सधैंभरि ह्वाङ्ग परेको धरती हेरेर, चुपचाप कलमबाट मसी पोखेर, स्वाभिमानलाई जुँगामा सिँगारेर, कुरा साँचो हो भनेर जीवनमा जीवन साँचेर बाँच्न जाँगर चलाएर जाने सुन्दर स्रष्टाको नाम भएको छ – हृदयचन्द्र । सरलताकै एउटा सुन्दर नाम – हृदयचन्द्र । स्वाभिमानकै अर्को विशेषता भइदिएका छन् – हृदयचन्द्र । अभावकै विरुद्ध जुध्न सिपालु एक जना कुशल योद्धा भएर गए – हृदयचन्द्र । छातीका करङहरु ह्वाङ्ग पारेर, इमान्दारितामा बाँच्न कष्टसँग सिंगौरी खेलेर, एक चिहानकै पर्याय बनेर, सत्य र न्यायमा जीवन घोलेर जीवनक्रमहरु गुजार्दै दुःखसँग जुधेर जाने एकजना सिर्जनाधर्मी, दुःखका मर्मज्ञ साहित्यकार हुन् – हृदयचन्द्र ।
मनको सँघारभित्र शीतको चिसो स्याँठ खपेर, आँखाका परेलीभित्र उकुसमुकुसका उल्झनहरु राखेर, हृदयमा चोखो भावना र हेराइमा सुन्दर चाहना साँचेर, कहिले स्वास्नीमान्छेसँग मन दुखाएर, कहिले गंगालालको चिता ह्वारह्वार्ती बलेको छेउ लागेर हेरेर, भूस्वर्ग दुखेकोमा उसको आँसु बहाइसँग उनी पनि आँसु बगाउने गर्छन् । कीर्तिपुरको युद्धमा हृदयचन्द्र अफसोस मान्छन् र हृदयचन्द्रका केही कथाहरुमा आफै अनुभूत गरेर, ऐसा मैं सोचता हुँ भनेर जीवनका सत्यतथ्य प्रसङ्गहरु खोल्ने गर्छन् । यस्तो म सोच्दछु पछि रामप्रसाद ज्ञवालीद्वारा अनुवाद भएको छ ।
नाटक लेख्न सिपालु, नाटक हेर्न रमाउने हृदयचन्द्रले थुप्रै खालका कष्ट जीवनमा भोगेर पनि केही नेपाली नाटकमा सूक्ष्म दृष्टि लगाउँछन् र साहित्य ः एक दृष्टिकोण भनेर आफ्नो मत–अभिमत जाहेर गर्न तम्सिन्छन् । त्यति मात्र होइन नेपाली काव्य र उसका प्रतिनिधि कवि छाम्दै भानुभक्त ः एक समीक्षामा आफ्नो तिखो दृष्टिचेत् फुकाउँछन् । धरतीका श्रमपुत्रहरुलाई उनी मन र आँखामा राखेर, उनी देवता हुन् भनेर आफ्नै शब्दशुद्धिविज्ञानमा राखेर शिशु शिक्षणकला सिकाउन पनि सक्षम हृदयचन्द्रले शब्दशुद्धि विचार पोखेर तीस रुपियाँको नोटको कल्पना पनि आफ्नो अभिव्यक्तिमार्फत् पोखेका छन् र चिह्न परिचयको उद्बोधन फुकेका छन् ।
साहित्यस्रोतको खोजीमा २००४ सालदेखि सक्रिय हृदयचन्द्रले २१ वर्षको उमेरमा नै शारदा पत्रिकामार्फत् मातृस्नेहका हरफहरु कोरेका हुन् । साहित्यको अर्थ, साहित्यको पहिचान खोल्न र खुलाउन नै गाह्रो र विषम परिस्थितिमा साहित्यस्रोतको सम्पादनमा जुटेर आफ्नो साहित्यिक लगाव फुकाउन सक्षम लेखक हृदयचन्द्रले जागरणको उद्घोष गरेर २००७ सालमा नै विचार सम्प्रेषण गरेको देखिन्छ । यसै कारणले जागरण फुक्ने अभियन्ता सम्झेर राणाशासकहरुले चिसो जाडो महिनामा ४४ दिनसम्म नेल हतकडी लगाएर दमका रोगी हृदयचन्द्रलाई हृदयहीन राणाहरुले सिंहदरबारको कालकोठरीमा शासना दिएका हुन् । पछि नख्खु जेलमा ३१ दिनसम्म थुनेर जागरणका पूजारी हृदयचन्द्रलाई राणाहरुले आफ्नो आततायी व्यवहार देखाएर सोझा, अति सरल लेखकको मनमा चोट थपिदिएका हुन् । पछि प्रजातन्त्रको प्राप्तिपछि पनि जनचेतना बाँड्दै सक्रिय रहेका हृदयचन्द्रले नेपाल पत्रिकाका माध्यमबाट आफू पनि संस्थापक–सम्पादक रहेर आफ्नो मातृभाषा नेपालभाषाको पनि दिल फुकाएर सेवा पु¥याएका छन् ।
दुःखका अनगिन्ती पहाडहरु छिचोलेर आफूलाई जनपक्षीय साहित्यकारका रुपमा प्रतिस्थापन गर्न सफल हृदयचन्द्र सिंहले वि.सं. १९७२ फागुन ४ गते मरुहिटी, काठमाडौंको मध्यमवर्गीय परिवारमा पिता सूर्यप्रसादसिंह र माता सूर्जमाया प्रधानका सुपुत्रका रुपमा जन्म पाएका हुन् । शारीरिक अस्वस्थताका मार्मिक पीडाहरु बाल्यकालदेखि भोग्दै आएका यिनी दम रोगीका साथै पछि टीबी रोगीसम्म भई निकै कष्टसाध्य कहरहरु भोगेर ४४ वर्षको अल्पायुमै वि.संं २०१६ साल माघ १० गते देहत्याग गरेका हुन् । कहिल्यै पनि आराम गर्न नपाएर, दमको स्वाँस्वाँ र फ्वाँफ्वाँमा आफूलाई भुलाएर, भक्कानिएर फुट्लाजस्तो छातीलाई तकियाले न्यानो दिएर पनि साहित्यको कुरा गर्न नथाकेका साहित्यकार हृदयचन्द्रसँग समकालीन उनका मित्रहरु सबैजसो प्रवाहित छन् ।
व्यवहारमा सरल, आस्था र विश्वासका दृढ यिनी साहित्यिक सिर्जनामा जस्तोसुकै आपत्विपत् आएता पनि संघर्ष गर्दै जुझिरहेको उनको जीवन अत्यन्त मार्मिक र हृदयस्पर्शी छन् । कुनै पनि खालको लोभ र लालचमा नलत्रिइकन निरन्तर सिर्जनामा रमेर यिनले उपन्यासका दुई, कथाका दुई, नाटकका पाँच, समीक्षाका पाँच, भाषा व्याकरणका पाँचवटा पुस्तक पाठकसमक्ष छोडेर गएका छन् । सबैजसो पुस्तकहरुमा ‘कला जीवनका निम्ति’ भन्ने भावधारालाई आत्मसात गरी आफ्नो साहित्यिक अनुभूति पोखेर गएका जनताकै साहित्यकार हृदयचन्द्र प्रधानले छोरोसित कवितामा आफ्नो दृढता यसरी छोरोलाई पोखेर गएका छन् ः
मेरो छोरा ! तँ जन्मेको संसार, अझ देश
केही सुन्दर सजिलो भइसकेको छैन
मनुष्यहरुको मूल्य थाहा पाउने
महान् आत्माहरुको बलिदानले
फुलिरहेको सभ्यता
एकाध स्वार्थीहरुको दाउपेचले डढ्दैन
बढ्दै गइरहेको संसारको असजिलोपनाले
भइरहेको सुखशान्तिको मृत्यु देखेर
मेरो अशक्त र रोगी जीवनमा पनि
युद्ध गर्ने संकल्प जन्मिरहेको छ ।
मान्छे मात्रका लागि सुखशान्ति होस् भन्ने चाहना बोकेर साहित्य क्षेत्रमा समर्पित साहित्यकार हृदयचन्द्रले विषमताकै विरुद्ध प्रत्येकजसो आफ्ना लेख रचनामा विरोधको हुँकार फुकेका छन् । उनले नेपाली, नेपालभाषा र हिन्दीमा समेत कलम चलाएर, निबन्ध, समालोचना, कथा, उपन्यास, नाटक, कविता र व्याकरण विधामा हात हालेर आफूलाई नेपालका अग्रणी साहित्यकारका रुपमा स्थापित तुल्याएर गएका छन् ।
उदाहरणका धनी लेखक हृदयचन्द्रले लेखकहरु मार्गनिर्देशक, ज्ञानदाता हुुनुपर्ने चेतना बोल्छन् र त्यसैले उनी आफ्नो सटिक विचार यसरी पोख्छन् –“लेखकको व्यक्तित्व लेखमा आउनैपर्दछ भन्ने मेरो राय छ । यसरी लेखक पथभ्रष्ट भएर लेख्न थाल्यो भने उसको व्यक्तित्वको असर लेखमा पनि पर्दछ ।” व्यवहारमा एक थोक र लेखनमा अर्को थोक गर्ने लेखकहरुका लागि हृदयचन्द्रका माथि उल्लेख भएका चेतनाका सन्दर्भहरु पर्याप्त छन् ।
उनले सबैजसो विधामा मात्र लेखेनन्, मातृभाषा नेपालभाषा र छिमेकी देशको भाषा हिन्दीमा समेत लेखेर आफ्नो पहिचानमा सुन्दर रङ्ग थपेका छन् ।
यिनका सन्दर्भमा २०१८ सालमा नै प्रकाशित साहित्य पत्रिकामा यसरी परिचय गराइएको छ –“नेपालमा आधुनिक जनवादी साहित्यको जग बसाल्ने र गारो लगाउने साहित्यकार ।” साहित्यकार रमेश विकलले यिनका सम्बन्धमा यसरी विचार व्यक्त गरेका छन् –“यो पुड्को व्यक्ति यति अग्लो व्यक्तित्वको नेपाली साहित्यको एउटा कालखण्डको प्रगतिशील साहित्य फाँटलाई प्रभावित तुल्याउने उचाइमा कसरी पुग्न सकेको होला ?” गोविन्द भट्टको विश्लेषणमा हृदयचन्द्र प्रधान एक उत्कृष्ट जनवादी साहित्यकारको रुपमा प्रतिष्ठित हुन पुगे । आनन्ददेव भट्ट लेख्छन् –“जनमुखी प्रतिभा सम्पन्न साहित्य महारथी श्री हृदयचन्द्र सिंह प्रधान नेपाली जनमानसका एक श्रद्धाका केन्द्र हुन् ।”
सरल जीवन र उच्च विचारका प्रतीक, स्वाभिमानका उदाहरणीय व्यक्तित्व, संघर्षशील जीवनका योद्धा, प्रतिभाशाली चिन्तक, चेतनाका अगुवा हृदयचन्द्रसिंह प्रधान देशकै यिनेगिनेका स्रष्टाहरुमध्ये सुन्दर साहित्यिक प्रतिभा हुन् । थोरै मात्र यस्ता खालका साहित्यकारहरु जन्मिन्छन्, जो व्यवहारमा पनि जनपक्षीयता आफ्नो मन, वचन र कर्ममा झुण्ड्याउँछन् । चन्द्रप्रसाद भई नेपाली धरतीमा जन्मेका हृदयचन्द्र दुःखी, गरीब जनमनका साहित्यिक चन्द्र पो भई ज्ञान बाँडेर गए, जो इतिहासमा सधैं अविस्मरणीय, विशिष्ट साधकका रुपमा प्रख्यात छन् । उनकै सम्झनामा उनका हरफहरुमा यहाँ सबै खालका साहित्यकारहरुका लागि उपयुक्त सम्झेर उल्लेख गरिरहेछु –“विचारशून्य कृति त सुन्दर मूर्दा मात्र हो । कृति वा काव्यमा कलाका प्रयोजन त कलाकै मात्र होइन, उपादेयतालाई हृदयङ्गम गराई मानव समाजलाई सत्य र सुन्दरतिर लैजाने पनि उसको प्रयोजन हो ।” भाषा साहित्यमा जीवन दिएर गएका हृदयचन्द्रले जीवनलाई सङ्घर्षमा राखेर योगदान दिए तर स्वाभिमानलाई गिर्न दिएनन् । यिनलाई आपत र अप्ठेरो पर्दा सर्वमान्य राजनीतिज्ञ गणेशमान सिंहले पु¥याइदिएको योगदान अविष्मरणीय छ ।
मैले सङ्गत गर्न नपाएका तर मलाई मनपरेका साहित्यकारहरुमध्ये पनि मनपरेका साहित्यकार हुन् – हृदयचन्द्रसिंह प्रधान । त्यसैले मेरो सक्रियतामा ‘हृदयचन्द्र स्मृति प्रतिष्ठान’ को संस्थापन पनि भयो । यसै प्रतिष्ठानबाट साहित्यकार हृदयचन्द्रसिंह प्रधानका हिन्दीमा प्रकाशित निबन्धसङ्ग्रह ‘ऐसा मैं सोचता हूँ’ को नेपालीमा अनुवाद ‘यस्तो म सोच्दछु’ रामप्रसाद ज्ञवालीले गरेको अनुवाद प्रतिष्ठानले छाप्न पाएको छु । उक्त पुस्तकको भूमिकामा समालोचक तथा लेखक रामप्रसाद ज्ञवालीले ‘नेपाली चिन्तकहरुका तर्फबाट विश्वलाई दिइएको विशिष्ट दार्शनिक ग्रन्थ हो’ भनि लेखिदिएको छ । लेखक हृदयचन्द्रको विचार–शक्ति लेखनकलाको गाम्भीर्यता कति तिखो र सटीक छ यस पुस्तकको पङ्क्ति–पङ्क्ति नै साक्षी हुन सक्छ ।
यसै प्रतिष्ठानमार्फत् लेखक हृदयचन्द्रसिंहका एक्लो सुपुत्र सुप्रदचन्द्र र बुहारी शान्ति चिन्न पाएको हुँ । यसैगरी कृष्णचन्द्रसिंह प्रधानसँग पनि आत्मीयता थपिंदै गएको हो । ‘कुरा साँचो हो’ पुरानो पुस्तक मेरो बाले पढ्दै आएको पुस्तक मसँग भएकोले कृष्णचन्द्रदाईलाई दिएको थिएँ । पछि अर्को संस्मरणमा साझा प्रकाशनले प्रकाशन गरेको देखिन्छ । पुरानो पुस्तक कृष्णदाईबाट फिर्ता आएन । एकजना लेखकलाई हृदयचन्द्रको नाम गरेर दिने सम्मान प्रत्येक वर्षमा जनमतबाट प्रदान गर्ने गरी प्रतिष्ठानसँग भएको रकम रु.१,२५,०००।– जनमतलाई प्राप्त भयो । यसैगरी ब्याजबाट एकजना उत्कृष्ट लेखकलाई सम्मान प्रदान गर्ने गरी ‘हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान’ को नाम स्थापना भयो । र प्रत्येक वर्ष हृदयचन्द्रसिंह प्रधानको फोटोमा माल्यार्पण गरी कार्यक्रम सुरु गर्ने परम्पराको पनि थालनी भयो । मलाई सबभन्दा बढी मनपरेको लेखक ‘हृदयचन्द्रसिंह प्रधान’ को नाममा सम्मान गर्न पाउँदा गौरववोध पनि भयो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |