logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

माच

प्रभातफेरी अनलाइन३४९ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन ९, बुधबार(२ साल अघि)
माच

लेखकः प्राज्ञ लोकेन्द्र ढकाल

नेपाली किसानहरुको महत्वपूर्ण वस्तुभाउको खाद्यान्नको रुपमा रहेको घाँसे बालीलाई समेटेर शैलीबद्ध ढंगसँग तयार भएको आलेख समय सापेक्षित हुनुका साथै युवापिढिंहरुका लागि प्रेरणाको स्रोतका रुपमा माचलाई पाठकसामु लेखकको अनुमतिले पस्केका छौं ।

धान दाउनी गरिसकेर माडेको पराललाई बस्तुभाउको खाद्यान्नस्वरूप पछिका लागि जोहो गर्न जम्मा गरेर राखिन्छ । यो राख्ता पानीले भिज्दा, घामले सुक्ता अर्थात् घामपानीले नबिग्रिने गरी जमिनमा पानी जम्दा पनि त्यसले नभेट्ने ठाउँमा वा ४–५ फिट अग्लो खाँबो, खुट्टी, डाँडीभाँटी गरेर त्यसमाथि पराल राखिन्छ, पिरामिड आकारमा अर्थात् तल्लो भाग ठूलो, बाटुलो, माथिल्लो भाग साँगुरिदै चुच्चो हुँदै गएको परालको माच । यही लाक्षणिक अर्थमा लेखिएको प्रस्तुत पुस्तक हो ‘माच’ ।
विभिन्न समयमा समय मिल्दा त्यसलाई सदुपयोग गर्दै समाज, विज्ञान, धर्म एवं आध्यात्मिक चिन्तनमा प्रस्फुटित विचारलाई लेख्तै पत्रपत्रिकाहरूमा प्रकाशन गराउँदै गइयो । पाठकहरूबाट प्राप्त प्रतिक्रियाले आफूलाई झन् उत्साह, उमङ्ग थपेको, पुरस्कृत भएको अनुभव भयो । नेपालका विभिन्न विद्यालयका मुखपत्र, धार्मिक संघ– संस्थाबाट प्रकाशित स्मारिकामा प्रकाशन भएका लेखरचनाहरू, खास गरी शब्दयात्रा प्रकाशनबाट प्रकाशित ’नेपालभूमि साप्ताहिक’ बाट सुरु भएको यो यात्रा नेपालमा मात्र सीमित भएन, भारतका सिक्किम तथा तेजपुर आसामबाट प्रकाशन हुने लोकप्रिय दैनिक पत्रिकाहरू, हिमाली बेला तथा हाम्रो प्रजाशक्तिबाट नियमित धारावाहिक रूपमा प्रकाशन हुन थालेपछि नलेखेर खाली बस्न धरै पाइएन । लेख्नैपर्ने बाध्यता ।
‘माच’ मा यिनै पत्रपत्रिकामा प्रकाशन भइसकेका, पाठकहरूले पढिसकेका, प्रतिक्रिया आइसकेका, १६ वटा शीर्षकका लेखहरूलाई नवपाठकहरूका लागि, अझै सचेत नभएका तर हुनैपर्ने, बुभनैपर्ने निकायहरूका लागि जोहोस्वरूप एकत्रित गरी राखेको छु । त्यसैले पनि यो माच हो ।
‘माच’ मा राखिएको पहिलो लेख ’वेदव्यासलाई डार्बिनले चोरे’ शीर्षकमा छ । विज्ञानसँग सम्बन्धित यो लेखमा खास गरी जीवविज्ञानको उत्पत्ति र विकाससम्बन्धी खोज–अनुसन्धान सबभन्दा पहिले बेदव्यासले गरेका हुन् र संसारलाई जानकारी उनैले पहिले दिएका हुन् । विडम्बना, आज संसारमा कसैले पनि उनको यो योगदानबारे चार्चा गर्दैन । उनलाई विज्ञान शिक्षण गर्ने गराउने संस्थाले पनि चिन्दैन । आखिर आज डार्बिनले भनेको कुरा र उहिल्यै वेदव्यासले भनेकोमा के फरक छ ? जीवहरू अचानक अहिलेको रूपमा आएका होइनन् । सूक्ष्मातिसूक्ष्म एककोषीय जीव विकास हुँदै समयको अन्तरालमा बहुकोषीय जीव भएका र त्यसबाट क्रमिक विकास भएर आजको जस्तो विभिन्न शारीरिक प्रणालीयुक्त चेतनशील प्राणी मानवको विकास भएको हो (डार्बिन, १८५९) । डार्बिनको यो क्रमविकासको सिद्धान्त प्रतिपादन हुनुभन्दा करिव ४८ सय वर्षअगाडि पौराणिक कालमै एककोषीय सूक्ष्मातिसूक्ष्म (Microscopic) जीवबाट नै बहुकोषीय (Multicellular) जीव हुदै आजको मानव बनेको हो भन्ने हिन्दूशास्त्रमा उल्लेख गरेको पाइन्छ । यथा
प्रतिजन्मप्रपद्यन्ते येषामपिपरं पुनः ।
सुसूक्ष्मलिंगशारीरमामोक्षादक्षरं खग ।।
स्थावराः कृमयश्चाब्जाः पक्षिणः पशवो नराः ।
धार्मिकास्त्रिदशास्तद्वन्मोक्षिणश्चयथाक्रमम् ।।
गरुडपुराण, १६ ः १०–११
आजभन्दा डेढ सय वर्षपहिले डार्विनले बुझेको तथ्य अठचालीस सय वर्षपहिले नै गरुडपुराणमा लेखिसकिएको रहेछ त, वेदव्यासले बुझेकै रहेछन् त –
स्थावराः कुमयश्चाब्जाः पक्षिणः पशवो नराः ।
अर्को शीर्षक ’स्वलीलाद्वैत’ छ । द्वैत अद्वैतभन्दा भिन्न । मोक्षार्थीहरूले बुझ्नैपर्ने । यो आत्मचिन्तनको विषय हो। यो लेखमा छोटो परिचय मात्र दिई जिज्ञासु पाठकहरूलाई महामति श्रीप्राणनाथप्रणीत ग्रन्थ श्रीमत्तारतमसागर अध्ययनको भोक जगाउने प्रयास गरेको छु ।
स्वलीलाद्वैतका प्रवर्तक महामति श्रीप्राणनाथजी हुन् । उनका अनुसार जगत्को सृष्टि अक्षरब्रह्मले गरेका हुन् । अक्षरब्रह्मलाई सृष्टि गर्न प्रेरित गर्ने पूर्णब्रह्म परमात्मा हुन् । पूर्णब्रह्म अद्वैत छन् । शङ्कराचार्यले ब्रह्म अद्वैत रहेको बताए, तर ब्रह्माको लीलाभेद बताउन सकेका छैनन् । ब्रह्मको लीला दुई प्रकारको हुन्छ – संयोगी लीला र वियोगी लीला । संयोगी लीला अन्तरङ्ग, आफूभित्र हुने आनन्दी लीला हो । यसमा पूर्णब्रह्म परमात्मा आफ्ना ब्रह्मात्माहरू, आनन्दीस्वरूपा श्यामाजी, अक्षरब्रह्मका साथ दिव्यधाम परमधाममा लीला गरिराखेका हुन्छन् । यसको विपरीत उनै पूर्णब्रह्म परमात्मा आफ्नो सत्स्वरूप अक्षरब्रह्ममार्फत जगत्को रचना गरिराखेका हुन्छन् । निमेषभरमा कैयौँ ब्रह्माण्ड, कैयौं जगत्को सृष्टि गरिराखेका हुन्छन् र विनाश पनि गरिराखेका हुन्छन् ।
कोटी ब्रह्माण्ड नजरु मे आवे, छिनमे देखाके पलमे उडाय ।
श्रीमत्तारतमसागर, प्रकटवाणी
तेस्रो लेखका रूपमा ’म’ छ । ’म’ को परिचय, महत्त्वका बारेमा पाठकलाई चिन्तन गराउने प्रयास छ यसमा ।
सबै मान्छेले आफूलाई म भन्छन् । तर म भेटेको हुँदैन । शिर म हो ? होइन त्यो त मेरो शिर । गर्धन म हो ? त्यो मेरो गर्धन । कि मेरो पेट म हो ? हात पनि म होइन, मेरो हात । आफ्नो शरीरका प्रत्येक अङ्गलाई हामी मेरो जोडेर अङ्गको नाम भन्दछौं । मेरो छाला, मेरो मुटु, मेरो कलेजो, मेरो फोक्सो, मेरो खुट्टा, मेरो पैताला आदि । भनेपछि म खोइ ? मानव शरीरको कुनचाहिँ अङ्ग म हो ? कि शरीरका सारा अङ्ग मिलेर म बनेको हो ? त्यसो भए सारा अङ्ग मिलेर रहेको शिरदेखि पैतालासम्मको सग्लो, साङ्ग मृत शरीरले आफूलाई म भनेको सुनिएको त छैन ! त्यसले पनि म भन्दैन । यही ’म’ को खोजी गर्ने प्रयास यहाँ गरेको छु ।
’पिण्ड दिनु भनेको फटाहा बनाउनु’ भन्ने शीर्षकमा मृत्यवरण गरेको मानिसलाई १३ दिने क्याको नाममा पुनः दैनिक पिण्डमार्फत काल्पनिक शरीर बनाउन लगाइन्छ र त्यो शरीररूपी गतात्मालाई यमदूतले यातना दिदै यमराजकोमा लान्छन् । सत्कर्म गरेको भए स्वर्गलोक र फट्याइँ गरेको भए नर्कमा हाल्छन्, जेलमा कोच्तछन् । त्यसकारण असल काम गर्नू भन्ने शिक्षा दिने उद्देश्य ठीक भएर पनि समय र तरिका यो होइन कि भन्ने लिखतको आशय र शास्त्रीय व्याख्या पनि सही गरिएन कि भन्ने हो ।
हिन्दूसंस्कारअनुसार मरिमराउ परेको घरमा क्रियापुत्रीलाई गरुडपुराण सुनाइन्छ । गरुडपुराणमा जम्मा सोह्र अध्याय छन् । पन्ध्र अध्यायसम्म मात्र पुराण सुनाइन्छ । सोह्रौँ अध्याय सुनाइदैन, जबकि यही सोह्रौं अध्यायमा मानिसको शरीरको महत्त्व, मानिसको कर्तव्य, मानिसले पालना गर्नुपर्ने धर्म र आचरणका कुरा र अन्त्यमा आत्माले शरीर छोडेपछि आत्माको उद्धार, मोक्षको उपायसम्बन्धी व्याख्या छ ।
यथा –
मोक्षस्य कारणम् साक्षात् तत्त्वज्ञानम् खगेश्वरः ।
गरुड पन्छीलाई माध्यम बनाएर मानवलाई भगवान् विष्णु भन्नुहुन्छ पन्ध्रौँ अध्यायसम्म भनिएका कुरा त लोकलाई खुसी पार्न, तिम्रो मन शान्त पार्न, मनोरञ्जनका लागि भनिएको हो । तिम्रो आत्माको उद्धार यसबाट हुँदैन । मोक्षको कारण त अर्कै छ, तत्त्वज्ञान नपाई आत्माको मुक्ति हुँदैन । यथा
तस्मादित्यादिकम कर्म लोकरञ्जनकारकम् । मोक्षस्य कारणम् साक्षात् तत्त्वज्ञानम् खगेश्वरः ।।
गरुडपुराण, १६ ः ७०