परशु घिमिरे
श्रीस्वस्थानी कथामा सतिदेवीको अंगपतन भएको भनिएको प्रसिद्ध चामुण्डा मन्दिर पाँच रोपनी क्षेत्रफलमा बनेको छ । मन्दिर २०३८ सालमा पुनर्निर्माण भएको हो । सत्ययुगमा दक्ष प्रजापतिकी पुत्री सतिदेवीको मृत शरीर माहादेवले बोकेर हिँड्दा, जहाँ जहाँ अंगपतन भयो, त्यहाँत्यहाँ एउटा एउटा शक्तिपीठ उत्पन्न भएको कथा श्रीस्वस्थानी पढ्न पाइन्छ । त्यही अंगपतन हुने क्रममा नेपालको जोरपाटीमा सतिदेवीको नङ पतन भएकाले त्यस स्थानको नाउ चामुण्डा रहन गएको भनिन्छ । चामुण्डा दवी पनि शक्तिपीठहरूमध्येको एउटा पीठ हो । हेर्दा हातको नङ जस्तो देखिने भगवतीको शिलामा देवी स्वरूप बनाएर नित्यपूजा गर्ने गरिन्छ । वर्षको दुईपटक बडादशै र चैतेदशैमा विशेष भीड लाग्ने उक्त मन्दिरमा टाढाटाढादेखिका भक्तजनहरू आउँछन् । नवरात्रीभरि बिहानैदेखि निकै टाढादेखि भक्तजनहरू दर्शन पूजा गर्न आए पनि बत्तीमुनि अँध्यारो भनेजस्तै राजधानीमै भएका चामुण्डको मन्दिर छायाँमा परेको छ । जोरपाटी चोकबाट झन्डै दुई सय मिटरको दुरीमा रहेको यस चामुण्डा मन्दिरसँगै गणेशको मन्दिर पनि छ । यसको विशेषता झनै अच्चमलाग्दो छ । सुनिएअनुसार पहिला कुनै समयमा एकजना घिमिरे ज्योतिष थिए, उनको नाउँ जगनाथ घिमिरे हो । उनै घिमिरे जोतिषले गणेश सिद्धि गरेका थिए भनेर स्व. कालु गुरु अर्थात् चिरञ्जीबी अर्याल गुरुले भन्ने गर्नुहुन्थ्यो । मन्दिरभन्दा सात फिट तल खन्दा पनि त्यसको छेउ भेटाउन सकिएन । जति तल गयो त्यति नै फराकिलो भएपछि त्यसलाइ खन्न छाडियो रे अनि राति सपनामा गणेशले दर्शन दिए रे । पहिला सेतो ढुंगा मात्र थियो पछि त्यही ढुंगामा गणेशको आकृति देखिदै गयो भन्ने भनाइ अहिले पनि सुन्न पाइन्छ । २०४१ सालदेखि प्रत्येक वर्ष चैत्र अष्टमीका दिन चामुण्डा, गणेश र भैरवको रथ घुमाउने गरिन्छ । हजारांैको सख्यामा भक्तजनहरूको उपस्थित हुन्छन् । त्यसदिन पञ्चबलि पनि दिइन्छ भने रथलाई जोरपाटीका विभिन्न भागमा परिक्रमा गराई अन्त्यमा मन्दिरमा ल्याएर राखिन्छ र त्यहाँ दिएको पञ्चबलिको प्रसाद सबै भक्तजनलाई बाँडिन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |