रचना मोक्तान “यात्री”
पार्टीले विकास गरेको फौजी रणनीति ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ योजना आयो । यो रणनीति उपयुक्त समयको महत्वपूर्ण र उचित थियो । रणनीतिक योजनासँगै मेरो कार्यक्षेत्र पनि फेरियो । फेरिएको कार्यक्षेत्र अनुसार जिम्मेवारी पनि थपियो । मृगको पाठोले खुला जङ्गल रनवन विचरन गरे झै लेक बेँसी जनताको काखमा लुट्पुटिने म एकै ठाउँमा थन्किएर काम गर्नुपर्ने पक्कापक्की भईसकेको थियो । संगठनबाट जिम्मेवारी फेरिएर १२ किमि टाढाको संचार बेसमा दिईएको जानकारी आयो । सञ्चार पनि युद्धको एउटा महत्वपूर्ण पाटो थियो । (शरीरको प्रत्येक शिरा शिरा र धमनीहरुमा रगत बगेर जीवन स्वस्थ भए झैं सञ्चारले पनि हरबखत पार्टीलाई स्वस्थ, चुस्त, दुरुस्त राख्थ्यो । चुस्त सञ्चार विना युद्ध हुनु गा¥हो हुन्थ्यो ।) पार्टीले जताको जे जस्तो जिम्मेवारी दिए पनि पूरा गर्नैपथ्र्याे । सबैले पूरा गर्थे । मैले देख्दा १२ किमिको संचार बेस डाँडापारिको डाँडागाउँको गुम्बा भन्दा अकिकती माथि जङ्गलको बीचमा थियो । ठूलो ठूलो व्याट्रीलाई सोलार सिस्टमबाट चार्ज गरिन्थ्यो अनि सञ्चार बेस (अझ भनौ अहिलेको वाइफाइको राउटर जस्तो ) चार्ज गरेर धेरै नै हेन्ड सेटहरुमा सूचना सम्प्रेषण गरिन्थ्यो । हेन्डसेटहरु चाहिँ राउटर चलेपछि मात्र चल्थ्यो । यहि प्रविधिबाट सूचना आदानप्रदान गरिन्थ्यो । हामीले सूचना प्राप्त गर्ने स्रोत भनेको आन्तरिक रुपमा चलाएको १२ किमिको सञ्चार वेशले जिल्ला भरिको सुचना प्राप्त हुन्थ्यो र सूचना दिन सकिन्थ्यो भने ४० किमिको सञ्चार वेश क्षेत्रीय लेबलको र थुप्रै जिल्लालाई समेटेर सुचना लिन र दिन सकिन्थ्यो । यहि १२ किमि र ४० किमि अन्तरगतको हेण्डसेटहरु र जनता नै हुन हाम्रो भरपर्दो सञ्चार माध्यम । मेरो जिम्मेवारी अत्यन्तै संवेदनशील ठाउँ रेडियो जन गणतन्त्रसँगै जोडिएको सूचना तथा संचार विभागमा सरुवा भए लगत्तै हामी ताम्लोकाम्लो बोकेर त्यतैतिर लाग्यौँ । शुरुमा कमरेड प्रमोद, कमरेड प्रताप लगायतको टिम थियो । उनीहरू भूगोलमा गएपछि हाम्रो टिममा इन्चार्ज कमरेड तारा, साथमा कमरेड विपना र म हामी तीन जना हुने भयौँ । जहाँ संचारको वेस राखेर एन्टिना ठड्याएको थियो त्यहीँ बास बस्नु पथ्र्यो । अब हामी तीनजना पनि जङ्गलमै बास बस्नु पर्ने भयो । म्हाभरको काख, चिसो लेक त्यसमाथि कार्तिकदेखि हामी बस्न गएका थियौँ । खाँबो गाडेर बनाईएको सानो गोठ । कालो प्लास्टिकले बेरबार पारेको अनि कालो प्लास्टिकलाई टाढैबाट नदेखियोस भनेर हरियो स्याउलाहरुले क्यामोप्लाइज गरि सुरक्षित बनाईएको थियो । गाईवस्तु चराउने गोठालाहरु त्यहाँ छेउछाउसम्म आइपुग्थे तर उनीहरुले हाम्रो बारेमा चुइक्क खबर बाहिर पु¥याउँदैनथे । हामी कसरी बसेको छ के गरि दिनचर्या बिताएको छ भनेर त तिनीहरूले सबै कुरा थाहा पाईरहेका हुन्थे । तीन जनामा दुई जनाले वेस छोड्नै मिल्दैन थियो। कहिलेकाही रासनपानी सकिँदा एकजनाले मात्र लिन जानुपथ्र्याे । यसो गर्नुको कारण दुई जना त सञ्चारमा साह्रै ब्यस्त हुन्थौँ । सूचनाहरु आइरहने अनि जानकारी गराइरहनु पर्ने थियो । कतिपय जानकारीहरु लामो लामो हुने हुँदा कपि कलम ठिक्क पारी टिपोट गरि सम्प्रेषण गर्नुपथ्र्याे । दुई जना कमरेडको तुलनामा म अलिकति छिटो लेख्न सक्ने भएको कारण म प्राय वेशमै रहन्थेँ । आफू सुरक्षित हुनुको साथै सिङ्गो सञ्चारलाई जोगाउनु पर्ने जिम्मेवारी हाम्रो काँधमा थियो । बास स्थानमा जमिनबाट चिसो माथि नआओस भनी काठको फल्याक माथिबाट म्याट ओछ्याएर बस्नु पथ्र्याे । ठीक्क तीनजना मात्र अटिने हाम्रो जङ्गलमा टहरो भनौ या दरबार थियो । त्यही छेउमा तीनवटा ढुङ्गा ठड्याएर अगेनो थियो । त्यही अगेनोमा कसौंडीमा भात र सानो कराहीमा तरकारी पकाउँथ्यौँ । चेप्टो ढुङ्गा खोजेर मसला,अचार पिँध्ने काम गर्थ्यौँ । पानी लगभग ४०÷५० मिटर टाढा मुहानमा लिन जानुपथ्र्याे । गाउँका मान्छेहरु उठ्नु भन्दा अगाडि कि सबै सुतेपछि पानी लिन जान्थ्यौँ । इन्चार्ज क. तारा र क. विपना पालैपालो खान बनाउने पानी लिन जाने गर्थे । म भने के सूचना आउने हो कसलाई के जानकारी दिने हो भनेर हातमा कपी र कलम लिई तयारी अवस्थामै बस्नुपथ्र्याे । यसरी नै दिनचार्य बितिरहेको थियो ।
सञ्चार बेस क्याम्प एकै ठाउमा रहिरहनु सुरक्षाको निम्ति सा¥है खतरा मानिथ्यो । बढिमा चार महिनासम्म एकै ठाउमा रहन्थ्यो भने घटीमा एक महिनामै ठाउँ फेरेर अन्त बस्नुपथ्र्याे । डाँडागाउँमा अलि बढी बस्न सकियो । वरिपरि पूरै तामाङ बस्ती थियो । क्रान्तिको बेस पनि त्यही थियो । क्रान्तिप्रति अगाध माया र विश्वास गर्ने जनसमुदाय पनि उनै थिए । सौर्य डाँडा, बाँसघारि, सिरुटार, चित्रे हाम्रो चार किल्ला भित्रको सिमाना पथ्र्याे । त्यहाँको जनताले बेस्सरी साथ दिए । सहयोग गरे । त्यो ठाउँमा हामी दुई महिना बस्यौं । हामी भन्दा अघिल्लो पटकको साथीहरू तीन महिना बसिसकेका रहेछन् । अब ठाउँ फेर्नुपर्छ ठाँउ खोज्नुस बुझ्नुस भनेर नेतृत्व पंक्तिबाट बारबार सुझाव आइरह्यो । गोकुलेमा सङ्गठन र विभागिय प्रमुखहरुको मिटिङ हुने भएपछि इन्चार्ज कमरेड तारा उतैतिर लागिन । घना जङ्गलको बीचमा हामी दुई जना मात्र हुने भयौं । हामी अलि सानै भएर पनि होला तारा कमरेड बैठकमा जाने बेला हाम्रो अनुहारमा निराशाको बादल छायो। उनले “तीन दिनमा त आइपुगि हाल्छु नि ! राती डर लाग्यो भने नौ÷दस बजे तिर गाउँतिर गएर सुत्नू । गाउँतिर जाने भयो भने एन्टिना निकालेर राख्नू । राउटरलाई उतै लैजानु अनि बिहानै आएर जोड्नु । व्याट्रीमा जोड्दा प्लस माइनस मिलाएर जोड्नु । “यति भनेर उनी हिडिन डाँडामै भएको कारण एन्टिना निकाले पनि राउटरले काम दिन्थ्यो । हामी दुई जनाले पनि यसै गर्ने निर्णय ग¥यौं । मुटु नै जम्ला जस्तो चिसो सिरेटो चलेको थियो । सेताम्य हुने गरि तुषारो परेको थियो । बेस्सरी जाडो थियो । बिहान सङ्गै खान खाएर तारा कमरेड हिंडिसकेकी थिईन । अनि बेलुका हामी दुई जनाको लागि खान बनाउने तयारी गर्दैथ्यौ । हामीले खान पनि प्राय झमक्क साँझ भएपछि मात्र आगो फुकेर बनाउने गर्थ्यौँ । ताकी आगोको धुवाँ टाढा बाट नदेखियोस् भन्ने थियो । खान बसाल्यौ तरकारीको कुनै दुःख थिएन जति पनि थियो । जनताले माया गरेर दिएका इस्कुस, आलु, साग, भन्टा, दाल यस्तै यस्तै थियो । म रेडियोमा जन सङ्गितमाला कार्यक्रम सुन्दै सूचना सम्प्रेषण गर्दै थिएँ । यतिकैमा बाघ कराएको जस्तो आवाज कानमा ठोकिन आयो । रेडियोको आवाजलाई सानो बनाएँ । अनि ध्यान दिएर सुन्न थालेँ । फेरि उस्तै लाग्यो । “कमरेड विपना, केको आवाज आएको सुन्नु त सुन्नु ।” मैले उनलाई भनेँ । उनले पनि कान थापेर सुनिन ।
“अबुइ ! बाघ गर्जेको जस्तो पो लाग्यो त ।” उनले पनि डराएको पारामा भनिन् । “हैन होला कि !“ मैले निडर भएर भने । “आ ! जे सुकै होस डरायो भने झन समय बिताउन गाह्रो हुन्छ । आउ बरु खान खाऔं ।” उनले पनि यसै भनिन् । रेडियोको भोलुम अलि बढाएँ ताकी रेडियोको बाहेक केहीको आवाज नसुनियोस । अनि मनमा डर पैदा नहोस भन्ने हेतुले ध्यान एकातिर केन्द्रीत गर्न खोजेँ । मङ्सिर महिनाको जाडो चूक घोप्टिए झैँ अन्धकार रात । हामी बसेका ठाउँमा सानो चार्जवाला बल्बले उज्यालो दिन्थ्यो । अलिअली अक्षर पढ्न सक्ने अनि अनुहार देखिने मात्र थियो। अरु बेला भन्दा आज अलि मधुरो बत्ती बालेको थिएँ । यस्तैमा खान खायौँ । घुर घुर आवाज त नजिक नजिक आएजस्तो लाग्यो । ढोका बन्द गरि नडराइ बसौ भने प्लास्टिकले बेरिएर बनाएको टहरोमा न झ्याल न ढोका । केही पनि थिएन । ढोकामा प्लास्टिक नै पर्दा जसरी फ्याङलङ्ग झुन्ड्याएको थियो । “ओइ ! नजिक नजिक आयो त !“ उनले भयभाव देखाईन । “अब के गर्ने ?” हामी दुईको प्रश्न एउटै थियो । “रेडियोको दाइहरुलाई सेट मार्फत कन्ट्याक गरौँ न मैले भनेँ ।” आपत विपतमा सम्झिने भनेकै साथीहरू त थिए । रेडियोको दाइ दिदीहरुले बेस्सरी माया गर्थे । उनी मलिन अनुहार पार्दै “यो राती बाघ आयो हामी डरायौँ भनी सुनाउने त ? बेकार न नजिक हुनु । भो कन्ट्याक्ट नगरौँ ।” उनले यस्तै भन्दै थिइन् । “त्यसो हैन क्या ! केही उपाय दिन्छन् नि ।” मैले जिद्दी गरेँ । “आ ! म केही भन्दिन तिमी आफै भन ।“ उनी नसोध्ने पक्षमै रहिन् । मेरो मनले भन्छु नै भनीरहेको थियो । हेन्डसेटमा नम्बर थिचे । घन्टी जादैछ भन्ने सिग्नल देखायो । धन्न ! फोन छिन्ताङ दाइले उठाए (कमरेड छिन्ताङ २०७९ सालको स्थानीय निर्वाचनमा निर्वाचित खानी खोला गाउँपालिका काभ्रेको प्रमुख छन् ।) उताबाट दाइले मायालु स्वरमा “संरचना के भो ? किन यति खेर फोन गरेको केही जानकारी छ कि ? ” भनेर सोधे । “म के भनूँ भनूँ भएर दाइ ! दाइ !” “दाइ बोलीरहे । दाइलाई आज १२ को वेसमा हामी दुई जना मात्र भन्ने कुरो पनि थाहा रहेछ । “डर लाग्यो हो ?“ उताबाट दाइले फेरि सोधे । अनि मैले “हो दाइ” भनेँ । अनि बाघको गर्जन नजिक नजिक सुन्दै आएको पनि जानकारी दिएँ । दाइले हामी नडराओस भनी अनेक उपाय अनि आत्मबल बढाउने खालको कुरो गरे । अलि बेरसम्म बोलीरहे । “ल अब नडराइ सुत ! केही पनि हुन्न !” भनेर दाइ छुटे । हामी दुइको मुटुले ठाउँ छोड्ला झै छिटो छिटो धड्कीरह्यो । घडी हेर्दा बल्ल ११ बजेको रहेछ । डरको बेला समय पनि बित्दै नबित्दो रहेछ । डरको बेला कस्तो अवस्था हुँदोरहेछ भन्ने कुरा बल्ल थाहा पाईयो । अहिले सम्झँदा पनि हाँसो उठ्छ ।
झट्ट एउटा कुराको याद आयो । म सानो छँदा आप्पा कहिलेकाही कतैबाट राती मात्र घर आइपुग्थे । त्यो बेला आप्पाको हातमा प्रायः आगुल्टो हुन्थ्यो । एक रात आप्पा अबेरमा घर फर्केका थिए । मैले आप्पालाई सोधेको थिएँ । “ आप्पा ! अगुल्टो बोकेर हिड्दा उज्यालो त हुन्न तर किन बोक्नु हुन्छ ?” आप्पाले भन्थे “छोरी बाघ, भालु जंगली जनावर आगोदेखि तर्सिन्छ अनि टाढा भाग्छ । त्यसैले राती हिँड्दा आगुल्टो बोकेर हिँड्नुपर्छ । म पनि आफ्नो सुरक्षाको लागि आगो बोकेर हिँडेको हुँ ।” आप्पाले भनेको यही कुरो दिमागमा आयो । नडराउ छोरी तिम्रो आप्पा साथमै छ भनेर ढाडस दिन आँखै अगाडिआप्पा आउनु भए झैँ लाग्यो । ओडीरहेको ब्लाङ्केट पन्छाएर जुरुक्क उठेँ । अनि टहरा बाहिर आएँ । खान पकाउँदाको आगो राम्रोसँग निभेकै थिएन । अगोनोमा ठिक ठिक्कको दाउरा मुढा हालेँ । आगो फुकेँ । सुकेको दाउरा भएकोले दनदनी आगो बल्यो । यतिन्जेलमा बिपना पनि आगो ताप्न बाहिर आईन् । बाघ कराएको जस्तो आवाज आए पनि बेवास्ता ग¥यौं । आगो बालेपछि बाघ आउँदैन भन्ने मनमा लाग्यो । अब ढुक्कले सुत्ने हो भनेर नडराएको स्वाङ पारेँ । “आगो निभाउनु पर्दैन त ?” कमरेड विपनाले सोधिन् ।” भनेँ । आप्पालाई आँखामा र छिन्ताङ दाइलाई दिमागमा राखेर सुरक्षित महसुस गर्दै दुई बहिनीले जङ्गलको बीचमा रहेको १२ किमिको बेस क्याम्पमा रात बितायौं ।
तीन दिनपछि इन्चार्ज कमरेड तारा आईन् । उनी आउँदा उनले नयाँ योजना पनि लिएर आईन् । “भोलिदेखि नै यहाँबाट अन्तै जाने । लु अब सामान पोको पारौँ ।” उनले हामीलाई अह्राईन् । अनि मैले जिज्ञासु हुँदै “अनि कता सर्ने भो त दिदी ? धेरै सामानहरु कसरी लाने होला त हामी तीन जनाले मात्र ?“ “चिन्ता नगर इलाकाको साथीहरू र साथमा स्थानीय सङ्गठनको साथीहरू पनि आउँछन् ।“ उनले यही जवाफ दिईन् । सबै भन्दा पहिला व्याट्रीबाट सोलार प्यानल छुटायौँ । एन्टिनालाइ पार्ट पार्टमा छुट्याएर छोटो बनायौँ । आ आफ्नो लुगाफाटो ब्यागमा अटिने जति कोच्यौं । ब्ल्याङ्केट र म्याटको गुन्टो बनायौँ । ठूला ठूला दुइटा व्याट्री, तार, सेट राउटर सबै क– कसले के–के बोक्ने भाग पनि लगायौँ । अनि हिड्ने तरखर ग¥यौं । पकाउने भाँडाकुँडा पानीको ग्यालिन त्यतै इलकातिर छोड्ने भयौं । हामी दुई महिनापछि त्यहाँबाट अन्तै सुरक्षीत स्थानतर्फ लाग्यौँ ।
गोकुले र घर्तीछापको बीचमा पर्ने एउटा भञ्ज्याङ् छ । जहाँ महान सहिदहरुको नाममा निर्मित सहिद गेट पनि थियो । यही भञ्ज्याङ्को बिचबाट उकालो लाग्यौँ । ठाडो उकालो दायाँबायाँ सोक्तेल र सिम्ले । सोक्तेल हेर्दैमा दमार झै लाग्ने सुन्दर तामाङ र मगर बस्ती । कोदो, तोरी, मास हिउँदे बालीले खेतहरु, बारीहरु झपक्कै पहेँलपूर देखिन्थ्यो । माथि डाँडाबाट तल हेर्दा मनै लोभिने हो हामी यहि डाडामा बस्ने भयौँ । यहीँ डाँडा लाई रमिते डाँडा नामले चिनिदो रहेछन । आवासको लागि फेरि टहरो बनाउनु पर्ने भयो । वरिपरि दुई चार घर मात्र थियो । त्यहाँको तामाङ जनता धनको गरिब भए पनि मनको सा¥है धनी थिए । उनीहरुले जे खान्थे हामीलाई पनि त्यही खानेकुरा दिन्थे । खाजा खाना जे भए पनि उसिनेको इस्कुस, पिँडालु, सिमल तरुल र कोदोको ढिँडो हुन्थ्यो । हामीले पनि हाम्रो व्यवस्था नमिलेसम्म त्यही खायौँ । भोक लागेको बेला त्यही खाने कुरो पाउँदा पनि चौरासी व्यन्जन खान पाए झैं हुन्थ्यो । एक, दुई, तीन दिन गर्दै हाम्रो टहरो तयार भयो । हामी फेरि टहरोमा बस्न थाल्यौँ । दैनिकी उस्तै । उहीँ पहिलेको जस्तै सूचना सम्प्रेषणमै दिन बित्थ्यो रात बित्थ्यो ।
नयाँ ठाउँमा सा¥है पानीको अभाव थियो । एक गाग्री खानेपानीको लागि ४५ मिनेटको दूरिमा ओरालो झरेर कुवाबाट पानी भरेर फर्किनु पथ्र्याे । त्यो पनि बिहान अलि ढिला पुग्यो भने पानी नै नपाउने समस्या । त्यो कुवामा पानी नपाए त्यो भन्दा टाढा पुग्नुपथ्र्याे । त्यो बेला मनमनै विचार गर्थे । जनताको जनवादी व्यवस्था आएमा सबै भन्दा पहिला यहाँको जनतालाई खानेपानीको व्यवस्था गर्न निवेदन गर्नेछु । यस्ता यस्तै सोच आइरहन्थ्यो । यहाँको जनताले सुविधा कहिले पाउला ? यो डाँडामा कताबाट पानी ल्याउन सकिएला ? कतैबाट लिफ्टिङ गरेर भए पनि खानेपानी आपूर्ति गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । कतैबाट पनि तत्काल समस्या समाधान नहुने भएपछि अमिलो मन पारेर बस्नु बाहेक अर्को विकल्प थिएन । तैपनि कमरेड तारा र कमरेड विपनाले पानीको बेस्सरी फारोतिनो गर्थे । हामीले पन्ध्र दिनको एक चोटि लुगा धुन निकै तल ओर्लेर खोलामा धुन्थ्यौं ।
संचार विभागमा बस्दा विभिन्न कोडभाषामा कुरा गर्नुपथ्र्याे । सञ्चारको महत्व र प्राविधिक पक्षको बारेमा ज्ञान हासिल ग¥यौं । देशभर कता के भईरहेको छ ? भन्ने जानकारी पनि सबै भन्दा पहिला नै पाउथ्यौं । रेडियो जन गणतन्त्र निडर रुपमा सुन्न र जनतालाई सुनाउन सकिन्थ्यो । रेडियोको विभिन्न कार्यक्रममा स्रोता बनी सहभागी भइन्थ्यो । पत्र सन्देश कार्यक्रम मार्फत सहिद परिवार, बेपत्ता परिवार, र आफ्नै परिवारलाई सन्देश लेखेर पठाउने गर्थें । यसरी छ महिना सञ्चार विभागमा बितायौँ ।
युद्धमा सञ्चारको महत्व र सञ्चारले खेल्ने भूमिका निकै शक्तिशाली हुन्छ भन्ने कुरो थाहा पायौ । त्यति बेलाको टोली कमरेड तारा यति बेला पनौतिमा बस्छिन् रे ! कमरेड बिपनासँग सम्पर्क नै छैन । सायद उनी पनि आफ्नै जीविकोपार्जनको लडाइँमै होलिन् । जो जता रहे पनि स्मृतिमा रहिरहने छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |