० नमस्कार ! हजुरको दैनिकी कसरी बित्दै छ ?
मलाई नमस्कार नगर्नुस् न । तपाईंको नमस्कारले मलाई आत्मग्लानी गराउँछ । मलाई त ए ! भाई के छ ? भनेर सोध्नुस् न । मेरो दैनिकी खासै चर्चा गर्न लायक छैन ।
० होइन, भर्खरै राष्ट्रिय उपभोक्ता मञ्च काभ्रेको उपाध्यक्ष जस्तो गरिमामय पदमा चयन हुनुभएको सुनेको छु, यथार्थ के हो ? बताउन मिल्छ ?
तपाईंले सुनेको सही हो । म विगतदेखि नै सामाजिक सेवामा तल्लीन पात्र हुँ भन्दा नि फरक पर्दैन । म अमेरिकाबाट फर्किएपछि निरन्तर रुपमा विभिन्न सामाजिक क्षेत्रसँग हातेमालो गर्दै आएको छु । रोटरी क्लब, हृदय रोग निवारण संस्था जस्ता धेरै संघसंस्थासँग मेरो सम्बन्ध जोडिएको छ । जसको माध्यमबाट समाजमा आइपरेका विभिन्न विपद्हरुमा पिडितहरुलाई मलमपट्टि लगाउने कार्य गर्दै आएको छु । यति हुँदा पनि हाम्रो समाजले हामी युवालाई हेर्ने दृष्टिकोण सकारात्मक छैन तर समाज त्यो सानो घेराभित्र पनि छैन । जसले हामी युवाको भावना बुझ्ने कोसिस पनि गरेको छ । त्यसप्रति सम्मान व्यक्त गर्न चाहन्छु ।
सवाल उपभोक्ता मञ्चको रह्यो । आजको हाम्रो बजार पूरै एकांकी हुन पुगेको छ । उत्पादक र उपभोक्ताबीच ठूलो खाडल सिर्जना भएको छ । त्यो खाडल पुर्नका लागि उपभोक्ता मञ्च लागिपर्नेछ भन्ने विश्वास लिएर नेतृत्वमा गएका छौं । आशा गरौं, उपभोक्ताको भरोसा टुट्न दिने छैनौं । राष्ट्रिय उपभोक्ता मञ्च काभ्रे यो सवालमा दृढ छ ।
० तपाईंले यसो भनिरहँदा के भनाई र गराईको सम्मिश्रण हुने कुनै बिन्दु देख्नुभएको छ ?
देखेको छु । स्थानीय सरकारले थोरै मात्र विवेक पु¥यायो भने टाढाको विषय रहेन । स्थानीय सरकारले भूगोलअनुसार, उपभोक्ताको मागअनुसार सुपथ मूल्यका पसलहरु साथै किसानको उत्पादनलाई संकलन केन्द्र मार्फत् स्थानीय सरकारले खरिद गरेर बिक्रि वितरण गर्ने व्यवस्था गर्ने हो भने कुनै पनि उपभोक्ता ठगिनुपर्ने छैन । त्यसैले पनि मैले भनेको सम्भावना सहज छ ।
० तपाईं त एक सम्पन्न परिवारको सदस्य, विलासिताबाट बाहिर निस्कन सक्नुहुन्छ र ?
समय सधैं एकनास हुन्न । हिजो के भयो, त्यता नजाऔं, भोलिलाई हेरौं । हिजोका अरबपति आज सडकपति भएका छन् । हिजोका सडकपति आज अबरपति भएको यथार्थ यहाँले देख्नुभएको छ । हो, हामी बनेपाकै सम्पन्न परिवारभित्र पर्छाैं । के त्यसो हुँदैमा हाम्रो भावना सामाजिक हुन सक्दैन ? यो गलत चिन्तनलाई चिर्न सक्नुपर्छ । जसको सुरुवात म आफैंले सामाजिक सेवा गरेर निरन्तरता दिन खोजेको छु । मेरा बाउबाजेको इतिहास हेर्नुस्, उहाँहरुको पालमा धेरै सामाजिक कार्यहरु भएका छन् । काभ्रे जिल्लामा रेडक्रस जस्तो मानवीय संस्थाको स्थापनादेखि काभ्रे उद्योग वाणिज्य संघ, काभ्रे जिल्ला सहकारी संघ, ज्ञानशाला पुस्तकालय, हिमालय स्कूलसम्मको पाटो केलाउनुस् । पुस्तकालयदेखि वाचनालय सम्मलाई सूक्ष्म ढंगबाट केलाउन सक्नुहुन्छ । हाम्रा पुर्खालाई नपुग्दो के थियो र ! किन उहाँहरुबाट यस किसिमका उदाहरणीय कार्यहरु भए ? त्यसतर्फ पनि यो समाजले खोतल्न आवश्यक छ । पुर्खाकै धरोहर राजा त्रिभुवनको सालिक आज भग्नावशेषमा परिणत भएको छ । सम्भव रह्यो भने मेरो पुर्खाको धरोहरलाई जिवन्त दिएर फेरि त्यो भग्नावशेषमा राजा त्रिभुवनको सालिक अनावरण गराउने सपना बोकेर अगाडि बढेको छु । यो मेरो अभियानलाई बनेपाली नागरिकहरुले साथ दिनेछन् भन्ने आशा पनि राखेको छु । आज मेरो एक्लो प्रयासले झण्डै सयको हाराहारीमा विपन्न परिवारका छोराछोरीहरुलाई शिक्षाको ज्योति छर्ने काम गरेको छु भन्दा तपाईंलाई अनौठो लाग्ला तर यो यथार्थ हो ।
जब मेरो १० वर्षे अमेरिका बसाईले मेरो जीवनको यथार्थता बोध गरायो । जसको पहिलो प्रयास आफ्नै पिता अत्तरकाजी दिक्पालको स्मरणमा धार्मिक भूमि धनेश्वरको पावन भूमिमा प्रवेश गर्ने गेटको स्थापना गर्न पुगेँ । जसले धार्मिक पर्यटनको गन्तव्य बनाउन महत्वपूर्ण भूमिका खेलेको पाएको छु । त्यसैले तपाईंले शंका गरेजस्तो म होइन र छैन पनि । बाहिरी समाजले मलाई कसरी बुझेको छ, व्यवहारतः म नितान्त फरक छु । म घमण्डका साथ भन्छु, यो समाजले चिन्न नसकेको कालो हिरा हुँ । एकदिन यो समाज पछुताउने छ तर समयले त्यतिबेला नेटो काटिसकेको हुनेछ ।
० तपाईंले जुन विषयवस्तु उठान गरेर आफूलाई सफाइ दिन खोज्नुभयो, के यो समाजले आजको युवालाई हेर्ने दृष्टिकोण खराबै हो त ?
त्यसो त भनिहाल्न नमिल्ला तर समग्रमा समयअनुसार हाम्रो समाज चल्न नसकेको सत्य हो । अलिकति फरक किसिमको पात्र (मोडल) देख्ने बितिक्कै सूक्ष्म अध्ययन नै नगरी हेर्ने दृष्टिकोण फरक पार्नु यो समाजको मात्र नभई आफन्त पनि दोषी छन् ।
० यो तपाईंको भ्रम पनि हुनसक्छ नि होइन ?
मलाई त्यस्तो लाग्दैन । जसको कारण म आफैं त्यसको सिकार भएको आभाष मिल्छ । कसरी भ्रममा छु भनौं ? जबसम्म आफूलाई सामाजिक अगुवा ठान्नेहरुमा सुबुद्धि पलाउँदैन तबसम्म हामीजस्ता केही गरौं भन्ने युवाहरु आलोचनाका सिकार भई नै रहन्छन् ।
० तपाईंलाई सबैभन्दा आत्मसन्तुष्टि प्राप्त केमा हुन्छ ?
मलाई सबैभन्दा आत्मसन्तुष्टि हुने स्थान भनेको अनाथालयमा । ति अनाथालयमा रहेका बालबच्चाहरुसँग दिन कटाउँदा जतिको सन्तुष्टि अन्य क्षेत्रमा प्राप्तै गर्न सक्दिनँ । किन हो किन, ति अनाथहरुसँग बितेका क्षणहरुले मलाई सधैं मनमोहक बनाउँछ । थोरै फुर्सद निक्लिहाल्यो भने अनाथालयको याद आउँछ र त्यतैतर्फ लाग्न मन लाग्छ । जसका कारण मेरो दैनिकीको एउटा हिस्सा अनाथालयमा रहेका बालबच्चा बनेका छन् । त्यसैले मेरो सामाजिक सेवाको पहिलो श्रेय अनाथालय सम्झन्छु । मेरा पिता जो प्रधानपञ्चदेखि जिल्ला पञ्चायतका सदस्यसम्म हुनुभयो, उहाँको एउटै सपना थियो, मेरो सन्तान सामाजिक अभियान्ताको रुपमा समाजमा स्थापित होस् भन्ने चाहनुहुन्थ्यो । त्यसै कारण पनि मलाई सामाजिक क्षेत्रमा केही न केही गर्ने प्रेरणाको स्रोत बनिदिनुभयो । उहाँकै आज्ञालाई शिरोपर गरेर आजसम्म अगाडि बढिरहेको छु । मठ–मन्दिर, पाटी–पौवा देखि विद्यालयसम्म कहिँ न कहिँ मेरो उपस्थिति रहिआएको छ । तर पनि म आफूलाई सामाजिक सञ्जाल र सञ्चारबाट टाढा राख्न खोज्छु । खै किन हो ?
० विषय वा प्रसंग बदलौं, यो उमेरसम्म आइपुग्दा पनि घरबार जोड्न चाहनु भएन ?
मेरा लागि यो चाहिँ अत्यन्तै गाह्रो प्रश्न भयो । कलाकार राजेश हमालले त जीवनको उत्तरार्धमा गएर घरजम जोड्न पुग्नुभएको छ भने मेरा लागि नौलो विषय नहुन सक्छ । सिंगो परिवार, नातागोता, शुभचिन्तक, साथीभाइ सबैको एउटै प्रश्न छ, खै ! म नाजवाफ छु । यो उमेरसम्म अंकुश लगाएर ल हिँड् आज भन्ने चोटिलो पात्रको अभाव खड्किएको छ । यो सबैको पछाडि मेरा पिताको अभाव महसुस भएको छ । सम्भवतः पिताजी म अमेरिकाबाट फर्किँदाको बखतसम्म जीवित हुनुभएको भए आज तपाईंले यो प्रश्न तेस्र्याउनु हुन्नथ्यो । पिताजीले यो धर्तीबाट विश्राम लिनु नै मेरा लागि अभिशाप भयो । नत्र म अहिले २÷४ जना सन्तानको बाउ भइसक्थें । किन यसो भनें त भने मेरा पिताजीसँग त्यो शक्ति, त्यो पावर थियो । उहाँले बोलेपछि नकार्ने हिम्मत तत्कालिन अवस्थामा यो भेगमै थिएन भने म उहाँबाट अछूतो रहने कुरै भएन । त्यसैले नि पिताप्रति मेरो गहिरो खोप्छ ।
बेलाबेलामा मलाई यिनै शब्दहरुले भावुक बनाउँछ । यो मेरो निजी मामिला हो । सकिन्छ भने तपाईंहरुको भाषामा सम्पादन गरेर प्रकाशित गर्न आग्रह गर्दछु ।
० क्षमा चाहन्छौं, खाटा लागेको घाउमा नुनचुक छिट्ने काम पो भयो कि भन्ने लाग्यो, के भन्नुहुन्छ ?
त्यस्तो होइन, अत्तरकाजी दिक्पालका बारेमा पूर्व १ नम्बर अनविज्ञ छैन । मैले यहाँ उहाँका बारेका फूदा गाँस्नु नि पर्दैन । यथार्थता जोड्न खोजेको मात्रै हो । भलाकुसारीको दौरानमा केही शब्दहरु उछिट्टिन सक्छन्, त्यसलाई अन्यथा लिनु हुँदैन । अर्काे अर्थमा नलागौं पनि । यदि ममा अमेरिकाका भुत नचढेको भए आज यो प्रश्नले घोच्ने अवसर नै पाउने थिएन ।
० अन्तमा मैले सोध्न छुटेका, तपाईं यो भन्न पाए हुन्थ्यो भन्ने केही बाँकी छन् ?
खासमा त्यस्तो केही छ जस्तो लाग्दैन । म सधैं नेपालीमा फेल हुने विद्यार्थी हुँ । मलाई आयातित भाषाले गर्दा मेरो आफ्नो भाषाका बारेमा जति नै दक्ष हुन खोजेपनि आजसम्म असफल नै रहेँ । त्यसैले जति पनि संवादहरुलाई तपाईंले लिपिबद्ध गरेर प्रकाशन गर्न खोज्नुभएको छ, त्यसको लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । जसरी तपाईंले सिलसिलेवार गरेर तयार गर्नुभएको छ, मेरा लागि यसका बारेमा चर्चा गर्ने शब्द नै छैन भन्दा पनि हुन्छ । मेरो एउटा शब्द तपाईंको एक हरफ बन्छ । एक त जातित्व कारण, अर्काे बोल्न कला पनि नहुनु दुःखद पक्ष पनि हो । पढेर पनि पटमुर्ख जस्तै बनेको छु । मैले किन यि शब्द प्रयोग गरेँ ? पक्कै पनि यहाँले मनन गर्नुभयो होला, मैले जति पनि अभिव्यक्त गरेका भावनाहरुलाई जुन किसिमको मिठास भरिदिनुभएको छ, त्यसको लागि पुनः एकपटक धन्यवादका साथमा फेरि पनि एउटा आग्रह छ, हाम्रो समाजका कुनै पनि विपन्न परिवारका क्षमतावान् बालबालिका आर्थिक अभावका लागि पढाइबाट बञ्चित हुने अवस्था आएछ भने यो समाजसँग आग्रह छ मेरो सेवा गर्ने अवसरको पर्खाईमा हुनेछु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |