मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक
करोडपति पिताका भाग्यमानी छोराका रुपमा जन्म पाएका भूपेन्द्रमान शेरचन सर्वहाराहरुका मर्म–मर्ममा आफूलाई समाहित तुल्याउँदै आफ्नो युवाकालभरि मान्छेकै जीवन–दृष्टि के हो र कस्तो बनाउनुपर्छ भन्ने सङ्घर्षमा लागिपरिरहे । जीवन–सङ्घर्षमा लाग्दालाग्दै पछि कविताकै वशमा परेर भाग्यमानी र भूपेन्द्रमानबाट कवि भूपि शेरचन बनेका यिनी कविले घुम्ने मेचमाथि अन्धो मान्छेहरु बस्ने परिपाटी र साम्राज्यका विरुद्धमा नै तिखो कलम चलाएर आफूलाई सफल कविका रुपमा प्रतिष्ठापित गरेर गए । कवि भूपि कविताका हरफहरुमा जीवन्त छन्; त्यसैले त सबैका प्रिय कवि बनेर गएका छन् । यिनका कविताका पङ्क्तिहरुमा सत्यता मात्र प्रकट भएका छैनन्, साँच्चै भन्ने हो भने समय–सन्दर्भका सुरिला आवाजहरु सुन्दर कविताहरु भएर सम्प्रेषित भइदिएका छन् । यिनले व्यक्त गरेर गएका अभिव्यक्तिहरु छेक्न, टुटाउन र दिग्भ्रमित तुल्याउन गाह्रो छ । भूपिका कविताका मर्महरु जो सत्तामा छैनन् तर सत्ता भोगिरहेका छन् का व्यथाभित्र लुकिरहेका कथाका प्रसङ्गहरु हुन् । आजपर्यन्त पनि भूपि कवि ज्यूँदै रहेको जस्तो आभास हुनुका कारणहरुमा उनले पोखेका जीवन्त पीडाभित्रका काव्यात्मक अनुभूतिहरु नै हुन् ।
सर्वहारालाई मन पराएर सर्वहारा नाम झुन्ड्याएका तर सधैं झुन्ड्याउन नसकेका भूपेन्द्रमानको संवेदनशीलता कवितामा झुल्यो र त कवि भूपि बन्यो । वि.सं. १९९२ पुस महिनामा मुस्ताङ जिल्लाको थाक, टुकुचेको सम्पन्न थकाली परिवारमा सुब्बा हितमान र माता महातारी शेरचनका सुपुत्र भई उनी जन्मेका हुन् । अध्ययनकै क्रममा बनारसमा छँदा नै साथी–सँगातीकै सङ्गतमा परेर माक्र्सवाद मन पराएका यिनी कविले बनारसबाट स्नातकसम्म उत्तीर्ण गरेरका हुन् । यिनले थोरै लेखे तर सटीक र सुन्दर लेखे । सर्वप्रथम वि.सं. २०१० सालमा नै परिवर्तन नाटक लिएर देखापरेका यिनले पछि २०११ सालमा नयाँ झ्याउरे र २०१५ सालमा निर्झर कवितासङ्ग्रहहरु लिएर साहित्यिक क्षेत्रमा देखापरेका हुन् । यसताका यिनी राजनीति रङ्मञ्चका पात्र हुुनुका कारणले यस अवधिमा लेखिएका उनका कविताहरुमा नारामय कविताहरु प्रकाशनमा आउनु आश्चर्य मानिँंदैन । पछि वि.सं. २०२५ सालमा मात्र चर्चित कवितासङ्ग्रह घुम्ने मेचमाथि अन्धो मान्छे प्रकाशित भयो ।
भूपिको कवि–गरिमा र भूपि कविको छवि प्रकाशमा ल्याउन सफल उक्त कवितासङ्ग्रहले भूपिलाई राष्ट्रमा चिनायो मात्र होइन, प्रतिष्ठित कविका रुपमा स्थापित तुल्यायो । कविका भौतिक देहको अन्त्य वि.सं. २०४६ जेठ १ गते भएको हो । कवि भूपिको अन्त्यपछि केही वर्षअघि शिव रेग्मीको सम्पादनमा भूपिका कविता साझा प्रकाशनबाट प्रकाशित भयो । कवितामा मानवीय मर्म पोख्न सिपालु कवि भूपि शेरचनका कविताहरु कहिल्यै पनि पुराना र बासीजस्ता देखिएनन् । २०४१ सालमा सर्वप्रथम गरिमामा प्रकाशित सर्पको खोजीमा कविताका हरफहरु अहिलेकै सन्दर्भमा पनि समसामयिक नै छन् । उदाहरणका लागि हेरौं ः
काठमाडौं । अझ भनौं
यो सिङ्गो देश नै । दिन
परदिन । कालो–नीलो हुँदै गैरहेको छ
सर्पदंशिता मान्छेझैं ।
यो सुन्दर देशलाई बारम्वार डसिरहेछ
डसिरहेछ । डसिरहेछ
महाकवि देवकोटापछि सबभन्दा लोकप्रिय कविका रुपमा प्रख्यात कवि भूपि शेरचनका कविताहरु सरल हुनाका साथै बौद्धिक छन्, त्यसैले त सबै–सबैजसोले मन पराइदिएका छन् । कविता–बिम््बमा, कविता–शैलीमा, कविता–भाषामा, कविता–प्रतीकमा, कविता–मानवीय दर्शनमा व्याप्त गर्न सक्षम कवि भूपि शेरचन आधुनिक काव्य–जगत्का जाज्वल्यमान प्रकाश–पुञ्ज हुन् । कविताको प्रवृत्तिबारे पनि यिनको दृष्टि सान्दर्भिक र उच्चकोटीको छ । एक ठाउँमा यिनी कविले कविताकै सन्दर्भमा यसरी चर्चा गरेका छन् –“देशमा बढ्दै गइरहेका शिक्षित निम्नमध्यमवर्गीय युवाहरुको बेरोजगारी, निरन्तर बढ्दै गइरहेको महँगी, व्यापक भ्रष्टाचार र तस्करी, सम्पन्न वर्गहरुबाट आफ्नो सम्पन्नताको अश्लील प्रदर्शन तथा धनी र गरिबको बीचको खाडल पुरिनुको साटो झन्झन् गहिरिँदै जानु इत्यादिबाट वर्तमान पुस्ताको संवेदनशील युवावर्गको मस्तिष्क खलबलिएको छ । मेरो विचारमा आजको कविताको मूल प्रवृत्ति उपर्युक्त वातावरणजन्य आक्रोश र नैराश्यबाट प्रभावित छ र आजको कविताको विकास पनि त्यही आक्रोश र नैराश्यतालाई अभिव्यक्त गर्ने एउटा सशक्त माध्यम हुन गएको छ ।” यिनको यस खालको कविताबारेको मान्यता नै कविका लागि कविताको सशक्त माध्यम हुन गएको देखिन्छ । तीव्र सामाजिक चेतना–व्याप्त कविताहरुका सर्जक–कवि भूपिका कविताहरु समकालीन कविताहरुमा सर्वव्यापकताप्राप्त सुन्दर कविताहरुकै कोटीमा राख्न सकिने खालका कविताका पङ्क्तिहरु हुन् ।
१८ वर्षको उमेरमा नै कविता लेख्न थालेका यिनी कवि पाँच वर्षका हुँदा नै आमाको निधन भएको हो । किशोरावस्थामै उग्र–साम्यवादी छात्र कार्यकर्ताका रुपमा सक्रिय रहेका यिनी पछि कम्युनिस्ट बने र सर्वहारा उपनाम झुन्ड्याएर आफ्नो जीवनपथमा देखापरे । सम्पन्न थकाली परिवारमा जन्मेका यिनी कम्युनिस्ट भएकाले उक्त परिवारमा भुइँचालो आएको जस्तो प्रतीत भयो र निकै कष्टसाथ जीवन–पथमा चहार्दा–चहार्दै पछि केही क्षण झ्यालखानामा पनि परेका यिनी कविले पछि केही वर्षपछि साढे दुई वर्षसम्म बिरामी भै स्वदेशमा र भारतमा उपचार गराए । त्यसपछिको जीवनक्रमवारे यिनले यस्तो भावना पोखेका छन् –“रोग निको भयो, साथमा अर्को महारोग–साम्यवादबाट पनि मुक्ति पाएँ । लामो बिरामी अवस्थाको एउटा लाभपक्ष गम्भीर रुपमा चिन्तन, मनन र आत्मविश्लेषण गर्ने समय पाउनु हो । जब महारोगबाट मुक्त भएँ, तब अस्पतालको लुगा लगाउनुको कुनै अर्थ भएन । हाल म पूर्णरुपले सन्तुष्ट छु ।” (गरिमा, पूर्णाङ्क १८)
पछि ने.रा.प्र.प्र.मा प्राज्ञसम्म हुन पाएका कवि भूपिले कविता, प्राज्ञ पत्रिकाको पनि सम्पादन गरेका छन् । वि.सं. २०२६ सालमा घुम्ने मेचमाथि अन्धो मान्छे काव्यकृतिका लागि साझा पुरस्कार पाएका यिनी कविले भारत र सोभियत सङ्घको भ्रमण गर्न पाएका छन् । मनपर्ने नेपाली पुस्तकहरुमा मुनामदन र समकालीन कविहरुमा वैरागी काइँला मन परेको भन्न रुचाउने यिनी कविका लागि आफूले लेखेका कविताहरुमा हामी सर्वाेत्तम कविताका रुपमा मन पराउने गर्छन् ।
कवि भूपिका प्रत्येकजसो कवितामा नयाँ खालका तर्क र विचार प्रभावित छन् । उदाहरणका रुपमा तलका कविताका हरफहरुले भूपिको तार्किकता कस्तो खालको छ, प्रष्ट बुझाउँछ ः
मैले पिएकोमा रिसाएका साथीहरु
पिएर त हेर, पिउन झन् गाह्रो छ ।
मरेर जाने सहिदहरु,
जिएर त हेर, जिउन झन् गाह्रो छ ।
मलाई भूपिका कविताहरुले नै कवि बन्नका लागि थप सहारा थपिदिएको हो । भूपिका कविताहरु पढेपछि मलाई लाग्यो कविहरु भनेका सामाजिक चेतनाले व्याप्त सबभन्दा चेतनशील वर्ग पो रहेछन् । भूपिका कविताहरुले नै मलाई सुन्दर कविता र सुन्दर कविताको रेखाङ्कन गर्न सिकायो । त्यसैले पनि मलाई भूपि कवि मन प¥यो र कवितामार्फत् नै कविलाई मैले मेरो मनमा राख्न खोजें । आधुनिक काव्य–विधालाई जनमानसमा प्रचार–प्रसार गर्न सफल कवि, बिम्ब र शैलीविधानमा नयाँ–नयाँ प्रयोग गर्न सक्षम कवि, सामाजिक बिम्बलाई कविता–अनुभूतिमा अभिव्यक्ति गर्न सिपालु कवि, सरल भाषामा सुन्दर शब्द र मीठो प्रतीकमा कविता कोर्न सवल कवि भूपि शेरचन भीमदर्शन रोक्काका कविताहरु सुनेर र उनैसँग मायाप्रीति गाँसेर, शङ्कर लामिछानेका जीवन–प्रसङ्गहरु गुनेर र साहित्यिक मर्मका निबन्धका हरफहरु सुनेर, पारिजातका साहित्यिक बिम्ब–विधानमा प्रसङ्गहरु थपेर सफल कवि बनेर गएका छन् ।
सङ्क्षेपमा भन्नुपर्दा भन्न सकिन्छ भूपिका कवितामा भाषामा सरलता, भावमा सघनता, अभिव्यक्तिमा तीक्ष्णताको मार्मिकता पाइन्छ । काव्यात्मक बिम्ब र प्रतीक समाज र देशकै परिवेशबाट टिप्न दक्ष कवि भूपि शेरचन जनताको ओठ, जिब्रोमा व्याप्त भएका र मनभित्र कुँडिएका सफल कवि नै हुन् । कविता लेखेर जनता जगाउने कवि भूपि शेरचन अन्तरयामी कवि मात्र होइनन् उनी सधैंका लागि हरियाली दिन सक्षम जनमनका मझ्ेरीमा झुलेका कवि पनि हुन् । मेरो चोकमा व्याप्त रहेका देवता र मानिसरुपी नेता र जनताको दशा कस्तो छ ? कवितामा यसरी अनूभूति पोख्ने गर्छन् ः
यो मेरो चोकमा
देवताले बनाएको मानिस र
मानिसले बनाएको देवता
यी दुवैथरीको निवास छ ।
तर यहाँ यी दुवैथरी उदास छन्
किनकि तिनलाई यहाँ
रात–रातभरि उपियाँले टोक्छ
दिन–दिनभरि रुपियाँले टोक्छ ।
र देवता उदास छन्
किनकि तिनलाई यहाँ
न कसैले पुज्छ, न कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवता र मानिसले
एक–अर्काेलाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन् ।
यो हल्लैहल्लाको देश हो, यहाँ यस्तै बाँच्छन् देवता र मानिसहरु । त्यसैले उनी देशको सङ्कीर्णतामा व्यङ्ग्य पोख्दै लेख्ने गर्छन् ः
कानमा इयरफोन लगाउनुपर्ने बहिराहरु
जहाँ सङ्गीत प्रतियोगिताको जज हुन्छ
र त्यस्तै आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा विजेता हुन्छन्
र जहाँ प्लास्टर गरिएका हातहरुमा
सुरक्षाको सङ्गीन थमाइन्छ ।
यसरी नै प्रत्येकजसो कवितामा सत्य मर्मभित्र रेखाङ्कित प्रसङ्गहरु खोप्न खोज्ने कवि भएकै कारणले भूपिलाई सत्यता प्रकट गर्न सक्षम कवि हुन् भनेर भन्न सकिन्छ । मलाई पनि लाग्छ; भूपि कवि कवितामा सत्यता प्रकट गर्न सक्षम छन् । त्यसैले त उनी कविमा पनि सबल कवि भएका छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |