प्रभातफेरी अनलाइन७२७ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण १६, मंगलबार(२ साल अघि)
उमेरले ७७ पार गरिसकेका सेतै कपाल फुलेको, पातलो मान्छे मञ्चको अगाडि आएर जुन किसिमका अभिव्यक्तिहरु पोखिरहँदा कार्यक्रममा सहभागी सबैमा एकपटक सन्नाटा छाउन पुग्यो । उनै ९ सन्तानका पिता हेमराज पन्त (कृष्ण) नेकपा माओवादी केन्द्र जिल्ला पार्टी समन्वय समितिको विशेष बैठकमा आफ्ना भावनाहरु पोख्ने क्रममा पार्टी कार्यालय भवन बन्ने खबरले बेचैन भएको छु भन्दै आफूले राजनीतिक शुरु गर्दाका ति क्षण सम्झिँदा भक्कानो फुटेर आउँछ । राजनीतिक परिवर्तनप्रति शोषित, पिडित जनताको ठूलो आशा थियो । कति धेरै माया पाइन्थ्यो । पञ्चायत निरंकुशताका विरुद्ध श्रमिक किसान देखि निम्न, मध्यम वर्गीय परिवारसम्म कति धेरै चिन्तित थियो । के गर्दा नेपाली जनताले मुक्तिको श्वास फेर्न सक्छन् भन्ने रातदिन तल्लीन हुन्थे ।
पञ्चायतको जञ्जिर कसरी चुँडाल्न सकिन्छ भन्ने चिन्तामै सबै समर्पित हुन्थे, पञ्चायतका विरुद्ध अभियानमा लाग्ने जो–कोहिलाई आँखाको राती गेडी सम्झन्थे उबेलाका जनता । ति दिन सम्झँदा गला अवरुद्ध हुन्छ । आजको यो परिदृश्यको कल्पना नै थिएन । एउटै लक्ष्य र उद्देश्य थियो, पञ्चायतको अन्त्य, समाजवादको यात्रा । यो यात्रामा को, कहाँ अल्मलियो, को, कसले बाटो बिरायो त्यता नजाऔं । हिजो बन्दुक नबोके पनि बन्दुकको गोलीभन्दा चोटिलो मष्तिष्क खारिएको थियो । हिजोका ति सहयात्रीमध्ये नगन्य रुपमा केहीले यो धर्ती छाडे, बखानसिं लामा, कमानसिं लामा आदि । जो जति बाँकी छन्, अनुयायीका रुपमा गोविन्दनाथ उप्रेती, चलाखसिं लामा, उमेरले कान्छो भएपनि जसले कम्युनिष्ट आन्दोलनका बारेमा गहिराइसम्म पु¥याउन हात डो¥याएर उच्च पदस्थ व्यक्तिसम्म पु¥याउने सूर्यमान दोङ (लालध्वज) मेरो यात्राका पथप्रदर्शक हुन् ।
उहाँहरुकै पथप्रदर्शकको रुपमा अगाडि बढिरहँदा माओ विचार धाराबाट माओवादमा आइपुग्दा जीवनमा अनुकरणीय आशा त पूरा भएका छैनन् । तैपनि माओवादका लागि काभे्रमा एउटा आश्रयस्थल बन्ने रे भन्ने खबरले भने मलाई बेचैन तुल्यायो । मभित्रको उकुसमुकुस कुण्ठित भावना एकाएक छचल्किएर पोखियो । जसको स्वरुप ति दिनदेखि यि दिनसम्मको यात्राले मूर्तता पाउने खबर मेरा लागि एउटा उत्सवकै क्षणको रुपमा परिणत भयो । जसका लागि एउटा प्रतिबिम्बको रुपमा पटुकीमा बेरिएको ५ लाख ५५ हजार ५ सय ५५ ले शुभारम्भ गर्ने जमर्काे गर्दै एउटा युवा पिढिंका लागि प्रेरणाको स्रोतका रुपमा आफूलाई उभ्याउने कोसिस गरेको छु ।
यात्रालाई स्मरण गर्दा यि पंक्तिहरु छुट्टाउन मनै लागेन भन्दै आफ्ना भावनाहरु पोख्ने क्रममा पन्त आफ्नो कम्युनिष्ट इतिहासलाई यसरी जोड्न रुचाउँछन् ।
कम्यूनिष्ट मन पराउने मान्छे मलाई गंगाधरको सामाजिक स्वभाव, सामन्ती राणा परिवारमा जन्मेको बालकृष्ण समको क्रान्तिकारी पन झल्कने आलेखहरु माक्र्सवादी र माओका पुस्तकहरु र राम्रा कम्यूनिष्ट नेताहरु पुष्पलाल देखी अहिलेका पुष्पकमल सम्म मन पर्छ । ३६ सालको जनमत संग्रह अगाडि पञ्चायतका विरुद्धमा लाग्ने सहयात्री क. गोविन्दनाथ, क. चलाख सिंह, क. कमान सिंह लगायतका मेरा थुप्रै साथीहरु थिए । कमान त बित्नुभयो थाहा छ । अरु साथीहरुको के कस्तो छ समय समयमा सम्झना आउँछ । धुलिखेलको जिल्ला पञ्चायतको हलमा मतगणानाको क्रममा पञ्चायत पक्षहरुले अनियमितता गरेकोले विद्रोह गर्दा तत्कालिन युवराज धिरेन्द्रले पेस्तोल ताक्दा क. गोविन्दनाथ झ्यालबाट हाम फालेको हिजो जस्तो लाग्छ । पछि ४५÷४६ साल तिर गाउँगाउँ संगठन विस्तारमा दौडने शिक्षकहरु पारसमणी काफ्ले, प्रकाश थापा जस्ता सरहरु पनि बाक्लै भेटघाट हुन्थ्यो । पछि प्रकाश थापा सर विचारबाट विचलित भएको सुनियो, कता–कता मन खिन्न भयो । किन किन मलाई कम्यूनिष्ट भएका मान्छेहरु पछि अरु दल हुनै सक्दैन जस्तो लागिरहन्छ । तर त्यस्तो भईराखेको छैन । बिचमा निरन्तर बिमारी भईरहँदा म कता कता छुट्दै गएँ । साथीहरु पनि भेट्न छाडे । ठिकै छ, तपाईहरु हुनुहुन्छ खुशी नै छु । असल, इमान्दार कम्युनिष्ट बन्नुहोस् मेरो आर्शिवाद छ भन्दै आएँ ।
आफू साधारण लेखपढ मात्र जान्ने सामान्य परिवारको मान्छे । तर समाजले बेला बखत खोज्ने गर्छ, त्यसैले त्यो समाज, जन्मस्थान छोडेको छैन । मलाई कता कता गर्व पनि लाग्छ, यो बुढेसकालमा मेरै घर अगाँनको बाटो गरेर बा, नमस्कार ! सञ्चै हनुहुन्छ ? भन्दै लालध्वज लगायतका नेता तथा कार्यकर्ताहरु आइपुग्छन् ।
त्यतिबेला ममा खुशीका तरंगहरु प्रवाह हुन्छन्, सन्तुष्टको बारबन्देज रहन्न । मेरो पत्नी माया देवीको कोखबाट जन्मेका ९ जना छोराछोरी आजसम्म कम्यूनिष्ट विचारमा समाहित छन् । मेरा बुहारीहरु पनि यही विचारमा अविचलित छन् । अझ साना नातीनातिनीहरु बा कमरेड अभिवादन भन्दै मुठ्ठी उठाउँदा, मेरै वरीपरि हँसिया हथौडाको रातो झण्डा उठाएर नाच्दा औधी खुशी लाग्छ । जेठी नातीनीलाई २०७९ को निर्वाचनमा “छोरी मैले त गोलाकार भित्रको हँसिया हथौडामा भोट हालिनँ नी” भनि जिस्कँदा धेरै रोएको, फकाउन हम्मे हम्मे पर्दा बाल मनासिकतामा परेको क्रान्तिकारी छाप देख्दा भित्रभित्रै हर्षित भइन्थ्यो । मेरो छोरा जेठो यज्ञ मलाई लाग्छ कम्युनिष्ट पार्टीमै पूर्णकालीन रुपले नै लागिरहेको देख्छु । त्यो अलिक फरक सोचको मान्छे छ । ५५ सालको कुरा हो, मलाई टिचिङ हस्पिटलको बेडमा एक्लै छाडेर दिनभर–दिनभर जस्तो हराउँथ्यो । कहाँ गएको भन्दा, कलेजको साथीहरु भेट्न भन्थ्यो तर म थाहा पाइहाल्थे र खुशी हुन्थें । पछि मलाई उपचार सफल गराएर, घरमा लगेर राखे, काठमाडौं गएको मान्छे ६ महिनासम्म सम्पर्कमा आएन । खुब डर लाग्थ्यो । अनि एकदिन टुप्लुक्क घर आयो । कहाँ गएको तँ भन्दा पार्टीले मलाई प्राविधिक पढ्न लाहान प्राविधिक शिक्षालय पठायो उतै गएँ । तीन वर्षमा सकिन्छ भन्थ्यो । कुरो पछि बुझ्दा, प्रशिक्षणको प्रभावले गएको रहेछ । पछि सेवामा आएपछि विश्वास लाग्यो । र बाँकी सबै भाई बहिनीहरुलाई पनि पढाउन प्रेरित गरायो । बुहारी गंगा पनि पार्टी जिम्मेवारीमै छ भन्ने बुझेको छु । माईलो छोरो योग, बुहारी जमुना तराईमा संगठन तिरै जोडिएका छन् । साँईलो होम विद्यार्थीकाल देखि नै सक्रिय थियो, संगठनमा के कता छ थाहा छैन । अर्को डाक्टर पढेको छोरो सन्तोष पक्लिहवा कृषि क्याम्पस भैरहवाको इकाइमा काम गरेको भन्थ्यो । आजका दिनसम्म सबै राम्रै छ खुशी छु ।
२०५५ सालमा नसा सम्बन्धी रोगबाट मुस्किलले बाँचेको मान्छे । आज सबै छोराछोरीहरु देशमै रोजीरोटी गरेर वरिपरी छरिएर बसेकोमा आनन्द लाग्छ । तर यस्तो बृद्ध उमेर पुगिसक्दा पनि यी छोराछोरीहरूले बैंक सहकारीमा बर्षेनी लगेर औठा छाप लगाउन लगाउँछन् । कता–कता डर पनि लाग्छ र पनि पेशा रोजगारमै सदुपयोग भएको होला भनेर मन बुझाउँछु, सन्तोष मान्छु ।
मेरो अनुरोध, राज्यले युवापिढिंलाई यही देशमा रहने वातावरण बनाइदियोस् । मेरा ९ सन्तान आजका दिनसम्म मेरै देशमा छन् । मेरै अनुशरण तपाईंहरुले पनि गरिदिँदा यो मुलुक सम्वृद्धतर्फ पुग्ने अपेक्षा राखेको छु । आशा छ, आफ्ना आफन्तका छोराछोरीलाई यही देशमै रोक्नुस् । विदेश नपठाउनुहोस् । धैर्य ग¥यो भने यही देशको माटोमा प्रगति गर्न सकिन्छ भन्ने लाग्छ । तपाईहरुमा मेरो आर्शिवाद छ बदमासी जाली फटाहा र भ्रष्टाचारीलाई निर्मुल पार्नुहोस् ।
अन्तमा, कम्युनिष्ट बिचार बोकेका छोराछोरीहरुले यस जिल्लामा पार्टीको भवन बनाउने निर्णय गर्नु भएको रहेछ । धेरै धेरै खुशी लाग्यो । मेरो यो उमेरमा आफ्नो वृद्ध भत्ताबाट जम्मा गरेको र छोराछोरीहरुसँग पनि हारगुहार गरेर पाँच लाख पचपन्न हजार पाँच सय पचपन्न रकम आर्थिक सहयोग गर्ने प्रतिबद्धता प्रकट गरेको माथि नै खुलाइसकेको छु, फेरि पनि दोहो¥याउन चाहन्छु, मेरो सानो यो प्रयासलाई अनुशरण तमाम कम्युनिष्ट कार्यकर्ता, शुभचिन्तकले ग्रहण गर्नेछन् । सामाजिक क्षेत्रमा भन्ने हो भने मेरो आफ्नै बलबुत्ताले मैले आफ्नै जन्मस्थान भोज्याङमा धार्मिक पर्यटन पदमार्ग पनि निर्माण गरेको छु, त्यसको निरिक्षण गर्न तपाईहरुमा निमन्त्रण गर्दछु । यी सबै कार्यहरु मेरो जीवनको उत्तरार्धमा आत्मासन्तुष्टिको सेवा हुनेछन् । तपाईंहरु सबैमा पनि दिल खोलेर सहयोग गर्न अनुरोध गर्दछु । आशा छ, मेरो भौतिक शरिर रहदै आफ्नै आँखाले नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) काभ्रेको आफ्नै भवनमा झण्डा फहराएको देख्न पाउनेछु ।
उहाँको यो अनुकरणीय योगदानप्रति नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) काभ्रेले अभिनन्दन गर्ने घोषणा समेत गरेको नेकपा माओवादी केन्द्र काभ्रे जिसस संयोजक भोला अर्यालले जानकारी गराउनुभएको छ । हाम्रो पनि साधुवाद छ ।