Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साहित्यिक “नासो” गुरुप्रसाद मैनाली

प्रभातफेरी अनलाइन ९१९ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ७, मंगलबार (३ साल अघि)
साहित्यिक “नासो” गुरुप्रसाद मैनाली

मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक

आधुनिक नेपाली कथाका फाँटमा सामाजिक यथार्थवादका प्रथम प्रयोक्ता भन्दा अस्वाभाविक नहुने कथाकार गुरुप्रसाद मैनालीले थोरै करीब ११ वटा कथाहरुमात्र लेखेर पनि आफ्नो ठाउँ र नाउँ छोडेर जान सफल छन् । वि.सं. १९५७ भाद्र १३ गते धनकुटामा जन्मेका मैनालीको पुख्र्यौली घर कानपुर, काभ्रेमा भएको र पछि पश्चिम १ नम्बर नुवाकोट कविलास रिठ्ठेचौरमा बसोबास गरेको देखिन्छ । मध्यमवर्गीय परिवारमा जन्मिएका उनका पिता पनि जागीरमा नै आश्रित व्यक्ति भएको कारणले पछि उनी निजामती सेवा र न्यायसेवामा निकै समयसम्म जागीर भई सेवा पु¥याई लेफ्टिनेन्टसम्म भई सेवा गरेको देखिन्छ । सधै सबै बेलाजसो जागीरे जीवनमा व्यस्त रहेर पनि गुरुप्रसाद मैनालीले ग्रामीण जनजीवनको मार्मिक यथार्थ र जीवनका व्यथाहरु कथामा सफलतापूर्वक उतार्न सफल भएका छन् । वि.सं. १९८६ देखि नै कथा लेख्न सुरु गरेका कथाकार मैनालीले नेपाली कथाको परम्परामा नौलो आयाम थपेका छन् ।
प्रथम आधुनिक कथाकारकै रुपमा स्थापित भएका गुरुप्रसाद मैनालीले सामाजिक परम्परा र परिवेशलाई विषयवस्तु बनाई गाउँलेहरुकै बोलीचालीको भाषामा कथा लेखेको पाइए तापनि उनले लेखेका कथाहरु तत्कालीन स्थितिका लागि अति सुन्दर कथाहरु भइदिएका छन् । सबैभन्दा पहिले शारदा साहित्यिक पत्रिकामा वि.सं. १९९२ मा नासो कथा लेखेर देखापरेका मैनालीको ‘नासो’ कथासङ्ग्रह वि.सं. २०२० मा मात्र डा. तारानाथ शर्माको सम्पादनमा प्रकाशित भएको कृति हो । सरल भाषामा सामान्य विषयवस्तुको चित्रण गरी कथा लेख्न सिद्धहस्त कथाकार मैनालीले आफ्ना कथाहरुमा सत्यको जीत असत्यको हार हुन्छ भन्ने भावनालाई रोचक ढङ्गले वर्णन गरी कथालाई जीवन्त बनाउन सफल छन् ।


११ वटा कथाहरु लेखेका बाहेक केही कविता, दुइटा निबन्ध र कथाकै सम्बन्धमा एउटा प्रबन्धमात्र लेखेका कथाकार मैनालीले कथाको परिभाषामा आफ्नो अनुभूति यसरी पोखेका छन् –“कुनै एउटा पात्रका जीवनको संकटमय घटनालाई कलापूर्ण रीतिले लेख्नु नै कथा रचना हो ।” उनको भनाइमा उनले कथा लेख्नुभन्दा पहिलो कथानक र घटनाको कल्पना गर्छन् र साथै घटना सोच्दा आदर्शवादबाट प्रभावित भएर सोच्ने गर्छन् । साहित्यको मुख्य उद्देश्य समाज र देशमा सुधार गर्नु नै हो भन्ने मान्यताकै आधारमा साहित्य सिर्जनामा परिवर्तनको कल्पना गर्न समर्थ छन् तर प्रगतिवादीहरुले झैं पात्रहरुलाई क्रान्तिकारी र परिवर्तनकामी बनाएको देखिँदैन । सुधारवादी–चेत नै उनको मान्यता भएको कारणले उनका पात्रहरु सुधारवादी र आदर्शमुखी मान्यताबाट नै विशेष प्रभावित छन् ।
राणाकालीन अवस्थामा त्यो पनि जागीरे भएर सामाजिक सुधारका लागि केही चिन्तनहरु कथाका माध्यमबाट सम्प्रेषण गर्न सक्नु लरतरो काम चाहिँ पटक्कै होइन भन्नुपर्छ । समाजमा राम्रो कामको व्याख्या गर्नुमात्र पनि नराम्रो हुने स्थितिमा समाज र परिवेशमा राम्रो धारणाको प्रचार कथाहरुमार्फत् गुरुप्रसाद मैनालीले व्यक्त गरेका छन्, जुन सह्राहनीय कार्य हो भन्नुपर्छ । गुरुप्रसाद मैनालीले भोगेको परिवेश र तत्कालीन अवस्थाको ख्याल गरेर कृतिको मूल्याङ्कन गरिँदा भन्न सकिन्छ – मैनालीका कथाहरुमा व्यक्त भएका विचार र दृष्टि कमजोर छैनन् ।
पछि १९९४–१९९५ तिर लेफ्टिनेन्ट (अमिनी कचहरीको हाकिम) समेत भई सेवा पु¥याएका गुरुप्रसाद मैनालीले जीवनका धेरै क्षणहरु जागिरे भएर बिताएको देखिन्छ । तर पनि उनको चेतनाले उनलाई कथा लेख्न कुत्कुत्याइदियो । थोरैमात्र समय बचाउन सक्ने उनको त्यसताकाको बाध्यतामा पनि आफूलाई सबल बनाउने खालका कथाहरु लेखेर आफ्नो जाँगर देखाएका छन् । यही नै उनको विशेषता हुन गएको छ । कथामा प्रौढ बान्की र शैलीमात्र होइन भाषामा मृदुलता र सरलता व्याप्त भएका उनका कथाहरु पढेर अहिले पनि तत्कालीन स्थितिको परिवेश नियाल्न सजिलो पर्छ ।
भारतका प्रसिद्ध कथाकार प्रेमचन्दबाट विशेष प्रभावित रहेका मैनालीले बंकिमचन्द्र चट्टोपाध्याय, रविन्द्रनाथ ठाकुर, शरतचन्द्र चट्टोपाध्यायका लेख रचनाहरु पनि मन लगाएर पढ्ने गर्थे भन्ने कुरा उनले कतै उल्लेख गरेको पाइन्छ । आदर्शोन्मुख यथार्थवादी कथाकारकै रुपमा सुपरिचित गुरुप्रसाद मैनालीले आधुनिक कथा लेखनका सम्बन्धमा आफ्नो परिभाषा यसरी व्यक्त गरेका छन् –“कालले गर्दा हाम्रो जीवन सारै सङ्घर्षमय भएको छ । त्यसो हुनाले अघि अघिका मानिसहरुझंै कथा काव्यका ठूला ठूला ठेली अगाडि राखेर दिनभरि आनन्दमा डुबुल्की मारिरहने समय हामी पाउँदैनौं । अब त हामीलाई थोरै समयमा धेरै मनोरञ्जन हुने वस्तु चाहिएको छ । जुन कुरा पढ्नाले मनलाई तृप्ति र फेरि त्यसमा केही रोचकता, नवीनता, केही आदर्श र केही तत्व पनि होस्, हामी त्यही कुरा खोज्दछौं । ती कुराहरु आजकालको कथा साहित्यमा पाइन्छन् ।” वि.सं. १९९७ मा नै गुरुप्रसाद मैनालीले आधुनिक कथाले संरचना गर्ने दृष्टि र धारणाका रुपमा विचार प्रस्तुत गर्नुका साथै केही लेखमा कथा लेख्दा ध्यान दिनुपर्ने विचार यसरी उल्लेख गरेका छन् –“(१) एउटा रीति कस्तो भने सबै कथानक घटनालाई एउटै पात्रले सुनाउँछ अर्थात् सबै पात्रहरुका कथानक घटनाको वर्णन स्वच्छन्दतापूर्वक एउटै पात्र या लेखकले गर्दै जान्छ । (२) दोस्रो रीतिमा कथामा जो जति पात्र छन् ती आफ्नो जटिल र संकटपूर्ण घटनाको वर्णन आ–आफै गर्छन् । यसमा चरित्र चित्रण गर्नु र पात्रहरुका मुखबाट समयोचित कुराहरु भनाउनलाई लेखकलाई बहुतै कठिन पर्छ । यस रीतिमा लेखक मनोविज्ञानको बहुतै ज्ञाता हुनुपर्छ । (३) तेस्रो रीतिलाई चाहिँ पात्र पद्धति भनिन्छ । यस रीतिले कथा लेख्दा सबै कथानक घटनाहरु पात्रद्वारा देखाइन्छ । पात्रहरु आफ्नो मनोभाव पात्रद्वारा व्यक्त गर्दछन् ।” उक्त लेखको अन्तिममा उनले कथाको मार्मिकता हुने स्थितिको व्याख्या यसरी गरेका छन् –“वास्तवमा तपाईंले लेखेका कथाको घटना, चरित्र चित्रण, शैली, भाव, भाषा यस्तो रोचक होस् कि पढ्नेहरुको हृदय प्रेम, करुणा, भक्ति र सहानुभूतिले परिपूर्ण भई त्यो कथा तिनीहरुलाई चीरस्मरणीय भइरहोस् ।”
सामाजिक यथार्थवादकै आधारमा कथा सिर्जना गर्न रुचाउने कथाकार मैनालीका कथाहरु सम्बन्धमा व्यक्त भएका धारणाले स्पष्ट गर्छ उनी कथा लेख्दा ज्यादै सचेत भएर मात्र कथा लेख्छन् । जीवन र जगत्प्रति आफ्नै दृष्टि र चेत भएका कथाकार गुरुप्रसाद मैनालीले आफूले कथा सोच्दा र कथा लेख्दा जहिले पनि आदर्शवादलाई रक्षा गर्नुपर्छ भन्ने सोच बनाएरै कथा लेखेको देखिन्छ र साहित्य लेख्नु भनेको नै सुधार गर्नु हो भन्ने उनको धारणा पाइन्छ । त्यसैले उनले आफ्ना कथाहरुमा पनि आदर्शलाई व्यक्त गर्न भरमग्दुर प्रयास गरेको देखिन्छ । यसर्थ भन्न सकिन्छ गुरुप्रसाद मैनाली आदर्शवादी दृष्टिचेत भएका कथाकार हुन् र उनका कथाहरुमा सुधारकै संकेत अभिव्यक्त भएका छन्, त्यसैले उनी सुधारवादी कथाकार पनि हुन् ।
कथाहरुमा आफ्नै ढङ्गको आदर्शवादी विचारकै नासो छोड्न सफल कथाकार गुरुप्रसाद मैनालीका नासोका भावनाहरु अझसम्म पनि सुरक्षित छन् र यही भावना–चेत्बाट उनले लेखेका कथाहरुबाट नै उनी जीवन्त पनि छन् । उनले लेखेका उत्कृष्ट कथाहरुमध्येमा परालको आगो कथामा व्यक्त भएका हरफहरु –‘गौंथलीले मुसुक्क हाँसेर भनी – भो नहाँस दिदी, फेरि कुन दिन कटाच्छे पर्ने हो । उस्, चाटाचाट गर्न पनि त बेरै लाग्दो रहेनछ नि, लोग्नेस्वास्नीको झगडा परालको आगो ।’ यस्तै कथाका हरफहरु कोर्न सिपालु गुरुप्रसाद मैनालीको वि.सं. २०२८ जेठ २५ मा देहावसान भए पनि नासोका प्रत्येक पानामा उनी सुरक्षित नै छन् र भोलि पनि सुरक्षित रहिरहने छन् भन्न सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0