काभ्रे । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पनौती नगर इन्चार्ज उमा कपालीले राजनीतिक यात्रामा असम्भव भन्ने केही नभएको बताउनुभएको छ ।
शनिबार पनौतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देशको राजनीतिक घटनाक्रमप्रति लक्षित गर्दै अहिले सत्ता समीकरण र सत्तामा रहेका राजनीतिक शक्तिहरुको प्रस्तुतीले नेपालको समग्र अर्थतन्त्र लगायत नियमनकारी निकाय समेत प्रभावित भएको स्मरण गराउनुहुँदै सत्ता कस्ता रहेछ भन्ने कुराको पछिल्लो एमालेको गतिविधिले प्रष्ट्याएको छ । मुलुकमा जति पनि भ्रष्टाचार लगायतका अनियमितताहरु मौलाएका छन्, त्यसका विरुद्ध आवाज उठाउने जो कोहिले प्रयत्न गर्छ भने त्यो घेराबन्दीको सिकार बन्नुपर्छ ।
अहिले राज्य संयन्त्रभित्र जुन किसिमको प्रयास गरिएको छ, त्यसका विरुद्ध सत्तासिन दलहरु नै आपत्तिजनक अवस्थामा आएका छन् । यसले के कुरालाई पुष्टि गर्दछ भने नेपालका राजनीतिक शक्तिहरुमा अनियमितताले कति जरो गाडेको छ भन्ने बारेमा चर्चा गरिराख्नु पर्दैन । आज शरणार्थी घटनाक्रम होस् या ललिता निवास काण्ड होस् या जुनसुकै विषयमा राज्यले कदम चाल्न खोज्दा जुन किसिमको चुनौतीहरु सामना गर्नुपरेको छ, त्यसले सत्तासीन र सत्ता बाहिर रहेका दलहरुमा परिवर्तनको खाँचो छ ।
त्यसैले यस्ता गलत गतिविधि र विसंगतिका विरुद्ध सशक्त रुपमा भुईंमान्छेसम्म पुगेर सिंगो मुलुकको राजनीतिक अवस्थाका बारेमा सचेत गराउने दायित्व नेकपा माओवादी केन्द्रसँग आबद्ध रहेका कार्यकर्ताहरुको दायित्व रहेको नेता कपालीले खुलासा गर्नुभएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत पनौती नगरभित्रका वडा अधिवेशनहरुलाई सम्बोधन गर्ने क्रममा प्रत्येक माओवादी कार्यकर्ताहरुले नागरिकहरुसँग आत्मीयता जोडेर जनताका समस्यामा मलमपट्टि गर्नसके मात्रै पार्टी केन्द्रले अपेक्षा गरेअनुसारको परिणाम ल्याउन सक्ने बताउनुभएको छ ।
सम्बोधनकै क्रममा नेता कपालीले राजनीतिक रुपमा सचेत कार्यकर्ताहरुको बाहुल्यता रहेको यस नगरमा सांगठनिक गतिविधिहरु शुन्यतातर्फ उन्मुख हुनु सकारात्मक पक्ष नभएको टिप्पणी राख्नुहुँदै यदि कुनै कार्यकर्ताले मोलमोलाइको भाषामा आफ्ना स्वार्थ बाँझिने किसिमले प्रस्तुत हुन्छ भने त्यस्तो कार्यकर्ताबाट संगठन विस्तार हुन्छ, संगठनले स्थायित्व प्राप्त गर्छ भन्ने सोच्नु त्यो हाम्रो भुल हुनेतर्फ संकेत गर्दै कुनै पनि कार्यकर्ता निःस्वार्थ ढंगबाट जोडिन चाहन्छ भने त्यस्ता शुभचिन्तकहरुलाई सम्मान गर्ने दायित्व प्रत्येक माओवादीको काँधमा आएको स्मरण गराउनुभएको छ । यदि तपाईं जनताका समस्या समाधान गर्न लालायित हुनुहुन्छ भने जनतासँग सहकार्य गर्न चुक्नुहुने छैन । त्यसैले जनताका प्रत्येक समस्याको समाधान तपाईंबाटै आउनुपर्ने समेत नेता कपालीले निर्देशन दिनुभएको छ ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य मर्दनसिं तामाङ “पेमा” ले नवनिर्वाचित वडा पदाधिकारी एवं समिति सदस्यहरुलाई निर्देशन दिँदै माओवादीलाई हार्ने छुट नभएको उद्घोष गर्दै २०८४ को मिसन लिएर जनताका माझ जान र जनताका समस्यासँग हातेमालो गर्न आग्रह गर्नुभएको छ । पछिल्लो समय कार्यकर्ताहरु नेतामुखी भएको र नेताहरु शहरमुखी भएकै कारण बस्तीहरुमा जनताका समस्यासँग पुरातनवादीहरुले खेल्ने मौका पाएका कारण माओवादी सहरमा कमजोर बन्न पुगेको यथार्थ हो । अब यस किसिमको कमी कमजोरी गर्ने छुट कुनै पनि नेता तथा कार्यकर्तालाई नभएको चुनौती दिँदै पनौती नगरमा जुन किसिमका घटनाक्रमहरु बढेका छन्, त्यसको सूक्ष्म अध्ययन गरेर मजबुत संगठन निर्माणका लागि जानुपर्ने आजको आवश्यकता हो । त्यसैले पनौती नगरभित्र रहेका आफूलाई परिवर्तनको संवाहक सम्झने कुनै पनि कम्युनिष्ट कार्यकर्ताहरुलाई समस्याबाट भाग्ने छुट नभएको उद्घोष गर्नुहुँदै नेता पेमा थप्नुहुन्छ– पनौती नगर ०६४ सम्म आइपुग्दा जुन अवस्थामा थियो, त्यही अवस्थामा ल्याउने दायित्व तपाईं जिम्मेवार कमरेडहरुको काँधमा आइपुगेको छ । त्यसका लागि प्रदेश, जिल्ला पार्टी समितिले कहाँ, के, कसो जिम्मेवारी लिनुपर्ने हो, त्यो लिन पार्टीपंक्ति तयार रहेको समेत सम्बोधनका क्रममा बताउनुभएको छ ।
उक्त कार्यक्रममा नवनिर्वाचित वडा पदाधिकारी सदस्य लगायत सम्पूर्ण जिम्मेवार कार्यकर्ताहरुले विगतका कमी कमजोरीलाई प्रेरणाको रुपमा लिँदै आगामी यात्रा चर्चा गर्न लायक बनाउने प्रतिबद्धता समेत कार्यक्रममा राख्नुभएको छ ।
नेकपा माओवादी केन्द्र पनौती नगर समितिले जनाएअनुसार अभियानअन्तर्गत पनौती नगरभित्र रहेका १२ वटा वडामध्ये ८ वटा वडाहरुले आफ्नो सदस्यता नविकरण र वडा समिति निर्माण लगायतका जिम्मेवारी पूरा गरेको नगर अध्यक्ष हस्तबहादुर तामाङले जानकारी गराउनुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |