प्रभातफेरी अनलाइन४६० पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १२, मंगलबार(३ साल अघि)
परशु घिमिरे
सिन्धुपाल्चोक लिच्छविकालदेखि नै काठमाडौंबाट प्रशासित थियो । लिच्छविकालपछि पनि यो जिल्ला काठमाडौंबाट शासित थियो । मल्लकालमा यो जिल्ला कान्तिपुरको अधिनमा राजा शिवसिंहले दोलखा विजय गरेदेखि नै रह्यो । मल्ल राजाहरूले यस इलाकामा आप्mनो प्रभुत्व जमाई कुति र खासामा आप्mनो व्यापार केन्द्र बनाएका थिए । योगी नरहरिनाथ लिखित इतिहास प्रकाशमा सन्धिपत्र संग्रह पृष्ठ ५३ मा हनुमानढोका दरबार अगाडिको कृष्ण मन्दिरको प्रताप मल्लको अभिलेखअनुसार खासा, कुति र केरुङ आप्mनो अधीनमा लिएका थिए । ती स्थान पछिसम्म पनि नेपाल सरकारको अधीनमा थिए । नायव बहादुर शाहको समयमा चीनसँग लडाइँ भएपछि नेपालले उक्त इलाकाहरू गुमायो ।
त्यतिबेला यो सिन्धुपाल्चोकको इलाका कान्तिपुर (काठमाडौं) राज्यअन्तर्गत थापाहरूको उमराईमा रहेको थियो । गोरखा राज्य विस्तारको क्रममा श्री ५ पृथ्वीनारायण शाहले योजना बनाउँदा कान्तिपुरका राजा जयप्रकाश मल्लको अधीनस्थ नुवाकोट जिल्लाउपर विजय प्राप्त गरेपछि यो सिन्धुपाल्चोक जिल्लालगायत ठूलो भूभाग हात पर्ला भन्ने ठानेका थिए, तर त्यसो भएन । नुवाकोटपूर्वको भाग भू–भागलाई अधीनस्थ गर्न पहिले यही जिल्ला र नालदुमगढी दखल गर्न आवश्यक थियो । चाँगुनारायण डाँडोमा महादेवपोखरीको टुप्पोमा कान्तिपुरका राजाको बलियो गढी थियो । ठीक यसै गढीको उत्तरपट्टि साँखु गाउँदेखि ११ किलोमिटर जति दक्षिण–पूर्वतर्फ अर्को गढी सामरिक महत्वपूर्ण नालदुमगढी खडा थियो । कान्तिपुरअन्तर्गत यस नालदुमगढीमा उमराव (पद विशेष) रणभीम थापा तैनाथ थिए । यसरी सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा आदि जिल्लाहरू थापाहरूको उमराईमा थियो ।

ई.सं.१७४६ मा साँखु–चाँगु नामक मौजा दखल गर्न भनी शिवराम बस्न्यातको नेतृत्वमा गोरखाली सैनिक दल साँगाचोकमा प्रवेश ग¥यो । जयप्रकाश मल्लले यी गोरखालीलाई धपाई पठाउन साँखु–चाँगुका बासिन्दालाई र नालदुममा तैनाथ रहेका उमराव रणभीम थापालाई निर्देशन दिएका थिए । तर राजाज्ञा उल्लंघन गरी नालदुमदेखि पूर्वपट्टिका जिल्लाहरूको रक्षा गर्ने मात्र मेरो काम हो, काठमाडौंभित्र परेका साँगाचोकको रक्षा गर्ने काम मेरो होइन भन्ने विचार रणभीम थापाको थियो । यिनी चुपचाप बसे पनि उनका दाइ काशीराम थापाको मनमा भने भुइँचालो गएको थियो । उनी जयप्रकाश मल्लका विरोधी भएर १० वर्ष पहिलेदेखि नै बागीमा गनिएर पलाञ्चोक आसपासमै गएर बसेका थिए । गोरखालीले नालदुमगढीमा अधिकार जमायो भने यतिञ्जेल थापाहरूको उमराईमा रहेको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा जिल्ला सधैंका लागि गुम्ने कुरा काशीराम थापाले देखेका थिए । त्यसैले उनले रणभीम थापा गोरखालीसँग मिलेको हुनाले शत्रुलाई हटाउनतिर लागेको छैन । धनको सहायता भएमा साँगाचोकमा रहेका गोरखालीलाई मारी भगाइदिन्छु भन्ने अर्जी राजा जयप्रकाश मल्लसमक्ष पठाए । पुरानो शत्रु भए तापनि यिनको विचारलाई जयप्रकाश मल्लले तुरुन्तै स्वागत गरी सिन्धुपाल्चोक जिल्लाबाट बाली उठाई धन जम्मा गरेर त्यहींका सैनिक भर्ना गरी साँगाचोकबाट गोरखाली फौजलाई भगाउने अधिकार–पत्र दिई पठाए । काशीराम थापाको प्रभावमा दुवै जिल्लाका बासिन्दा पहिले रहेको हुनाले झटपट प्रशस्त सैनिक भर्ना गर्न सकी रातको समयमा साँगाचोकउपर अकस्मात आक्रमण गर्दा गोरखाली दलमुखी सर्दार शिवरामसिंह बस्न्यात मारिएकाले बाँकी फौज तितर–वितर भई नुवाकोटतिर फर्किए ।
साँगाचोकबाट गोरखाली फौजलाई धपाई काशीराम थापा कान्तिपुर आउँदा जयप्रकाश मल्ल हर्षले पुलकित भए । उनले रणभीम थापालाई कैद गरी उनको सट्टा काशीराम थापालाई नालदुमगढीको उमराव पदले विभूषित गरिदिए । यतिमा मात्र सन्तोष नरही नुवाकोटबाट पनि गोरखाली फौजलाई हटाएर त्रिशूली पार गराउन सके त्यहाँको पनि उमराव हुन पाइने लोभले ओतप्रोत भई सिन्धुपाल्चोक जिल्ला र पलाञ्चोकतिरबाट १३०० जवान जतिको सैनिक दल काशीराम थापाले तयार गरेका थिए । नालदुमगढीमा चाहिँ आफ्नो अर्को भाइ परशुराम थापालाई आफ्नो प्रतिनिधि गराएर राखेका थिए ।
ई.सं.१७४६ तिर काशीराम थापाको सैनिक दलले जयप्रकाश मल्लबाट रसद, पानी आदि प्राप्त गरेर नुवाकोट हान्न भनी सरासर चोकदेमा पुगेपछि आधा सैनिक त्यहीं र आधा सैनिक गैडीथुम्काको आसपासमा थर्पु बनाई बसे । थर्पु आसपासका गाउँमा रसद खरिद गर्न नपाउँदा काशीराम थापाका सैनिकले घर–घर पसेर लुटेर लिन थाले । तिनीहरूले नुवाकोटमा आक्रमण गर्ने साहस गर्न सकेनन् । र, कृषकहरूलाई आधा दिएर बाली–नाली लगाउने काम रोक्ने उर्दी जारी गरें । यस अवस्थामा नुवाकोटगढीमा रहेका कालु पाँडेलाई पृथ्वीनारायण शाहले काशीराम थापालाई हटाई पठाउन निर्देशन दिए । फलतः साँझको समयमा आक्रमण हुँदा आफ्नो सैनिक प्रशस्त हताहत भएकाले काशीराम थापा सुइँकुच्चा ठोकेर ज्यान बचाए । टोखामा आइपुगेपछि काशीराम थापाले जयप्रकाश मल्ललाई हरूवा मुख देखाउन लाज मानी सोझै चाँगुडाँडाको बाटो हुँदै पलाञ्चोकमा गई बसे ।
काशीराम थापा चुपचापसँग पलाञ्चोकमा बसेकाले जयप्रकाश मल्ल क्रोधाग्निमा जल्न थालेका थिए । थापाबाट लडाइँको पूर्ण विवरण सुन्न र भविष्यमा अपनाउनुपर्ने कार्यको योजना बनाउने बहाना गरी जयप्रकाश मल्लले बारम्बार बोलाउन पठाउँदा बल्लतल्ल उनी कान्तिपुर आएका थिए । मेरो खती गराई मलाई भेट्न पनि नआउने तँ दुष्ट होस् भनी जयप्रकाश मल्ल कड्कँदा भाखा खावा पाउँ, गोरखालीलाई नुवाकोटबाट धपाई छाड्ने छु भनेर काशीरामले उम्कने चेष्टा गरे, तर जयप्रकाश मल्लले काशीराम थापा र उनका सातजना सहयोगीसमेतलाई खरानी तुल्याएर आफ्नो क्रोध शान्त पारेका थिए ।
यसरी काशीराम थापा मात्र होइन, उनका भाइ रणभीम थापा पनि जयप्रकाश मल्लद्वारा मारिएपछि नालदुमगढीमा तैनाथ रहेका उनीहरूकै भाइ परशुराम थापालाई पृथ्वीनारायण शाहले गुप्त चालसँग नुवाकोट झिकाए । उनको उमराईमा रहेका उपर्युक्त जिल्लाहरू उनकै उमराईमा थामिने आश्वासन पृथ्वीनारायण शाहबाट पाएर परशुराम थापाले ठूलो गोरखाली सैनिक दल विना रक्तपात नालदुमगढीमा उतार्न स्वीकृति र सहायतासमेत गरे । निकै समय अगाडिदेखि कान्तिपुरका राजा जयप्रकाश मल्ल र भक्तपुरका राजा रणजित मल्लका बीचमा भक्तपुर राज्यको उत्तराधिकारीको विषयलाई लिएर शीतयुद्ध चलिरहेको थियो । यही मौकामा पृथ्वीनारायण शाहले आफ्ना मितबा रणजित मल्लसँग भक्तपुरको सिमाना जोडिएको काठमाडौं उपत्यकाभित्रका साँखु र चाँगु दखल गरी कान्तिपुरबाट झिकेर भक्तपुरको अंग बनाइदिने सर्तमा गुप्त ढंगले ऋण लिएका थिए । तर पछि जयप्रकाश मल्ललाई पदच्यूत गरी उनको आठ वर्षको बालकलाई गद्दीमा राखेर आपूm मन्त्री सफल भएका तौढिकको नेतृत्वमा काठमाडौं उपत्यकाको मैदानी भागमा अवस्थित साँखु र चाँगु दुई मौजाका निमित्त कान्तिपुरका जनता मरिमेट्न अघि सर्ने देखेर पृथ्वीनारायण शाहले अर्कै चाल चलेका थिए ।
साँखु र चाँगु तौढिकलाई सुम्पी यी दुई मौजाको सट्टामा उनले कबोलबमोजिम भक्तपुरका राजालाई यो सिन्धुपाल्चोक जिल्लालगायत काभ्रे, दोलखा जिल्ला र तामाकोसी पार दूधकोसीसम्मका मौजाहरूसमेतको प्रशासनिक अधिकार र मालपोत रणजित मल्ललाई र उमराई चाहिँ परशुराम थापालाई प्रदान गरेर सबैलाई खुसी तुल्याएका थिए । सामरिक महत्वका दुई किल्ला– महादेवपोखरीको गढी र नालदुमगढी चाहिँ पृथ्वीनारायण शाहले आफ्नै अधिकारमा राखेको हुँदा तीबाहेक प्रस्तुत सिन्धुपाल्चोक जिल्लासमेत उपरोक्तबमोजिम ई.सं. १७४६ को नोभेम्बरदेखि भक्तपुर राज्यमा गाभिन पुगेको थियो । फलतः गोरखाली सैनिक दल दहचोकतिर लागेका बखत पारी सेनापति चिकुटी मास्केको नेतृत्वमा सैनिक दल पठाएर जयप्रकाश मल्लले महादेवपोखरीको गढीमा आक्रमण गरी आफ्नो गुमेको उपरोक्त भू–भाग फिर्ता लिने सुवर्ण मौका चुकाएनन् ।
ई.सं. १७४७ देखि १७५३ सम्म पूरा सात वर्षसम्म उपरोक्त भू–भाग भक्तपुरका राजा रणजित मल्लको अधीनमा रहेपछि पुनः कान्तिपुर राज्यमै परिणत हुनपुग्यो । गोरखाली फौजको यस पराजयमा पृथ्वीनारायण शाह कत्ति विचलित भएनन् । गढीको संरक्षणहरूको असावधानीले मात्र चिकुटी मास्केले दुवै गढी दखल गर्न सकेका हुन् भन्ने सोचेर उनले तुरुन्तै भनेजसो काजी तुलराम पाण्डे र शिवरामसिंह बस्न्यातका नवयुवक माहिला छोरा केहरसिंह बस्न्यातको नेतृत्वमा गोरखाली सैनिक दल गोरखाबाट प्रस्थान गराए ।
यस दलले रातको समय पारेर एक्कासि गढीमा आक्रमण गर्दा कान्तिपुरका रक्षक दल लगभग सबै हताहत भई दुवैै गढी खाली गरिदिएका थिए । यसरी गढीहरूमा पुनः गोरखालीहरूको अधिकार कायम भएपछि सिन्धुपाल्चोकदेखि दूधकोसीसम्मको विस्तृत भू–भाग अब फेरि रणजित मल्ललाई फिर्ता दिन आवश्यक नदेखेर आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले ई.सं. १७५४ तिर यस भू–भागलाई तत्कालीन गोरखा राज्यमा एकीकरण गरिदिए । चिकुटी मास्केले नालदुमगढी दखल गर्दा खासाका तिब्बती र शेर्पाहरूले जयप्रकाश मल्लको गुणगान गाउँदै यात्रीहरूलाई लुटपाटसमेत गर्न लागेको समाचार पाएपछि पृथ्वीनारायण शाहले तुलाराम पाण्डेलाई सीमावर्ती क्षेत्रमा खटाएर त्यहाँ शान्ति, सुरक्षा व्यवस्थित गराउन परेको थियो ।
केरुङ, खासा र कुतिमा व्यापार गर्ने जुन सुविधा मल्ल राजा प्रताप मल्ल र गोरखाको राजा राम शाहले पाएका थिए, त्यही सन्धिलाई उद्धरण गरी प्रतापसिंह शाहको पालामा (वि.सं. १८३२) सन्धि भएको थियो । यसअनुसार साहू महाजन आदिले कुति र केरुङबाहेक अरु ठाउँबाट तिब्बतमा व्यापार गर्न नपाइने सर्त राखिएको थियो भनी इतिहास प्रकाशमा सन्धि पत्र संग्रह पृष्ठ ५३, ७० र ७१ मा योगी नरहरिनाथले उल्लेख गर्नुभएको छ । यसप्रकार कुति र खासामा व्यापार गर्न नेपाली व्यापारीहरू सिन्धुपाल्चोकबाटै जानुपर्दथ्यो ।