” भनेँ । अलि हप्काएर पहिलो प्रश्न सोध्यो “तिमी को हौ ?” “म दिदीको घरमा आएकी पाहुना ।” “तेरो घर कहाँ ?” कोदो खोरिया हो सर” भनें । “हिजो यहाँ माओवादीहरु थियो रे खै कहाँ गयो ?” “आएको थियो खाना खाएर कता गए थाहा छैन ।” “कति जना थिए ? झोले कि टाटे ?” “२५÷३० जना जति थिए । दुबै खालको थिए ।” अन्तिम प्रश्न ग¥यो “टुकि बत्ती छैन ? टुकि बत्ती खोज छिटो ?” म बिस्तारै उठें । घरको बच्चाहरू सुतिरहेका थिए । म टुकि बत्ती खोज्न छिँडिमा ओर्ले । फेरि उहीँ प्रश्न उहीँ उत्तर टुकि बत्ति खोज्न । मुल ढोकामै सेन्ट्री बसेकोले कडा स्वरमा राईफल ताक्दै एउटाले भन्यो “कता जान लागेको ?” अर्कोले पेस्तोल ताक्दै भन्यो “नचल, रोक ।” मैले फेरि भनें “टुकि बत्ती खोज्न सर !” चोटामा रहेको सेनाले “हो हो पठाइ देउ” भनेपछि सहज ढंगले म घरबाट चाहिँ बाहिर निस्किन सफल भएँ ।
कहिलेकाही अँध्यारोले नि निकै साथ दिँदोरहेछ । त्यही बेला थाहा भयो । अँध्यारोसँग प्रेमको महत्व । विस्तारै घरको छाँया परेको भाग हुँदै पाइला चालेँ । शाही सेनाको दोश्रो घेरा । र शाही सेनाको नजरबाट छेलिने बित्तिकै बतास झैं वहन र चरो झैं उड्न थालेँ । आफैंलाइ थाहा भएन म कुद्दै छु या उड्दै । राम्रोसँग होस आउँदा म वर्तमान काभ्रे जिल्लाको नेता इन्द्रबहादुर थिङ (छिन्ताङ) दाइको घर आँगनमा पुगिसकेको रहेछु । एकै सासमा भनेँ “आमा केही सामान छ भने लुकाउनुस् शाहीसेना आइसक्यो । माइला दाइको घरमा सेनाले घेरा हाली सकेको छ । यहाँ पनि आउन सक्छ ।” त्यति बेला मान्छे अलिअलि चिन्न सक्ने मिर्मिरे उज्यालो भइसकेको थियो । म पूर्ण रुपमा खतरा मुक्त भएको थिएन । मैले सेनाको घेरा तोडेको घर र छिन्ताङ दाइको घर जम्मा दस पन्ध्र मिनेटको फरकमा थियो । आमालाई यति बोलेपछी म सरासर खोला तरेर जङ्गलको उकालो लागेँ । सेना र म वारीपारिको भूगोलमा आमनेसामने थियौं । मैले शाही सेनाको गतिविधि देख्न सक्थें । करिब बिहानको सात बजेतिर शाही सेनाको ताण्डव नृत्य शुरु भयो । मैले छोडेको ग्रिनेडहरू ड्याम–ड्याम पड्काउन थाल्यो । कार्यालयमा भएको सामग्री जलाउन थाल्यो । त्यति मात्र कहाँ हो र घरको एघार बाह्र वर्षको भाइलाई पिट्न थाल्यो । भाइ आँत्तिएर रोयो । यसै बेला घर माथितिरबाट एक जना मेरै उमेरकी बहिनीलाई घिसार्दै ल्याएको देखेँ । त्यो क्रुर ज्यादती देखेर हृदयमा विद्रोहको ज्वाला दन्किए पनि तत्कालीन अवस्थामा प्रतिरोध गर्न सक्ने अवस्था थिएन । पछि बुझ्दा थाहा पाएँ मैले छोडेको मेरो फोटो र ती बहिनीको अनुहार केही मिलेकै कारण बहिनीले बेस्सरी शाही सेनाको कुटाइ खानु परेछ । अझ अघि टुकि बत्ती खोज्न जाने केटी यहि नै हो भन्दै लछारपछार र बुटैबुटले भकुरेछ । मैले गर्दा बहिनीले दुःख पायो भनेर झन दुःख लाग्यो । जब मान्छेको मनलाई आफू खतराबाट मुक्त भयो भन्ने लाग्छ तब मात्र शारीरिक पीडाको अनुभव हुँदोरहेछ । खाली खुट्टा दौडँदा ठोक्किएर रगत बगेको रहेछ । चसचस दुख्न थाल्यो । पैतालाबाट रगत पनि चुहिदैरहेछ । जङ्गलमा छेलिदै शाही सेनाको गतिविधि नियाल्दै खुट्टाको घाउलाइ मनैले सुमसुम्याउदै करिब दुई घन्टाको उकालो काटेपछि चित्रे हुँदै डाँडागाउँ निस्किन सफल भएँ । त्यहाँ संचार वेस क्याम्प थियो । सिधै त्यहाँ पुग्दा कमरेड प्रताप जो वेस क्याम्पमा कार्यरत हुनुहुन्थ्यो मलाई देख्ने बितिकै भाग्न लाग्नुभयो । मैले हतारमा बेलि बिस्तार गरेँ । म घेरा तोडी भागेर आएको भनेपछी रोकिनुभयो । म सम्पर्कमा आइ पुगेको खबरले सबै जना सशङ्कित हुनुभयो । मलाई शङ्काकै घेरामा राख्नुभयो । पूर्व उर्जा राज्य मन्त्री सूर्यमान दोङले त झन् सेनाले परिचालन गरेको होला ! सबै कमरेडहरू सचेत हुनुहोस् पो भन्नुभयो । हुन त त्यसो भन्नु पनि गलत थिएन । अवस्था त्यस्तै थियो । त्यतिबेला कैयौं साथीहरूलाई गिरफ्तार गर्न । सुराकी गर्न परिचालन गरेका थुप्रै घटनाक्रमहरु थियो । शाहीसेनाले आवश्यक रासनपानी र थप फोर्स हेलिकप्टर मार्फत ल्याइ रह्यो । हामी डाँडाको जङ्गलमा बसेर शाही सेनाको गतिविधि नियाल्दै बस्यौ । दिन बित्यो हामी जङ्गलमै बास बस्ने निधो ग¥यौं । पौषको बेला लेकमा तुषारापात भयो । घरमा बस्न सक्ने अवस्था थिएन । समथर अलिअली झाडी भएको ठाउँ रोज्यौ । लहरै क. प्रताप क. सन्चमान र म कोदोको पराल (नल) ओछ्याएर सिङ्गो खुल्ला आकाशलाई फाइबरको सिरक सम्झिँदै चनाखो भएर पल्टियौँ । चरामुसाले खस्रक खुस्रुक गर्दा पनि हामी सचेत हुन्थ्यौँ । पल्टिए पनि आँखामा निद थिएन । मनमा तरह–तरहको प्रश्नको वर्षा भइरह्यो । राती सेल्टर सरेका कमरेडहरु सेनाको घेराबाट मुक्त भयो कि भएन होला ? मैले झोला अनि हतियार छोडी भागेको भनी पार्टीले सजाय दिने पो हो कि ? म त बाँच्न सके उहाँहरुको अवस्था के होला ? आ… ज्यान भन्दा ठूलो कुरो केही हैन यस्तै तर्क वितर्क मनमा खेलीरह्यो । कठ्यांग्रिने जाडोमा ताराहरु झर्दै उज्यालोको लालीमा पोतिएर बिहानी भयो । ती निर्दोष विद्यार्थी जो घरकै भाइ र मेरो अनुहार जस्तै भएको बहिनीलाई शाही सेनाले मानसिक र शारीरिक यातना दिए पनि स्कुलको सरहरुको लाख बिन्ति कोसिसबाट धन्न ज्यान बच्यो । शाही सेनाले कसैको हत्या चाहिँ गरेन । दुई दिनपछि हेलिकप्टर मार्फत सेना फर्किए । हामी पनि बिस्तारै छुटेको टिम जम्मा हुँदै गयौं । मलाई देखेपछि मसङ्ग भेटेपछि सबै कमरेडहरु खुशी भए । मैले नाटकीय रुपमा शाही सेनालाई छलेको र घेरा तोड्न सफल भएको घटनाक्रम सुनाइ रहँदा कमरेडहरूले मेरो साहसको प्रशंसा गरिरहे । त्यसपछि हामी निरन्तर पार्टीको योजना अनुसार काममा लागिरह्यौं ।
त्यतिबेलाको प्रिय दाइ क. बुद्धि जो सहिद भई सक्नुभयो । तर उहाँ मेरो मानसपटलमा जीवितै हुनुहुन्छ । ती महान जनता जो बाख्रा सार्ने निहुमा मलाई बचाउनु भयो । वहाँहरूप्रति आत्मैदेखि सम्मान छ । हिजो एक ढिक्का रहेको पार्टी आज दस चिरा हुँदा मन बेस्सरी दुख्छ । आज पार्टीले हिजोको म जस्तै साहसिक योद्धाहरु जो कालको मुखबाट बचेको थिए । उनीहरुको योगदानलाई कदर नगरे तापनि म जस्तै योद्धाहरूको चाहना भने पार्टी एक भई हिजोको वाचा कसम नभुलेर अगाडि बढोस् भन्ने हो । जनताले हुर्काएको पार्टीले जनभावनाको कदर गरोस् भन्ने नै लाग्छ । आज काम र मामको खोजिमा छरिएर रहेका हिजोको योद्धाहरूको व्यवस्थापनमा ध्यान दिओस् भन्ने लाग्छ । जनवादी शिक्षाको आशामा सुन्दर भविस्य अन्योल भएका म जस्तै जनयुद्ध कालमा पढाइ छोडेका विद्यार्थीहरु । एकै आदेशमा छातीमा गोली थाप्न तयार भएका योद्धाहरू आज खाडीमुलुकमा पसिना बगाउन बाध्य छन । ती योद्धाहरूलाई उत्पादनमूलक रोजगारीको सृजना गराएको भए आज खाडीमा पसिना बगाउन जानु त पर्दैनथ्यो । शरीरभरी जनयुद्ध र गणतन्त्रको उपहार गोली र बमको छर्ला बोकि संघर्ष गरि रहेका योद्दाहरुको उपचारमा ध्यान दिइयोस् । यी नै कुराहरू पार्टीले मध्यनजर गरोस् । बाँकी समयले देखाउला । हिजोको नेतृत्व जो आज सत्ताको कुर्सीमा पुगेका छन्, उनीहरूले हिजोकै जस्तो एकताको भावना लिएर अघि बढेछ भने अझै हजारौं योद्धा अनि लाखौ जनता साथ दिन तयार छन । पार्टी र कार्यकर्ता र ती महान जनतालाई कस्तो बनाउने कस्तो विश्वास दिलाउने जिम्मा तपाईं नेतृत्वको हातमा ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |