काभ्रे । खुशीका बिचबाट खबरदारीका नाराहरु घन्किन लागिरहँदा नेतृत्वहरुलाई सम्हाल्न हम्मे–हम्मे भएको दृश्य हेर्न लायक थियो । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको अन्तिम परिणाम घोषणा हुन गइरहँदा आफ्नै नेतृत्वको बारेमा खबरदारीका स्वरहरु एकपछि अर्काे गर्दै खनिँदा मध्यस्थकर्ताहरुलाई सम्हालिन धौ–धौ परेको थियो । जसले नेतृत्वको खुलेर विरोधका आवाजहरु बुलन्द गरिरहेका थिए, उनीहरुको हाउभाउले अप्रिय घटना त निम्तिने होइन ? भन्ने शंकाहरु पनि नउब्जिएका होइनन् । “खोलो त¥यो लौरो बिर्सियो” आश्वासन, आश्वासनमै सीमित रह्यो । चोक्टा खान गएकाहरुले झोल पनि पाएनन् । द्रव्यसँग भोटै साटेर म्याच फिसिङ गरे । यि घटनाहरुका बारेमा झण्डै २ हप्ता बितिसक्दा पनि कसैको कानमा बतास लागेको पाइएन । त्यसैले पनि जस्ताको तस्तै देखिएका दृश्यहरुलाई लिपिबद्ध गर्ने जमर्काे यो पंक्तिकारले गरेको छ ।
काभ्रे जिल्लाको सम्पन्न निर्वाचनमा सबै राजनीतिक पार्टीहरुले नसोचेको परिणाम व्यहोर्न सबै दलहरु अन्ततः बाध्य भए । सामान्य तवरले मूल्यांकन गर्दा काभ्रेली जनताले सबै दललाई समान ढंगले न्याय गर्दै एमाले, माओवादी, नेका र एस पार्टीलाई सम्मान बराबरी माया गरेको देखियो तर त्यस प्रकारको समान हैसियतको परिणामसँग दलहरु भने सन्तुष्ट देखिँदैनन् ।
आशावादी कांग्रेस–धोकेवादी गठबन्धन
दृश्यमा देखिएका र स्रोतले गरेको दाबी अनुसार गठबन्धन दलहरुले यस वर्षको निर्वाचनमा काभ्रे जिल्लालाई एमाले रहित बनाउने योजना थियो । उक्त योजना सम्पन्न स्थानीय निर्वाचनको परिणाम हेरेर नै उनीहरुले बनाएका हुन् । विगतमा एमालेले विजय हासिल गरेको भुम्लु, चौंरीदेउराली, तेमाल, रोशी, धुलिखेल नपा, बनेपा नपा, पनौती नपा, मण्डनदेउपुर नपा, नमोबुद्ध नपा मध्ये धुलिखेलमा मात्र एमाले आफ्नो विरासत जोगायो । अन्य सबै पालिका र नपा गुमायो त्यसको मूल कारण भनेको एमालेमा उम्मेदवारी छनौट नै त्रुटीपूर्ण र गलत थियो भन्ने स्रोतको दाबी छ । त्यसैले मन नपर्ने र जन उत्तरदायी हुन नसक्नेलाई जनताले मत दिएन । त्यसको मूल कारण जनताको मनले खाएको उम्मेदवारी भन्दा नेताको नजिकको आसेपासेले टिकट पाउनु नै हो । जनताले नरुचाएको उम्मेदवारी दिएकै कारणले नै जनताले गठबन्धनको उम्मदेवारलाई मत दिएर जिताएका हुन् । त्यो साँचो अर्थमा जनताको विद्रोह हो । गठबन्धनलाई मत दिनु जनचाहना थिएन, जन–बाध्यता थियो । त्यसैलाई गठबन्धनले आफ्नो लोकप्रियता सम्झँदै जिल्ला कब्जा गर्ने ढंगले संयुक्त उम्मेदवारी दियो । धेरै ठूलो भोटको अन्तर रहेको एमाले काभ्रे क्षेत्र नं. १ र २ दुवैमा कमजोर सावित भएको स्रोतले बताएको छ ।
राप्रपा नेपालको सह–महामन्त्री र सहायक मन्त्रीको पदसहित लिएर एमाले प्रवेश गरेका रेशम लामा एमाले छिरेको केही घण्टामा नै केन्द्रीय सदस्य भए तर त्यही क्षेत्रका ५० वर्ष देखि एमालेका इमान्दार कार्यकर्ता कुलचन्द्र अधिकारी, ४४ वर्षदेखि एमालेमा कार्यरत नारायण पाण्डे, कृष्णचन्द्र आचार्य, विष्णु खनाल जस्ता त्यागी नेता कार्यकर्तालाई बेवास्ता गर्दै रेशम लामालाई टिकट दिएको कारण एमालेको पुरानो पंक्ति सामान्यतयाः निष्क्रिय भयो । त्यसैले जहाँ भारी मतका कारण संघको निर्वाचनमा एमाले हा¥यो, कति धेरै नेता कार्यकर्ताको परिवार त भोट खसाल्न नै गएनन् । यो तितो यथार्थ एमालेले स्वीकार्न सक्दैन ।
तामाङवाद हाबी अब काभ्रेको राजनीति
पछिल्लो समय काभ्रेको राजनीति कमरेड गोकुल बाँस्कोटाले नचाहँदा नचाहँदै तामाङको कब्जामा गएको विषयलाई लिएर एमाले, कांग्रेस र माओवादी तथा समाजवादीका ब्राम्हणवादी सोचका नेताहरु चिन्तित छन् । त्यसैले उनीहरुले बाँडेर मत दिएका छन् । त्यसको फाइदा नचाहँदा नचाहँदै पनि माओवादी र नेकालाई भएको छ भने एमालेलाई तामाङवाद हाबी भएकै कारण चन्द्र लामा र रेशम लामालाई एमालेका ब्राम्हण, क्षेत्रीहरुले मत हालेनन् र अन्ततः गठबन्धन विजयी भयो । गठबन्धनको सहमति र समझदारीको राम्रोसँग पालना पनि त्यो क्षेत्रमा भयो । तर त्यहि सहमति र समझदारी क्षेत्र नं. २ मा भने पालना भएन । जहाँ समाजवादीले र माओवादीले नेकालाई मत दियो तर नेकाले घण्टीलाई मत दियो । गठबन्धनका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई मत दिएनन् । एक हजार पाँच सात सय मतले मात्र जित्ने हिसाब गरेर बसेको एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले ५ हजार ८ सय मतले जिते ।
कांग्रेसमा अन्तर्घातको क्यान्सर
आफ्नै नेता तथा कार्यकर्तालाई घात अन्तर्घात गरेर चुनाव हराउने खेल नेपाली कांग्रेसमा नयाँ रोग भने होइन । गत संसदीय निर्वाचन (०७४) को निर्वाचनमा नेका नेता मधु आचार्यलाई हराउन दिलोज्यान दिएर लागेका हालका उम्मेदवार शिवप्रसाद हुमागाईं यस पटक आफूलाई देउवा प्यानल भनेर चिनाउने समूहले राम्ररी बदला लियो र भारी मतान्तरले हरायो पनि । यस क्रममा पाँचखाल नपाका मेयर महेश खरेल समूह, बालुवाको १ सय ५० जना नेकाको क्रियाशील सदस्य महादेव स्थानको अच्युत पौडेल र कश्यप पौडेलको समूह पूर्ण रुपले निर्वाचनमा निष्क्रिय रह्यो भने बनेपा नगर समितिबाट कञ्चनचन्द्र बादेको समूहले एक भोट दाईलाई र एक भोट ज्वार्इंलाई दिनु भनेर उर्दी नै जारी गरेको परिणामले देखायो ।
आफ्नो बाटोको तगारो हटाइयो भनेर भोजभतेर
नेपाली कांग्रेस सहित गठबन्धनको मतले दोस्रो पटक पाँचखाल नपाको मेयर बनेका महेश खरेल अब २०८४ सालमा हुने निर्वाचनमा संघको तर्फबाट उम्मेदवारी दिने र विजय भई पिताजी राजेन्द्र खरेलको उत्तराधिकारी बन्ने भित्री खेलमा मसिनो ढंगले लागेका छन् । त्यसैले उनले आफ्नो पुख्र्याैली थलोमा शिव हुमागाईंको प्रवेशलाई घृणा, बहिष्कार तथा तिरस्कारको रुपमा लिएका थिए । त्यसैले उनले आफ्नो बलबुताले भ्याएसम्म नगरपालिकाका आफ्नो पक्षधर सबै वडा अध्यक्षलाई एमाले विरुद्ध नरम नीति लिन आग्रह नै गरे । त्यसैले निर्वाचनका समयमा शिव हुमागाईंका किचेन क्याबिनेटका सदस्य बाहेक माओवादी र समाजवादीका ठेकेदार नेता विदुर सापकोटा, केपी सापकोटा, विदुर गौतम र रुकु चौलागाईं मात्र क्रियाशील देखिन्थ्यो ।
राजनीतिमा बदला लिन सफल
गत स्थानीय निर्वाचनमा नेकाबाट मेयर र माओवादीले उपमेयर तथा समाजवादीले केही वडा अध्यक्ष पाउने गरी चुनावी तालमेल गरेको गठबन्धनले समाजवादी र माओवादीले नेकालाई राम्ररी मत दियो र एउटा वडा अध्यक्ष जित्यो, बाँकी सबै कांग्रेसको पोल्टामा राखिदियो । नेकालाई मेयरमा मतदान ग¥यो तर नेकाले माओवादीलाई मतदान गरेन र एमालेले उपमेयर सहित तीन वटा वडा अध्यक्ष जित्यो । स्थानीय निर्वाचनमा नराम्ररी हारको पिडा र परिणाम भोगेका माओवादीका उपमेयर उम्मेदवार मणि गौतमको समूहले संस्थागत रुपमा नै शिव हुमागाईंमाथि बदला लिएको चर्चा यतिबेला बजारमा छरप्रष्ट छ । कांग्रेस भित्रका केही असन्तुष्टिहरु भोट घण्टीमा खसाल्न लागि आन्तरिक रुपमा क्रियाशील रह्यो भने अर्कातिर शिव हुमागाईंलाई चुनाव हराउनका लागि र आफ्नो उम्मेदवार गोकुल बास्कोटालाई जिताउनको निम्ति सिन्धुपाल्चोकको मेलम्चीस्थित एक होटलमा बसेर कञ्चन अधिकारी र विष्णु पौडेल मार्फत् असन्तुष्ट खेमाले राम्रै द्रव्य हात पारेको बुझिएको छ । उक्त घटनाका बारेमा माओवादी छाडी एमाले प्रवेश गरेका एक चुनावी कमाण्डरले सार्वजनिकीकरण गरेका छन् । विगतमा आफूलाई नेपाली कांग्रसबाट नराम्ररी धोका दिएर हराएकाले अहिले आफू बदल लिन र चुनावी घाटापूर्ति कोषमा नाफा नोक्सान बराबरीमा रहेको कुरा मणि गौतमले रानीपानी चापाबोटका केही असन्तुष्ट नेका पक्षहरुसँग खाजा खाने क्रममा बताएका छन् ।
कोशीपारीबाट बदला र विद्रोह
आफूले दोस्रो कार्यकालको लागि पनि भुम्लु गापाको अध्यक्षको टिकट एमालेबाट पाउने आशमा गापाको करोडौं रुपैयाँ बचाएर राखेका पूर्वपञ्च एवं निवर्तमान गापा अध्यक्ष गुमानध्वज कुँवरलाई पुनः अध्यक्षको टिकट नदिई माननीय गोकुल बाँस्कोटाले उक्त टिकट आफ्नो घरमा दैनिक तरकारी, फलफूल र मासु तथा दहि बोकेर आउने किचेन क्याबिनेट सदस्य प्रेमलाई दिएर गुमानध्वज कुँवरलाई भने प्रदेश सांसदको टिकट दिने भनेर आश्वासन र प्रलोभन देखाए र प्रदेशमा नाम समेत सिफारिस गरेर पठाएको नाटक गरे तर टिकट लिनका लागि ३ करोड रुपैयाँ दिन नसक्ने जानकारी गुमानध्वज पुत्र ठेकेदार डन महेशबाबुले गरेपछि एमाले नेतृत्व चकित भयो । यसरी पैसा हुने र सधैं एकै व्यक्तिले मात्र अवसर पाउने भए ११ हजार भोट रहेको पाँचखालले विद्रोह गर्ने धम्की सहित गोकुल कमरेडका हुनुमान कञ्चन अधिकारी र पाँचखाल नगर कमिटी अध्यक्ष विष्णु पौडेलले गोकुल कमरेडलाई धम्कीको भाषा प्रयोग गरेपछि एमाले नेतृत्वले अरु सबैलाई पन्छाएर पुराना एमाले नेता कुमार खकुरेललाई टिकट दिन बाध्य भएकै कारण आज यो परिणाम आएको पार्टीपंक्तिमा चर्चा छ । यो पाँचखालको जित थियो भने कोशीपारीको लागि पिडा र धुलिखेलका मेयर अशोक कुमार ब्याञ्जुका लागि कुमार खकुरेल भविष्यको प्रगति पथको तगारो थिए ।
आफूलाई रुखमा चढाएर फेद ढालेका कारण भुम्लुको कुँवर परिवार एमालेसँग नराम्ररी चिढियो र एमाले हराउनलाई कुमार खकुरेलको विरुद्धमा तारा बहादुर कुँवरलाई काठमाडौंको उम्मेदवार हुनबाट रोकेर प्रदेशको उम्मेदवार बनाएर गोकुलको विरुद्धमा शिव हुमागाईंलाई सहयोग गर्ने कार्यमा लागे । त्यसैले स्थानीय निर्वाचनको तुलनामा अहिले एमालेलाई भुम्लुबाट कम मत आयो र प्रदेश सांसदलाई १ सय ८८ मतले हराउन सफल भयो ।
इन्चार्जको जगमा अशोकबाट अन्तर्घात
काभ्रे जिल्लाका ईन्चार्ज गोकुल बाँस्कोटाको जगमा बसेर सधैं सत्ता र शक्ति हत्याउन सफल धुनपाका मेयर अशोक ब्याञ्जुले आफ्नो भविष्यको प्रगतिको बाधक बन्ने हुनाले धुलिखेल नगर वरिपरिबाट कुमार खकुरेललाई चुनाव हराउनका लागि रचनात्मक ढंगले निष्क्रिय रहे । वडा ६ र ७ का बुथमा एमालेका प्रतिनिधि समेत खटाएनन् । विगतमा एमाले हार्दा पाएको भोटको २५ प्रतिशत मत पनि संघ र प्रदेशमा पाउन सकेन । एमालेबाट निर्वाचित धुलिखेल बजार भित्रका कुनै पनि वडा अध्यक्ष, वडा कमिटीहरु परिचालन गरिएन । यस प्रकारको षड्यन्त्रको मूल कारण भनेको कुमार खकुरेलले प्रदेश सांसदमा निर्वाचित भएमा उनले आगामी कार्यकालका लागि पनि प्रदेश सांसद हुने हुँदा अब आफू यो कार्यकाल सकिएपछि पुनः मेयर हुन नपाउने गोकुल कमरेडले संघ नछाड्ने र प्रदेशमा कुमार खकुरेलले सफलता पाएमा आफू भावी प्रदेश सांसद र ३ नं. प्रदेशको मुख्य मन्त्री बन्ने बाटो बन्द हुने भएकाले नै एमाले जिल्ला कमिटी अध्यक्ष अशोक ब्याञ्जुले आफ्नो बलबुताले भ्याएसम्म लागेर अन्ततः कुमार खकुरेललाई १ सय ८८ भोटले हराउन सफल भएको जिल्ला कमिटी सदस्य शिव न्यौपानेले सार्वजनिक स्थानमै खुलासा गरेका छन् ।
मतगणना केन्द्रमा नाराबाजी
मत गणनाको अन्तिम–अन्तिम घडिमा जब धुनपा वडा नं. १, २ र ३ को मत गणना राम्रो मत पाएको एमालेले त्यसपछि वडा ४ मा केही कम र वडा नं. ५ र ६ बाट नगन्य मत आई जब प्रदेश सांसद कुमार खकुरेलले १ सय ८८ मतले पराजित हुनुप¥यो । तब त्यहिँबाट एमालेका आक्रोसित कार्यकर्ताले अशोक ब्याञ्जुका विरुद्ध नाराबाजी गरे भने केहीले अशोक ब्याञ्जुमाथि ढुंगा प्रहारको प्रयास गरे । त्यहि क्रममा पनौती नपाका निवर्तमान मेयर भिम न्यौपाने र कोशीपारीका एमाले कार्यकर्ता पशुपति पन्तको ठूलो प्रयासले उक्त नाराबाजी र ढुंगा प्रहारलाई निस्तेज पारे । आक्रोसित कार्यकर्ताको भीडले अशोक ब्याञ्जु माथि कारवाहीको माग राख्दै गोकुल कमरेडलाई फोन गरेपछि मात्र आक्रोसित कार्यकर्ता शान्त बनेका थिए । फेरि भोलिपल्ट गोकुल बाँस्कोटाको विजय घोषणा पश्चात् सुरु भएको ¥यालीमा धोकेबाज अशोक मुर्दावादको नारा लागेपछि गोकुल बाँस्कोटा र कञ्चन अधिकारीले मेयर अशोक ब्याञ्जुलाई गाडिमा राखेर बचाउने र स्थितिलाई साम्य बनाएका थिए ।
अशोकमाथि कारवाहीको माग
एमाले भित्रका शालिन, भद्र, नम्र र स्पष्ट दृष्टिकोण राखी सधैं मसिनो ढंगले पार्टी काममा लागिरहने चाकरी र चाप्लुसी नगर्ने स्वाभिमानी पुराना नेतालाई त्यसरी हराउने अन्तर्घाती मेयर अशोक ब्याञ्जुले यथाशिघ्र जिल्ला कमिटी अध्यक्षबाट राजिनामा गर्नुपर्ने र त्यसो नगरेसम्म जिल्ला कमिटीको बैठक नै बहिष्कार गर्ने र केन्द्रलाई दबाब दिनका लागि जिल्ला कमिटी सदस्य विदुर सापकोटा, कञ्चन अधिकारी, शिवप्रसाद न्यौपाने, विष्णु पौडेल, अंकुर गौतम, इन्द्रबहादुर तामाङ, प्रेम लामा, रमेश लामा, विनोद सापकोटा, हरि खतिवडा, कुमार भट्टराई, जनार्दन अधिकारी, राजन भुर्तेल, उपाध्यक्ष चन्द्र लामा, रामशरण बजगाईं, हरिशरण बजगाईं, कुमार थापा, किशोर थापा, हरि कुमार शाह, पशुपति पन्त, प्रधुम्न पाण्डे, नारायण पाण्डे, कृष्ण चन्द्र आचार्य, भोजराज तिमल्सिना, मधुसुदन पौडेल, टि.पी. शर्मा, गोकुल शर्मा, विष्णु खनाल लगायत काभ्रे काठमाडौं सम्पर्क मञ्चले समेत हदैसम्मको कारवाहीको माग गरिएको अवस्थामा अध्यक्ष अशोक ब्याञ्जुले यि विद्रोहका स्वरहरुलाई कसरी थेग्न सक्लान् ? सर्वत्र चासोको विषय बनेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |