मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक
कार्तिक १३ गते, १ः०० बजेतिर कार्यक्रम सुरु भयो । एउटा सुन्दर ग्रन्थको प्रकाशन । राम्रो कार्यका लागि उल्लेख गर्नलायकको गठबन्धनबाट सिर्जित बौद्धिक ग्रन्थ ‘भमरकोटका नवरङ्ग’ । भमरकोटमा जन्म पाएर आ–आफ्नो क्षेत्र र विषयमा उत्कृष्टता देखाउन सफल नौ भमरकोटे’हरुका सुन्दर कथाहरु यस ग्रन्थमा समेटिएका छन् । गठबन्धन भनेको सुन्दर कार्यका लागि प्रयोग गरिने विषय हो; भागबण्डामामात्र खाने सोच बनाएर गठबन्धन गरिंदा दुर्नियत भोग्नु पर्छ । मलाई लाग्छ – यस खालको गठबन्धनले व्यक्तिको व्यक्तित्वलाई उठाउँछ । मलाई लाग्यो यस खालको गठबन्धन हुनुपर्छ । यस खालको कार्यको अरुले पनि सिको गर्नुपर्छ । यस महत्वपूर्ण ग्रन्थको संयोजन गरेर तेजप्रकाश बानियाँ र दुर्गा अधिकारी ‘भमरकोटे’ ले निकै उच्च कार्य गर्नुभएको छ, जसको लागि श्रेय र बधाई भन्न चाहेँ । तिलकप्रसाद लुईंटेलको सम्पादन क्षमता पनि प्रशंसायोग्य छ । यसमा समेटिनु भएका आफू जन्मेको भूमिको स्मरण गर्ने कार्यमा सङ्लग्न मित्रहरु तेजप्रकाश बानियाँ, दुर्गा अधिकारी ‘भमरकोटे’, बलराम सापकोटा, दामोदर अधिकारी, डा. भरत लामिछाने, नरेन्द्रजङ्ग पिटर, रामशरण लुईंटेल, डा. सुधार अधिकारी, शङ्कर काफ्लेहरु सबै–सबैहरु धन्यवादका पात्र भएका छन् । भूमिको सम्झना गर्नु भनेको आफूलाई जन्मदिने माताको सम्मान गर्नु हो । यही र यस्तै सम्मान गरेर ‘भमरकोटेहरु’ले आफूलाई योग्य छोराका रुपमा देखाएका छन् ।
नरेन्द्रजङ्ग पिटर र बलराम सापकोटा दुईजना स्वास्थ्यको कारणले उपस्थित हुन नसकेको उक्त कार्यक्रममा सातैजना समाजसेवी, शिक्षासेवी, स्वास्थ्यसेवी मित्रहरुले हौसलापूर्ण आफ्ना अभिव्यक्तिहरु पोख्नुभयो । र मैले उक्त गौरवपूर्ण कार्यक्रममा आफ्नो मन्तव्यको क्रममा त्यस क्षेत्रका अत्यन्त महत्वपूर्ण कार्यहरु गरेर आफूलाई चिनाएर जानुभएका अग्रजहरुको सम्झना गर्दै भनेको थिएँ – “साहित्यमा कृष्णप्रसाद पराजुली, शिक्षामा टङ्कनाथ शास्त्री र राजनीतिमा राजेन्द्र खरेल हाम्रा विगतका सधैं सम्झना गरिराख्न मिल्ने यस क्षेत्रका उत्कृष्ट व्यक्तित्वहरु हुन् ।”
यस ग्रन्थमा समेटिनुभएका नौरङ्गी मित्रहरुमा ६ जनासँग मेरो नजिकको मित्रता छ अर्थात् सम्बन्ध छ, घटना–क्रममा जोडिनुभएका मित्रहरु हुनुहुन्छ । ती मित्रहरुमा तेजप्रकाश बानियाँलाई यसरी चिनाउन चाहन्छु – “धेरै प्रयत्न गरेर इन्जिनियरिङ्ग अध्ययन गर्न सफल मात्र होइन उहाँ सैनिकसेवामा आफूलाई होनहार व्यक्तित्वका रुपमा चिनाउनु भएर सहायक रथीसम्म हुनुभयो । सामाजिक सेवामा मात्र होइन ठाउँ–ठाउँमा धार्मिक संरचना बनाई दिनुभएर समाजमा सत्–धर्म छर्न पनि उहाँ सफल रहनुभएका थुप्रै प्रसङ्गहरु छन् । पूर्खौली पनि समाजसेवी भएको कारणले उहाँ समाजसेवा गर्न पाउँदा खुसी हुने गर्छन् । साहित्यिक अभियानमा पनि उहाँले राम्रो साहित्यिक संस्था र परिश्रमी व्यक्तिलाई आफूसक्दो सहयोग गर्नुभएको र आफूले पनि साहित्य लेख्दै आउनुभएको देखिन्छ । कविता र गीत विधा उहाँलाई मन परेको विधा मानिन्छ । जनमत मासिकका आजीवन ग्राहक रहनुभएका उहाँले जनमत वाङ्मय प्रतिष्ठानको अक्षयकोषका लागि रु.१०,०००।– सहयोग प्रदान गर्नुभएको छ । मलाई भन्न मन लाग्यो – “तेजप्रकाश बानियाँ भमरकोटका एकखालका रङ्ग बन्नुभएर राष्ट्रमा देखाउन मिल्ने नाम बन्नुभएको छ – शुभकामना छ ।” यतिमात्र नभई उहाँले करिव ३०सौं वटा समाज, कार्यालय, मन्दिर, पुस्तकालय, महासङ्घ, प्रकाशन, कलेज, मण्डली, मासिक, साप्ताहिक, प्रतिष्ठानहरुमा सहयोगी र सदस्य रहनुभएर बानियाँजीले थुप्रै अलङ्कार, पदक, विभूषण प्राप्त गर्नुभएको देखिन्छ ।
कलम र बन्दुक समाजन गर्न सफल व्यक्तित्व बानियाँको जन्म वि.सं. २०१० साल कार्तिक २६ गते भएको हो । केही गर्न पाउँदा गौरव गर्न रुचाउनुहुने, समाजसेवा परमोधर्म हो भन्ने मान्यता राख्नुहुने उहाँले फलको आशा नगरिकन ३० सौं वटा सामाजिक ठाउँहरुमा आफूसक्दो सहयोग गर्नुभएको देखिन्छ । दर्जनभन्दा बढी सामाजिक, धार्मिक, साहित्यिक सङ्घ–संस्थाहरु, पत्र–पत्रिकाहरुका आजीवन सदस्य हुँदै आउनुहुने तेजप्रकाश बानियाँ भन्ने गर्नुहुन्छ – “सामाजिक सेवा भनेपछि नाईं नभन्ने बानीले गर्दा दुःख त पाइन्छ । तर आफूले योगदान पु¥याएर सफल भएको सङ्घ संस्था, विषयवस्तु जे हो त्यो देखेर मिल्ने खुसी केहीसँग तुलना गर्न सकिन्न ।” यही भनाइले उहाँको उच्चता र परिचय कस्तो र के हो थाहा पाउन सकिन्छ ।
२) दामोदर अधिकारी – धेरै खालका ‘शिक्षा’ मा गतिविधि गर्न सफल उहाँले करिव ४० वर्ष शिक्षण पेशामा सङ्लग्न रहनुभई उहाँले आफूलाई ‘सुन्दर’, ‘सफल’, ‘इमान्दार’ शिक्षकका रुपमा काभ्रे जिल्लामा नै आफ्नो पहिचान देखाउन सफल हुनुभयो । तीनपिप्लेको विद्यालय र नालाको चण्डेश्वरी माविका प्रअ भई शिक्षणसेवा गर्नुभएका दामोदर अधिकारीले पछि सर्वमंगला मावि, पाँचखालमा २५ वर्ष १ महिना २६ दिन प्रअ र्भइ सेवा गर्नुभएको देखिन्छ । पाँचखालजस्तो निकै चेतनशील क्षेत्रमा त्यहाँको मुख्य विद्यालयमा २५ वर्षसम्म शिक्षणसेवामा नेतृत्व प्रदान गर्नु भनेको चानचुने कुरा थिएन । राष्ट्रिय शिक्षा पदक तथा प्रशंसापत्र प्राप्त गर्न सफल दामोदर अधिकारीले जिल्ला शिक्षा समितिका सदस्य भई २०५३ सालदेखि पटक–पटक गरी १५ वर्षसम्म सदस्य भई सेवा पु¥याउनुभएको देखिन्छ । क्षेत्रीय शिक्षा निर्देशनालयबाट सञ्चालन भएका प्राथमिक तालिममा, अंग्रेजी विषयको शिक्षण तालिममा पनि उहाँ प्रशिक्षक भई सेवा गर्नुभएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनले चलाएको हक–हीतको आन्दोलनमा पनि निकै सक्रिय भई लाग्नुभएका अधिकारी १८ दिनसम्म थुनिनु पनि भयो । वि.सं. २०४९ मा एक अवधिका लागि काबा अध्यक्ष भई आन्दोलनरत उहाँ २०५६ सालदेखि २ कार्यकाल नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सचिव भई राष्ट्रकै शिक्षक आन्दोलनमा अगुवा शिक्षकका रुपमा चिरपरिचित हुनुभयो । हेलेन किलर इन्टरनेशनल, लभग्रीन नेपाल, लालुपाते फाउण्डेसन, एशिया फाउण्डेसन, रोटरी क्लव अफ धुलिखेलमा सङ्लग्न रहनुभएर विद्यालयको भौतिक पूर्वाधार निर्माणमा थुप्रै सङ्घसंस्था, व्यक्तिसँग सम्पर्क गर्नुभएर धेरै खालका सहयोगहरु समुदायमा जुटाइदिनु भयो । थुप्रै छात्रवृत्ति स्थापना गर्न पनि उहाँ सफल हुनुभयो ।
सरल, इमान्दार दामोदर अधिकारी मेरो वैचारिक मित्र, शिक्षक आन्दोलनमा सँगसँगै कुद्न पाएका मित्र, जनमतका सहयोगी मित्र धेरै खालका मित्रतामा सम्बन्ध विस्तार हुन पाएका मित्र, मेरो मनमा थपक्क बसेका मेरा प्रिय मित्र दामोदर अधिकारीले समाजमा थुप्रै शैक्षिक गतिविधिहरु गरेर शिक्षणसेवामा उत्कृष्टता प्रदर्शन गर्न सफल हुनुभएको उहाँको कृयाकलापहरु घामजस्तै पाँचखाल र राष्ट्रमा छर्लङ्ग छन् । मलाई भन्न मन लाग्छ – “दामोदर अधिकारी शिक्षणसेवामा उत्कृष्टढङ्गले देखापर्नुभएका काभ्रेबाट राष्ट्रमा देखाउन मिल्ने उदाहरणीय नाम हो । जसको समर्पण र सेवा सधैं स्मरणीय रहने छ ।
वि.सं. २०१३ साल वैशाख ३१ गते भमरकोटमा जन्मिनुभएका दामोदर अधिकारीले आफ्नो विगत, वर्तमान र भविष्यकै लागि आफ्नो सम्बन्धमा यसरी लेख्नुभएको छ, जुन महान शब्द–शैलीका रुपमा स्वीकार्न सकिन्छ । उहाँ आफ्नैबारे आफ्नो कुरामा आफूलाई यसरी पोख्नुहुन्छ – “म शान्त र अन्तर्मुखी स्वभावको मान्छे हुँ । पेशामा रहँदा इमान्दारीपूर्वक निष्ठाका साथ कर्तव्य निर्वाह गर्ने प्रयत्न गरिरहेँ । मैले जे गर्न सकेँ त्यसलाई आफ्नो कर्तव्य ठानेको छु । म प्रचारमा आउन नचाहने मान्छे हुँ र मैले गरेको कामको जस पाउने कहिल्यै अपेक्षा गरिनँ । यो समकालीन समाजले मूल्याङ्कन गर्ने कुरा हो । आम मानिसहरुझैं म पनि कमजोरीसहितको मानिस हुँ । काम गर्ने सिलसिलामा कैयौं गल्ती तथा कमजोरीहरु भए होलान् तर जानीबुझीकन नियतवश संस्थालाई हानी नोक्सानी पुग्ने कुनै काम गरिनँ र हरदम पेशागत मर्यादाको सीमामा रहेँ । यही भनाइले नै उहाँको परिचयको शुद्धता खुलाउँछ । क्रमशः
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |