प्रभातफेरी अनलाइन१०५१ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २८, मंगलबार(३ साल अघि)
मोहन दुवाल, वरिष्ठ साहित्यकार
गोपाल पाँडे ‘असीम’ । एकजना कुशल शिक्षक । एकजना भाषासेवी । एकजना साहित्यिक संगठक । एकजना कवि तथा लेखक । सुप्रसिद्ध व्याकरणकारका रुपमा पनि यिनी प्रख्यात छन् । नेपाली भाषाको उन्नति र प्रगतिका लागि सधैं क्रियाशील यिनी आफ्नो समयकालमा समकालीन लेखक÷साहित्यकारहरुका माझ लोकप्रिय छन् । इतिहास र घटनाले बताउँछ यिनी वाङ्मय क्षेत्रका कट्टर सेवक । यिनले शिक्षक भई सेवा गरे, लेखक बने, नेपाली शिक्षा परिषद्का संस्थापक भई निरन्तर भाषा–साहित्य क्षेत्रमा आफ्नो क्रियाशीलता देखाए । आफ्नो उद्देश्यको गन्तव्यमा पुग्न निरन्तर प्रयत्नशील रहेको देखिन्छ । भाषाको सेवा गर्ने यिनको उद्देश्य, शिक्षणसेवा र कार्यबाट नैतिकता बाँड्ने यिनको दृष्टि, साहित्यकारहरुको परिचय बाँड्दै स्मारक स्थापना गर्ने यिनको भावना भावनात्मक रुपमा कोरा र सुन्दर देखिँदा छन् ।

मैले चिन्न पाइन गोपाल पाँडेलाई । तर उनले पु¥याएर गएका शिक्षणसेवा, साहित्य सिर्जना, नेपाली भाषाको विस्तार र विकासका लागि गरेको योगदानको उच्चता मेरो मनमा सधैं इतिहासझैं कुँदिएका छन् । भाषा वाङ्मयको सेवामा मेरा पनि जीवनका क्रमहरु समर्पित छन्, शिक्षणसेवामा आफूले पु¥याइएका योगदानका अनेकौं कथाहरु छरपष्ट छन् । थुप्रै स्रष्टा प्रतिभाहरुको सम्मान गर्न पाउँदाका खुसीका क्षणहरु मनभरि कञ्चन पानी बूँदहरुझैं कलकल गर्दै बग्दै गरेजस्तो छ । करिब दुई दर्जन पुस्तक आफूले प्रकाशन गर्न पाएको छु, १२२ वटा पुस्तकहरु राष्ट्रकै छाप्न पाएर साहित्यसेवा गर्न पाउँदा म आफैमा गौरवान्वित भएर गौरव महसुस गरेको छु । मोतीराम भट्ट, गोपाल पाँडे ‘असीम’कै पथयामी भएर म पनि वाङ्मयसेवामा लाग्दै गर्दाका यी क्षणहरुमा जनमतको व्यापकताले गर्दा हर्षले गद्गद् छु ।
गोपाल पाँडेकै वाङ्मय सेवाको बाटोमा लागेर साहित्यकार रमा शर्माले पनि निकै गौरवपूर्ण कार्य गरेर आफूलाई देखाउँदैछिन् । गोपाल पाँडे आफ्नो यात्रामा कहिल्यै थाकेका देखिँदैनन् । जीवनमा नथाक्नेहरु, हरेश नखानेहरु, नकारात्मक ढङ्गले नसोची सकारात्मक सोच्नेहरु र आफ्नो उद्देश्य प्राप्ति गर्नका लागि निरन्तर लागिरहनेहरुले अवश्य गति पाउँछन् । भाषा वाङ्मयको सेवामा निरन्तर खटिरहन सफल गोपाल पाँडेले आफ्नो शिक्षणसेवा, साहित्यिक सिर्जना र संगठन कार्यको गतिमा वैशिष्ट्यता प्राप्त गर्न सफल छन् । विचारमा कर्मशीलता, अथक परिश्रमशीलताकै कारणले गोपाल पाँडे आफ्नो यात्रामा सुन्दर देखिएका हुन् । भाषा, शिक्षा र साहित्य क्षेत्रमा विशिष्ट योगदान गरी प्रसिद्ध बनेका साधक गोपाल पाँडे ‘असीम’को जन्म वि.स १९७० जेठ १५ गते काठमाडौं, प्याफलमा भएको हो । पुख्र्याैली घर दाङका लीलाराज र टुल्काराम पाँडेको कोखबाट जन्मेका यिनको बाल्यकाल आर्थिक कठिनाईका कारण त्यति सुखद नरहेको कसैले सन्दर्भमा उल्लेख गरेका छन् । वि.सं. १९८० मा दरबार हाइस्कुल भर्ना भएका यिनी केही वर्ष यतै पढाई गरेर १९८९ मा पटनाबाट म्याट्रिक उत्तीर्ण गरेको देखिन्छ । पछि उच्च शिक्षाका लागि त्रिचन्द्र कलेजमा यिनी १९९० मा भर्ना भएको देखिन्छ । १९९० को भुइँचालोले यिनको पढाई बिथोलिएको देखिन्छ । यसैकारण पछि यिनले पढाईमा गतिशीलता दिन सकेनन् ।
वि.सं. १९९२ असारदेखि गोपाल पाँडेले शिक्षणसेवा प्रारम्भ गरेको देखिन्छ । स्रेस्ता पाठशालाका शिक्षक भई सेवा सुरु गरेका यिनी पछि दरबार हाइस्कुलका शिक्षक रहँदै शिक्षणसेवामा आफ्नो गतिशीलता देखाउँदै यसैताका यिनले नेपाली शिक्षा परिषद्को स्थापना गरे । नेपाली भाषा र शिक्षाको उत्थान गर्ने उद्देश्य बोकेर स्थापना भएको यस परिषद्को स्वीकृति वि.सं. २००८ साउन ३२ गते मात्र भएको देखिन्छ । ४१ वर्ष शिक्षण सेवा पु¥याएका एकजना सचेत शिक्षकका रुपमा आफूलाई चिनाउन सफल शिक्षक गोपाल पाँडे सरलताका धनी शिक्षक थिए ।
शिक्षा प्रणालीमा नेपाली भाषाको वर्चश्व कायम गर्ने उद्देश्यसाथ स्थापना भएको नेपाली शिक्षा परिषद्बाट नै गोपाल पाँडेले संस्थागत ढङ्गले शिक्षासेवा पु¥याएको देखिन्छ । भाषाको सेवामा पनि यिनको उच्चता वर्णन गर्न लायक भएकै कारणले मोतिराम पछिका संगठक नेपाली भाषाका अभियन्ताका रुपमा यिनको स्मरण गर्न सकिन्छ । धेरैले लेखेर यिनको परिचय यसरी दिएका छन् –“यिनी सरलता रुचाउने आदर्श शिक्षक । उत्प्रेरक व्यक्तित्व । नेपाली भाषाका अनन्य सेवक । साहित्य क्षेत्रका विशिष्ट सेवक तथा लेखक ।” नेपाली शिक्षा परिषद् स्थापना गर्ने क्रममा यिनले अभियान नै चलाए । नेपालका १०१ जना विद्वान्, कवि, लेखक, शिक्षकहरुको लिखित मन्तव्य तयार गरेर यिनले सम्बन्धित ठाउँमा बुझाए । त्यसबेलाका यिनको आह्वान यस्तो थियो –“उन्नतिको निमित्त मानिस जतिसुकै कराऊन्, दौडधूप गरुन् शिक्षाविना त्यो सफल हुँदैन । शिक्षा फेरि राष्ट्रभाषाद्वारा जति लाभदायक र शीघ्र हुन्छ त्यति विदेशी भाषाद्वारा हुँदैन । त्यसैले सबै उन्नत राष्ट्रले राष्ट्रभाषाद्वारा शिक्षा बढाइरहेछन् । राष्ट्रभाषा शिक्षा प्रणालीका निमित्त हार्दिक सहयोग दिई आफ्नो देश जागृत र उन्नत भएको हेर्नुहोस् ।” यसै उद्देश्य र भावनामा सम्मिलित गराए यी विशिष्ट स्वनामधन्य व्यक्तित्वहरु रुद्रराज पाण्डे, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, सिद्धिचरण श्रेष्ठ, बोधविक्रम अधिकारी, पुष्कर शमसेर, हृदयचन्द्रसिंह प्रधान, ऋद्धिबहादुर मल्ल, पूर्णप्रसाद ब्राह्मण, बालचन्द्र शर्मा, तारिणीप्रसाद कोइराला, जनार्दन सम, धर्मरत्न यमी, खड्गमान सिंह, हरिहर शास्त्री, यदुनाथ खनाल, बालकृष्ण सम, भीमनिधि तिवारी, विजय मल्ल, महानन्द सापकोटा आदिलाई । नेपाली शिक्षा परिषद्को अतिरिक्त शिक्षा आयोग, पाठ्यक्रम तयारी समिति, युनेस्को नेपालको लागि राष्ट्रिय आयोगमा पनि यिनले सक्रियतापूर्वक कार्य, सेवा र सम्पादन गरेको देखिन्छ ।
गोपाल पाँडे ‘असीम’को साहित्यिक सेवा र सिर्जनाका हरफहरु पनि उल्लेख गर्न लायकका छन् । वि.सं. १९९१ गोरखापत्रमा कविता हरायो शीर्षकको कविता प्रकाशित गरेर साहित्य यात्रामा देखापरेका यिनका प्रकाशित कृतिहरुमा पचभैया (खण्डकाव्य, १९९३), उखानसङ्ग्रह (१९९३), सुनीति विरह (खण्डकाव्य, १९९५), रचनाकेशर (व्याकरण, २०००) मेरो जीवन(कवितासङ्ग्रह २०६४), देशको शान राखौं (खण्डकाव्य, २०६४) काव्य कृतिहरु प्रकाशित छन् । आध्यात्मिक भावलाई उजागर गर्ने यिनको भजनसंग्रह (२०६२) प्रकाशित छन् । यसबाहेक यिनका प्रकाशित गद्यलेखन कृतिहरुमा कवि गुणराजका नेपाली रचना र अश्रुपात ः एक सङ्क्षिप्त विवेचना (२०३३), ह्रस्वदीर्घ आदिको सवाई (१९९७) प्रकाशित छन् । र यिनका थुप्र पाठ्यपुस्तक नेपालीमा प्रकाशित छन् ।
नेपाली वाङ्मय जगत्का एकजना सङ्घर्षशील अभियन्ता, वाङ्मयका त्रिवेणी गोपाल पाँडेको अवसान २०३५ मङ्सीर ३० गते भएको देखिन्छ । यिनको देहावसानपछि यिनकै छोरी रमा शर्माले बाबुद्वारा संस्थापन गरिएको घरको संरक्षण गर्ने अभियानमा, वाङ्मयको यात्रामा पिताकै बाटोमा अनुशरण गरेर, विशिष्ट साहित्य प्रतिभाहरुको स्मारक स्थापना गरेर, भानुभक्त, मोतिराम, गोपाल पाँडेको नाममा पुरस्कारहरु स्थापना गरेर, लेखनाथ सदन र संग्रहालय स्थापना गरेर, बालकृष्ण समको मुहार काठमाडौंमा सजाएर, भानुभक्तलाई देशभर पु¥याउने अभियानमा लागेर, महाकवि देवकोटाको स्मारकलाई ल्हासामा संस्थापन गरेर निकै सह्राहनीय ऐतिहासिक कार्य गरेर आफूलाई देखाउँदै छिन् । प्रत्येक वर्षको साउन ३२ गते गोपाल पाँडेको नाममा पुरस्कार वितरण गर्ने कार्यक्रम हुन्छ । वाङ्मयसेवी गोपाल पाँडेको नाममा पुरस्कार २०६९ बाट म पनि सम्मानित हुन पाएको छु । गोपाल पाँडेसँगसँगै हिँड्न नपाए पनि रमा शर्मासँग जनमत मासिकमार्फत्, जनमत प्रकाशनबाट साहित्यिक यात्रा गर्न पाएका छौं । जनमत मासिकको एउटा अङ्क रमा शर्मा विशेष भई प्रकाशित छ । यसैगरी प्रकाशनबाट रमा शर्माका भावनाका थुँगाहरु पुस्तक प्रकाशन भएको पनि धेरै वर्ष भएको छ । वाङ्मयसेवामा जाति, लिङ्ग, धर्म, छुवाछुत, क्षेत्र विभेद गरिनुहुँदैन । यही भावनाबाट व्याप्त छन् गोपाल पाँडेहरु ।