हाम्रो गाउँपालिकाको यस गरिमामय १० औँ गाउँसभामा हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस गाउँसभामा उपस्थित यस सभाका प्रमुख अतिथि बागमती प्रदेश, यूवा तथा खेलकुद मन्त्री मा. रत्न ढकालज्यू, सभाका विशेष अतिथि जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमज्यू, गाउँपालिका उपाध्यक्षज्यू, पूर्व अध्यक्षज्यू, उपाध्यक्षज्यू, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, गाउँसभा सदस्यज्यूहरू, प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरु, सुरक्षाकर्मी, पत्रकार लगायतका सबै महानुभावहरुमा गाउँपालिकाको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछु। यो महत्वपूर्ण क्षणमा देश र जनताका आमूल परिवर्तनका निम्ति जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न कालखण्डमा भएका विभिन्न आन्दोलन, संघर्ष र विद्रोहहरुमा उच्च बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानका साथ घाइते अपाङ्गहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। जनयुद्ध, जनआन्दोलन र जनसंघर्षमा जनताले पुर्याएको योगदान र बलिदानको गौरवपूर्ण इतिहासले हामिलाई सँधै मार्गनिर्देश गरिरहनेछ।
आदरणीय गाउँसभा सदस्यज्यूहरु
नेपालको संविधान बमोजिम दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भई हाम्रो कार्यकालको प्रारम्भ भएको पहिलो वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुतिको चरणमा छौँ। हामी अहिले हरेक किसिमले महत्वपूर्ण संक्रमणकालमा गुज्रिरहेका छौँ। निर्वाचनको हिसाबले पहिलो आवधिक निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल समाप्त भइ दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालको शुरुवाती चरणमा विगतका जनप्रतिनिधिले बिसाएका विकासका काम कारवाहीलाई नयाँ जनप्रतिनिधिले निरन्तरता र अझ सुधारिएको रुपमा उच्चस्तरले विकास गर्दै आजको बदलिएको परिवेशका जनताको आकांक्षा र मागलाई सम्बोधन गर्दै जानुपर्ने महत्वपूर्ण संघारमा उभिएका छौँ। यस बीचमा हाम्रा सामु चुनौती र अवसर एवम् सम्भावना देखापरेको छ। विगतको जनप्रतिनिधिले गरेका राम्रा कामको अनुशरण गर्दै बाँकी अधुरा कामहरु पूरा गर्नुपर्ने, जनताको माग र अपेक्षा दिनानुदिन बढीरहेको छ त्यसलाई सम्बोधन गर्नुपर्ने, सूचना प्रविधिको विकासले गर्दा विकासको नयाँ नयाँ आयामहरु थप भैरहेको सन्दर्भमा त्यस अनुरुप अगाडि बढ्नु पर्ने, विगतका जनप्रतिनिधिले गरेका कार्यसम्पादनको स्तरलाई कायम राखी अझ थप स्तरीय कार्यसम्पादन गरेर देखाउनु पर्ने तर स्रोत साधनको हिसाबले विगतको भन्दा कुनै बढोत्तरी नभएको अवस्थाले गर्दा थप चुनौती बढेको छ भने अर्कोतिर अवसर र सम्भावनाको ढोका पनि खुलेको छ।
आ.व. ०७८।०७९को संक्षिप्त समिक्षा
आदरणीय सभासदस्यज्यूहरू,
भौगोलिक रुपमा हामी सुगम जिल्लाका दुर्गम भेगमा रहेका छौँ। विगतदेखि नै पिछडिएको क्षेत्र भनेर चिनिने कोशिपारी हाम्रो गाउँपालिका उत्तर पूर्वी भागमा रामेछाप, सिन्धुपाल्चोक, दोलखासँग जोडिन पुगेको छ। गाउँपालिकाको हिसाबले हेर्ने हो भने हाम्रा ९ वटा वडाहरु मध्ये वडा नं १, २ र ३ माथिल्लो भेग, वडा नं ४, ५, ९ मध्य भेग र वडा नं ६, ७, ८ तल्लो भेग भनेर वर्गिकरण गर्न सकिन्छ। यी तीनै भेगमा ३ प्रकारको भौगोलिक अवस्थिति र त्यसले पार्ने प्रभावहरू छुट्टै खालका छन्, यसरी माथिल्लो भेगलाई लेक, तल्लो भेगलाई वेंशी पनि भन्न सकिन्छ जहाँ हावा पानी, उत्पादन आदि पनि फरक किसिमका छन्। तुलनात्मक हिसाबले माथिल्लो भेग विकट क्षेत्रभित्र पर्दछ र उत्पादनका हिसाबले पनि तीनै भेगहरु फरकफरक छन्। विकास निर्माणका हिसाबले पनि फरक नै रहेका छन्। चालु आ.व. ०७८/७९ का लागि गत वर्ष छनौट गरिएका विभिन्न योजनाहरुको विस्तृत समिक्षा गर्न त अहिले सम्भव छैन यद्यपि केहि कार्यान्वयनमा गएका र भएका योजनाहरुको बारेमा संक्षिप्तमा समिक्षा गर्ने कोशिस गरेको छु।
आर्थिक विकास तर्फः
चालु आ.व.मा छनौट भई सञ्चालनमा आएका योजनाहरुमा कृषितर्फ बीऊ-बिजन वितरण गर्ने, बिऊ उत्पादनका कार्यहरुमा हिउँदे तथा वर्षे घाँसका बिऊहरू वितरण, गाई भैंसी सुत्केरी भत्ता, सुँगुर बंगुरका पाठापाठी वितरण, कृतिम गर्भाधान आदी योजनाहरुले र निम्न आय भएका जनसमुदायमा कृषि औजारहरू अनुदानमा वितरण गर्ने कार्यले कृषकहरुमा उत्साह देखिएको छ र हाम्रो भूगोलमा कृषिलाई आधुनिकीकरणतर्फ लैजाने कुराको शुरुवात भएता पनि आम रुपमा कृषकहरुलाई व्यवसायिक उत्पादनतर्फ आकर्षण गर्ने कुराको पहल गर्नुपर्ने देखिन्छ।यो सँगै ठाउँ-ठाउँमा सिँचाई पोखरी तथा कुलो निर्माण कार्यले किसानहरुले थोरै भने पनि राहत महशुस गरेका छन् र सिँचाई कुलो तथा पोखरी निर्माण गर्ने कार्यलाई किसानका मागअनुसार तिव्रता दिनुपर्ने देखिन्छ।पशुपालन तर्फ व्यवसायिक बाख्रा तथा बंगुरका फर्महरु विस्तार गर्ने कार्य धिमा गतिमा अगाडी बढिरहेका छन्।त्यस्तै पर्यटन विकास तर्फ पदमार्ग, भ्युटावर, छ्योर्तेन, गुम्बा, मन्दिर, सहिदपार्क तथा शालिकहरु राख्ने कार्यले तिव्रता पाएको छ। कतिपय योजनाहरू ठेक्कामा जाँदा निर्माण व्यवसायीको ढिलासुस्तीले गर्दा समयमै सम्पन्न हुन नसकेता पनि सम्पन्नताको चरणमै रहेका छन्।
ग्रामिण भेगमा रहेका विभिन्न प्रकारका सहकारीहरुमध्ये बचत तथा ऋण सहकारीहरु, कृषि सहकारी र बहुउद्देश्यीय सहकारीहरु सञ्चालनमा रहेका छन्, तर एकाध बाहेक प्राय सहकारीहरू व्यवस्थित किसिमले सञ्चालन हुन सकिरहेका छैनन्। गाउँपालिकाले कृषि मल ढुवानीको लागि विगत वर्षदेखि नै भाडा अनुदान दिंदै आएकोमा यस वर्ष मल आपूर्ति गर्ने कुरामा राष्ट्रिय रुपमा नै समस्या देखा परेको हुँदा सहकारीहरुले समयमै मल आपूर्ति गर्न सकेका छैनन्। यस्तो अवस्थामा कालोबजारीको मारमा परी वर्षे वाली उत्पादनमा निकै नै ह्रास हुने देखिन्छ।
सामाजिक विकास तर्फः
शिक्षाः
गाउँपालिकामा हाल १२ वटा मा.वि., एउटा क्याम्पस, २७ वटा आधारभुत विद्यालयहरु सञ्चालनमा रहेका छन्। भौतिक पूर्वाधारका हिसाबले प्राय सबै विद्यालयहरुमा पक्की भवनहरु निर्माण भईसकेका छन् भने दिन-प्रतिदिन विद्यार्थीसंख्या घट्दै जानाले विद्यालयहरू मर्ज गर्नुपर्ने स्थिती देखा परिरहेको छ। ४ वटा माविहरूमा प्राविधिक शिक्षा सञ्चालन भईरहेका छन्। गाउँपालिकाले छात्रवृत्ती लगाएतका अनुदानहरु नियमित दिँदै आएको भएता पनि स्थानीय विद्यार्थीहरु पर्याप्त मात्रामा त्यसतर्फ आकर्षित हुन सकेका छैनन् भने बाहिरी जिल्ला तथा गाउँपालिकाबाट प्राय विद्यार्थीहरु आउने गरेका छन्। स्थानीय गाउँपालिका भित्रका विद्यार्थीहरुले भन्दा बाहिरका विद्यार्थीहरुले नै गाउँपालिकाद्वारा प्रदान गरिएको छात्रवृत्ति तथा अनुदानको बढी उपयोग गरिरहेको अवस्था छ।गाउँबाट शहरतिर अध्ययन गर्न जाने विद्यार्थीहरुलाई गाउँमा फर्काउने चुनौती हामीले सामना गरिरहेको स्थितिमा गाउँगाउँमै रोजगारी सिर्जना गरी गुणस्तरीय शिक्षा प्रदान गर्नु अहिलेको मुख्य चुनौती हो। शिक्षा क्षेत्रमा गाउँपालिकाद्वारा गरिएको लगानीको प्रतिफल जति हुनुपर्ने हो त्यती हुन सकिरहेको छैन।
स्वास्थ्यः
गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाहरुलाई नेपाल सरकारद्वारा निशुल्क घोषणा गरिएका औषधीहरू गाउँपालिकाले व्यवस्था गर्दै आएको छ। प्राय सबै स्वास्थ्य संस्थाहरुको आफ्नै भवनहरु रहेको र नियमित सेवा प्रवाह भईरहेको छ। गाउँपालिका स्तरीय १५ शैयाको अस्पतालमा दक्ष जनशक्तिको व्यवस्थासहित सेवाप्रवाह भईरहेको छ। अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भईसकेको तर खानेपानीको लागि निर्माण व्यवसायीले समयमै खानेपानीको कार्य सम्पन्न नगरिदिँदा नयाँ भवनबाट सेवा प्रवाह गर्न सकिएको छैन। यद्यपि यस वर्ष भित्र काम सम्पन्न भई नयाँ भवनबाट सेवाप्रवाह हुने देखिन्छ। कोभिडको महामारी बीच जनस्तरबाट शुरु गरिएको अक्सिजन प्लाण्ट जडान कार्य सम्पन्न भएको छ।
खानेपानीः
गाउँपालिकाले अघि सारेको एक घर एक धाराको रणनैतिक योजना सम्पन्नताको अन्तिम चरणमा रहेको छ। विभिन्न कारणले खानेपानी समस्यामुक्त गाउँपालिका घोषणा गर्ने कार्य सम्पन्न हुन सकिरहेको छैन। यद्यपि ९ वडामध्ये एउटा वडाले एक घर एक धारा कार्यक्रम संपन्न गरिसकेको छ भने बाँकी वडाहरुमा मुहानका अभावले त्यो हुन सकिरहेको छैन। राष्ट्रिय स्तरको वृहत खानेपानीको योजना चौँरीखोला ढोकेडाँडा खानेपानी आयोजना सम्पन्न हुनासाथ सबै वडाहरुमा खानेपानी समस्या समाधान हुने देखिन्छ। उक्त आयोजनको कार्य झण्डै ८० प्रतिशत सम्पन्न भईसकेको छ।
पूर्वाधार विकास तर्फः
गाउँपालिकाका सबै टोल र सम्भव भएसम्म घरघरमा बाटो लैजाने कार्य प्राय पूरा भएको छ। हिउँद वर्षा भरी ती सडकहरुलाई चल्न सक्ने बनाउने र स्तरोन्नति गर्ने कार्य निरन्तर गर्नुपर्नेछ। गाउँपालिका केन्द्र जोड्ने एउटा मात्र सडक कालोपत्रे भईसकेको र अन्य रणनैतिक महत्वका सडकहरुलाई कालोपत्रे गरी ९ वटै वडालाई जोड्ने कुराले प्राथमिकता पाउनुपर्ने देखिन्छ। यसका लागि संघीय सरकार, प्रदेश सरकार लगायतका विभिन्न विकास साझेदारहरुसँग पहल बढाउनुपर्ने आवश्यकता देखिन्छ।संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त सशर्त, समपुरक योजनाहरू हाल कार्यान्वयनमा आईरहेका र कतिपय विषयगत कार्यालयहरुबाट प्राप्त योजनाहरुको कार्यान्वयनको थालनी सम्बन्धित निकायबाट अन्तिम अवस्थातिर शुरु गर्ने भएकोले समयमै सम्पन्न गर्ने कुरामा समस्या पारेका छन्।
शुसासनतर्फः
गाउँपालिका लगायतका सार्वजनिक सेवाग्राहीहरुलाई छिटो छरितो तरिकाले सेवा प्रवाह गर्ने कामकुराको थोरै अभाव देखिएको छ। कतिपय दरबन्दीहरुमा सम्बन्धित निकायले समयमै पदपुर्ती नगरिदिने, करारमा राख्न नमिल्ने र आएका कर्मचारीहरु छिटो सरुवा भई जाने कारणले केही समस्याहरु देखिएका छन्। उपभोक्ताहरुद्वारा कार्यान्वयनमा गएका योजनाहरु अन्तिम समयमा सम्पन्न गर्ने र भुक्तानीका लागि प्राय जसो अन्तिममा आउने भएकाले आवश्यक कागजात नपुग्ने र भुक्तानी गर्न झन्झटिलो हुने समस्याहरुलाई समाधान गर्न सम्बन्धित सबैको ध्यानाकर्षण हुन जरुरी छ। गाउँपालिकाको व्यवस्थित प्रशासनिक भवन नभएको र अस्थाई प्रकारको भवनबाट सेवा प्रवाह भईरहेकोले पनि कतिपय शाखा र विषयगत क्षेत्रलाई केही कठिनाई देखिएको छ। वडा नं १ र २ को वडा कार्यालय भवन निर्माण अत्यन्त जरूरी देखिएको छ।
राजश्व संकलनतर्फः
आन्तरिक स्रोतका हिसाबले हामी असाध्यै कम स्रोत भएको गाउँपालिकामा पर्दछौं। हामीसँग भएका बालुवा गिट्टीहरुमा ठेक्का नलाग्ने, अन्य प्रकारका खानी, उद्योगहरू नभएका, वनजंगलको पनि व्यवस्थित उपयोग नहुने समस्याका कारण वडाहरुबाट प्राप्त मालपोत र विभिन्न सिफारिस दस्तुरहरु नै हाम्रो मुख्य आन्तरिक स्रोत रहेको हुँदा आन्तरिक राजश्व संकलन निकै न्यून रहेको छ।
चालू वर्षको विकास योजनाहरुको विस्तृत समिक्षा यहाँ राख्न सकिएन। निर्वाचनको दौरानमा अधिकांश जनप्रतिनिधि, कर्मचारीहरू, उपभोक्ता समितिमा रहेका सदस्यहरु र आम जनसमुदायहरु झण्डै २ महिनासम्म व्यस्त रहनाले कतिपय योजनाहरुलाई समयमै सम्पन्न गर्न नसकिएको र हाल तिब्र गतिमा सम्पन्नताको अन्तिम चरणमा रहेका छन्। अब म यस गरिममामय सभामा आगामी आ.व. २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न चहान्छु।
आदरणीय गाउँसभा सदस्यज्यूहरु,
संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने शसर्त अनुदान, वित्तीय समानीकरण अनुदान, समपुरक अनुदान, विशेष अनुदान, राजश्च बाँडफाँडबाट प्राप्त हुने अनुदान र आन्तरिक स्रोत नै हाम्रो बजेट निर्माणका मुख्य आधार हुन्। हामीलाई प्राप्त भएको स्रोत र हाम्रा आवश्यकताहरूको बिचमा निकै लामो दूरी रहेको छ । हाम्रा सबै आवश्यकताहरू हामीसँग हुने सिमित स्रोत र साधनबाट पूरा गर्न सम्भव छैन। यसर्थ आवश्यकताको पहिचान र त्यसलाई प्राथमिकीकरण गरी जति सक्दो आवश्यकता पूरा गर्नु हाम्रो दायित्व हुन आउँछ । जनसंख्या भुगोल र क्षेत्रका आधारमा वडा समितिहरुले वडाभरीका योजनाहरुलाई प्राथमिकीकरण गरेर विनियोजन गर्नका लागि निम्नानुसार बजेट व्यवस्था गरिएको छ भने बाँकी विकास बजेटलाई आवश्यकताका आधारमा विनियोजन गरि गाउँसभामा पेश गरिनेछ।
वडा नं. १, २ र ९- प्रति वडा ४० लाख
वडा नं. ४, ७ र ८- प्रति वडा ४५ लाख
वडा नं. ३, ५ र ६- प्रति वडा ५० लाख
आर्थिक विकास
सामाजिक विकास
अन्तमा, यस नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सभासदस्यहरु, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, कर्मचारी मित्रहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र सम्पूर्णलाई हार्दिक धन्यबाद दिँदै यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक आभार व्यक्त गर्दछु।चौँरीदेउरालीको विकास लागि संघ र प्रदेश सरकारबाट आवश्यक बजेट व्यवस्था गरी निरन्तर गाउँपालिकासँग हातेमालो गर्ने यस क्षेत्रका संघीय सांसद, प्रदेश सांसद विभिन्न राजनैतिक दलका नेता लगायतका सम्पूर्ण महानुभावहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु।
धन्यबाद!!
मितिः- २०७९।०३।१०
रेणुका चौंलागाई
अध्यक्ष
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |