काभ्रे । “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान”, जनजनमा माओवादी, घरघरमा माओवादी” भन्ने मूल नाराका साथ पनौती नगर समितिद्वारा आयोजित नगरस्तरीय विस्तारित भेलालाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य एवं पनौती नगर इन्चार्ज दिनेश महर्जनले मिसन २०८४ लिएर कार्यकर्ताको माझ जानुपर्ने बताउनुभएको छ ।
भेलामा सहभागी कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा केन्द्रीय सर्कुलरमाथि प्रकाश पार्दै धर्म निरपेक्षता, समानुपातिक, समावेशी लगायतका जति पनि उपलब्धीहरु प्राप्त भएका छन्, त्यसको अपनत्व माओवादीले लिनुपर्ने जिकिर राख्नुहुँदै पछिल्लो समय प्रचण्ड सरकारले जुन किसिमको रफ्तारले भ्रष्टाचारी उन्मूलनको बाटो पहिल्याएको छ, त्यसले माफियाहरुको निन्द हराम गरेको छ । जति पनि यो मुलुकमा भ्रष्टाचार भए, त्यसका विरुद्ध निर्मम ढंगबाट प्रचण्ड सरकार अगाडि बढेको छ । जुन आजको आवश्यकता हो । ति सकारात्मक पक्षलाई लिएर जन–जनसँग भलाकुसारी गर्नु र त्यसका बारेमा नागरिकहरुलाई सुसूचित गराउनु माओवादी कार्यकर्ताको दायित्व हो ।
आज पार्टीले जुन बाटो समाएको छ, त्यसले जनताका यावत् समस्याहरुको समाधान हुने अपेक्षा राखेको छ । त्यसैले पनि आज जुन विषयवस्तुसँग हामी जोडेका छौं, त्यो विषयवस्तुलाई भुईंमान्छेसम्म पु¥याएर माओवादीले यो रुपान्तरणमा खेलेका भूमिका र योगदानका बारेमा प्रष्ट्याउनु प्रत्येक कार्यकर्ताको दायित्व हो । त्यो दायित्वबाट पन्छिन कसलाई छुट छैन । जति पनि उपलब्धीहरु हासिल भएका छन्, त्यसका लागि हामीले सबै प्रविधिको प्रयोग गरेर जनताका माझ लग्न सक्यौं भने मात्र प्राप्त उपलब्धीहरुको संरक्षण हुनसक्ने नेता महर्जनले सम्बोधनका क्रममा खुलासा गर्नुभएको छ ।
विगतमा लिएका जनताका विश्वासलाई पुनः प्राप्तिका लागि यो अभियान कोसेढुंगा सावित हुने विश्वास माओवादी पार्टीले लिएको छ । हिजो बन्दुकको बलमा प्रतिक्रियावादीहरुलाई परास्त गरेका थियौं भने अब विचारले गुमेको विरासत फर्काउनु छ । त्यसका लागि हामी प्रत्येक माओवादी बन्नुपर्छ । किनकी पछिल्लो समय माओवादी रक्षात्मक अवस्थामा उभिएको छ । जसका कारणले जनताको विश्वास गुमाउँदै गएको थियो । अब ति निराशाहरुलाई चिर्दै सशक्त र जनताको मुक्तिकामी पार्टी भनेकै माओवादी हो, केही गर्छ त माओवादीले गर्छ भन्ने विश्वास दिलाउन आवश्यक छ । त्यसका लागि जनाधार तयार गर्दै अगाडि बढ्नु नै माओवादी कार्यकर्ताको दायित्व हो । आज जति पनि विसंगति, विकृतिका कुराहरु आएका छन्, भ्रष्टाचारका कुराहरु आएका छन्, ति सबैका विरुद्ध डटेर मुकाबिला गर्ने शक्ति कुनै छ भने त्यो माओवादी शक्ति हो । यो परिस्थितिमा पार्टी हेट क्वाटरले जुन सर्कुलर जारी गरेको छ, त्यो सर्कुलरलाई शिरोपर गरेर जनसंगठन निर्माण गर्नु पहिलो दायित्व हामी माओवादी कार्यकर्ताको रहनेछ । हिजो के भए, त्यता नजाऔं, भोलि सकारात्मक नतिजा कसरी ल्याउन सकिन्छ भनेर लागिपरौं ।
जनतामा छाएको निराशालाई आशामा बदलौं, जसको प्रतिबिम्बको रुपमा हामीले हाम्रा लागि नभई राम्राका लागि खर्चिऔं । हाम्रा वरिपरि पनि बेथिति, भ्रष्टाचारहरु भएका हुन सक्छ ! त्यसको अन्त्यका लागि अग्रमोर्चामा बलिदानी दिन परेपनि तयार हुनु माओवादी कार्यकर्ताको चरित्र बनोस् । यो अभियानले यिनै कुराहरुलाई स्थापित गर्ने विश्वास पार्टीले लिएको छ भन्नुहुँदै यात्रामा केही उतारचढावहरु भए । अब त्यसतर्फ फर्किन माओवादी चाहँदैन । त्यहाँबाट रचनात्मक कुराहरुलाई लिएर समाज परिवर्तन गर्दै साम्यवादको बाटोमा अगाडि बढ्नुको विकल्प छैन । म माओवादी हुँ भन्ने दृढ अठोटको विकास गर्नु नै यो अभियानको महत्वपूर्ण उद्देश्य रहनेछ र पार्टीले लिएको लक्ष्य प्राप्त गर्नेछ । त्यसका लागि संगठन बनाउनेहरुको व्यवहार र चरित्रको पनि परिवर्तन हुन आवश्यक छ । जुन उद्देश्य र लक्ष्य लिएर संगठन निर्माण गर्दैछौं, हाम्रा व्यवहार पनि त्योसँग सुहाउँदो हुनुपर्छ । आज पार्टीले जुन किसिमको अपेक्षा राखेर हामीलाई बस्ती–बस्ती सम्म पु¥याएर संगठन सुदृढिकरणमा महत्वपूर्ण भूमिका खेलेको छ, त्यो जिम्मेवारी हामीले पूरा गर्नेछौं । त्यसका लागि तपाईं कार्यकर्ताहरुले आफ्नो लगनशीलतालाई निष्ठाका साथ व्यवहारमा उतार्नु हुनेछ र जनयुद्धको मर्मअनुसार संगठन सुदृढिकरणको यो यात्रामा हातेमालो गर्नुहुनेछ भन्ने विश्वास लिएको नेता महर्जनले स्पष्ट पार्नुभएको छ ।
अबका ३ महिना जनतासँग हातेमालो गर्नेछौंः इन्चार्ज कपाली
भेलामा केन्द्रीय सदस्य एवं पनौती नगरका अर्का इन्चार्ज उमा कपालीको कथन छ– पार्टीले जुन उद्देश्य सहित कार्यक्षेत्रमा पठाएको छ, त्यही अनुसार अबका ३ महिना जनतासँग हातेमालो गर्नेछौं ।
जनतालाई माओवादी आयो है भन्ने सन्देशका साथै जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुसँग भलाकुसारी गर्नेछौं । पक्कै पनि एउटा राजनीतिक कार्यकर्ता राजनीतिक सँगसँगै विकास निर्माणमा पनि जोडिएको हुन्छ । त्यसैले हामी बस्तीमा छिर्दा जनताका अपेक्षाहरु सम्बोधन गर्नैपर्छ । त्यसका लागि हामी केन्द्रको नीति अनुसार तयार भएर आएका छौं । जुन अभियान पार्टीले दिएको छ, त्यो अभियानलाई जन–जनको चाहनाअनुसार सहकार्यमा जोडिने छौं भन्नुहुँदै संगठन बाहिरबाट आएर बन्ने होइन, यहाँका स्थानीय कार्यकर्ताहरुको लगाव र लगनशीलतामा बन्नुपर्छ । जिम्मेवारी आफ्नो ठाउँमा हुन्छ, दायित्व र कर्तव्य अनि अधिकारका कुरा अर्काे पाटोको रुपमा कार्यकर्ताहरुले सँगसँगै लिएर जानसक्नु नै संगठनको मर्म ठहरिन्छ । जति पनि सवालहरु उठेका छन्, ति स्वभाविक हुन् । सवालहरुको समय सापेक्षित ढंगबाट सम्बोधन गर्न सक्नु कुशल कार्यकर्ताको कला हो ।
आज जति पनि विषयवस्तु माओवादीसँग जोडिएका छन्, ति सबै जनयुद्धको जगमा उठाइएका र त्यतिबेला जनतालाई आश्वस्त पारिएका विषय नै हुन् । यहाँ कुनै नौला विषयहरु उठेका छैनन् । त्यसैले हामीले जनयुद्धप्रतिको सम्मान गर्ने हो भने यि सवालहरुको सम्बोधन गर्नैपर्छ । त्यसका लागि स्थानीय सत्ता त हामीसँग छैन तर प्रदेश र केन्द्रीय सत्ता आज पनि हामीसँगै छ । त्यसैले हामीले सम्बोधन गर्नसक्ने जति सबै आवाजहरुलाई सम्बोधन गर्नकै लागि पनि जन–जनसँग माओवादी अभियानलाई लान आवश्यक छ । त्यही अनुरुप केन्द्र हेड क्वाटरले तपाईंहरु माझ हामीलाई जिम्मेवारी दिएर पठाएको छ । हामी त मात्र साधन हौं, साध्य त तपाईंहरु नै हो । त्यसैले यहाँको संगठन कस्तो बनाउने ? कसरी बनाउने ? भन्ने सवालमा तपाईंहरु नै जानकार हुनुहुनेछ । यहाँको माटो सुहाउँदो संगठन बनाएर मिसन ०८४ लाई सफल बनाउनका लागि यहाँहरुको भूमिका महत्वपूर्ण रहने विश्वास पार्टी केन्द्रले लिएको छ । हामी त मात्र त्यो सन्देश लिएर तपाईंहरुसँग ३ महिना जोडिने छौं । बाँकी यात्रा यहाँहरुले नै तय गर्नुपर्नेछ । त्यसका लागि विभिन्न असन्तुष्टि जाहेर गरेर विद्रोह गर्नुहुने साथीहरु, निष्क्रिय रहने साथीहरु र अन्य संगठनमा गएर असन्तुष्टि जाहेर गर्ने साथीहरुलाई के गर्दा पूर्ववत् अवस्थामा ल्याउन सकिन्छ, ति सबै सस्त्रहरु यो ३ महिनाको बिचमा प्रयोग हुनेछन् । त्यसको शुभारम्भ एकै पटक मुलुकभरबाट यही १६ गते हुँदैछ । ६ हजार ७ सय ४३ वटा वडाबाट जुन सन्देश दिन गइरहेका छौं, त्यसले प्रतिक्रियावादीहरु तिल्मिलाउने छन् । त्यस किसिमको शंखघोष गर्नका लागि प्रत्येक माओवादी कार्यकर्ता तयारी हुन आवश्यक छ । तब मात्र जनयुद्धको मर्म अनुसारको सार्थकता हुने विश्वास पार्टी केन्द्रले लिएको इन्चार्ज कपालीको कथन छ ।
आज जुन समस्याहरु देखिएका छन्, ति समस्याहरु हिजोको दाँजोमा केही न्यून भएका छन् । तर पर्याप्त सम्बोधन भने हुन सकेका छैनन् । यो यथार्थलाई मनन् गर्दै प्रचण्ड सरकारले जुन किसिमको जनभावना अनुसार नीतिहरु अख्तियार गरेर जनताका दिनचर्यासँग जोडिएका विषयवस्तुलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ, त्यसको जानकारी भुईंमान्छेसम्म पु¥याउनु यो अभियानको महत्वपूर्ण पक्ष रहेको बताउनुभएको छ । आज जति पनि भ्रष्टाचार भएका छन्, त्यसका पछाडि एमाले, कांगे्रसका नेतृत्वहरु जोडिएको छ । जसले त्यहाँभित्र रहेका जिम्मेवार, नैतिकवान् कार्यकर्ताहरुलाई आत्मग्लानी भएको छ । त्यस्ता जेहेनदार व्यक्तिहरुमा हाम्रो उपस्थिति अनिवार्य रहेको हुँदा यो ३ महिने अभियानमा यि यस्ता किसिमका गतिविधिमा हामीले निभाउनुपर्ने दायित्व पूरा गर्नेछौं । त्यसका लागि माओवादीको कार्यकर्ता पंक्तिमा लामबद्ध हुनुहुने सबैको जिम्मेवारी उतिकै रहेको समेत नेता कपालीले खुलासा गर्नुभएको छ ।
भेलामा पनौती नगर अध्यक्ष हस्तबहादुर तामाङ लगायतका अग्रज कार्यकर्ताहरुले समसामयिक विषयका बारेमा नेतृत्व समक्ष ध्यानाकर्षण गराएका छन् ।
काभ्रे । “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ जन–जनमा माओवादी घर–घरमा माओवादी” अभियानलाई सार्थक दिने जमर्काे सहित पनौती नगरपालिका नेकपा माओवादी केन्द्र वडा नं. ४ समितिको पुनर्गठन गरिएको छ ।
निवर्तमान अध्यक्ष शेखरमान श्रेष्ठको आग्रहमा अभियानलाई सार्थक रुप दिनका लागि आफू उमेरका कारणले पनि असमर्थ रहेको हुँदा वडा समिति पुनर्गठन गर्न भेलामा प्रस्ताव भए बमोजिम वडा समितिको अध्यक्षमा उत्तम बञ्जारा, उपाध्यक्षमा सुदन बस्नेत, महिला उपाध्यक्षमा सिर्जना परियार, सचिवमा राजु सापकोटा, कोषाध्यक्षमा नारायण श्रेष्ठ, सहसचिवमा राजु अधिकारी, सदस्यहरुमा सर्काश तामाङ, सरु कुँवर लगायत २१ सदस्यीय वडा समिति पुनर्गठन भएको छ । पुनर्गठित समितिलाई बधाई तथा शुभकामना दिँदै इन्चार्जद्वय दिनेश महर्जन र उमा कपालीले कुरा होइन, काममा विश्वास गर्नुपर्ने धारणा राख्नुहुँदै जनयुद्धको मर्म अनुसार पार्टीले लिएको नीति अनुसार संगठनलाई चुस्त दुरुस्त रुपमा परिचालित गर्न सक्नु नै हाम्रो शुभकामना रहने बताउनुभएको छ ।
भेलाको अध्यक्षता पार्टी नगर अध्यक्ष हस्त बहादुर तामाङले गर्नुभएको छ भने समिति पुनर्गठनको अध्यक्षता निवर्तमान अध्यक्ष शेखरमान श्रेष्ठले गर्नुभएको छ । पुनर्गठित समितिले १६ गते बिहान ७ बजे सामुदायिक चोक जाने दोबाटोमा भेला भएर सरसफाइ गर्दै “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” जन जनमा माओवादी घरघरमा माओवादी अभियानको शुभारम्भ गर्ने बैठकको निर्णय समेत सो अवसरमा सार्वजनिक गरेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |