१. पृष्ठभूमि
गजल सङ्गीत चेतनाका आधारमा गीत एवम् बिम्ब–प्रतीक तथा उपमा, रुपक जस्ता अलङ्कारको प्रयोग र सौन्दर्य चेतनाको दृष्टिले पनि कविताको आश्वादन दिने साहित्यको एउटा संरचना हो । यो अरबी वा फारसी भाषाबाट आएको विधा हो । शुरूमा बादशाहहरूको जयगानको रूपमा गजलको विकास भएको थियो ।
मनु ब्राजाकीका अनुसार, “गजलको जन्म अरब देशमा भएपनि पुष्पित र पल्लवित भएर झाङ्गनिे र फस्टाउने क्रम भने इरानमा आएर भयो । आर्य परिवारको फारसी भाषाका ललित शब्दहरूले अलङ्कृत भएपछि गजल र रुवाइ दुवैले आ–आफ्नो चरम उत्कर्ष भेट्टाए । अनि मुसलमान आक्रमणकारीहरूसँगै भारतमा भित्रिएको“ थियो । उहाँ अगाडि लेख्नु हुन्छ कि, ’’भारतीय भाषाहरू मध्ये सर्वप्राचीन गजल कबीर दासको हमनको इस्क मस्ताना, हमनको होशियारी क्या ! भनिएको सन्तभाषा नै खडी बोलीको आदि रूप हो । पछि आएर मुगल बादशाह शाहजहाँको पालामा खडी बोली प्राम्भिक स्वरूपबाट हिन्दी र उर्दूको मानकीकरण शुरू भयो । हिन्दी र उर्दू छुट्टिन थालेको यस अवस्थामा तत्कालीन जनभाषामा काव्य सम्पदालाई ’गजलीया शैली’ भनेर अभिहित गरियो । यो गजलिया शैली तत्कालीन जनभाषा ’हिन्दुई’ वा ’हिन्दवी’ वा ’खडी बोली’ प्रारम्भिक स्वरूप थियो । साथै यसैबाट मानकीकरण हुँदै दुई हाँगामा छुट्टएिर हिन्दी र उर्दू भयो । नेपालमा भने मोतीराम भट्टले पनि गजल भित्र्याएका थिए । उनले सो क्रममा त्यही खडी बोलीको एक शाखा उर्दूबाट प्रेरणा लिएका थिए । नेपाली साहित्यको माध्यमिक कालमा गजल नेपालमा भित्रिएको थियो । आज नेपालमा गजलको भेलबाडी नै आएको भन्ने गरेका छन् । नेपाली खसभाषाबाट नेपालमा प्रवेश गरेको भनिएको गजल विधाले अहिले आदिवासी जनजातिहरूका भाषामा पनि पहुँच स्थापना गरिसकेको छ । तामाङ भाषामा त पाँचवटा कृतिहरू सङ्ग्रहको रूपमा आइसकेको छ । विश्व परिवेशलाई हेर्ने हो भने अरबी, फारसी, टर्केली, हिन्दी, उर्दू र नेपाली र अङ्ग्रेजी लगायतका भाषाहरूमा पनि गजल लेखिएका छन् ।
२. अर्थ र उत्पत्ति
गजलको लगभग आठ नौ सय वर्ष पुरानो इतिहास रहेको छ । यो अरबी भाषाबाट आएको मान्यता रहेको छ भने एकथरी मान्यतानुसार यो अरबी नभएर फारसी भाषाबाट आएको हो । जे होस् दुवै मान्यताका अनुसार यो ‘स्त्रीलिङ्गी’ शब्द हो ।
अरबी भाषामा ‘ग’ भन्नाले ‘वाणी’, ‘ज’ भन्नाले ‘स्त्री’ र ‘अल’ भन्नाले ‘को’ वा ‘साथ’ भन्ने हुन्छ । त्यसैले ‘गजल’ शब्दले दिने शाब्दिक अर्थ ‘स्त्रीका साथ प्रयुक्त हुने वाणी’ अर्थात् स्वास्नी मान्छेसँग गरिने वार्तालाप भन्ने बुझ्न सकिन्छ । शाब्दिक अर्थमा नारीका साथ प्रयुक्त हुने वार्तालापको अर्थ विस्तार हुने क्रममा पछि आएर नारीभन्दा पनि प्रेमिकाका साथ हुने प्रणय भावनाको अभिव्यक्ति भन्ने मान्यता स्थापित हुन पुग्यो । यसप्रकार “गजल” को अर्थ प्रेमीले आफ्नी प्रेमिकाका साथमा गर्ने प्रेममयी प्रणय भावनायुक्त अभिव्यक्ति भन्ने मान्यता स्थापित हुन पुग्यो ।
“भावार्थमा फारसी र उर्दूका विद्वानहरूले विभिन्न रोचक उदाहरणहरू पनि दिएका वा प्रस्तुत गरेका पाइन्छन् ; जसमध्ये एक रोचक उदाहरण अनुसार घुम्दै विचरण गर्ने क्रममा जब शिकारीको काँड हरिनको मुटुमा गई रोपिन्छ भने त्यसबखत विदीर्ण हृदयले त्यस हरिनेले गर्ने आर्तनाद नै गजल हो । यसप्रकार गजलको अर्थ अन्तरमनका दुःख, पीडा, विह्वलता, परिताप र छटपटी व्यक्त गर्ने माध्यम भन्ने बुझिन्छ । यसरी भावार्थ विस्तार हुँदै जाँदा अब गजलको अर्थ प्रेमिकासितको प्रेम पीडाका साथै एकाङ्की आर्तनाद समेत गजल ठहरिन पुग्यो ।
गजलको अर्थ लगाउने क्रममा भेटिने एउटा अर्को मान्यता अनुसार एकजना मान्छेले रक्सी पिएर जथाभावीसित प्रेम गर्दै कविता लेख्न थाल्यो । त्यसबेला उसैले बेग्लै खाले शैलीमा लेखेको त्यही कवितालाई नै गजल भनियो । साथै त्यस व्यक्तिको नाम पनि गजल नै थियो । आधुनिक समयमा आई पुग्दा प्रेमिकासितको प्रणय भावनाका साथै प्रेमपीडा एकाङ्की आर्तनादका साथै युगबोध, समसामायिक राजनीतिक परिवेश साथै सामाजिक विकृतिप्रतिको व्यङ्ग्य समेत गजलमा अटाउन थालेका पाइन्छन् ।
गजलको शब्दोपत्तिलाई केलाउँदा अरबी भाषाबाट आएको भएतापनि लेखन कार्यको शुरूवात भने फारसी भाषाबाट भएको देखिँदा कतिपयले गजललाई फारसी भाषा पनि भनेका पाइन्छन् तर धेरैजसो विद्वानहरूका अनुसार अरबी भाषामा हरिनको सानो बच्चा बुझाउने “गजाला“बाट भएको हो भन्ने मान्यता नै रहेको पाइन्छन् । कतिपय विद्वानका अनुसार अरबी भाषामा भएको प्रसिद्ध बादशाहको प्रसंशामा लेखिने काव्य विशेष नामक काव्यको आरम्भमा लेखिने तस्मीवबाट प्रभावित भएर यसलाई फारसीहरूले अलग विधाको रूप दिई गजल नामाकरण गरेको बताएका छन् । भनिन्छ, प्रसिद्ध गजल गायक गुलाम अलीले पनि गजललाई हरिनको क्रन्दनमाय आवाजसँग दाँजेका पाइन्छन् ।
पूर्वीय मान्यतानुसार संस्कृतिको ’कज्जल’बाट ’गजल’ बनेको हो । ’गज’ धातुको अर्थ ’चिच्याउनु, रक्सी पिएर मस्त हुनु । व्याकुल हुनु, मदोन्मत्त हुनु’ मध्ये ’चिच्याउनु’ हुन्छ । गजललाई ’घुजल’ भनेर लेन एन्डरसन र जेन रिचहोल्डले भनेका पाइन्छन् भने ’गेजेल’बाट ’घुजल’ भएको मान्यता रहेको छ । गजललाई अङ्ग्रेजीमा घजेल–घजुल र गजल– रूजल भनेर ग्लोसरी या लिटेरिरी टर्मस्मा उल्लेख गरेका छन् । हिन्दीका केही विद्वानहरूले यसलाई गीतिक, अनुगीत÷खतैरीमा– ’तेवरी’ भन्ने गरेका छन् । यसलाई स्पेनी भाषामा ग्यासेला भनिन्छ भने नेपालका मुरलीधरले गीतल भनेका थिए ।
डा. कृष्णचन्द्र मिश्रका अनुसार, अरबी भाषाको ’गिजल’बाटै ’गजल’ शब्दको व्युत्पन्न भएको हो । शम्भु सापकोटाका अनुसार, कोमल हृदयमा कुनै गहिरो आघात पर्दा त्यसबाट प्रस्तुत हुने कारुणिक तथा पीडाजन्य आन्तरिक अनुभूतिजन्य र प्रेमिकासँगको पीडासित व्यक्त गर्ने शब्दजाल नै गजल हो (बुलबुलअनलाइन डट कमका लागि ः शम्भु सापकोटा ः लखनपुर झापा, हाल ः काभ्रे) ।
गजल फारसी भाषाबाट आएको भन्ने मान्यतामा विश्वास राख्नेहरूको पनि कमि छैन । यसै सम्बन्धमा शम्भु सापकोटा लेख्दछन्, ’फारसी भाषामा गजलको अर्थ ’वाजनान गुफ्तगु करद न’ वा ’आइमाईका कुरा’ हुन्छ । आइमाईका कुरा एक विषयमा केन्द्रित नहुने भएकाले र गजलका पनि हरेश ’शेर’हरू कुनै निश्चित विषयमा आबद्ध नभई आफैँमा स्वतन्त्र देखिन्छन्; तर्सथ अर्थका दृष्टिले गजल एकतामा अनेकता र संरचनात्मक दृष्टिले अनेकतामा एकता हुने सुललित भाषिक अभिव्यञ्जना हो’ (ऐ.ऐ.) ।
नेपाली बृहत् शब्दकोशमा भने, ’विशेषतः प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्छ वा त्यसै छन्दमा लेखिएको कवितालाई गजल’ भनिएको छ ।
यस्तैगरि उर्दू–हिन्दी शब्दकोशमा, ’पाँच देखि ११ शेरहरू हुने उर्दू र फारसी कविताको एकप्रकारको गजल हो । यसका सबै शेर एउटै रदिफ एवम् काफियामा आबद्ध हुन्छन र प्रत्येक शेरको विषयवस्तु फरक हुन्छ । पहिलो शेरलाई मत्ला भनिन्छ; जसमा दुवै मिसरा अनुप्रासयुक्त हुन्छन् भने अन्तिम शेरलाई मकता भनिन्छ; जसमा गजलकारले आफ्नो उपनामको प्रयो पनि गर्न सक्छ ।
द अक्सफोर्ड इङलिस डिक्सनरीमा भने, ’विशेषतः प्रेमसम्बन्धी वा रागात्मक, पुरानो, लयात्मक कविताको एकप्रकार हो; जसमा सीमित श्लोक, उही अनुप्रासको आवृत्ति तथा पश्चिमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ’ भनिएको छ ।
तस्वीवबाट अरबी भाषामा कसिदाको जन्म भयो । शुरूमा– दई वा चार पङ्क्तिको प्रणय गीतबाट कसिदाको जन्म भएको थियो । कसिदाले राजा महाराजा र बादशाहहरूका प्रशंशा काव्यको रूपमा विकास गरेका थिए तर यसपछि भने प्रणयका गीत लेख्नेहरू भने तस्वीव र कसिदालाई अलग्याए । पछि त्यहि तस्वीवबाट गजलको जन्म भएको हो ।
गजलले सामाजिक विकृति, प्रणयभाव हुँदै भक्ति सङ्गीतको जन्म भयो । यसैक्रममा इस्लाम सुफि सन्तहरूले भक्तलाई प्रेम र ब्रह्मा वा ईश्वरलाई प्रेमिकाको रूपमा वर्णन गरे । उनीहरूले आत्मालाई प्रेमी र परमात्मालाई प्रेमिकाको रूपमा प्रस्तुत गरेका थिए । अर्थात् उनीहरूले सङ्गीत, रक्सी र प्रेमलाई अध्यात्मिक रङमा घोलेर रक्सीलाई समर्पण, भट्टी पसललाई प्रार्थना गृह अनि चुम्बन र आलिङ्गनलाई दया तथा प्रसन्नता देखाउने कार्य मानेका थिए । उनीहरू सङ्गीतलाई ईश्वर खुशी पार्ने माध्यमको रूपमा विश्वास गर्दथे ।
प्रणय भावा र भक्ति सङ्गीतबाट समाजको आवाज र गीत बनाए । यो कार्य भने उर्दूका मौलाना अलताफ हुसेन हाली र मौलाना मोहम्मद हुसेन आजादले मुसायराको माध्यमबाट गजललाई जनजीवन र युगबोधको माध्यम हो । यसपछि प्रगतिवादीहरूले शुरू गरे । प्रगतिवादी कविहरू फैज अहमद उर्दू र दुश्यन्तकुमार हिन्दीको प्रगतिवादी गजलकारहरू हुन् ।
३. गजलको विषयवस्तु र प्रस्तुतीकरण ः
गजल पनि एक प्रकारको गेय–गाउन मिल्ने) विधा हो । आरम्भमा यसले प्रेम वा सृङ्गार र रक्सीलाई मुख्य विषय बनाए पनि आजकल देशभक्ति समकालीन परिस्थिति, मानव व्यवहार, प्रकृति चित्रण साथै राजनैतिक उतार चढावका साथ दैनिक दिनचर्या समेतलाई महत्त्वपूर्ण विषयवस्तु बनाएको पाइन्छन् । गजलमा विषयवस्तुको भावपूर्ण प्रयोग अपरिहार्य हुन्छ । अन्यथा कोरा बस्तुपरक अभिव्यक्तिले गजललाई कमसल बनाई दिन्छ । यसकारण गजलकारले विषयको बारेमा संवेदात्मकक रूपमा अभिव्यक्त गर्न सचेत हुनै पर्दछ । गजलमा कुनै एउटा विषयवस्तुको क्रमिक विकासक्रममा पनि हुनसक्छ भने विभिन्न विषयवस्तुहरू पनि अटाउन सक्छ तर एउटा विषयवस्तुको प्रस्तुती भएको गजलले जुन प्रभाव दिन सक्छ शेर नै पिच्छे फरक वा अलग विषयवस्तुको प्रयोग भएको गजलले मुक्तकीय आस्वाद दिए गहिरो प्रभाव दिन नसक्ने कुरा कृष्णहरि वराल लेख्नु हुन्छ । उहाँका अनुसार एउटै भावले व्याप्ति पाएको “मुसल्सर“ भनिने गजलकै लेखन झाङ्गएिको छ र यस्तो हुनु आवश्यक पनि छ । गजलका प्रत्येक शेर आफैँमा पूर्णता दिन सक्षम हुनुपर्दछ । यस्तैगरी गजलमा प्रयोग हुने विषयवस्तुलाई ’मफुम’ भनिएको पाइन्छ ।
गजलको विषयवस्तु प्रस्तुतीकरण सम्बन्धमा मनु ब्राजाकीका अनुसार गजललाई स्पष्ट रूपमा बुझ्न उर्दूका महाकवि गालिबको एउटा शेर अत्यन्त सटिक छ; जस्तै ः
“बला–ए–जाँ है गालिब उसकी हर बात, इबारत क्या, इशारत क्या अदा क्या !”
आफ्नी प्रियतमालाई “बला–ए–जाँ” भन्दै गालिबले यस शेरद्वारा गजलका तीनवटा प्राण तत्त्वहरू = पहिलो हो इबारत अर्थात् शैली; दोस्रो इशारत अर्थात् प्रतिक र तेस्रो हो अदा अर्थात् छटा वा सौष्ठवपूर्ण प्रतिक असफल र गद्यात्मक खस्रो वर्णन मात्र ठहरिनेछ ।
यसप्रकार इबारत = शैली, इशारत = प्रतिक र अदा = छटा वा भावछाया गजलको प्राण तत्त्व नै हुन् भने यसका अलावा अभिव्यक्तिको विश्वासनीयताको पनि अपरिहार्यता पर्दछ । लेखनमा प्रस्तुतीकरणको कौशल र शैली निर्माणमा लेखकको व्यक्तित्वको महत्त्वपूर्ण भूमिका हुन्छ । यसर्थ गजलमा शायरले आफ्नो व्यक्तित्व लुकाउन सक्तैन । सम्प्रेषणीयताको प्रथम शर्त नै अभिव्यक्तिको सत्यता र चोखोपन हो । कुनै पनि गजलकारको “अन्दाजे बयाँ“ अर्थात् अभिव्यक्ति कौशलको वैशिष्ट्यको निर्माणमा यसै तत्त्वको निर्णायक भूमिका हुन्छ ।
व्यक्तिगत पीडाद्वारा जनजीवनको पीडा उद्घाटित गर्नु नै गजलको महत्त्वपूर्ण गुणात्मक ’अन्दाजे बयाँ’ हो । उदाहरणका लागि सुप्रसिद्ध पाकिस्तानी शायर अहमद नदीम कासमीको गजलका दुई शेर प्रस्तुत छन् ः
कौन कहता है कि मौत आयी तो मर जाउँगा ?
मै तो दरिया हुँ समन्दर में उतर जाउँगा ।।
जिन्दगी शम्अ की मानिन्दा जलता हुँ “नदीम”,
बुझ तो जाउँगा मगर सुबह तो कर जाउँगा ।।
उपर्यूक्त उदाहरणबाट गजल हुन भाव सङ्कूल सुष्ठु–प्रतिक मर्मवेधी लयात्मक शैली, मनोहारी प्रस्तुतीकरणका साथै अभिव्यक्तिको विश्वासनीयता पनि आत्मसात गरेको पाइन्छ ।
४. गजलका भाव र भाषा ः
गजलको भाव र भाषाका सन्दर्भमा एच.बि.सि. ९४ एफ.एम. को बुलबुल कार्यक्रममा प्रस्तोता अच्यूत घिमिरेले प्रस्तुत गर्नुभएको कृष्णहरि बरालको लेख अनुसार भाषा गजलको महत्त्वपूर्ण तत्त्व हो । ’गजल भाषाबाटै अभिव्यक्ति हुन्छन् भने लयको प्रकटिकरण भाषाको निश्चित अक्षरहरूको व्यवस्थित संयोजनबाट प्रकट हुन्छ । श्रृङ्गार तथा करूण गजलहरूमा नासकीय वर्णहरू (ङ, ञ, ण, न र म)को प्रयोग तुलनात्मक रूपमा बढी हुन्छ भने रौद्र रसका गजलहरूमा मूर्धन्य (मूर्धास्थानबाट उच्चारित हुने अक्षर ः ऋ, र, ष तथा ट वर्ग) वर्णहरूका बढी प्रयोग गरिन्छन् । यस्तै र उस्तै प्रकारको वर्णहरूको अनेक पटक उचित स्थानमा भएको आवृत्तिले गजलमा सङ्गीतको सृष्टि हुन्छ र गजल अत्यन्त आनन्द दिने खालको हुन्छ । मोतीराम भट्टद्वारा लिखित “क्या सफ यी हाई–हाई बम्बइका मालीनी“ पङ्क्तिमा “इ“ स्वरको प्रवृत्ति छ पटक भएको छ र यही सङ्गीत चेतनाका कारण यो पङक्ती आकर्षक पनि भएको छ । गजलकारहरूले यसको खुलेर अनुसरण पनि गर्नु पर्दछ । यस सन्दर्भमा के पनि भन्नु पर्दछ भने काफिया मिलाउनु पर्छ भन्दैमा अर्थ न वर्थको शब्दको प्रयोग गर्नु राम्रो मानिन्न ।
गजलको भाषा अविधा अर्थ दिने खालको मात्र हुनु हुन्न । अत्यन्त भावुक अभिव्यक्ति भएमा सोझो अर्थ दिने भाषाले स्तरलाई केही हदसम्म धाने तापनि यस्तो सँधै सम्भव हुँदैन । यसैले गजलमा दोयान्यात्मक भाषाको प्रयोग हुनुपर्छ भने बिम्बात्मक तथा प्रतिकात्मक भाषाले गजललाई उच्चता प्रदान गर्छ । गजलको मूल्याङ्कनको सन्दर्भमा पनि यी कुराहरूमा ध्यान दिनु पर्दछ ।
५. गजलको संरचना र तत्त्व ः
गजल पनि गेय विधा हो । गजल निश्चित छन्दहरूमा बन्धित भएर लेखिन्छ । उर्दूमा त्यसरी गजल लेखिने छन्दलाई ’बहर’ भनिन्छ । फारसी र उर्दूमा गजल लेखनको पचास थरीका यस्ता छन्दहरू छन् । तर अचेल उन्नाईस थरीका छन्दहरू बहुप्रचलित छन् ।
गजल जुनसुकै छन्दमा बद्ध भएपनि गजलको संरचनात्मक स्वरूप यसप्रकार पाउँछौं ः गजलमा दुईवटा ’मिसरा वा मिश्रा’ मिलेर ’शेर’ बनेको हुन्छ । यस्ता शेरहरूलाई शुरू र अन्तिम गरी “मतला÷मत्ला“ र ’मकता÷मक्ता’ भनी नामाकरण गरिएको हुन्छ । यस्तैगरी गजलमा ’काफिया’ र ’रदिफ’ को पनि अपरिहार्यता हुन्छ भने ’तखल्लुस’ पनि यसमा पाइने तत्त्वहरू भित्रै पदैछ । अब प्रस्तुत छ गजलमा प्रयोग गरिने तत्त्वहरूको सामान्य परिचय–
(१) मिसरा÷मिश्रा
गजलमा दुई–दुई पङ्क्ति÷गुच्छा÷पाउको मिलन भएको हुन्छ । अर्थात दुई–दुई पङ्क्तिहरूको समुहको रूपमा रहेको हुन्छ । यस्ता पङ्क्तिहरू मिलेर एक शेरको निर्माण हुन्छ । पहिलो पङ्क्ति वा मिश्रालाई मिश्रा–ए–उला भनिन्छ भने दोस्रो पङ्क्तिलाई मिश्रा–ए–सानी भनिन्छ । मिश्रा–ए–उलामा व्यक्त गरिएको भाव र विचारलाई मिश्रा–ए–सानीमा बडो मार्मिकताका साथ निरूपित गरिन्छ; जस्तै ः
मिश्रा–ए–उलाः इन्द्रेणीको रङ्ग सारी कोर्दैछु म यौटा गजल !
मिश्रा–ए–सानीः चोखो माया जम्मा पारी कोर्दैछु म यौटा गजल !!
(२) शेर
’शेर’ अरबी भाषाको शब्द हो । यसको शाब्दिक अर्थ कपाल भन्ने हुन्छ । गजलमा दुई पङ्क्तिहरू मिलेर बनेको एक समूह नै “शेर“ हो । अर्थात् मिश्रा–ए–उला र मिश्रा–ए–सानीको संयुक्त रूप नै ’शेर’ हो । परम्परागत गजलमा शेर सङ्ख्या ’ताक’ अर्थात् विषम वा बिजोर राख्ने गरिन्छ; जस्तै तीन, पाँच, सात, नौ, एघारा आदि तर आधुनिक गजलकारहरूले यस नियमलाई तोडेको पनि पाइन्छ । गजलमा शेर सङ्ख्या धेरै भयो भने वस्तुपरकताको प्रवेश हुने सम्भावना बढी हुन्छ । यस्तैगरी चार शेरभन्दा कम शेर संख्या पनि राम्रो मानिन्नन् ।
शेरः तिम्रो यादमा नडुबेको रात कहाँ थियो !
सिरानी यो नरुझेको रात कहाँ थियो !!
(३) मतला÷मत्ला
’मत्ला’ को शाब्दिक अर्थ उदय वा आरम्भ हुनु हो । यसप्रकार गजलको पहिलो शेरलाई नै मतला भनिन्छ । मनु ब्राजाकीका अनुसार मिसरा–ए–उला र मिसरा–ए–सानी मिलेर निर्मित प्रथम शेरलाई; जसको दुवै पङ्क्ति सानुप्रासान्त हुन्छन्लाई नै मतला÷मत्ला भनिन्छ । यसैगरी यदि गजलमा एकभन्दा बढी मत्लाहरू छन् भने मत्ला युक्त प्रथम शेरलाई मत्ला–ए–उला र त्यसपछिका मत्लाहरूलाई मत्ला–ए–सानी भनिन्छ । गजलको प्रथम शेरको दुवै मिश्रा पङ्क्ति अनुप्रासान्त हुनाले मत्ला भनियो तर अपवाद स्वरूप मत्लाको दुवै मिसरा अनुप्रासयुक्त नहुन पनि सक्छन् । यो अपवाद हो तर नियम भने होइन । यसप्रकार गजलको प्रथम शेर अथवा मत्ला निर्माण भएपनि मत्लाकै छन्दानुसार अन्य शेरहरूको निर्माण गरिन्छ । अब शेरहरूमा रदिफ र काफिया भन्ने यी दुई तत्त्वहरूले नियमन गर्दै जान्छन् ।
४) मकता÷मक्ता
’मक्ता’ को शाब्दिक अर्थ काटिएको भन्ने हुन्छ । यसप्रकार गजलको अन्तिम शेरलाई नै ’मक्ता’ भनिन्छ । कृष्णहरि बरालका अनुसार गजलकारले आफ्नो नाम वा उपनामको प्रयोग गरेको छ भने मात्र त्यस्ता अन्तिम शेरलाई मक्ता भनिन्छ । तर उपनामको प्रयोग नभएमा त्यस्ता अन्तिम शेरलाई मक्ता नभनी केवल अन्तिम शेर मात्र भन्नु पर्दछ । मनु ब्राजाकीका अनुसार गजलकारले आफ्नो नाम वा उपनाम गजलको कुनै पनि शेरमा राखेर छन्दोबद्ध गर्छ भने त्यस्तो शेरलाई मक्ता भनिन्छ । सामान्यतः मक्ता गजलको अन्तिम शेरमा हुने गर्दछ तर कहिले काहीँ तखल्लुस गजलको जुनसुकै शेरमा पनि प्रयुक्त भएको देख्न सकिन्छ । अझ मक्ता विहीन गजलहरू पनि हुन्छन् भने एकभन्दा बढी मक्ता हुने गजल पनि हुने गर्दछन्; जस्तै ः
प्रणय मास पिरती हामी लुकीछिपी नै साटौँला !
’खोजेको’ तिमी जीवनसाथी दरी आउ ओई प्रिय !!
(५) तखल्लुस
’तखल्लुस’को अर्थ नाम वा उपनाम भन्ने हुन्छ । गजलकारले मक्तामा आफ्नो नाम वा उपनामको प्रयोग गरेमा त्यस्ता गजललाई तखल्लुसयुक्त गजल भनिन्छ तर तखल्लुसको प्रयोग अनिवार्य भने हुँदैन । तखल्लुसको सही एवं उपयुक्त प्रगोगले कहिले कहीँ सुन्दर साथै अर्थ गाम्भिर्यता पनि दिन सक्छ । जस्तै ः
पानी माग्दा असिनाले स्वागत गर्छु भन्छौ तिमी !
के नै गरोस् यो पुष्पले माटोसित मिल्न छाडी !!
(६) काफिया
यो अरबी भाषाको पुलिङ्गी शब्द हो । यसको शाब्दिक अर्थ बारम्बार आउने भन्ने हुन्छ । काफियाको अर्थ अनुप्रास वा तुक हो । गजलमा काफियाको प्रयोग अनिवार्य हुन्छ । रदिफभन्दा पूर्ववर्ती तुकान्त शब्द नै काफिया हो । यसले रचनालाई ’गजल’को पहिचान दिलाएको हुन्छ । गजलको मत्लाका दवै मिश्रा–ए–उला र मिश्रा–ए–सानीमा काफियाको प्रयोग अनिवार्य हुन्छ भने अन्य शेरको दोस्रो मिश्रा वा मिश्रा–ए–सानीमा यसको प्रयोग गरिएकै हुन्छ । यसप्रकार गजलको प्रत्येक शेरहरूमा प्रत्येक दोस्रो पङ्क्तिहरू “हमकाफिया“ अर्थात् अनुप्रासान्त हुनै पर्दछ । काफियाको सफल प्रयोगले नै गजल गेयात्मक हुनुका साथै लयात्मक एवं कलात्मक र प्रभावात्मक हुने गर्दछ; जस्तै ः
जिन्दगीको डुङ्गा कैले पुग्छ होला छेउ दैव !
बुझ्न रै’छ साह्रै गाह्रो जीवनको भेउ दैव !!
६.१ काफियाको किसिम ः
काफिया मुख्यतः चार प्रकारका हुने गर्दछन् ।
क) पूर्ण काफिया ः
गजलमा काफियाले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । प्रयुक्त पूर्ण काफियाले गायनमा सहजता थप्ने केही शायरहरूका मत देखिन्छन् । पूर्ण काफियाकै पक्षमा वकालत गर्ने देखि अन्य किसिमका काफियाका प्रयोग र पक्षधरहरू पनि प्रशस्तै भेटिन्छन् । जेहोस् गजलमा प्रयोग गरिने काफियाहरू मध्ये पूर्ण काफिया पनि एक हो; जस्तै ः गर्न, हर्न र सर्न; नाम, दाम र काम; छेउ, भेउ र लेउ आदि ।
ख) आंशिक काफिया ः
गजलमा पूर्ण काफियाका अतिरिक्त आंशिक काफियाको प्रयोग पनि सामान्य नै मानिन्छन् । यसलाई शब्दांश काफिया पनि भनिएका पाइन्छन् । यस्ता काफियाको प्रयोग गायन तथा लय विधानको हिसाबमा पूर्ण काफिया जत्तिको नहुन पनि सक्छन् । यस्ता काफिया मात्राको हिसाबमा बराबरी अक्षरको भएमा लय विधानमा समस्या नआएपनि अक्षरको मात्रा घटीबढी भएको खण्डमा लय विधानमा समस्या देखिन सक्छ । तथापि यस्ता खाले काफियाको प्रयोग व्यापक देखिन्छन्; जस्तै ः बजार, हतार, समाचार, आधार र पार; रोज, शोध, घोच र बोक आदि ।
ग) एकाक्षरीय काफिया ः
अक्षर, शब्द र शब्दांशका आधारमा काफियालाई वर्गीकरण गरिएका हुन्छन् । त्यसोत शब्द नभई एक अक्षर मात्र काफियाको रूपमा प्रयोग गरिएमा त्यस्तालाई एकाक्षरीय काफिया भनिन्छ । शब्द वा शब्दांशमा प्रयुक्त अन्तिम एउटा मात्र अक्षरलाई काफियाको रूपमा प्रयोग गरिएमा त्यस्तालाई एकाक्षरीय काफिया भन्ने गरिन्छ । यस्ताखाले काफियाको प्रयोग उति राम्रो मानिदैँन; जस्तै ः के, सम्झे र विहे; चरी, कली, ती, बढी, नी र सजी आदि ।
घ) मिलित काफिया ः
झट्ट हेर्दाखेरि पूर्ण वा आंशिक जस्तो लाग्ने तर ती दुईभन्दा केही फरक किसिमकोलाई मिलित काफिया भनिन्छ । यस्ता काफियाले पनि लय विधानलाई सहजता दिन सक्तैन । झरझर, फरफर, सर र समथर आदि ।
(७) रदिफ
अरबी भाषामा रदिफको अर्थ उँट वा घोडाको पछाडि बस्ने व्यक्ति भन्ने हुन्छ भने गजलमा काफियाको पछाडि आउने अन्तिम शब्द भन्ने हुन्छ । रदिफ मत्लाको दुवै पङ्क्तिहरूमा तथा अन्य शेरको काफियाको पछाडि आउने गर्दछ । यसप्रकार रदिफ गजलको शेरमा आउने काफिया पछिको अन्तिम वा अन्त्यानुप्रास हो । यसको प्रयोग अनिवार्य छैन । रदिफको प्रयोग भएमा गजललाई “मुरदफ“ र प्रयोग नभएमा “गैर मुरदफ“ भनिन्छ । रदिफ एउटा वा एउटाभन्दा बढी शब्दहरूको पनि हुन सक्छ; जस्तै ः
एक शब्दको रदिफ भएको ः
जिन्दगीको डुङ्गा कैले पुग्छ होला छेउ दैव
बुझ्न रै’छ साह्रै गाह्रो जीवनको भेउ दैव ।।
एकभन्दा बढी शब्दको रदिफ भएको ः
अटालीमा दीयो जल्दा साँझपख फर्की आउँला
शहरमा हुरी चल्दा साँझपख फर्की आउँला ।।
(८) बहर ः
गजलको छन्द वा लयलाई ’बहर’ भनिन्छ । माथि उल्लेखित तत्त्वहरू हुँदैमा मात्र राम्रा गजल हुन सक्तैन । त्यसको लागि त बहरको आवश्यकता पर्दछ । यसमा मुख्यतः भाषाशैली, लयविधान र भावगत तिव्रता पनि हुनुपर्दछ । गजल एक छन्द विशेषमा रचना गरिने शास्त्रीय मान्यता भएकोले यसमा छन्द वा बहर आवश्यक मानिन्छ ।
गजलका शास्त्रीय छन्द फारसी तथा उर्दूमा ५० भन्दा पनि बढि भएको बताइन्छ । लेख्य रूपमा १९ थरिका बहरहरू प्रचलनमा रहेको देखिन्छ । उर्दू गजलमा ३७ वटा बहरहरू भएपनि १२ वटा मात्रै प्रयोगमा रहेको दावी गरिएका पनि पाइन्छन् । उर्दू र फारसीमा गजलसङग्रहलाई ’दीवान’ र बहरबद्ध गजलसङ्ग्रहलाई ’बयाज’ भनिन्छ ।
स्रोत सङ्कलन ः
१. गजल ः सिद्धान्त र परम्परा – डा. कृष्णहरि बराल
२. गजल सौन्दर्य मीमांसा – डा. घनश्याम न्यौपाने ’परिश्रमी’
३. गजल कसरी लेख्ने ? – देवी नेपाल, सुरेश सुवेदी र घनेन्द्र ओझा
४. विभिन्न अनलाइन तथा एफ.एम.बाट प्रशारित कार्यक्रमहरु
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |