मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक
जस्तोसुकै दुःखमा पनि थाक्न नजानेका, सिद्धान्तअनुसारको व्यवहार गर्न जानेका एकजना दह्रो र इमानदार सावित भएर गएका मान्छे हुन् युद्धप्रसाद मिश्र । सिङ्गो युगमा पनि यस्ता खालका मान्छेहरु पाउन ज्यादैै गाह्रो हुन्छ, जसले आफूलाई बेच्न दिएनन्, बरु अभाव र दरिद्रतासँग युद्ध गरिरहे तर स्वाभिमानलाई झुक्न दिएनन् । सधैं–सधैं आफ्नो विश्वास र आस्थाको राजनीतिमा, साहित्यिक क्रियाकलापहरुमा र सिर्जनामा लागेर अप्ठ्यारा व्यवहार भोग्नुपरे तापनि दह्रो आत्मबलका कारणले युद्धभूमिबाट नभागेको युद्धकै प्रतिबिम्ब भएका छन् – युद्धप्रसाद मिश्र ।
प्रगतिवादी कविहरुकै अग्रज कवि युद्धप्रसाद मिश्रको काव्ययात्रा निकै लामो र कष्टपूर्ण रहेको छ । उनले जीवनमा धेरै किसिमका सङ्घर्षहरु भोगेका छन् र त्यही सङ्घर्षमय जीवनले भोगेका व्यथाहरु नै कविताका विषयवस्तु भएका छन् । कम्युनिस्ट बन्न गाह्रो छ, तर कम्युनिस्टले नै देश र जनताको कल्याण गर्दछ भन्ने आस्था साँचेर जीवनपथमा हिँडेका मिश्रले राजनीतिमा लागेर पटक–पटक जेलजीवन भोगे र नेपाली काङ्ग्रेसको सदस्य भएर प्रजातान्त्रिक समाजवादको रुपरङ्ग पनि चाखे । राजनीतिमा सक्रिय छँदा उनले अनेकांै हन्डर, धोका र षड्यन्त्र भोगे तर पनि जीवनको अन्तिम क्षणसम्म पनि अनेकौं कष्टपूर्ण क्षणहरुसँग जुझे तर निराश भएर आफूलाई पलायनको बाटोमा रम्न दिएनन् । पछिसम्म पनि आफ्नै आस्था र विश्वासमा बाँचिरहन उनले देखाएको अडान र विश्वासले नै युद्धप्रसाद मिश्र इमानदार र आत्मबल दह्रो युद्धकै रुपमा चिनिएर गएका छन् । सङ्घर्षले भरिपूर्ण भएको महाकाव्यभन्दा फरक नपर्ने उनको जीवनले देखेका, भोगेका र सुनेका सन्दर्भहरुकै प्रतिक्रिया हुन् उनका क्रान्तिकारी कविताहरु ।
युद्धप्रसाद मिश्रको जन्म वि.सं. १९६४ पुस २७ गते सोमलिङ्टार, भक्तपुरमा पिता रुद्रप्रसाद मिश्र र माता गीताकुमारी मिश्रबाट भएको हो । साधारण संस्कृत शिक्षा मात्र पाएका उनले औपचारिक कुनै पनि स्तरको परीक्षा उत्तीर्ण गरेको देखिंदैन । केही क्षण मात्र दरबार स्कुलमा र बनारसमा अङ्ग्रेजी अध्ययन गर्न खोजेका तर सफल नभएका उनले वि.सं. १९८३ मा नौसिन्दाको जागिर र त्यसपछि वि.सं. १९८६ ताका राणाप्रधानमन्त्री भीमशमशेरको दरबारको बहिदार, सुबेदार र सुब्बासम्म नोकरी गरेको देखिन्छ । २०१८ सालको केही अवधिसम्म माल अड्डामा सुब्बा पदमा जागिरे र त्यसपछि २०१८ सालतिर नै भारतमा निर्वासन जीवन बिताउन उनी गएको देखिन्छ ।
कविता–काव्यमा एउटा छुट्टै आयाम बोकेका कवि मिश्रका कविताहरुमा आफ्नै प्रकारको शैली, भाव व्याप्त भएको कारणले उनका कविताहरु सिद्धिचरण श्रेष्ठका कविताहरुभन्दा कमजोर छैनन् भनेर कोही–कोही समालोचकहरुले लेखेका छन् । गोरखापत्रमा वि.सं. १९९० मा पहिलो कविता छात्रजीवन प्रकाशित गरेका उनका प्रकाशित पुस्तकहरुमा रामायण अरण्यकाण्ड (२०२७), मुक्त सुदामा (२०२९), बाढी (२०२९), युद्धप्रसाद मिश्रका कविताहरु (२०४८) छन् । कवितामा बहुसङ्ख्यक जनताकै मुक्तिका लागि हरफहरु कोर्न सिपालु कवि मिश्रले हाम्रो खुन छ देशको हृदयको घाउ दुखेको धुने, हाम्रो त्याग विशुद्ध आत्मबल हुन् पीडित सम्पत्ति, हाम्रा जन्मस्थल तथा झुपडीका मालिक हामी सब भनेर आफ्नो अडान, विश्वास र वर्गीय आधार कवितामा नै पोखेको पाइन्छ । उनी कवितामा लेख्छन् – देवताकन दूर धकेल्दै, जनजागृतिको दैलो खोल्छु, न्याय उठाउन बन्दुक, खुर्पी र खुँडाको भाषा बोल्छु ।
क्रान्तिकारी कवि युद्धप्रसाद मिश्रले प्रारम्भिक चरणमा बाल्यकालताका आफ्ना गुरुजनहरुमार्फत् चाणक्यनीति, अमरकोश, हितोपदेश पढेको देखिन्छ । बिहान–बेलुका श्लोक पढेर घरमा पाठपूजा हुँदा कविता यस्तै नै हुँदा हुन् भनी जानेका हुन् र उनले पनि रामायण, महाभारतका साथै भवभूति, कालिदासकै साहित्य पढेर आएका हुन् । यस्तै प्राचीन संस्कृत साहित्यका कविताहरुको अध्ययन गर्दै कवि मिश्रले आफूले पनि पढ्दै, स्मरण गर्दै, अरुले सुनाएको सुन्दै कविताहरु लेख्ने प्रेरणा बोक्न थालेका हुन् । यसरी कवि बनेका युद्धप्रसादले कवितामा पाइने प्राचीन दृष्टिलाई तोड्दै आधुनिक दृष्टिको खोजीमा लाग्दालाग्दै प्रगतिवादलाई अँगाल्न पुगेका हुन् ।
‘आफ्नो सिद्धान्तलाई जीवितै राखिछाड्ने अरु इमानदार मान्छेहरुको जस्तै मेरो पनि इच्छा छ ।’ यस्तै आदर्शले युद्धप्रसादलाई जीवन्त बनाएको छ । हो, त्यागलाई अहिले बरदान मान्छु, अहिले म पीडित मान्छे जहान मान्छु । यस्तै भावनाले युद्धप्रसादलाई इतिहासकै युद्ध बनाएका हुन् । नयाँ युग, नयाँ स्वप्नका निर्माताहरुको महान् गुणगान गाउनु र तिनीहरुको अमर भावनालाई वाणी प्रदान गर्नु साहित्यको काम हो, उनी निर्भीक भएर भन्छन् । साहित्यको कसी व्यवहारलाई बनाउनुपर्छ, व्यवहारमा उत्रिन नसकेको साहित्यले जनताको हित गर्न सक्दैन भन्ने खालको विचार उनले व्यक्त गरेको पाइन्छ । प्रगतिशीलतातर्फ उन्मुख भएका कारण आफ्ना उपवनका सबै बिरुवा र वृक्षहरुमाथि समान स्नेह राख्ने युद्धप्रसाद मिश्रले राष्ट्र, समाज र जनतालाई केही दिएर गएका छन्, तर उनले केही लिएर गएका छैनन् । दुई छोरा र चार छोरीलाई भौतिक रुपले केही दिएर जान सकेनन् । तापनि इमान, आस्था र स्वाभिमानका पाठहरु पढाएर गएका छन् । युद्धप्रसाद मिश्रकै सन्दर्भमा उनकै भाषामा उनलाई किन स्मरण नगर्ने ! म पनि युद्धप्रसाद मिश्रकै नाममा एउटा मुक्तक मुक्तकण्ठले गाउँछु ः
मुक्त–कण्ठले गीत सुसेल्ने क्रान्तिको बाजा हो
नव–जागृतिको चेतना फुक्ने जनमानसको राजा हो
पीडित जनको मन–मनमा विश्वास भर्ने सहारा हो
सडेगलेको शासन तोड्ने हुङ्कारको धारा हो ।
समाजमा व्याप्त कुरीति नास्नका लागि बजाइएको बाजाजस्तै युद्धप्रसादका कविताहरु जागृतिका लागि चेतनाका हरफहरुजस्तै छन् । हेपिएका र ठगिएका तल्लो वर्गका लागि विश्वास सम्प्रेषण गर्ने भावनाहरुका अभिव्यक्तिजस्तै छन् युद्ध कविका विश्वास र आस्थाहरु सडेगलेका शासन तोड्न निस्केका इन्कलाबकै स्वरजस्तै छन् उनका क्रान्तिकारी कविताहरु । त्यसैले भन्नुपर्छ, युद्धप्रसाद मिश्रलाई जनताले कहिल्यै बिर्सने छैनन् । उनी बहुसङ्ख्यक जनताकै लागि दुःख र बेथिति भोगेका आत्माभिमानी– स्वाभिमानी कवि पो हुन् र इतिहासमा सधैं अमर रहिरहनेछन् ।
स्वाभिमानलाई गिर्न नदिइकन कुनै पनि सङ्कटमा आफूलाई समर्पण गर्न दिइकन दुःख व्यहोरेर बाँचे यिनी । कुनै पद, पुरस्कार र सम्मानमा पनि यिनी बिकेनन् । यसैले भन्न सकिन्छ यिनी आस्था र इमानका मात्र कवि होइनन्; स्वाभिमानका उदाहरणीय कवि व्यक्तित्व हुन् । यिनको अहिंसा प्रार्थना खण्डकाव्य भीमशमसेरको दरबारमा नष्ट गरियो । यिनले कृष्णमणि साहित्य पुरस्कार मात्र लिए । यिनको अभिनन्दन प्रगतिशील लेखक संघले २०४१ मा गरेको देखिन्छ । सिङ्गो जीवन कवितामा दिंदै आएका यिनी २०४७ फागुन ६ गते अवसान भएको देखिन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |