सन्दर्भः यातायात व्यवस्थापनको क्षेत्रमा अनुकरणीय योगदान
बनेपा । यातायात व्यवस्था कार्यालय काभ्रेपलाञ्चोकको स्थापना गर्ने सम्झौता भएसँगै बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले यो सम्झौताबाट काठमाडौं पूर्वका कम्तीमा पनि पाँच जिल्लाका नागरिकहरुले प्रत्यक्ष लाभ उठाउन सक्ने दाबी गर्नुभएको छ ।
बनेपा नगरपालिकाको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्सको रुपमा निर्माण गरिएको भवनमा रहने यस कार्यालयबाट स्थानीयवासी सँगसँगै यातायातसँग सरोकार राख्ने कुनै पनि व्यवसायीहरुले सेवा लिन सक्ने व्यवस्था गरिएको मन्त्री लम्सालको तर्क थियो । यस कार्यालयबाट राजश्व, पटके, अनुमति पत्र, नविकरणसम्मका सेवाहरु दिने लक्ष्य सहित कार्यालय स्थापना गर्न लागिएको बताउनुभएको थियो ।
सम्बोधनकै क्रममा मन्त्री लम्सालले जेठको पहिलो साताबाटै यातायात कार्यालयबाट सेवा प्रारम्भ गर्ने बताउनुभएको थियो । मन्त्री लम्सालले बनेपामा रहने कार्यालयले काभ्रेका साथै राजधानीको पुर्वी क्षेत्र सिन्धुपाल्चोक, दोलखा, सिन्धुली समेतका जनताले सेवा पाउनुको साथै विद्यमान अवस्थामा राजधानीभित्र रहेको यातायात व्यवस्थापनको चाप घट्ने विश्वास व्यक्त गर्नुभएको थियो । भवन उपभोग गर्न दिएकोमा नगरपालिकालाई धन्यवाद समेत दिँदै मन्त्री लम्सालको नेतृत्वमा उक्त भवनको अवलोकन तथा निरीक्षण सम्पन्न भएको जानकारी सोही कार्यक्रमबाट दिइएको थियो ।
त्यस्तै कार्यक्रममा नगरप्रमुख शान्ति रत्न शाक्यले मन्त्रालयले यातायात कार्यालय राख्न भवन खोजिरहेको अवस्थामा हामीसँग रहेको सरकारी भवन उपभोग विहीन रहेकोमा मन्त्रीसँगको निरन्तर छलफल र संवादबाट बनेपामै कार्यालय बस्ने कुराले हौसला मिलेको बताउनुभएको थियो । बनेपा नगरवासीका लागि यो सम्झौताले खुशीको दिएको छ भन्नुहुँदै नगरप्रमुख शाक्यले यातायात ब्यवसायीहरुको धेरै बसोबास रहेको बनेपामा यातायात कार्यालय स्थापना गर्न पाउँदा निकै गौरवान्वित महसुस गरेका छौं ।
नगरका उपप्रमुख विमला सापकोटा दाहालले दुई तल्ला यातायात ब्यवस्था कार्यालयको प्रयोजनका लागि उपभोग हुने र त्योसँगै बाँकी रहेका तीन तल्ला पनि भाडामा जाने अपेक्षा लिएको बताउँदै प्रदेश सरकारसँग अन्य काममा पनि साझेदारीको ढोका खुल्ने सम्भावना रहेको र सरकार–सरकारबीचको सम्बन्ध अझ बढी प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी यातायात व्यवस्था कार्यालय रहने वडा नम्बर ६ का वडाध्यक्ष सचितानन्द केसीले सरकारी भवनमा सरकारी कार्यालय आउनु निकै सकारात्मक पक्ष भएको तर्क राख्दै वडावासीले यसको सही उपयोग गर्नुहुनेछ भन्ने विश्वास आफूले लिएको बताउनुभएको थियो ।
सम्झौता कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौला र बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईले भवन उपभोग सम्बन्धि सम्झौता पत्र एकअर्कामा हस्तान्तरण गरिएको थियो । हस्ताक्षरमा उल्लेखित बुँदा अनुसार नगरपालिकाले आफु मातहात रहेको भवनको दुइतल्ला १० वर्षका लागि निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जाहेर हुनुले स्थानीय सरकार, प्रदेश सरकारप्रति सकारात्मक छ भन्ने सन्देश दिएको छ ।
सम्झौताअनुसार स्थानीय सरकार र प्रदेश सरकारबीच भएका ९ बुँदे सहमति यसप्रकार छः
१.काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ६ अरनिको राजमार्गसंगैको नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ कम्प्लेक्स नामको भवनको उत्तर र पूर्वी मोहडा तर्फको माथिको दुई तल्ला नगरपालिकाले मन्त्रालयलाई यातायात व्यवस्था कार्यालय, काभ्रेपलाञ्चोक स्थापना गरी सञ्चालन गर्न आगामी १० वर्ष सम्मका लागि निःशुल्क उपलब्ध गराउने ।
२. मन्त्रालयले उपयोग गर्ने भवनको भागमा कार्यालय सञ्चालनको लागि आवश्यक पार्टेसन गर्ने तथा कार्यालयको सेटअप सम्बन्धी काम मन्त्रालयले गर्ने ।
३. भवनको संरचनाको मर्मत, रङ्गरोगन, सरसफाइ लगायतका कार्यको लागत अनुमान नगरपालिकाले तयार गरी मन्त्रालयमा पठाउन र मन्त्रालयले क्रमिक रुपमा आफ्नो बजेटबाट वा प्रदेश सरकारको शहरी विकास कार्यालय मार्फत मर्मत, रङ्गरोगन तथा सरसफाइका कार्यहरु गर्ने ।
४. भवनमा जडान भएको बिजुलीबाट मन्त्रालयले प्रयोग गर्ने भागमा विद्युत आपूर्तिका लागि सबमिटर राखी मन्त्रालयले उपयोग गरेको विजुलीको दररेट अनुसारको रकम नगरपालिकालाई उपलब्ध गराउने ।
५. यातायात व्यवस्था कार्यालयमा पर्याप्त पार्किङको आवश्यकता पर्ने भएकोले भवनसँगै जोडिएको खाली जग्गा नगरपालिकाले उचित दररेटमा भाडामा लिने र त्यसरी लिएको जग्गाको सम्झौता बमोजिमको वहाल रकम मन्त्रालयले उपलब्ध गराउने व्यवस्था मिलाउने ।
६. मन्त्रालयले प्रयोग गर्ने भवनको भागमा खानेपानीको आपूर्तिको लागि नगरपालिकाले छुट्टै खानेपानी धाराको लाइन व्यवस्था गरिदिने तथा मन्त्रालयले प्रयोग गर्ने भवनको भागमा खानेपानी आपूर्ति व्यवस्थापनका लागि आवश्यक संरचना तयार गर्ने कार्य मन्त्रालयले गर्नेछ । यसरी जडित धाराको महसुल मन्त्रालयले भुक्तानी गर्नेछ ।
७. भवनको उपयोगका सम्बन्धमा यसपछि कुनै द्विविधा उत्पन्न भएमा तथा थप समझदारी कायम गर्नुपर्ने अवस्था देखिएमा दुवै पक्ष बीचको आपसी समझदारी बमोजिम गर्ने ।
८. यस सम्झौतामा दुवै पक्षवाट सहीछाप भएको मितिबाट प्रारम्भ भएको मानिनेछ ।
९. दुबै पक्षको सहमतिमा सम्झौताकाहरु संशोधन हुन् सक्नेछन् भनी दुवै पक्षले जनप्रतिनिधि, सञ्चारकर्मीको रोहवरमा सम्झौता गरेका छन् ।
यो सम्झौता यातायात व्यवस्थापनको क्षेत्रमा अनुकरणीय कोसेढुंगा सावित स्थानीयको दाबी छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |