दिलिप वान्तावा
माघको पहिलो हप्ता सकियो ।
कबिरकी श्रीमतीले माघेसङ्क्रान्तिको लागि पकाएको जिर्मा बचाइराखेकै थिइन् । सम्साँझ गाउँ ढोका थुनेर आगो ताप्ने माघको जाडोमा कबिरको परिवारले खाना खाइसकेको थियो । पाँच वर्षकी ठूली छोरी बजूको काखमा र जिर्मा छान्दै गरेको बाउको छेउ गर्दै खेल्दै थिइन् । कबिरकी आमा जाँड झान्न आगो बनाएर प्याजको पात काट्दै थिइन् भने श्रीमती भर्खरै डेढ वर्ष पुग्दै गरेकी सानी छोरीलाई काखमै राखेर तेल लगाइदिंदै थिइन् । सबैलाई आज बिहानको घटनाले पिरोलिरहेको थियो
कबिर घुन्यान बारीमा बाँझो जोत्दै थिए । मेलो सकिनै लाग्दा एउटा गोरु अचानक बस्यो । ऊ हलो अड्याएर अगाडि हेर्न गयो । गोरुको मुखबाट रगत सहितको फिंज निस्किंदै थियो, मुन्टो लत्रिएको थियो । हलोजुवा खोलि सक्दा गोरु मरिसकेको थियो । बिहान राम्रै गरी नारेको गोरु अचानक मर्दा सबै छक्क परे । अरु मान्छेहरू बोलाएर अलि पर सुन्तलाको फेदमा गोरुलाई गाडियो धमाधम बांझो चिर्ने वेलामा भर्भराउंदो गोरु मरेपछि चिन्ता
आइपर्ने नै भयो । मट्टितेलले टुकी बालेर अंध्यारो भगाइरहेको त्यो परिवारले सोलार जडान गर्न केही पैसाको जोहो गरेको थियो। त्यही पैसाले अर्को गोरु किन्ने सल्लाह हुँदै थियो ।
जाँड झान्नै लाग्दा बाहिर मान्छेहरू हिंडेको आवाज सुनियो को आयो भन्ने भावमा सबैले बाहिरतिर नजर फ्याँके । लाइट बालेर केही मान्छेहरू सिकुवामा देखा परे ।
“कबिरे भन्नेको घर यही हो ?” उच्च आवाजमा च्यांठिएको स्वर सुनियो
“हजुर हो त कबिर” बाहिर निस्किए ।
पुलिसहरू रहेछन् ।
“के भो बाबु ?” आमा अत्तालिइन् ।
“यो गोरुमारालाई हत्कडी लगाएर हिँडा” अघिकै आवाजले आदेश दियो । कबिरले आफूलाई किन पुलिसले खोज्यो भन्ने कुराको अनुमान लगाए । गोरु गाड्न साथीहरू भेला हुँदै गर्दा अध्यक्षको छोरा पनि गाउं चहार्न निस्किएको थियो । उसले निक्कै चाख मानेर गोरु मरेको बारे सोधीखोजी गरेको कुरा कबिरलाई साथीहरूले सुनाएका थिए । गाउँका अध्यक्ष अर्थात् भूपू प्रधानपञ्च बहुदल आएपछि नयाँ पार्टीबाट पुनः चुनाव जितेर पुरानै शक्तिमा बसेका थिए। अध्यक्षको छोराले एउटै स्कुल पढ्ने धनुलाई मन पराउँथ्यो । धनु चाहिँ संगै पढ्ने कबिरसँग नजिकिन थालेकी थिइन् । यो कुरा थाहा पाएपछि अध्यक्षको छोराले धनुलाई बाटो छेकर धम्कायो । कबिरसँग झगडा गर्यो । कबिरसँगको झगडापछि स्कुलले अध्यक्षलाई बोलायो, छोरालाई अन्तै पठाउन सुझायो । अध्यक्षले छोरालाई शहर पठाए । निक्कै समयसम्म शान्त भयो गाउँ ।
धनु र कबिरले प्रवेशिका पास गरे । घर बाहिर बसेर पढ्न सक्ने हैसियत नभएकोले दुवैले पढ्न सकेनन् । बरु नयाँ जिन्दगी सुरु गर्ने निर्णय गरे । उनीहरूको बिहे भयो । चुपचाप जिन्दगी चल्न थाल्यो। अध्यक्षको छोरा शहर छोडेर गाउं फर्क्यो ।
“म एकदिन बदला लिन्छु” अध्यक्षको छोराले यसो भन्दै हिँड्छ भन्ने गाइँगुइँ कबिरको कानसम्म पनि आइपुगेकै थियो तर वास्ता गरेन ।
आमाले बिन्ती बिसाइन् । श्रीमतीले ‘भोलि बिहानै चौकी आउनुहुन्छ, बालखा नानीहरूको मुख हेरिदिनूस्’ भनेर तरक्कै आँसु चुहाइन् । ठूली छोरी कहालिएर रुन थाली । प्रहरीहरूलाई कुनै कुराले पनि छोएन । उनीहरूले कबिरलाई धकेल्दै अगाडि बढाए ।
‘चिन्ता नगर्नू, केही हुँदैन । भोलि बिहान आउँछु ।’ कबिरले भने । बिहान आउने नआउने टुङ्गो त छैन । तर कबिरले परिवारमा ढाडस दिने प्रयास गरे । अलि माथि पुगेपछि पछाडि हिँड्ने पुलिसले पासुलामा एक डन्डा हिर्काइहाल्यो । कबिर थुचुक्कै बसे । दुवै आँखा आँसुले टम्मै भरिइहाल्यो तर आवाज निस्किएन ।
‘साला गोरुमारा ! भन् क–कसलाई बाँडिस् गोरुको मासु ?’ अघि आदेश दिने पुलिस गर्जियो । त्यसले घुँडा टेकेर बसेको कबिरको ढाडमा एक लात्ता बजान्यो ।
कबिरको नाक र निधार भुईमा बजारियो । नाकबाट रगत आयो अरू दुई पुलिसले पाखुरामा समातेर घिसार्न थाले ।
बिहान
“कबिरले गोरु हिर्काएर मारेको रे ।”
“उसलाई राति नै पुलिसले लग्यो रे !” “उसलाई अब जन्मकैद हुन्छ रे !”
पँधेरामा पानी लिन पुग्दा धनुले यस्तै कानेखुसी सुनिन् । उनले सत्य कुरा भन्दा कसैले पत्याएनन् ।
‘अध्यक्षकै छोराले देखेको रे कबिरले गोरुलाई हिर्काउँदै गरेको ।’
जोत्दै गरेको गोरु एक्कासि भुईमा बसेर त्यहि प्राण त्यागेको वेलामा बारीमै डल्ला फोर्दै गरेकी धनुले बल्ल रहस्य थाहा पाइन् । यो सबै अध्यक्षको छोराले गरेको कर्तुत रहेछ । यही सोचेर घर आइन् । धनुले गाउँका केही ठूलाठालु भनिने मान्छेकहाँ गएर आफ्नो दुःख पोखिन्, पुलिसकोमा गएर बुझिदिन आग्रह गरिन् । ’अध्यक्षको छोरो’को नाम मिसिएको सुन्नासाथ सबै तर्किए । अन्त्यमा छोरी च्यापेर माइती पुगिन् र आफ्नो बाउलाई गुहारिन् ।
छोरीको हालत देखेर बाउआमा दुवै आँखाबाट पोखिए । उतैबाट बाउछोरी भएर पुलिस चौकी गए । बाउले सोधखोज गरे । सुरुमा त कबिर नामको मान्छे ल्याएकै छैन भनियो । पछि हाकिमसँग भेटाइदेऊ भनेर जिद्दी गरेपछि इन्स्पेक्टर आयो ।
“केश माथि पठाइसकिएको छ । डिएसपी साबले अपराधीलाई जिल्लामै हाजिर गराउनू भन्नुभएको छ ।”
अपराधी !
यो शब्द सुन्नासाथ धनुको मुटुमा पहिरो गयो । आजसम्म कसैको बारेमा कुभलो गर्ने त के त्यस्तो सोच्नु समेत नसक्ने मान्छे हो । कसरी अपराधी भयो ? आफू उभिएको जमीन भासिए झैं भयो ।
“एकपटक भेट्न दिनूस् न सर !” धनुले अन्तिम आग्रह गरिन् ।
“अध्यक्षको मञ्जुरी लिएर आऊ ।”
बाउछोरी अनुहारभरि बर्सात बोकेर निरीह कदम उठाउँदै घर फर्किए ।
“आज राति माओवादीले यहाँको चौकी हानेछन् ।”
बिहानै गाउँभरि हल्ला फैलियो । धनुको मुटु हल्लियो
‘कबिरलाई के भयो होला ? हे दैव, बचाइदेऊ ।’ आफूले श्रद्धा र आस्था राख्ने देवी–देवता र कुलपितृ सबैमा बल मागिरहिन् । दिउँसोपख जिल्लाबाट हतियारबद्ध प्रहरी र सेनाहरूको समूह गाउँको बाटो भएर आक्रमणमा परेको चौकीतिर लाग्यो । घटनामा के कस्तो मानवीय क्षति भयो, कसैलाई थाहा थिएन ।
बेलुकीतिर हल्ला चल्यो, ‘घाइते पुलिसहरूबाहेक सबै पुलिस, हातहतियार र थुनुवा कैदीहरू लिएर गए रे !’ कबिरको परिवारमा तनाबको पारो घट्ने छाँटकाँट थिएन । उनको बारेमा कसरी कोबाट बुझ्ने भन्ने पिर गर्दागर्दै त्यो रात बित्यो ।
अर्को दिनको बिहान, पुलिस र आर्मीहरूको संयुक्त टोली ’माओवादी खोजी गर्न’ भन्दै गाउँ प्रवेश गयो । तिनीहरू जथाभाबी बोल्दै र निहत्था मान्छेहरूलाई त्रसित बनाउँदै हिँडिरहेका थिए। टोली कबिरको घरमा पुग्यो । ’त्यो आतङ्ककारी कबिर भन्नेको घर यही हो । उसकै मतियारहरूले उसलाई छुटाउन चौकी आक्रमण गरेका हुन्। त्यो साले ठूलै नेता हुनुपर्छ । पूरै घर खानतलासी गर् ।’ एउटाले कठोरता पूर्वक भन्यो ।
हिजो अपराधी भनिएको आफ्नो श्रीमान्लाई आज भिराइएको ‘आतङ्ककारी’ को बिल्ला सुनेर काखे बच्चा च्यापेर सिकुवामा उभिएकी धनु अवाक् भइन् आमा घुँडा धसेर थचक्कै बसिन् ।
एउटा खुट्टा उचालेर आँगनभरि एक्लै उफ्रिदै खेलिरहेकी ठूली छोरीको अनुहारले डर, त्रास, केही प्रश्न जिज्ञासा, कौतुहलता, अनुनय सबै एकै पटक मिसाएर भिडतिर आफन्तहरूको खोजी गरिरहेको थियो। घरको कुनाकाप्चा, भर्सेली, बुइँगल, धुरी कतै बाँकी नराखेर तलासी सकियो । केही चिज नभेटिएपछि धनुलाई लिएर जाने भए । ‘आतङ्ककारीलाई सहयोग गर्ने पनि आतङ्ककारी नै हो, त्यसमाथि यो आइमाई त उसको श्रीमती । झन् आतङ्ककारी हो ।’ एउटा फैसला बोल्यो र बाँकी समूहले धनुलाई लतार्न थाल्यो ।
होसहवास उडेकी धनुले सपना हो कि बिपना छुट्याउनै सकेकी थिइनन् । काखको बच्चा खोसेर बुढी आमाको छेउमा हुत्याइयो । आमासँगै झुन्डिदै आएकी ठूली छोरीलाई बन्दुक देखाएर तर्साइयो । दुवै हात पछाडि बाँधेर ठेल्दै र लतार्दै धनुलाई लिएर गयो । गाउँ त्रसित र आतङ्कित भयो सबै अचम्ममा थिए ।
‘कबिर कसरी आतङ्ककारी हुनसक्छ ?’
‘पढेलेखेका, देशदुनियाँ बुझेका मान्छेहरूको भित्रभित्रै केके कुरा खेल्छ, थाहै नपाइने !’
यस्तै कुराहरू घरघरमा चलिरहे । कबिर माओवादी हो र होइनमा गाउँ पनि विभाजित भयो । कबिरलाई फसाइयो धेरैको ठम्याइ थियो ।
दिउँसो रेडियो नेपालबाट समाचार बज्यो, ‘हिजो राति चौकी आक्रमण गरी फरार आतङ्ककारी कबिरलाई सहयोग गर्ने धनु नामकी आतङ्ककारीको सुरक्षा फौजको गस्तीमाथि एम्बुस थापिरहेको वेला जवाफी कारबाहीमा घटनास्थलमै मृत्यु ।’
समाचारले पूरै गाउँ शोकमग्न र सोचमग्न भयो । सबैको आँखै सामुन्नेबाट हात बाँधेर लगिएकी धनुले कसरी कहाँ एम्बुस थापिन्, कहिले कसरी कबिरलाई आतङ्ककारी काम गर्न सहयोग गरिन्, कबिर कसरी आतङ्ककारी बन्यो ? जस्ता प्रश्नहरू सिंगै गाउँमा गुञ्जिरह्यो धनुलाई पुलिसहरूको समूहले पर जङ्गलनेरको चउरमा पुयाएर पालैपालो बलात्कार गरे । धेरै बेरसम्म बन्दुकले घोच्दाघोच्दा गरेर मारे । बेलुकीपख घाँसदाउरा गर्न गएका गाउँलेहरू मार्फत खबर फैलियो ।
कबिरकी आमालाई अर्को बज्रपात प¥यो, उनी अचेत भइन् । छोरोको अत्तोपत्तो छैन, बुहारीलाई मारिदिए ।
गाउँमा मुर्दाशान्ति छायो । शोक, सुर्ता र त्रासले कबिरकी आमाको भोक, तिर्खा, निद्रा सबै खाइदियो । गाउँका मानिसहरू परिवारभित्र कै कुराकानी पनि कानेखुसीमा गर्न थाले। धारा, पंधेरामा भेला हुनेहरू चुपचाप आफ्नो गाग्रो भरेर हिंड्न थाले । गाउँघर डुलिरहने मान्छेहरू पनि आफ्नो घरको चौघेरा नाघेर जान डराउन थाले । चौकी आक्रमणपछि जिल्लाबाट थप जनशक्ति ल्याएर खोजतलासको नाममा वरपरका गाउँहरू पूरै आतङ्कित बनाइयो ।
जब्बरमान अर्थात् जब्बरे । कबिरकै छिमेकी दाइ । उनी हिउँदभरि आरा काटेर पैसाको जोहो गर्थे कहिले परदेश त कहिले नजिकैको गाउँ वा छिमेकी जिल्लासम्म पुग्थे । हट्टाकट्टा ज्यान, निडर बोली, कसैलाई थिचोमिचो नगर्ने र थिचोमिचो गर्नेलाई नि नसहने बानी। हिउँदभरि आरा काट्दा हत्केलामा काँध बसेका हुन्थे । हातका औँलाहरूको जोर्नीहरू खुइलिएका हुन्थे काम गर्दा गर्मी हुने भएकोले कपडा नलगाई काम गर्दा घामले डढेर शरीर कालो भएको थियो । कबिरकी आमाले उनै जब्बरेकी जहानलाई नातिनीहरू जिम्मा लगाएर बुहारीलाई मारेको ठाउँ हेर्न गइन् ।
गाउँभन्दा आधा घन्टा टाढाको जङ्गलको बिचमा भएको सानो चउर । कबिरकी आमा पुग्दा बुटहरूले छोडेका निशानहरूलाई रातभरिको शीतले छोप्ने निरर्थक प्रयास गरे झै देखिन्थ्यो। कतै कतै दुबो खुइलिएको चउरभन्दा अलि परको झाडीमा अलिकति खाडल खने जस्तो गरेर बुहारीको लासलाई छोपछाप पारिएको थियो च्यातिएका लुगाका टुक्राहरू र दुवै खुट्टाका चप्पलहरू चउरको दायाँबायाँ छरिएर उनको नियतिको बयान गरिरहे झैँ देखिन्थे । आफ्नै छोरीले भन्दा धेरै माया गर्ने बुहारीको यो हालत देख्दा कबिरकी आमाको छाती चर्कियो । आँखा तिर्मिराए । छोराबुहारीको यस्तो हालत भएपछि यो भन्दा ठूलो पिर त के हुन्थ्यो र ! तर पनि माया र आशाका त्यान्द्राहरू थिए साना नातिनीहरू । उनीहरूको रेखदेख कल्ले गर्ने ? माया र जिम्मेवारीले छोपिल्यायो । लर्खराएका खुट्टाहरूलाई थाम्न कम्मरमा भिरिराखेको खुर्पाले चउरनेरको पैनेठीको लट्ठी काटेर टेक्दै घर फिरिन् ।
बुहारीको लासलाई निकालेर आफ्नो संस्कार अनुसार सद्गत गर्न चाहन्थिन् तर एक्लै सम्भव थिएन । पुलिसले त्यो लासलाई यताउता नगर्न उर्दी गरिसकेका थिए कसैले सघाउने आँट गर्न सकेनन् । अलि पछितिर गाउँलेहरू घाँसदाउरा गर्न जाँदा स्यालहरूले लास निकालेर खाएको, यत्रतत्र दुर्गन्ध फैलिएको आदि कुरा सुनाउँथे ।
खेतीको सिजन सुरू हुनै लाग्दा जब्बरे घर फर्किए कबिरको घरको खबरले उनी विक्षिप्त भए । कबिरकी आमा होस उड़े जस्तै भएकी थिइन् । छोरीहरू मान्छे देख्दा तर्सिएर लुक्न थालेका थिए । आफ्नै छोरी जस्तै गरी जब्बरेलाई देख्नेबित्तिकै काखमा लुटपुटिन आउने कबिरकी छोरी आफ्नी बजूको पछ्यौरीले अनुहार छोप्दै बजूकै पछाडिपट्टि लुकेको देख्दा जब्बरे भक्कानिए । आफ्नो एउटा छोरो मात्रै भएकोले ज्यादै प्यारो गर्थे कबिरकी छोरीलाई अस्ति आरा काट्न जानु अघिल्लो दिन न्वारान गरिएकी कबिरकी कान्छी छोरीको ओठमुख सुकिसकेको थियो । सायद रोएर थाकेकी थिइन् रोएको आवाज पनि दबिएर बाहिरिइरहेको थियो ।
जब्बरेले साथमा कबिरकी छोरीलाई मनपर्ने पशुपति बिस्कुट लिएर आएका थिए । ठूली छोरीलाई देखाएर फकाए । बल्ल डराउँदै बजूको ढाडमै लुकेर एक हातले समातिन् आमाले जाँड छानिन् कबिर उमेरले सानो भए पनि जब्बरेको भरोसा थिए धेरैले बुज्झकी भन्थे, मान्थे । इमानदार थिए । सबैलाई सम्झाउन सक्थे, गाउँकाहरू सबैले विश्वास गर्थे । ‘देमा, पिर नगर्नू अब । उसलाई केही भएको छैन होला नभए त यत्रो दिनसम्म केही खबर आउँथ्यो । म भोलिदेखि खोजतलास गर्छु । नडराउनू, जे जति भयो सबै भइसको । यो भन्दा हुने ठाउँ छैन तपाईंको एउटा छोरा हराए पनि अर्को छोरा छ भनेर मलाई सम्झिनू । मन दरो बनाउनू ।’ जब्बरेले आमालाई सम्झाए ।
‘तो राक्षेसहरूले कहाँ लगेर के गरे होला क्या। दयामाया केई छैना तिनेरको । यिनेरको आमालाई पशु भन्दा नि पल्लैछारी पारे अरे सुन्यौं कि सुनेनौ ?’ ठूली नातिनी बिस्कुटमा भुलिएकी थिइन्, सानीलाई गाईको दूध चम्चाले खुवाउँदै आमाले भनिन् । जाँड खाइसकेर जब्बरे बिदा भए ।
रातभरि निद्रा लागेन । भोलिपल्ट चौकी जाँदै थिए । बिच बाटोमै पुलिसको चेकिङ रहेछ । चेकिङ सुरू भएको दुई महीनासम्म नदेखेको मान्छे देखेपछि पुलिसहरूले केरकार गर्न थाले । जब्बरेको हातमा पुलिसको आँखा प¥यो ‘कहाँ तालिम लिएर आइस् ? को को तेरा साथी छन् यहाँ ? कपडा खोल् ।’ एउटा पुलिसले भन्यो ।
जब्बरेले प्रतिवाद गर्न नपाउँदै पाता कसेर हिर्काउन थाले । ‘म त आरा काटेर पेट पाल्ने मान्छे कस्तो तालिम कहाँ लिनु हजुर ? भर्खर हिजो घर आएको’
‘तिमार्को यस्ता कहानी हामीलाई थाहा हुन्न भन्ठान्छस् साला ? तँ जस्तो तालिमले खाँदिएको ज्यान भएको मान्छे आरा काट्छस् भन्दा पत्याइदिनुपर्ने ? अब बस्छस् आरा काटेर ।’ पुलिसले जब्बरेलाई पनि लिएर गयो । गाउँमा हल्ला फैलियो तर जब्बरेलाई सोधखोज गर्न पुलिस चौकीसम्म जाने हिम्मत कसैले गर्न सकेनन् । कबिरकी आमालाई अर्को बज्रपात थपियो, जब्बरेलाई शारीरिक यातनाको कुनै कसर बाँकी राखिएन । तर कुनै सिप लागेन । पुलिसहरू अन्ततः उनी आरा काट्ने मान्छे नै भएको निक्यौलमा पुगे । चार दिनपछि जब्बरे घर फर्किए तर ज्यान पनि थाम्न नसक्ने भएर । जब्बरेलाई तङ्ग्रिन लामो समय लाग्यो बाखाले खाएको बाली र पुलिसले कुटेको ज्यान,पहिलेकै अवस्थामा फर्किन सक्दैन । जब्बरेलाई यस्तै भयो पहिलेको जस्तो गाहोसाहो काम गर्न मुस्किल हुन थाल्यो ।
यता कबिरकी आमा र छोरीहरू सामान्य हुन लाग्दै थिए । कबिरको कुनै अत्तोपत्तो थिएन । आमाको एक मनले भने छोरो जिउँदै छ भन्थ्यो । ठूली नातिनी नजिकैको स्कुल जान्थिन् सानी नातिनी गाईको दूध र लिटोको भरमा हुर्कदै थिइन् ।
एकदिन जब्बरेको नाममा हुलाकबाट एउटा चिठी आयो । कबिरको रहेछ । चिठीका अनुसार कबिरले सबै कुरा थाहा पाएका रहेछन् । आफ्नी श्रीमती, परिवार अनि जब्बरेको कुरा पनि । उनका अनुसार चौकी आक्रमण गरेपछि आत्मसमर्पण गरेका पुलिसहरू मध्ये घाइतेलाई त्यहीं छोडेर हिँड्न सक्ने जतिलाई लिएर गएका थिए । कैदीहरूलाई समेत त्यहाँबाट भगाएका थिए रातारात हिँडेर उनीहरू अर्को जिल्लाको सिमानामा पर्ने ठूलो जङ्गलमा पुगे, जहाँ विद्रोहीहरूको सुरक्षित आश्रयस्थल थियो । आराम गर्दै यातनाले थिलथिलो भएको कबिरको शरीरमा उनीहरूसँग भएको प्राथमिक उपचार सामग्रीले उपचार गरे । उनीहरूले भन्दै थिए, त्यो आक्रमणको योजना महीना दिन अघिको थियो। त्यो चौकी हटाएर आधारइलाका बनाउने योजनामा आक्रमण गरिएकोमा उल्टै थप सुरक्षाफौज थपिएपछि समस्या उस्तै भयो । अपहरण गरिएका प्रहरीहरूलाई भने पक्राउ परेका माथिल्लो तहका नेताहरूको रिहाइका लागि सौदाबाजी गरियो ।
विद्रोहीहरूसँग पछिपछि हिँड्नु बाहेक कबिरसँग कुनै विकल्प थिएन । घर जाऊ आफूलाई अनाहकमा लागेको आतङ्ककारीको बिल्ला छ, नजाऊ छोराबुहारी लुटिएकी आमा र बाबुआमाको काख खोसिएका दुई अबोध छोरीहरूको आँसु र नियति झल्झली सम्झिरहने । केही दिनपछिको एक साँझ जे पर्छ सहौँला आमा र छोरीहरूलाई भेट्छु भन्ने अठोटले गाउँसम्म पुगे । तर पुलिसहरूको गस्ती गाउँमा पसेको कुरा थाहा पाए । गाउँ छिर्ने आंट गर्न सकेनन् पहिलो पटक उनी आफ्नै गाउँसंग यति धेरै भयभीत भए । “मैले यति चाँडै मर्न हुन्न, यो हालतमा पुयाउनेहरूलाई नाङ्गेझार बनाउनुपर्छ ।” कबिरले अठोट गरे । कबिर फेरि त्यही समूहमा मिसिए ।
‘एकपटक राम्ररी सोच्नोस्, तपाईको परिवार तहसनहस भएको छ, बिना कसुर तपाईलाई आतङ्ककारी भनिएको छ । तपाई जिउंदो हुनुहुन्छ, बाँकी जिन्दगीलाई अर्थपूर्ण बनाउनुपर्छ । गाउँमा तपाईलाई पुलिसले खोजिरहेको छ । जे सोच्नुभएको छ, त्यस्तो स्थिति छैन । बरु क्रान्तिको फराकिलो बाटोमा सामेल होऔ । उत्पीडन र वर्गीय विभेदको सिकार भएका हामी सबैको मुक्तिको बाटो यही हो ।’
गाउँ जाने वेला कबिरलाई सम्झाएका थिए । उनी चुपचाप हिंडेका थिए । अब भने त्यही क्रान्तिको फराकिलो बाटोमा विकल्प विहीन बनेर समाहित भएका थिए ।
त्यो समय माओवादी विद्रोहले ग्रामिण इलाकाहरू कब्जा गरिसकेको दावी गर्दै थियो भने सरकारको पक्षबाट युद्ध लडिरहेको प्रहरी र सेनाहरू निश्चित घेराभित्र सीमित हुँदै गइरहेका थिए ।
कबिरले बन्दुक उठाए । सैन्य तालिम र परेड सिके । युद्धको भाषा र क्रूरतालाई नजिकबाट देखे, भोगे । आफ्नो घरमा कुखुरा मार्नसमेत असहज मान्ने अब आफू जस्तै मान्छेलाई ताकीताकी गोली हान्न सक्ने हिम्मत आयो । हरेक गोलीसँग आफ्नो आक्रोश मिसाउथे । पुलिसले दिएको अनाहकको यातना, त्योभन्दा कैयौं गुणा बढी आफ्नी श्रीमतीलाई दिइएको मृत्यु सम्झन्थे र सारा आक्रोश आफ्नो अगाडिको निशानामा लगाउँथे एक्लै बसेको वेला आफूलाई सम्झेर आफै अचम्म पर्थे । उनलाई यो निर्दयी शिखरमा जबरजस्ती ल्याइपु¥याइएको थियो कि यहाँबाट फर्किएर अब कहिल्यै पुराना दिनहरूमा पुग्न सक्दैनथे ।
कबिरले घर छोडेको पाँच महीनापछि आएको चिठीमा आफ्ना छोरीहरू र आमाको ख्याल गर्न जिम्मेवारी जब्बरेलाई दिएका थिए । ‘दाइ तिमी हिम्मतिलो छौ । त्यही हिम्मतले काम गर । मेरा छोरीहरूलाई उनीहरूको बाउआमाको अभाव हुन नदेऊ । आमालाई मेरो कुरा बुझाइदेऊ । यदि मरे भने कुनै दिन खबर आइपुग्नेछ, खबर नआएसम्म सम्झिनू, म जिउंदो छु ।’ कबिरले चिठी पठाउने ठेगाना लेखेका थिएनन् ।
समय आफ्नै रितमा चलिरहयो । विद्रोहीहरू मरेको सरकारी सेनाहरू मारिएको पुलिस चौकी र सदरमुकामहरू कब्जा गरिएको विद्रोहीहरूको आधार इलाका तोडिएको आदि आदि । रेडियोले यस्तै समाचारहरु भनिरह्यो । कबिरका छारीहरू मध्ये ठूलीले चाहिँ बाबुआमालाई आक्कलझुक्कल याद गर्थिन् कान्छीलाई कुनै याद थिएन उनको लागि बजू र दिदी नै आफ्नो सिङ्गो परिवार थिए। जब्बरे र परिवारले कबिरकी आमालाई खेतीपाती लगाउने, उठाउने लगायतको काममा खेतालो जुटाउने तथा खेताला धान्न सघाइरहे । नातिनीहरूलाई हेरेर आफ्नो पिर मनमा लुकाइरहने आमा हरेक बेलुकी नातिनीहरू निदाएपछि धित मरुज्जेल रुन्थिन् ।
अब त सेना, पुलिसको गस्ती अनि विद्रोहीहरूको लुकामारीमा गाउँ नै अभ्यस्त भइसकेको थियो । गाउँलेहरू बेलुकी अवेलासम्म गर्मी हम्किंदै आंगन, सिकुवा र पिँढीहरूमा गफिन थालेका थिए । डराईडराई भए पनि आफू खुलेर जिउन सिक्दै थिए ।
असारको एक साँझ दिनभरिको कामबाट थाकेर गाउँलेहरू बिस्तारै सुस्ताइरहेका थिए साँझ छिप्पिएसँगै शीतलको साहस बढ्न थालेको थियो । गाउँका घरहरूमा मुलढोकाहरू बिस्तारै बन्द हुन थाले मान्छेहरू निद्रामा लुट्पुटिन थाले । बाहिर कुकुरहरूको आवाजको साम्राज्य सुरु भएको थियो ।
नातिनीहरूलाई दायाँबायाँ च्यापेर कबिरकी आमा निदाउने कोसिस गरिरहेकी थिइन् । आखाका ढकनीहरू बन्द भए पनि कबिरकी आमा निदाएकी थिइनन् । समयको धर्को जति लामो हुंदै जान्छ मनको दुखाइ त्यति नै कम हुनुपर्ने हो तर सायद आमाको चिरिएको हृदय उतिकै आलो थियो, जति पाँच वर्षअघि थियो । नातिनीहरूको मुहारमा देखिने अबोधपनासित आफूलाई हराइदिन खोज्छिन् तर उनीहरूबाट नजर हटेपछि चैतमा डढेलोले खाएको वन जस्तै हुन्छिन् । झकाउंदै के थिइन्, अचानक रातको सन्नाटा चिर्नेगरी पटट… आवाज आयो । कान अलि चनाखो बनाइन् । ‘ड्याम्म ड्याम्म…’ थपियो ओछ्यानबाट उठेर कान थापिन् । मुलबाटोतिरबाट आवाज आइरहेथ्यो ।
सदरमुकामदेखि शहरसम्म जोड्ने मुलबाटो त्यही हो । जगलैजङ्गलले ढाकेको त्यो ठाउँमा एक दुई जना त दिउसै हिंड्न पनि डरलाग्दो छ । कबिरकी आमाले खासै लख काट्न सकिनन् । आवाज बन्दुकको थियो वा अरू केही ।
पूर्वका माओवादीहरू पश्चिम र पश्चिमका माओवादीहरू पूर्व साटिएर काम गरिसकेपछि कबिरहरू पूर्वको आधार इलाका पुग्न लागेका थिए । गाउँमाथिको जगलैजगल हिँडेर अर्को जिल्लासम्म पुग्नु थियो । उनीहरूको ठूलो समूह भएकोले बाँडिएर हिँडिरहेका उनीहरू जिल्लाबाट निस्किएको शाही सेनाको ट्र्थापमा परे । कबिरहरू त्यो बाटो आउँदै गरेको सूचना सेनाहरूको गुप्तचरसम्म पुगेपछि उनीहरूको खोजी सुरू भएको थियो । केही समूह सेनाको आर्क तोडेर भाग्न सफल भए तर कबिरको समूह भने सेनाले बनाएको सी आर्कमा फस्यो । डिफेन्स पोजिसन बनाउन नपाउंदै धेरै गोलीको निशानामा परिहाले। कबिरले आफ्नो बन्दुक फायरिङ पोजिसनमा राख्नै लाग्दा चुइय्य गर्दै आएको गोली उनीनेर आएर चुपचाप भयो । कति गोली कहाँ छि¥यो, थाहै पाएनन् । उनले अन्धाधुन्ध फायर खोले पछाडि फर्किएर दौडन खोज्दा दायाँ खुट्टा उचालिएन । उनी त्यहीं थचारिए । भीरको टुप्पामा रहेछन् । थचारिँदा त्यहाँबाट पल्टिएर भीरतिर झरे । झाडीले भरिएको भीर भएकोले उनी सिधै तल झर्न पाएनन् । अड्कन्थे, अलिकति बल लगाएर कतै समात्न खोज्दा फेरि अर्को बल्ड्याङ झर्थे। थाहा भयो कि तिघ्रा र कम्मरको बिचमा गोली लागेको छ । तर बाहिर निस्किएको छैन । अड्किँदै झर्दै, सोहोरिएर, कोपरिएर धर्खरिंदै उनी निक्कै अग्लो भीरको पिंधमा पुगे। लगाएको कपडा च्यातिएर धुजाधुजा भयो । ज्यान थिलोथिलो भएर दुख्न र चोट लाग्न बाँकी ठाउँ कतै नभए झैं लाग्दै थियो । टुम्लेटमा आधा बाँकी भएको पानी भने बिर्को नफुस्किएकोले बचेको रहेछ । त्यही पानी पिए खुट्टा घिसार्न खोजे तर चलाउनै सकेनन् अन्धकार रातमा आंखामा तिरिमिरी छायो । सकेसम्म आफू होस नगुमाउने ध्याउन्नमा लागे ।
भीरको खोच, अलिकति पर पानी बगेको बाहेक अरु आवाज थिएन । अन्धकार रातमा कहां पुगे भेउ पाउनै सकेनन् । दुखाइको पारो चढिरहेको थियो । कबिरले आजसम्म बाँचेको जिन्दगीलाई एकफेर रिवाइन्ट गरे । आफ्नी प्राण प्रिय श्रीमती, फूल जस्ती छोरीहरू, घरको धुरी जस्तै अडिग आमा अनि आफ्नो दुःखजिलो गरेर बाचिरहेको एउटा मध्यम जिन्दगी । कसैको एउटा सानो सनकले कसरी तहसनहस हुने रहेछ, सम्झदा सम्झदै भाउन्न भयो । निक्कै बेर स्मृतिहरू ओहोरदोहोर गरिसकेपछि पर कतै भाले बासेको मधुरो आवाज आयो उनी चल्मलाउन खोजे; अहं इन्चिभर शरीर सर्न मानेन ।
रातको आयु सकियो । मिर्मिरेहुदै बिहान भयो । घामका कलिला किरणहरू बिस्तारै ठूला रूखहरूको बिचबाट छिरेर पस्न थाले । कबिरले ठम्याए, आफ्नै गाउँको जङ्गलको खोचमा रहेछन् । नजिकै खोला बगेको बजिरहेको थियो । भोक, तिर्खा, थकान, दुखाइ सबै चिज एक पटक मिसिएपछि थाहा भएन कि भोक लागेको हो वा तिर्खा ? निद्रा वा दुखाइ कुन बढी छ ? नजिक बगिरहेको पानी भएतिर उठेर जान खोजे उठ्नु त के जिउसमेत भित्ताबाट उठाएर सोझ्याउन सकेनन् । त्यो ठाउँमा कोही मान्छे आइपुग्ने कुनै सम्भावना थिएन, न त कबिर आफै हिंडेर जान सक्थे । जिन्दगीमा पहिलो पल्ट हरेस लाग्यो । आफ्नै जीवनप्रति दया लाग्यो, बाँच्ने लोभ अधिक जागेर आयो । दिउँसोसम्ममा त शरीरको सम्पूर्ण तागत सकिए झैं भइसकेको थियो । घाउबाट रगत बग्न कम भए पनि अलिकति चट्पटाउनसाथ रगत बग्थ्यो । असारको मध्ये बर्खा, जगली झिंगाहरू आलो रगतको गन्धमा झुम्मिन आइपुग्थे तिनलाई धपाउने तागतसमेत रहेन ।
दिउँसो घाम चर्कियो । हाँगा, पात र बडेमानका रूख छल्दै थोप्लाथाप्ली घामले कबिरलाई हेरिरह्यो । आफूलाई कसैले वा केहीले त हेरिरहेको छ भन्ने सोचेर उनी अलिकति ढुक्क हुन्थे । साँझ पर्न लाग्दै गर्दा भोकले रन्थनायो । अघिल्लो बिहान काँचो चाउचाउको भरमा आधार इलाका पुग्न हिंडेका थिए । दुई दिन अघिदेखि पेट अन्नविहीन थियो । आफ्नो हातले भेटेर लुछ्न सक्ने हरियो पात भएका झार र रूखका पातहरू सुर्काएर चपाए । कुनैबाट टर्रो, कुनैबाट तीतो, कुनैबाट स्वादविहीन पानी आयो । अलिकति त्राण आए झै भयो । यद्यपि उनले आफूलाई माया मारिसकेका थिए । त्यहाँबाट उम्कने कुनै उपाय देखेका थिएनन् । सांझ प¥यो झ्याउंकीरीहरूको आवाज कानमा बिस्तारै ठोक्किन थाल्यो । परपर कुकुरहरू भुकिरहेको सुन्दै थे । यतिकमा जगल नै थर्किने गरी पानी पर्न थाल्यो। केही समय त रूखका पातहरूले बर्सात छेक्न सघाए । केही क्षणपछि त तिनै पातहरूले ठूलाठूला थोपाहरू खसाल्न थाले । शरीर क्रमशः चिसिंदै गएको महसुस हुन थाल्यो ।
जब्बरेकी श्रीमती र गाउँकी एक जना साथी सुंगुरलाई चारो खोज्न जगल गएका थिए भारी पुग्नै लाग्दा उनीहरू खोल्सा छेउछाउ माने (जङ्गली पिंडालु) को पात भेटिन्छ कि भन्ने आसले अलि माथिको खोलानजिक पुगे। खोला किनारमा एउटा अचल मान्छे देखे । मरेको कि जिउँदै भन्दै दुवै एकछिन गलफत्तिए । जब्बरेकी श्रीमती आंट गरेर नजिक पुगिर हेरिन्। सुकिसकेको रगतपच्छे घाउले भरिएको जिउ, खुट्टाको छेउमा जमेको रगत अनि कम्मरनेर जङगली झिंगाहरूको गोलो लागेको ज्यान कबिरको थियो ।
कबिर खोचमा फंसेको दुई दिन भएको थियो । जब्बरेकी श्रीमती र साथी आत्तिए । के गर्ने के नगर्ने भएर हेराहेर गरे । मान्छे चिसिइसकेको भए पनि नाडी र छाती छाम्दा जिउंदो भएको थाहा पाए। मानेको पात टिपेर खोलाबाट पानी ल्याउँदै अनुहारमा, शरीरमा छम्किदिए। घाउहरूमा लागेको माटो पुछिदिए, पखालिदिए । यो कसरी भयो ? उनीहरूलाई अनुमानसम्म थिएन । कबिरको आँखासमेत खुलेन । जब्बरेकी श्रीमतीले पर्खिने र साथीले गाउँमा गएर जब्बरेलाई सुनाउने सल्लाह भयो ।
जब्बरे सबै कुरा थाहा पाएपछि खग्रङ्ग भए । कसैलाई नसुनाउनू । म आफै सबै कुरा बन्दोबस्त गर्छु। खबर ल्याउनेलाई यति भनेर जब्बरे घरबाट निस्किए ।
विश्वासिला चार जना लाठेहरू सहित जब्बरे एउटा ट्राउजर, भेष्ट, कम्बल र छिप्पिएको छरितो बाँस बोकेर जङ्गलतिर लागे । खोला किनारमा पुग्दा जब्बरेकी श्रीमतीले कबिरलाई सजिलो गरी भुइँमा सुताएकी थिइन् । जब्बरेले कबिरको छाती छामे, नाडी छामे, नाकमा हात राखे केही आशा पलायो ।
जब्बरे र साथीहरूले कबिरको लुगा फेरिदिए । गोली लागेको ठाउंबाट रगत बग्न खोज्दै थियो, एक जनाले आफ्नो कमिजको बाहुला च्यातेर बांधिदिए । उनीहरूले बांस र कम्बलको अस्थायी एस्ट्रेचर बनाए । त्यसैमा राखेर कबिरलाई जङ्गलबाट बाहिर निकाले । अघिल्लो रातको भिडन्तपछि गाउँमा गस्ती आएको थियो । यसपालि खासै बितन्डा गरेन डर त हुने भइहाल्यो । मुलबाटोबाट जान सक्ने अवस्था थिएन । उनीहरूले गाउँको पुछारमा भेटिने खोलाको दोभानबाट किनारैकिनार हिंडेर मुलबाटोमा पुग्ने सल्लाह गरे । सेनाहरू बसेको ठाउँभन्दा त्यो मुलबाटो तीन घन्टा टाढा पर्छ। जब्बरेले श्रीमतीलाई अलिकति पैसा र बन्दोबस्तका केही सामान लिएर अलि तलको चौतारोमा बोलाए ।
जब्बरेहरू कबिरलाई लिएर बगरैबगर रातभर हिंडे बिहान हुनै लाग्दा मुलबाटोमा पुगे मुलबाटो पछ्याएको चार घन्टापछि गाडी लाग्ने ठाउँमा पुगे जब्बरेले शहर झर्दा नजिकबाट चिनेको एक जना क्लिनिक सञ्चालक थिए । उनीहरू त्यहाँ पुगे । क्लिनिकवालाले एक जना डाक्टरसँग चिनाइदिए । ती डाक्टर भूमिगत रूपमा माओवादीका घाइतेहरूलाई उपचार गर्थे । यता र उता गर्द मिलाइरहंदा तीन दिन बित्यो । क्लिनिकमा सामान्य ड्रेसिङ र स्लाइन बाहेक अरू भएन । बल्ल ती डाक्टरको सम्पर्कबाट कबिर अस्पतालको बेडमा पुगे । गोली लागेको ठाउँ कुहिन थालिसकेको थियो रगत धेरै बगेको तथा कैयाँ दिनदेखि भोकै भएकोले शरीर शिथिल थियो । अपरेसन गरेर गोली निकालियो । अस्पतालमा जुनसुकै वेला सेनाले छापा मार्न सक्ने भएकोले खतरा उत्तिकै थियो । डाक्टर आफैले गोप्य रूपमा कबिरको ख्याल गरेर उपचार गराए । बोकेर जाने मध्येका एक जनाले कबिरकी आमालाई गाउँ पुगेर लिएर आए । आमा आएको भोलिपल्ट मात्रै कबिरको होस आयो ।
जब्बरे दाइको सहयोग र आमाले जोरजाम गरेको पैसाले कबिरको उपचार ट¥यो । पार्टीको सम्पर्कमा पुगे पनि पार्टीसित लामो समय बिना जानकारी गायब भएको भनेर उनलाई खास जिम्मेवारी दिइएन । आफू जिउदो भएको भन्दा पनि पार्टीमा जानकारी बिहीन हुनु मुख्य अपराध मानिएपछि पार्टीमा काम गरिरहन मन भएन । गाउँ जान खतरा थियो ।
दुःखजिलो गरेर यही शहरमा बस्छु कबिरले अडान कसे । जब्बरे दाइसँग सल्लाह मागे । कबिरसँग गाउँ बस्दाको सिकर्मी सीप थियो । शहरको एउटा फर्निचर कारखानामा काम गर्न थाले ।
युद्ध सकिएपछि पुराना प्रतिक्रान्तिकारीहरू धमाधम खुखार क्रान्तिकारी हुँदै थिए । शहर पलायन भएको अध्यक्ष परिवार गाउँ फर्किएर निक्खुट क्रान्तिकारी भइसकेको थियो। कबिर शहरमा आफ्ना साना छोरीहरू र बूढी आमासहितको परिवारका लागि मजदुरी गर्न थाले। गाउंको खेतबारी अरूलाई अंधियामा कमाउन लगाएका छन् । आमा र छोरीहरू वेलावेला गाउँ निस्कन्छन्, आफू कहिल्यै निस्किँदैनन् ।
कबिर, फर्निचरको काम छोडेर ट्याम्पो चलाउन सिके । केही वर्ष साहुको ट्याम्पो चलाए । अहिले बैंकबाट ऋण गरेर आफ्नै ट्याम्पो किनेका छन् । ठूली छोरीले डिप्लोमाको पढाइ सकेर स्थायी शिक्षकको जागिर गर्दै छिन् । कान्छी छोरी प्लस टू पढ्दै छिन् । अब कबिरका एउटै सपना छ, आफ्नी आमालाई यही शहरको एउटा कुनामा सानो भए पनि आफ्नै स्वामित्वको घरमा राख्ने।
“बाबा खाना पाक्यो, आउनुस्”
कान्छी छोरीको आवाजले कबिरलाई झल्यास्स ब्युझायो । भर्खरै सकिएको स्थानीय निर्वाचनको परिणाम टिभीमा आउदै थियो । कबिरको गाउँको परिणाम पनि भर्खरै घोषणा भयो । निर्वाचित अध्यक्ष उनै भूपू अध्यक्षका छोरा थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |