प्रभातफेरी अनलाइन१२७० पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १२, मंगलबार(३ साल अघि)
मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक
‘सूधपा’ का एउटा अर्को नाम । शिक्षा, संस्कृति, भाषा र साहित्यको सम्बर्धन गर्न लागिपरेका जीवनका उत्सर्गहरु खर्च गरेर गएका एकजना भाषा तथा साहित्यका सेवी । सम्पादक, शिक्षक–निरीक्षक, भाषिक–सङ्गठक, इतिहासकार आदि अनेकौं नामले आफूलाई चिनाउँदै साहित्य–सिर्जनामा लागेका एकजना समालोचकीय आँखा र दृष्टि भएका विशिष्ट साहित्यकार । कथा, निबन्ध, समालोचना, भूमिका लेखनका अतिरिक्त इतिहास लेखनमा त यिनले आफ्नो विशिष्टता देखाएर आफूलाई उच्चकोटीका इतिहासकारका रुपमा दर्ता गराएर जान सफल छन् ।

भारतको बनारसमा जन्मेर दार्जीलिङलाई कर्मभूमि बनाएर नेपाली भाषा साहित्यको उत्कृष्ट सेवा गरे बापत नेपालले पनि यिनको उच्च मूल्याङ्कन गरेर प्रज्ञा प्रतिष्ठानमा उपकुलपतिसम्म बनाए । अनेकौं सङ्घ–संस्थामा रहेर नेपाली साहित्यको उत्थान र सम्बद्र्धनमा नेपालबाहिर रहेर पनि उत्कृष्ट सेवा गरेबापत यिनको सम्मान पनि नेपालीहरुले दिल खुलेर गरे । इतिहास लेखनमा विशिष्ट नाम बनाइसकेका सूर्यविक्रम ज्ञवालीले कोश र जीवनी लेखनमा पनि आफ्नो सक्रियता देखाउन सफल रहे ।
बी.ए.बी.टी.सम्मको अध्ययन गरी गोर्खाली र जन्मभूमि जस्ता पत्रिकाहरु सम्पादन गरिसकेका यिनले कथाकुसुमजस्तो आधुनिक कथासङ्ग्रहको सम्पादन गरी आफ्नो सम्पादन कौशल देखाइसकेका हुन् । आफ्नो छुट्टै कथासङ्ग्रह प्रकाशित भएको नदेखिए पनि कथासङ्ग्रहको सम्पादन, विश्वेश्वरप्रसाद कोइरालाको अत्यन्त चर्चित कथासङ्ग्रह दोषी चश्माको भूमिका लेखेर आफूलाई कथाका विश्लेषक, कथा–मर्मज्ञका रुपमा सावित गरेर यिनी गएका छन् । दोषी चश्माको भूमिकामा कथा सम्बन्धमा यिनले यसरी आफ्नो मार्मिकता पोखेका छन् –“मलाई मनुष्य जीवनको साधारण घटनाको सोझो वर्णन भएको कथा पटक्कै मन पर्दैन । त्यस्ता कुरा त रातदिन हाम्रो आफ्ना जीवन तथा चिनेजानेका मानिसका जीवनमा भैरहेका छन् । त्यस्ता कुरा कथाका रुपमा पढ्दा झर्को लागेर आउँछ किनभने तिनले हाम्रो भावसित कुरा गर्दैनन् । हाम्रो भाव जागृत हुनुपर्छ, घटनालाई उसले आफ्नो भावपूर्ण दृष्टिले देख्नुपर्छ ।” कथाको परिभाषा नै साहित्यको परिभाषाजस्तो बनाएर अभिव्यक्ति पोख्न सक्षम साहित्यकार तथा इतिहासकार सूर्यविक्रम ज्ञवालीका प्रकाशित पुस्तकहरुमा द्रव्य शाह (१९९०), राम शाह (१९९०), पृथ्वीनारायण शाह (१९९२), वीर बलभद्र (१९९७), अमरसिंह थापा (२०००), नेपाली वीरहरु (२००६), नेपाल उपत्यकाको मध्यकालीन इतिहास (२०२०), नेपाली सङ्क्षिप्त शब्दकोश, इतिहासका कुराहरु (२०३४), शाहवंशीय राजाहरु, नेपाली भाषाको सङ्क्षिप्त इतिहास, भानुभक्तको जीवन चरित्र (१९८४) आदि छन् ।
वि.संं. १९५५ असार महिनामा पिता तीलविक्रम र माता पार्वतीदेवीका छोरा भई वाराणसीमा जन्म पाएका ज्ञवालीले १७ वर्षको उमेरमा नै बनारसबाट प्रकाशित हुने चन्द मासिकमा निबन्धहरु प्रकाशित गराएर नेपाली साहित्यमा देखापरेका हुन् । दार्जीलिङको माटोमा नेपाली भाषा साहित्यका प्रचारक भई अतुलनीय सेवा पु¥याएका यिनले त्यही माटोमा पारसमणि प्रधानजस्ता ‘पारस’ र धरणीधरजस्ता ‘धरणी’ का साथ पाएर नेपाली भाषाका लागि त्यो क्षेत्रमा ‘सूर्य’ भएर प्रकाश बाँडेर गए । भानुभक्तका अनुयायी अर्थात् भानुभक्तलाई विशेष रुपले चिनाएर गएका यिनले चौरास्तामा भानुभक्तको पूर्णकदको स्मारक ठड्याएर गए । नेपाली भाषा, नेपाली साहित्यका अतिरिक्त नेपालीहरु चिनाउन इतिहास लेखेर गएका यिनी नेपाल लाइब्रेरी, नेपाली साहित्य सम्मेलनका सक्रिय सदस्य रहेर पनि सेवा पु¥याएर गएको देखिन्छ । वि.सं. २०२८ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले यिनलाई ‘आधा शताब्दीभन्दा अघिदेखि नेपाली भाषा, साहित्य र इतिहासको माध्यमबाट राष्ट्रिय भावनाको उद्बोधनमा अनवरत सेवा गरेबापत त्रिभुवन पुरस्कारद्वारा सम्मानित गरेको देखिन्छ ।
डाँकघर, पारे घर्तीको पुरुषार्थका अनुवादक । भारतको ‘कैजर ए हिन्द’ । नेपालका प्रज्ञाहरुका सफल प्राज्ञ । इतिहासभित्रका ‘इतिहास’ । साहित्यका ‘अन्वेषक’ । कुशल सम्पादक । कथा, निबन्ध, कविता, समालोचना विधाका सुप्रसिद्ध इतिहासकार । यस खालको सेवा र सिर्जनाका लागि यिनको समग्र मूल्याङ्कन गरेर नेराप्रप्रले यिनलाई ‘नेपालको इतिहास, भाषा र साहित्यको आजीवन सेवा गरी राष्ट्रको गौरव बढाउन प्रशंसनीय योगदान गरेकोमा सम्पूर्ण कृतित्वको कदरस्वरुप पृथ्वी प्रज्ञा पुरस्कारले सम्मानित गरिएको थियो ।
“धर्म भनेको कर्तव्य गर्नु नै हो” को उद्देश्य बोकेर कर्तव्यपथमा लाग्न जानेका यिनले साहित्यसेवामा लाग्दा सन्तोष बोक्न सिक्नका लागि यस्तो अभिप्रेरणा व्यक्त गरे –“करै परेर सन्तोष हुनुपर्छ । सन्तोष नभए त पागल हुनुपर्छ ।” जीवनको अन्तिम क्षणसम्म पनि सिर्जनाकै व्याख्यान गरेर गएका यिनले जीवन–क्रम गुजार्दा सन्तोष नै बोकेर गए । वि.सं. २०४२ मङ्सिर १६ गते यिनी ८८ वर्षको उमेरमा अवसान भएको देखिन्छ ।
जीवन–जगत्का एकजना अनुभवी स्रष्टा–इतिहासकार सूर्यविक्रम ज्ञवालीका विचार–बिम्बहरु कति मार्मिक छन् तल केही पङ्क्तिहरु उल्लेख गरेको छु ः
— मलाई त के लाग्छ भने मृत्यु भनेको जीवन परिवर्तन हो, त्योभन्दा अरु केही होइन ।
— साहित्यतिरै बढी मोह छ । थालेको पनि साहित्यबाटै हो इतिहासमा पछि लागेको हुँ ।
— आफ्ना साहित्यकृतिले नै जीवनयापन गर्ने चलन युरोपतिर छ नै, अहिले भारततिर पनि देखापर्दैछ । हामीकहाँ आइपुग्न त परै छ ।