मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक
(६) डा. भरत लामिछाने ः २०१७ साल असार १९ गते भमरकोटमा जन्मिनुभएका भरत लामिछाने नै आजका राजनीतिवृत्तमा सक्रियता निभाउँदै आउनुभएका डा. भरत लामिछाने हुनुहुन्छ । प्रेमप्रसाद नै पछि भरतप्रसाद बन्नुभएका उहाँले २०३४ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण हुनुभयो । धेरैखालका अनुभव बटुलिसक्नुभएका भरतजीले आफ्ना अनुभवहरुमा आफूले भोग्नुभएका खराव प्रवृत्तिको पनि पटाक्षेप गर्नुभएको छ । दाई विष्णुको प्रभावमा पर्नुभएर बाबुको ट्याङ्काबाट रु.७००।– चोरी गर्नुभई विदेश जाने बहानामा घरबाट निस्कनुभयो । धेरै दुःख खपे बाटोमा, रकम सिध्याएर नौ–दश दिनमा नै घर फर्किनुपरेको कथा लेख्नुभएको छ आफ्नो संस्मरणमा भरतजीले । घरको कठिन काममा सहभागिता जनाउँदै, ठाउँ–ठाउँमा दुध पु¥याउँदै आफूलाई कष्टमा उभ्याउँदै आउनुहुने भरतलाई सर्वमंगलाका प्रअ विश्वनाथ लालकर्णले प्रावि शिक्षकमा २०३४ फागुन १९ गतेदेखि नियुक्ति दिनुभयो । २०३७ सालमा भएको त्यसताकाको शिक्षण आन्दोलनमा पनि उहाँले सक्रियता निभाउनु भयो । त्यसैले उहाँ स्थायी हुन सक्नुभएन । २०४१ पुस १९ देखि उहाँ निजामति सेवामा प्रवेश हुनुभयो ।
सामाजिक जागरण र राजनीतिक सोच–चेत्कै कारणले उहाँ चुपचाप रहेर जागिरे जीवन बिताउन चाहनु भएन । उहाँले पछि पाँचखाल युवा क्लव स्थापनाकालमा उपाध्यक्ष रहनुभएर सेवामात्र पु¥याउनु भएन उहाँले अध्यक्ष भएर समाजसेवामा खटेर लाग्नुभयो । आज गुमनाम रहे पनि उक्त क्लव पाँचखालका लागि ऐतिहासिक क्लवका रुपमा स्मरण गर्ने गरिन्छ । पाँचखालमै ‘नभपूर्व प्रावि’ को स्थापना गर्नुभएर अंग्रेजी भाषाको पढाइमा उच्चता थप्ने प्रयत्न गर्नुभएको थियो । र त्यसताका उक्त विद्यालयका लागि दुईजना शिक्षिकाहरु याङ्दु शेर्पा (सोलुखुम्बु) र डिकी शेर्पा (सिक्किम) लाई मैले व्यवस्था मिलाइदिएको थिएँ ।
उहाँ कम्युनिष्ट आन्दोलन र राजनीतिमा २०४४ सालदेखि नै सक्रिय हुनुभएको र हालसम्म नै सक्रिय हुनुभएको देखिन्छ । म सँग–सँगै निकै ठाउँमा आत्मीयता साट्दै आउनुहुने उहाँले उहाँकै सक्रियतामा जनमत प्रकाशनबाट उहाँका सुपुत्र सन्तोष लामिछानेका दृईटा पुस्तकहरु (१) चामल खानेहरु र चौलानी पिउनेहरु (अंग्रेजी + नेपालीका कवितासङ्ग्रह) र अल्टिमेट आकाश (उपन्यास) प्रकाशन गर्ने जिम्मेवारीमात्र दिएनन् छोरासँग पनि सम्पर्क गराउनु भएर मेरो साहित्यिक यात्रामा साथ पनि दिंदै आउनुहुने मित्र बन्नुभएको छ भरत लामिछाने । उहाँको मन र कार्यमा निश्चलता थपिंदै जाओस् – शुभकामना छ ।
(७) दुर्गा अधिकारी भमरकोटे – मैले पनि बिर्सिसकेको शायद उहाँले पनि बिर्सीसकेका रहेछन् । धेरै वर्ष अमेरिकाको बसाइँले त्यस्तो भएको होला ! तर जब पाँचखालमा भएको ‘भमरकोटका नवरङ्ग’ ग्रन्थको विमोचन समारोहमा पुग्दा उहाँसँगको मेरो स्मरण र त्यस्तै मसँगको सम्झना साटासाट भयो । तसर्थ भन्न सकिन्छ उहाँ पनि २०३६ सालमा भएको शिक्षक आन्दोलनदेखि देखादेख भएका सङ्घर्षशील शिक्षक हुनुहुन्छ । इतिहास, अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक भइसक्नुभएका उहाँले अमेरिकामा क्यासिनो मेनेजमेन्टमा स्नातकोत्तर गर्नुभएको देखिन्छ । २०१७ असोज २९ गते जन्मिनुभएको उहाँले लेखापाल, कृषि प्राविधिक, बैङ्किङमा सेवा पु¥याइसक्नुभएको उहाँले अमेरिकाको क्यासिनो मेनेजरसम्म भई सेवा पु¥याउनुभएको देखिन्छ ।
संसारमा थुप्रै देशहरुमा पुगिसक्नुभएका दुर्गा अधिकारी कविता, कथा, उपन्यास, नियात्रा र लेखरचना पनि लेख्ने गर्नुहुन्छ । हाइकु वर्णमाला, ६०१ झटारा (मुक्तक), त्रिनेत्र (सुसेली काव्य) पुस्तक प्रकाशन गराइसक्नु भएका दुर्गाजीले जहाँ पुगे पनि, जहाँ रहेर रमाउनुभएर जीवन गुजार्नु भए पनि साहित्यलेखन र समाजसेवामा आफूलाई समर्पित तुल्याउन खोज्नुभएको छ । ‘भमरकोटका नवरङ्ग’ पुस्तकका पनि उहाँ सम्पादक हुनुहुन्छ । यस खालको सुन्दर कृति प्रकाशन गर्ने अभियानमा तेजप्रकाश बानियाँसँग भएर उहाँ पनि सक्रिय रहनुभएको परिणति हो यस ग्रन्थको प्रकाशन । भमरकोटस्थित कोटदेवी मन्दिरको पुनः निर्माणका सफल अभियन्ता उहाँ थुप्रै साहित्यिक संस्था, पत्रिकाका आजीवन सदस्य पनि हुुनुहुन्छ ।
आफू बिमारी छँदा बनेपास्थित शीर मेमोरियल हस्पिटलमा गम्भीर रोगले थलिएर उपचार गराउनुभएको उहाँले अमेरिकन डाक्टर स्टरजेसको उचित खालको सेवा पाएकोले अमेरिका पुग्ने उहाँको सपना थियो । पछि अमेरिकन पिसकोर भोलेन्टियर मेरियनले उहाँको इच्छा साकार गरिदिनुभयो । अमेरिकामा जीवनका क्षणहरु मेरियनसँग नै अर्थात् उहाँकै घरमा रहेर आफ्ना उत्सर्गहरु फुकाउनुभयो । २५ वर्षसम्म अमेरिका रहनुभयो, धेरै सुखभोग गर्नुभयो तर उहाँले गाउँ, समाज र देशलाई भुल्न सक्नु भएन । नेपाल फर्कनु भयो । उहाँले आफूसक्दो समाज, देश र जनमनका लागि केही गर्ने सोच बनाउनुका साथै साहित्यलाई मन पराउनुभयो । उहाँ आफ्ना दृष्टि यसरी पोख्नुहुन्छ– “आफ्ना मनमा आएका भावनाहरुलाई अभिव्यक्त गर्ने सशक्त माध्यम साहित्य हुने रहेछ । सुख, आनन्द, दुःख–पीडा, आक्रोस, सन्देश आदि कुराहरु कथा, कविता, लेखरचनाको माध्यमले बाहिर निकाल्दा आत्मसन्तुष्टि र आत्मसम्मान मिल्ने मेरो ठम्याइ छ । अब बाँकी जीवन तन, मन, समय र आफूले खर्च गर्न सक्ने समय लगाएर साहित्यसेवा र साधनामा लाग्ने अठोट छ– धन्य होस् तपाईंको चाहना !
८) बलराम सापकोटा – जीवनका सबैजसो समय शिक्षणसेवामा खर्चिनुहुने सेवक बलराम सापकोटाले जीवनका क्षणहरु दुःखमा, पीडामा, कष्टमा, सङ्घर्षमा बिताउनुभएको देखिन्छ । कार्यक्रममा उहाँ उपस्थित रहनुभएन; सायद म चिन्छु होला ! त्यसैगरी उहाँले पनि, अवश्य चिन्नुभएको होला ! चिनजान साटासाट गर्न पाइएन । ‘भमरकोटका नवरङ्ग’ पढेर नै उहाँबारेको मेरो अक्षर–मोह पोख्न खोजेँ । निम्नस्तरीय कृषक परिवारमा वि.सं. २०१० साल जेठ ५ गते ढुङ्गेपानी गाउँ, भमरकोटमा उहाँ जन्मिनुभएको हो । “गाउँबेसीको खेतीपाती गर्ने, भैंसी, गोरु आदि वस्तुभाउको रेखदेख र वनपाखाको सोतरघाँसको अभिभारा” धान्ने परिवारका उहाँ आफ्नो बाबुको सेवा गर्दा–गर्दै, औषधी उपचारमा लाग्दालाग्दै ३५ वर्षको अल्पायुमा नै देहान्तबाट परेको चोट भोग्नुभयो । बाबु बित्दा उहाँ ७ वर्षको बालक छँदा आमा सुत्केरी अवस्थामा हुनुहुन्थ्यो । साधारण गाउँले परिवार; चोट सहने जीवन भोगेर उहाँले आफ्नो जीवनलाई सङ्घर्षमा होम्नुभयो ।
विभिन्न वाधा– व्यवधानलाई पन्छाउँदै अरनिको राजमार्ग बन्दै गर्दाताका राजमार्गमा गिट्टी कुट्ने काममा लाग्दै पछि राजमार्ग निर्माणमा मजदुर भएर पनि उहाँले काम गर्नुभयो । जीवन बाँच्ने र हुर्काउने अभियानमा निकै कष्टपूर्ण जीवन बिताउनु भयो । पछि काठमाडौंमा कामको खोजीमा लाग्ने क्रममा साहित्यकार कृष्णप्रसाद पराजुलीकै दयामा उहाँ रहनुभएको छिँडीको कोठामा शरण दिनुभयो । साहित्यकार कृष्णप्रसाद पराजुलीसँग बस्न पाएकै कारणले थुप्रै साहित्यकारहरुसँग चिनजान गर्न पाउनुभयो । नेपाल राष्ट्रिय विद्यापीठ नामक संस्थाको उहाँ पिउन पनि बन्नुभयो । दुःखका श्रृङ्खलाहरु बताएर साध्य छैनन् तर पनि उहाँ हार मान्नुभएन । गाउँबाट काठमाडौं पुगे, पुनः काठमाडौंबाट फर्किएर धुलिखेल सञ्जिवनी स्कुलमा कक्षा ९ मा भर्ना हुनुभयो । वि.सं. २०२८ मा मासिक रु.९०।– पाउनेगरी गणेश प्रावि, भमरकोटका प्रा. शिक्षक पदमा काम गर्न थाल्नु भयो । ‘जीवन सङ्घर्ष हो ।’ उहाँको जीवनमा यो लोकोक्ति अक्षरशः लागू भएको देखिन्छ । सर्वमंगला माविमा पनि उहाँले सेवा गर्नुभयो । त्यसपछि उहाँ २०३२ फागुनदेखि जनता निमावि, होक्सेमा शिक्षक भई सेवा पु¥याउनुभयो । २०४४ फागुनदेखि गणेश प्राविमा नै प्रधानाध्यापक भई सेवा गर्नुभयो । २५ वर्ष ३ महिना यही विद्यालयमा उहाँले बिताउनुभयो । कक्षा उकास्दै लग्ने, भवन बनाउने र आफू सेवारत विद्यालयलाई मावि बनाउने योजनामा उहाँ लागिरहनुभयो । २०६६ भित्र जापानीहरुको सहयोगमा १३ कोठे भवन बनाई छाड्न उहाँ सफल हुनुभयो । ४२ वर्ष शिक्षक सेवा पु¥याइसक्नुभएका उहाँको शिक्षण पेसाप्रतिको धारणा यस्तो छ – “शिक्षणलाई मैले सेवामूलक पेशाका रुपमा लिने गरेको छु । तर शिक्षण पेशामा आवद्ध केही साथीहरु अन्य नाफामूलक व्यवसायसँग तुलना गर्न रुचाउनुहुन्छ । यो राम्रो सोचाइ होइन र यस्तो सोच राख्नेले अन्य व्यवसायतर्फ लाग्नु राम्रो हुनेछ भन्ने मेरो धारणा हो ।” उहाँको शिक्षणसेवा सङ्घर्षमय छ – आफ्नो गाउँमा शिक्षालय बनाउन, आदर्श शिक्षक भई गर्नुभएको सेवा अतुलनीय छ – सो कार्यका लागि बधाई भन्न मन लाग्यो ।
(९) डा. सुधारप्रसाद अधिकारी – उहाँका भाई शुभप्रसाद अधिकारीसँग मेरो चिनजान थियो तर सुधारप्रसादसँग त्यसैदिनमा मात्र चिनजान भयो । भद्रता मिसिएको स्वरमा उहाँले आफ्नो परिचय बताउनुभयो । २०१५ साउन २९ गते जन्मिनुभएका अधिकारीले चौतारा, सिन्धुपाल्चोक पुगेर शिक्षक बन्नुभयो । पछि जागिरको क्रममा नेपालगञ्ज पुग्नुभयो । भेरी अञ्चल अस्पतालमा केहीक्षण सेवा गर्नुभयो । वीरगञ्ज अस्पतालमा काम गर्दागर्दै टियु टिचिङ अस्पतालमा एम.बि.बि.एस. को आवेदन खुल्यो र त्यहीँ २०३९ सालमा एम.बि.बि.एस. अध्ययन सकेपछि २०४५ साल आश्विनबाट चिकित्सक बन्न सफल हुनुभयो । २ वर्षपछि रेडियोलजिष्ट विशेषज्ञ हुनुभएका उहाँ इजरायल, भारतको दिल्ली, अगरा, मुम्बई, चेनाई, केरला, इन्दोर, नागपुर आदि विभिन्न सहरहरुमा गोष्ठी, सेमीनारमा भाग लिंदै आफूलाई परिपक्क तुल्याउँदै जानुभयो । यो बाहेक उहाँ थाइल्याण्ड, मलेसिया, सिङ्गापुर, दुबई, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, फ्रान्समा आफ्नो अध्ययनको क्रममा पुग्नुभयो । वि.सं. २०७० सालमा सरकारी सेवाबाट राजीनामा दिइसक्नुभएका उहाँले आफ्नो पनि सक्रियतामा १०० बेडको बि.पी. स्मृति अस्पताल खोल्नुभयो । हाल उहाँ सर्वमंगला बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका उहाँले समाजसेवाका सन्दर्भमा आफ्नो धारणा यसरी पोख्नुभएको छ – “समाजसेवा भनेको धेरै वृहत् छ र धेरै ठूलो धर्म मैले माथि भनेझैं मेरो बाल्यकालमा हाम्रा बुबाहरुले गर्ने समाजसेवा र अहिलेको समाजसेवामा आकाश जमिनको फरक देख्छु म । उहिलेको समाजसेवा भित्री मनबाट सकिनसकी मानवधर्म सम्झी गरिने थियो भने अहिले गरिने समाजसेवा चाहिँ फाइदा, बेफाइदा हेरेर गरिन्छ ।” यस्तो नहोस् समाजसेवा, समाजसेवा नै होस् निःस्वार्थ सेवाभावको समाजसेवामा मन बसोस् – शुभकामना भनिरहेछु ।
नौजना भमरकोटेहरुको विचार र परिचय भएको ‘भमरकोटका नवरङ्ग’ ग्रन्थको विमोचन गर्न मलाई माया गरेर पाँचखाल डाकेको र पुगेको प्रसङ्ग मेरा लागि पनि अविस्मरणीय र ऐतिहासिक रह्यो । मैले यस ग्रन्थमार्फत् भमरकोटको सम्पूर्ण परिचय मात्र होइन त्यस क्षेत्रबाट उदय पुगेका र राष्ट्र÷जिल्लामा परिचय बाँड्न मिल्ने नौजना स्रष्टा/द्रष्टा, शिक्षासेवी, समाजसेवी, चिकित्सकलाई मनमा राखेर छाम्न पाएको छु । मैले शीर्षकमा लेखेजस्तै यो ग्रन्थ राष्ट्रकै लागि उदाहरणीय ग्रन्थ हुन गएको छ – सम्पूर्ण मित्रहरुमा शुभकामना र बधाई छ ।
०००
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |