मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक
वि.सं. १९८६ भदौ १२ गते कुशेऔंसीका दिन काठमाडौं टङ्गाल, भन्सारहिटिमा जन्मेका कमलमणि आचार्य दीक्षितको साहित्यिक नाम हो कमल दीक्षित । विद्वान् परिवारमा जन्मेका अनन्य भाषासेवी कमलमणिका बराजु, बाजे, बाबुले मात्र पुस्तक लेखेनन्, कमलमणि र उनका श्रीमती, छोरा–छोरी, बुहारीहरु समेतले पुस्तक र अक्षरको माया गरेको देखिन्छ । उक्त परिवारको नेपालीभाषा–साहित्यप्रतिको मोह भाषा–साहित्यकै पृष्ठभूमिमा गौरवपूर्ण र उल्लेखयोग्य रहेको देखिन्छ । यस्तै उल्लेखयोग्य विद्वत परिवारमा जन्मेका कमलमणिले उचित वातावरण पाएर नेपाली भाषा साहित्यको उत्कृष्ट सेवा गरे । नेपाली भाषा साहित्यका मन्दिरका रुपमा मदन पुस्तकालय नाम दिइएको महत्वपूर्ण सङ्ग्रहालय चलाएर, २०१६ सालदेखि नेपाली त्रैमासिक अनुसन्धात्मक साहित्यिक पत्रिका नियमित रुपले सञ्चालन गरेर, विख्यात र सुप्रसिद्धता कायम भइसकेको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारको सञ्चालक रहेर, वर्षमा २ वटा निबन्धका पुस्तकहरु प्रकाशित गराएर, मान्नुपर्नेलाई सम्मान गरेर, माया गर्नुपर्ने साहित्यकारहरुलाई माया गरेर, स्वाभिमानी ढङ्गले भाषा–साहित्यको सेवा गरेर गएका कमलमणि दीक्षित नेपालकै लागि गौरव हुन् । मलाई लाग्छ, उनी कसैको दुश्मन हुन सक्दैन । भूलवश कसैले दुश्मन हुन् भनी सोचिदिए पनि आखिरमा होइन साबित हुन्छ ।
जीवनलाई नै साहित्य सेवामा समर्पित गरेका यिनी पुस्तकालयमा नेपाली पुस्तकहरु थप्न पाउँदा खुसी व्यक्त गथ्र्यो । कपीमा नाम÷नम्बर चढाउने गथ्र्यो । वैज्ञानिक ढङ्गले सूचीकृत गर्न पाउँदा र आफ्नो महत्वपूर्ण दैनिकीजस्तो गौरव मानेर पुस्तकालयको छिँडी र कोठा ढुक्ने गथ्र्यो । प्रष्ट विचार राखिहाल्ने, मरमुलाहिजा नगर्ने, चित्त नबुझेको कुरामा इन्कार गरिहाल्ने, कमलमणि सरलमा सरलजस्ता देखिँदा छन् त्यस्तै बाङ्गालाई बाङ्गाजस्तै पनि देखिन्छन् । अनन्य भाषासेवीका रुपमा प्रसिद्धि कमाएका कमलमणि निबन्ध लेखनमा आफ्नै शैली र वैशिष्टता अभिव्यक्त गर्न सक्षम थिए । यिनी सशक्त निबन्धकारका रुपमा चिनिएका निबन्धकार पनि थिए । नेपाली भाषा साहित्यका उल्लेखयोग्य अन्वेषक र प्रतिष्ठित साहित्यकार कमल दीक्षितका करिव ६० वटा मौलिक कृति र २२ वटाभन्दा बढी सम्पादित कृतिहरु प्रकाशित भएका छन् । जीवन नै वाङ्मयको सेवामा समर्पित गरेर गएका लेखक कमल दीक्षितका सेवाहरु कमलकै फूलजस्तो झनझन चोखो, सुन्दर हुँद गएको कुरा छलङ्ग हुँदै आएको छ । आस्था र विश्वास मान्छेका आ–आफ्ना प्रकारका हुन्छन् । कमल दीक्षितका आस्था र विश्वास पनि आफ्नै ढङ्गका होलान् तर मान्छेलाई जाँच्ने उसको व्यवहारले हो । यिनको भाषा, साहित्यप्रतिको व्यवहार उत्कृष्ट छन्, त्यसैले कमल दीक्षित कमलझैं सुन्दर छन् । मलाई भन्न मन लाग्छ यिनी नेपालीभाषा–साहित्यका ‘इन्साइक्लोपेडिया’ नै हुन् ।
“सहितस्यभावः साहित्य । आकर्षण गर्ने साहित्य, विकर्षण गर्ने साहित्य हो मेरा लागि” (जनमत २०५२ जेठ–असार अङ्कमा प्रकाशित कमल दीक्षितको अन्तर्वार्ताबाट) भनेर साहित्यको परिभाषा गर्न रुचाउने उनले साहित्य प्रेम र सेवामा गौरव गरेर आफ्नो मूल्याङ्कन गर्दै साहित्यिक यात्रामा खुशी व्यक्त गर्दै लेखेका छन् –“धेरै थोक पाएको छु । आत्मसन्तुष्टि पाएको छु । यत्रो नाम पाएको छु । भन्नोस् त, कमल दीक्षितले पाएजति नाउँ कतिजना दीक्षितले पाएका छन् ? कमल दीक्षितले पाएजति नाउँ कतिजना नेपालीले पाएका छन् ? कमल दीक्षित भन्नेबित्तिकै नेपाल अधिराज्यभरि चिन्छन् । यो सस्तो प्राप्ति हो र ?” (समकालीन नेपाली साहित्य, २०५७ असोजबाट)
वि.संं. २००० सालमा उदयमा प्रकाशित पुतली कविताबाट साहित्ययात्रा प्रारम्भ गरेका यिनी साहित्यिक यात्रामा कुशल सम्पादक, लगनशील अध्येता, अन्वेषक, प्रख्यात निबन्धकार, कुशल भाषासेवीका रुपमा प्रख्यात भएर गएका छन् । ‘लक्ष्मी र सरस्वती एकै ठाउँमा रहन सक्दैन’ भन्ने भनाइमा सत्यता नहुन सक्छ कि भन्ने प्रश्न कमल दीक्षितको जाँगर र जीवनले देखाइदिएर गएका छन् । उत्साह र जाँगरले मान्छेलाई जीवन्तता प्रदान गर्छ । कमल दीक्षितकै जाँगर र उत्साहले थुप्रै सामाजिक साहित्यिक सङ्घ–संस्थामा रहेर पनि उनले आफूलाई कतै–कहिल्यै सुस्त र शिथिल देखाएको देखिएन । उनी जहाँ रहे सवल र सव्रिmय ढङ्गले आफूलाई समर्पण गर्दै गएको देखिन्छ । समयको निकै ख्याल गर्ने उनको स्वभावले बाँचुञ्जेलसम्म नै जीवनमा ऊर्जा र शक्ति देखाएर गएको देखिन्छ । अध्ययनमा विश्वास राख्ने अध्ययनशील, नयाँ–नयाँ सोच र धारणा उब्जाइहाल्ने चिन्तनशीलका रुपमा पनि चिरपरिचित कमल दीक्षितले वि.सं. २००६ सालमा नै बनारस हिन्दू विश्वविद्यालयबाट बी.ए. अङ्ग्रेजी साहित्य उत्तीर्ण गरेका हुन् । तर पनि उनले आफ्नो जीवन दर्शनका आयामहरु भाषा र साहित्यका विभिन्न क्षेत्रहरुमा सधैं सम्प्रेषित गर्न रुचाए र त्यसकै परिणतिका रुपमा मुकुन्दराजबाट कमलमणि आचार्य दीक्षितहुँदै नेपाली भाषा साहित्यका कमल दीक्षित बन्न सफल भएको देखिन्छ ।
साहित्यकार कमल दीक्षितले नेपालीभाषा–साहित्यको निकै खोज अन्वेषण गरेका छन्, थुप्रै खोजेर पाएका कुराहरु उनले सार्वजनिक गरेका छन्, आफूलाई लागेका कुराहरु कसैकाबारे पनि निर्धक्क भई लेखेका छन् । यस्तो पनि देखि खोव्रmो कल्लीसम्मको पुस्तकमा थुप्रैको नालीबेली र आफ्नै पनि नानीदेखिको बानी खोलेका छन् । आफ्नै बकपत्र र अर्काको पोल खोल्न सिपालु लेखक कमल दीक्षितले जंगगीता, चन्द्रज्योति लेखेर राणाहरुको मर्म र व्यथामात्र खोलेका छैनन् आफ्नै पारिवारिक कथालाई नढाँटीकन जर्साहेबको खोपीमा, कौसीमा, दरबारमा बिताएका क्षणहरुलाई पनि उत्कृष्ट शैलीमा साहित्य बनाएर पोखेका छन् ।
एकसरो पृथ्वीको फन्को लगाइसकेका कमल दीक्षितले जीवनसँगिनी अञ्जु दीक्षितको आफ्नै ढङ्गको माया पाएर आफूजस्तै सबल ढङ्गका कुन्द, कनक र रुपा नामका छोराछोरीहरु पाएका छन् । अञ्जुको व्यथा मनमा साँचेर आफूसक्दो माया दिएर सेवाको भावधारा खन्याएर आफूलाई कृयाशील तुल्याउँदै गएका यिनी भाषा–साहित्यको सेवामा जस्तो आपद्मा पनि आफूलाई समर्पित तुल्याउँदै गएको देखिन्छ । केदारमणि दीक्षित र विद्यादेवी दीक्षितका छोरा भएर जन्मेका यिनी आफ्नै पूर्खाले साँचेका ज्ञानका भोक मेट्न सधैं लागिरहे । साहित्यिक सभा समारोहमा पुग्ने, सङ्घ–संस्थाको बैठकमा धाउने र मदन पुस्तकालय ढुक्ने स्वभाव र सव्रिmयताले गर्दा यिनलाई नेपालीभाषा–साहित्यका सबैजसो साहित्यकारहरुले चिन्छन् । यही पहिचान नै उनको वैशिष्टता पनि बन्यो ।
जंगबहादुरले नै नेपालको अस्तित्व रक्षा गरेको भनी विश्लेषण गर्न रुचाउने यिनका लागि पृथ्वीनारायण शाहपछि जंगबहादुर नै मन परेको सन्दर्भ निर्भीकतापूर्वक भन्ने गर्छन् र साहित्यकारहरुमा लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा र भूपि शेरचनलाई प्रिय साहित्यकारहरुका रुपमा स्वीकार्ने गथ्र्यो । निरन्तर भाषा–साहित्यका लेख रचनाहरु लेखेर, नेपालीभाषाका पुस्तकहरु सङ्ग्रह गरेर आफूलाई थाक्न नदिएका यिनी आफ्नो जीवनकालमा रानी जगदम्बाको गरिमामय समर्पणमा आस्था जनाउने गथ्र्यो । कमल दीक्षित ८७ वर्षसम्म बाँचे । आफ्नो जीवनकालमा पुस्तकालयमा नेपालीभाषाका पुस्तकहरु सजाउने, भेट्न आउने साहित्यकारहरुसँग आत्मीयता जनाउने, नेपाली पत्रिकाको सम्पादन गर्ने, सभा समारोह धाउने कार्यमा निकै जाँगर चलाएर गएको देखिन्छ । साहित्यलाई सहितस्यभावकै रुपमा अभिव्यक्त गर्नुपर्छ, कुनै पनि साहित्यले समाजलाई भलो नै गर्छ, कुभलो गर्दैन उनको दृष्टि छ । भानुभक्तको रामायण उनको निम्ति उत्कृष्ट कृति हो भन्ने उनकै लागि प्यारो लाग्ने उनकै कृतिहरुमा यस्तो पनि,बुईगल, जंगगीता र चन्द्रज्योति हुन् । सबैभन्दा मनपर्ने चीज किताब हो भन्न रुचाउने उनले सबै नेपाली लेखकहरुलाई अनुरोध यसरी गरेका छन् – “हरेक नेपाली कवि लेखकहरुले एउटा एउटा किताब लेखिदिउन् । जहिले नेपाली भाषाका किताबहरुको सङ्ख्या एक लाख पुग्छ, लाखौं नम्बरको किताब मदन पुस्तकालयमा दर्ता हुन्छ म त्यो दिन हर्ष र गौरवले उफ्रने छु ।” यस्तै भनाइ र उनको साधना र समर्पणलाई विश्लेषण गर्दा भन्न सकिन्छ – कमल दीक्षित प्रतिष्ठित साहित्यकार मात्र नभई उनी त एकजना इतिहासमा सधैं सम्झना गरिरहनुपर्ने एकजना अविष्मरणीय व्यक्तित्व पनि हुन् । यिनको अवसान २०७३ पुसमा भएको हो तर पनि सधैं सबैले सम्झनलायक साहित्यकारका रुपमा यिनी आफूलाई स्थापित गरेर जान सफल भए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |