मोहन दुवाल
चित्र पनि एक किसिमको कला हो । शब्दले बुझाउन नसक्ने कतिपय कुराहरु चित्रले छर्लङ्ग पार्दछ । एउटै चित्रले धेरै कुराहरुलाई प्रष्टसँग बुझाउने गर्छ, यो चित्रकारको खुबी पनि हो ।
काठमाडौं जिल्लाको नैकापस्थित तीनथानामा वि.सं. १९८२ माघ २१ मा एकजना बालकको जन्म भयो । तिनै बालक पछि कुलमानसिंह भण्डारीको नामले चिनिए । उनका चित्रहरुले नेपालमा मात्र नभई विदेशमा समेत आफ्नो अमिट छाप छोड्न सफल भएका छन् । भारतको पटना र अफ्रो एशियन लेखक सङ्घ अन्तर्गतका विभिन्न देशहरुमा यिनले आफ्नो प्रभाव छोडेको छ । “जनताका लागि चित्र कोर्नेहरुले साधारण शैलीमा कला सिर्जना गर्नुपर्छ । अमूर्त चित्र जनताले बुझ्दैनन् । शोषकहरु जहिले पनि जनताले कला नबुझोस् भन्ने दृष्टिकोण राख्छन् तर हामी जनताका कलाकारहरुले जनताले बुझ्ने कला सिर्जनातिर लाग्नुपर्छ ।” यस्तो चिन्तन बोकेर कला क्षेत्रमा निरन्तर लागिरहेका र धैर्यशील व्यक्तित्व कुलमानसिंह भण्डारी जनपक्षीय कलाकारका रुपमा विख्यात छन् । जीवनमा कहिल्यै थाक्न नजानेका, आफूले कोरेका चित्रहरु झोलामा भिरेर निरन्तर कलायात्रामा यिनी लागिरहे । उनी ज्यादै खरो स्वभावका कलाकारको रुपमा समेत परिचित थिए तर उनका चित्रहरुले शोषणका विरुद्ध, नारी मुक्तिका सवालमा, साम्राज्यवाद–हैकमवादका विपक्षमा, तानाशाहहरुको बर्बरताको आक्रोशमा आफ्नो कूचि पोखिरहेको तथ्य उनका चित्रहरुमा छरपष्ट भेटिन्छन् ।
मान्छेमा आत्मविश्वास चाहिन्छ, आत्मविश्वासले नै सही बाटो देखाउँछ । उनका चित्रका रेखाहरुले यस्तै संकेत र दृष्टिकोण अगाडि सारिरहेका छन् । आन्दोलनकारीहरुको आत्मविश्वास भत्काउन शासकहरुले के–के गर्छन् भन्ने कुरा “सौगात” चित्रले आफ्नो विचारधारा फलाकिरहेको छ । नेपालीहरु कति दीनहीन भएर श्वास धानिरहेका छन् –“दरिद्रीको रेखामुनि नेपाली” चित्रले छर्लङ्ग्याएको छ । सामन्तहरुको अगाडि हुर्कन कति गा¥हो हुन्छ “ठूलो घर” ले संकेत देखाइरहेको छ । जनतालाई सङ्गठित र चेतनशील पारिसकेपछि क्रान्तिलाई कति धेरै टेवा पु¥याउँछ “ढलेका धान मुट्ठा” बनाउँदै गरेको चित्रले प्रष्ट्याएको छ । दृष्टिकोण फेर्नुपर्छ अनि मात्र मुक्ति र शान्तिको सम्भव छ भनेर राक्षसको मुखभित्रबाट हेरिरहेकी आइमाईको चित्रले विश्वास पस्किरहेको छ । अध्यात्मवादको उदय कसरी भयो र शोषणसँगै क्रान्तिको संकेत कसरी हुन्छ “दर्शनको विकास” चित्रले र माक्र्सवादको सिद्धान्त रेखाको माध्यमबाट बोल्न लगाएको देखिन्छ । आमूल परिवर्तन नभइकन जनता र देशको मुक्ति असम्भव छ – “बुद्ध सामन्त र टालटुल चित्र” दर्शन भएर बोलिरहेको छ ।
“अहिलेसम्म देखा परेका कालाकारहरु साँच्चिकै जनताका पक्षमा सिर्जनारत छैनन् । जनतामा गएर जनतामा भिजेर मात्र जनताका समस्याहरु बुझ्न सकिने भएकोले यस्ता कलाकारहरुको उदय गराउनु आजको आवश्यकता हो ।” उनका यस्तै उक्तिले प्रष्ट हुन्छ कि उनी जनताकै पक्षमा कार्यरत जनपक्षीय कलाकार हुन् । कलाकार भण्डारीले जीवनभर यस्तै दृष्टिकोण आत्मसात गरि आफ्नो अभियानमा जुटिरहे र कहिल्यै नथाकी आफ्नो अडान छाडेनन् । जनतालाई कलाकै माध्यमबाट बुझाउन सकिन्छ भनी राष्ट्रभर अभियान गरे । कसैले साथ नदिए पनि आफ्नो कर्म र मर्मलाई रत्तिभर भाँचकुँच पारेनन् । आफूले जे बुझे त्यही कुरा चित्रमार्फत् जनमानसमा सम्प्रेषित गरिरहे । माक्र्सवादी चिन्तन बोकेर कलायात्रामा सचेतना सिंचन गर्दै कला सिर्जना गर्ने भण्डारीले नेपालमा प्रगतिवादी कलाको विकास गर्न आफूसक्दो योगदान पु¥याएको देखिन्छ । ‘अहिले देखा परेका कलाकारहरु साँच्चिकै जनताका पक्षमा सिर्जनारत छैनन् ।’ उनको ठम्याइ छ ।
साधारण शैलीमा चित्रहरु कोरेर गाउँ–गाउँ पुग्ने उनलाई कलायात्रामा कतै जनताले निकै माया दिएका थिए भने छली प्रपञ्चको हिमायतीहरुले कतै घृणा र छेकथुनसमेत गरेका घटनाहरु पनि उनी सुनाउने गर्दथे । उनको आफ्नो आत्मसंस्मरण पुस्तक जनमत प्रकाशनबाट प्रकाशित मेरा कलाकार गुरुहरुमा आफ्नै पिता लगायत चन्द्रमान मास्के, बालकृष्ण सम आदिसँग उनले कला सिकेको बताएका छन् । वि.सं. २०३६ सालमा गठन भएको नेपाल एकेडेमी स्थापनार्थ समितिको उनी एकजना सक्रिय सदस्य थिए । यिनीसँग देशका थुप्रै ठाउँहरुमा घुम्दाका क्षणहरु अविष्मरणीय छन् । झिँजो नमानीकन आफ्ना कलाका पलाकारसँग चितवन, मकनवानपुर, झापा, धरानमा पुग्दाका क्षणहरु भुल्न गाह्रो भइरहेछ ।
मरणोपरान्त आफ्नो शवलाई सार्वजनिक प्रयोगका लागि अस्पताललाई हस्तान्तरण गर्ने इच्छापत्र लेखेर गएका कलाकार भण्डारीले ‘कलालाई बैठक खोपीको खेलौना होइन जनताको गहना पो बनाउनुपर्छ’ भन्ने गर्थे । कलामार्फत् नेपाली समाजमा परिवर्तन ल्याउन सकिन्छ भनी अथक साधनामा तल्लीन हुँदाहुँदै वि.सं. २०५७ साउन २ गते उनले आफ्नो यात्रामा विश्राम लिए ।
युगप्रति समर्पित जनपक्षीय कलाकार कुलमानसिंह भण्डारीको भौतिक अन्त्य भएको छ । तर उनको विचारमा रहेको दृढशक्ति जनताप्रति रहेको दृढ भावना विश्वास गर्न सकिन्छ । उनका भावनाहरु सधैं जीवन्त रहनेछन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |