परशु घिमिरे
प्राचीन मिथिला राज्यको सीमा पूर्वमा कोसी पश्चिममा गण्डकी (नारायणी) र उत्तरमा हिमालय अर्थात् महाभारतको वनसम्म हो भन्ने उल्लेख पाइन्छ भने दक्षिणी सीमा गंगा भनिएको छ । बौद्धकालमा बैशाली गणराज्यको रूपमा प्रसिद्ध थियो । वैभवयुक्त उक्त बैशाली नगर गंगाको उत्तरतर्फ अवस्थित भएको कुरा बौद्धग्रन्थहरूमा उल्लेख छ । यसै कारण माथि उल्लिखित प्राचीन मिथिलाको क्षेत्रभित्र नै बैशाली पनि पर्दथ्यो । पछि आएर बैशाली र विदेहको राज्य सीमा कसरी विभाजित भयो भन्ने कुराचाहिँ भन्न सकिँदैन । त्यस्तै पछिल्लो कालको तीरभुक्ति (तिरहुत) को सीमांकन गर्न पनि त्यति सजिलो छैन । वाल्मीकिय रामायणअनुसार पनि सीरध्वज जनक निमि वंशका थिए । उनका भाइ कुशध्वज पहाडी क्षेत्र संकाश्यका राजा थिए । संकाश्य मिथिलाको उत्तरतर्फ रहेको संकेत पाइन्छ । वाल्मीकिय रामायणमा रामको वंशलाई इक्ष्वाकु वंश र जनकको वंशलाई इक्ष्वाकुसँग नजोडेर विदेहवंश भनिएको छ । निमि इक्ष्वाकुवंशी भए तापनि विदेघ मालवको उत्तरधिकारी भएकाले सूर्यवंशी वा इक्ष्वाकुवंशी भन्ने उल्लेख नभएको हुनुपर्छ । तर सूर्यवंश जस्तै पुुरानो मिथिला राजवंश पनि भएकाले यस राजवंशका प्रतिष्ठा पनि सूर्यवंशसरह नै रह्यो । निमिलाई देह नभएकाले विदेह भनेको जस्तै उनको शरीर मथेर निस्केको बालक मिथि र जनक एउटै नाउँ रहेको कुरा पुराणहरूमा आएका छन् । निमिपुत्र मिथि र उनक छोरा जनक भएको र उनका पनि छोरा अथवा उत्तरधिकारीहरू सबै राजालाई जनक भनिने गरेको कुरा रामायणमा उल्ल्ोख छ । पौराणिककालसम्म पनि विदेहको राजधानी मिथिला थियो । सदानीरा अर्थात् नारायणी नदि जुन बेलादेखि कोशल विदेह राज्यको सीमा भएर बस्न थाल्यो त्यसै समयदेखि गण्डकीदेखि पूर्वको प्रदेश विदेह राज्यअन्तर्गत रहन पुग्यो । पछि ऐतिहासिक कालमा विदेह वा मिथिला राज्य तिरभुक्ति अर्थात् तिरहुतका नामले प्रसिद्ध भयो र एघारौँ शताब्दीको प्रारम्भदेखि नै तिरहुत राज्यको राजधानी हुने सुअवसर सिम्रौनगढलाई प्राप्त भयो । मिथिलाको पुरानो राजधानी कहाँ थियो भन्ने बारेमा निश्चित रूपमा केही भन्न सकिएको छैन । परन्तु पछिल्ला कालमा जनकपुर नामको सहरलाई मिथिलाको राजधानी हुने सुअवसर प्राप्त भएको प्रसंग प्राप्त छ । त्यसैले मिथिला क्षेत्रको लगभग मध्यभागमा अवस्थित आजको जनकपुर नै प्राचीन जनकपुर हो वा अन्यत्र कतै उक्त जनकपुर रहेको थियो भन्ने कुरा खोजीकै विषय भएको छ । जनकपुरभन्दा केहीप् पश्चिममा रहेको सिम्रौनगढको अध्ययन गर्दा त्यस क्षेत्रको विविध स्थानमा प्राचीन सभ्यताका चिह्नहरू रहेका पाइन्छन् । अतः प्राचीनकालदेखि नै दुर्गको रूपमा रहेको मिथिला क्षेत्रको राजधानी हालको सिम्रौनगढ क्षेत्रमै हुन सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन । तिरहुत तिरभुक्ति प्राचीन विदेह क्षेत्रकै नाम थियो । जसलाई सदानीरा या गण्डकी नदीले कोशल राज्यसँग पृथक् गरेको थियो र यसको राजधानी मिथिला थियो । जो वर्तमान सिम्रौनगढसँग सम्बन्ध राख्दछ । ब्राह्मणकालभन्दा पनि पूर्व विदेह सु–संस्कृत भइसकेको थियो । शतपथब्राह्मणका अनुसार विदेहमा आर्य–संस्कृतिको प्रथम प्रवर्तकका रूपमा विदेघ मालव देखिन्छन् । जसले प्रतीच्य भागबाट ज्ञानको ज्योति ल्याएर यहाँ जगाएथे । विदेहको कोशलका साथै कहिलेकाहीँ काशीका साथ संयुक्त उल्लेख पाइन्छ । पञ्चविशं (२५–१०–१२) ब्राह्मणमा विदेहका राजा निमि साप्यको उल्लेख छ । वैदिककालदेखि बौद्धकालसम्म विदेह राज्य वैदिक संस्कृतिको महान् केन्द्रका रूपमा रह्यो । महाभाष्यले विदेहका राजालाई वैदेह भनेको छ । एक अर्काे ठाउँमा विदेहलाई संघ राज्य अन्तरंग राखेको उल्लेख छ । जसबाट यो कुरा स्पष्ट हुन्छ कि बौद्धकालसम्ममा विदेह पनि संघ राज्ये भइसकेको देखिन्छ । प्रारम्भमा यो राज्य विदेहको नामबाट जानिन्थ्यो भने पछि आएर मिथिलाको नामले यो प्रख्यात भयो । विदेह वा मिथिला क्षेत्रलाई गुप्तकालका अभिलेखमा तिरभुक्तिको नामबाट सम्बोधन गरिएको छ । त्यसबेला भुक्ति शब्दले राज्यलाई जनाउँदथ्यो । भुक्ति र राष्ट्र एक अर्काको पर्यायका रूपमा प्रयोग गरिन्थे । गुप्तकालमा उत्तर भारतका केही प्रसिद्ध राज्यहरू भुक्तिका नामले प्रसिद्ध थिए । गुप्तकालका कतिपय शिलालेखहरूमा यस प्रकारको उल्लेख आएको छ । ई.स. १९५१ मा अहिक्षेत्रको उत्खननबाट प्राप्त गुप्तकालीन माटाको एउटा छापमा ‘श्री अहिच्क्षत्रा भुक्तौ कुमारामात्याधिकरणस्य’ भन्ने लेख प्राप्त भएको छ । त्यस्तै श्रावस्ती भुक्ति र मगध भुक्तिको उल्लेख अन्य केही गुप्त अभिलेखमा आएको छ । लिच्छवीकालको एउटा अभिलेखमा पनि नेपाल राष्ट्र भन्ने अर्थमा नेपाल भुक्ति भन्ने शब्द प्रयोग भएको छ । यसैगरी तिरभुक्तिको उल्लेख मध्यकालसम्म पनि राज्यकै प्रसंगमा आएको छ । गुप्त अभिलेखअनुसार गंगाभन्दा दक्षिणपट्टीको राज्य मगध भुक्ति र गंगादेखि उत्तरको राज्यलाई तिरभुक्ति भनिएको छ । भुक्ति एक पारिभाषिक क्षेत्र विषयको उपाधि मात्र नभएर राज्य वा राष्ट्रको पर्याय पनि हो । राज्य वा राष्ट्रले भोग गरेको क्षेत्र जस्तै भोग इती भुक्तिको अर्थमा प्रयुक्त भएको यो शब्दले, कोसी, गण्डकी र गंगाको तिरसम्म भोग (सीमा) भएकाले यस क्षेत्रको नाम तिरभुक्ति भएको भन्ने उल्लेख पाइन्छ । यसरी पछिल्लो कालसम्म आइपुग्दा तिरभुक्ति नै तिरहुतको नामले लोकभाषामा युक्त हुन थाल्यो र कालान्तरमा यो प्रदेश तिरहुतका नामले प्रख्यात भयो । प्राचीनकालदेखि नै तिरभुक्ति अर्थात् तिरहुत राज्य हिन्दु धर्म दर्शन र कलाका लागि प्रसिद्ध थियो । यस कुराको चर्चा ई.स. १२३६ ताका तिरहुतको राजधानी सिम्रौनगढ पुगेका तिब्बती विद्वान धर्मस्वामीेले पनि गरेका छन् । दुर्भाग्यवश अहिलेसम्म यहाँका ऐतिहासिक एवं पुरातात्विक स्थलहरूको विधिवत् रूपमा विशेष खोज र अनुसन्धान हुनसकेको छैन । तर पनि यताका विभिन्न ठाउँहरूमा असुरक्षित ढंगले छरिएर त्यसै अलपत्र परेर रहेका अनेक पुरातात्विक अवशेषहरूले यस क्षेत्रका गौरवमय वैभवलाई दर्शाइरहेका छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |